Skip to content


सधैं व्यङ्ग्य कविता र व्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर व्यङ्ग्य बनाउने पाराले व्यङ्ग्य वार्ता रोज्ने बिचार गरें। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु, बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो। मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हाँसो ठट्टा पनि गर्ने भएकाले उनीसँगै वार्तालाप गर्ने जमर्को गरें।

छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रश्न हजुर आमैलाई कचौरामा राख्दै भनें, “हजुरआमाको उमेर कति पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ?”

प्रश्नलाई टपक्क टिप्दै, “यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोधिहाल्नु भो। अलि ठेट्ना हुनुहुँदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गाँसमै स्वाद चाखी हाल्नुहुन्थ्यो। मेरो उमेर त भर्खर असीमा बसेकी छु। अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अधबैसे भनिन्छ। त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ। साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ नि बाबु। ”

“अहिले चाँही हजुर आमैले कुरोको चुरो समाउन भयो। अनि आज आमैलाई आउन लागेको तीजको बारेमा सोध्न मन लाग्यो। तपाइको पालाको र अहिलेको तीजमा के फरक पाउनु भयो? ”

मेरो प्रश्न भुईंमा नखस्दै हजुर आमैले भनिन, “धेरै फरक छ बाबु। त्रिशुलीको पानी र टुकैचाको पानी जस्तो। गाउकी सानी र शहरकी नानी जस्तो फरक। हाम्रा पालामा त एक दिन दर खान्थ्यौ। साथी संगिनीको घर जाइन्थ्यो। तीजको भाकामा गाउथ्यौ। रमाउथ्यौ। आज भोलि त तीन दिनको तीज तीस दिन गयो। गरीबको भन्दा धनीको भयो। सुद्ध शाकाहारी भन्दा माछा मासु खा’का छन। पुरुषको भन्दा धरै ह्विस्की बियरमा रमा’का छन। तीजका गीतमा भन्दा हिन्दी गीतमा नाचेका छन्। साडीमा भन्दा प्यान्ट कट्टुमा कम्मर भाँचेका छन। यो संस्कृतिमा बिक्रिती भयो बाबु। भ्रष्टाचारमा चढेर होस कि बिदेशतिर सडेर होस, लोग्ने बिचराले कमाएकै छन्। स्वास्नीहरू रमाएकैछन। ”

आमैले कुरो थब्दै भनिन्, “हेर्नुस बाबु कस्तो जमाना आयो आयो। पोहर साल नातिको बिहे गर्नलाई बुहारी खोजियो। केटी तर्फकाले मेरो नातिलाई जाँड चुरोट , रक्सी खान्छ कि खान्न भनी सोधे। मेरो नाती क्यै नखाने। रक्सीको त कुरै छैन। मासु पनि नखाने। केटी पक्षकाले बुहारीलाई प्यान्ट लाउन दिने सर्त राखे बाबु। हामीले पनि यति जाबो कुरो त हो भनी मान्यौ। अहिले त बाबु हाफप्यान्ट मात्र लाउँछे। सधैं पार्टी भनेर मातमा मात्तिएर मध्य रातमा आउँछे। लोग्नेलाई भात तताएन भनेर दुई चार लात नै लाउँछे। महिला भएर महिलाकै कुरा काटेको जस्तो। धेरै भयो भने त बोल्न पनि पर्‍यो। पुरुषले बोल्दा चट्कन खान के बेर? ”

हजुर आमासँगको कुरो रमाइलो बन्दै थियो। मैले अर्को प्रश्न तेर्साउदै भने, “अहिले र पहिले बजारको कुरा गर्दा हजुर आमैलाई कस्तो लाग्छ? ”

हजुर आमाले जिब्रो फटकार्दै भनिन, “बजारको त कुरै नगर बाबु। हाम्रा पालामा चार आनाले होटेलमा टन्न मासु भात खान पाइन्थ्यो। त्यसमा पनि शुद्ध खाने कुरा खाइन्थ्यो। अहिले के पो शुद्ध पाइन्छ र? नाती बाबु? अहिले त मायाप्रीतिमा पनि मिसावट भयो। अब चोखो माया पाउनलाई खप्पराँ लेखेको हुनुपर्छ। बजार भाउ मात्र हो र? मायाप्रीतिको भाउ झन चर्को छ। मोटर, गाडी , होटेल रेस्टुरेन्टमा लान नसक्नेले त के मायाप्रीति पाउने र लाउने ?”

हजुर आमैले कुरो कोट्याउदै भनिन, “बाबु नातिलाई अघिदेखि सोधुँ भनेको। तपाईं कुन पत्रिकाबाट हो नि? मेरो फोटो त आउछ? ”

मैले हजुर आमैको फोटो लिदै भनें, “म कुनै पत्रिकाबाट होइन। हजुरमाको कुरोकानी फेसबूकमा राख्नलाई हो। त्यसमा झन धेरै देश बिदेशका नाती नतिनाहरूले हेर्छन। ”

हजुर आमै झन खुसै हुँदै भनिन, “त्यसो भए त फेसबूकमा मेरो छोरोले पनि हेर्छ होला। अस्ति बुहारीलाई दुई-चार वटा तीजका गीत पठाइदिने भन्दै थियो। बिदेशतिर पो बरु राम्रोसँग तीज मनाउँछन रे। ल त बाबु सबै देश बिदेशका नाती नतिनिहरूलाई तीजको शुभकामना। नातिलाई दर खाने निम्तो पनि ।”

“हौस त! हजुरआमासँग कुरा गर्दा रमाइलो लाग्यो। पछी फेरि भेटौँला। ”

यति भनेर हजुर आमैसँग बिदा भएर हाम्रा कुरा कानि साथीहरूसँग जस्ताको तस्तै पस्कदै बिदा भए। मलाई हजुर आमाको कुरो सोह्रै आना मुनासिव लाग्यो। यहाँलाई कस्तो लाग्यो?

जय काउकुती।

1 thought on “कुरो कुन्थरो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *