Skip to content

जातभातभित्र बाआमासँग

  • by


मेरी आमा म र दुई दाजु क्षेत्री हौँ । घरका अरू सदस्य ब्राहृमण (बाहुन) थिए ।

बाबुले दुई विवाह गर्नुभएको थियो । मेरी आमा (जेठी) क्षेत्रिनी र कान्छी विमाता बाहुनी । सानी आमा पाठककी छोरी हुनुहुन्थ्यो । हामीलाई भने दुई आमाका बीचमा भेद थिएन, दुवै एउटै आमाजस्तो लाग्थ्यो । उहाँहरूमा सार्‍है नजिकको व्यावहारिक सम्बन्ध पनि थियो । मातृत्वको शीतलता र सुखद छहारी बटुल्दै हामीले एक प्रकारको अभिन्न र आफ्नोपनको अनुभव बटुल्यौँ । आमाहरूले हामीलाई जन्म दिनुभयो, पालनपोषण गर्नुभयो । कर्मको शिक्षा भने बुबाले नै दिनुभएको थियो ।

बाहुनी भएकाले सानीआमाले नै खाना पकाएर खुवाउनुहुन्थ्यो, उहाँको मीठो, न्यानो हार्दिकतालाई बिर्सन सक्दिनँ म । घरमा छुट्टै चुलोभन्दा तल मझेरीमा माटाका चौकीहरू बनाइएका थिए । सानीआमा र हजुरआमाले धोतीचोलो फेरेर चुलोमा बसी पालैपालो खाना बनाएर सबैलाई खुवाउनुहुन्थ्यो । मपट्टकिा दाजुहरूको ब्रतबन्ध गरेको भए पनि जातिभेदकै कारण हामीले चुलोभन्दा तलै मझेरीमा बसेर खानुपथ्र्यो । जानी-नजानी कसैले छोइदिएमा भान्सा उठाइन्थ्यो, कसैले खादैनथेँ ।

हजुरआमा पनि जातीयता र संस्कारको नाममा कुसंस्कारलाई अँगाल्दै हुनुहुन्थ्यो । उहाँ खाना खाने समयमा भन्ने गर्नुहुन्थ्यो-”ए नाति-नातिना हो ! मझेरीबाट चौकी नाघेर चुलामा छुन जालाऊ है ? तलै बस, तिमीहरूले छोएको दाल-भात-तरकारी हामीले खान हुँदैन, जात जान्छ ।”

एउटै धरती, एउटै आकाश, एउटै रगत-मासु, छुवाछूत एवं जातीय असमानता, कस्तो चलन थियो त्यो, गरिबी, पछौटेपन र अज्ञानताबाट सिर्जिएको भेदभाव, उत्पीडन, एक-अर्काप्रति वैमनस्य राख्ने, शङ्का उत्पन्न गर्ने, एकले अर्कालाई घृणा गर्ने, तिरस्कार गर्नेजस्ता कार्य समाजबाटै, घरबाटै उत्पन्न भएका हुन् । यो सपना होइन, विपना नै हो । परिवारभित्रको यो जातीय भेदभाव मैले भोगेको यथार्थभित्रै छ । त्यस बेलामा यस्तै प्रथा थियो । अहिले प्रकृतिले दिएका दुई जात मात्र विद्यमान छन्- एउटा पुरुष, अर्को स्त्री ।

मेरा हजुरबा बिहान सबेरै उठेर स्नान गरी लुगा फेरेर विधिपूर्वक पाञ्चायन पूजा गर्नुहुन्थ्यो । त्यसपछि खाना खाई बाहिर फलैँचामा बसेर हुक्कामा ट्वार्र ट्वार्र तमाखु तान्दै धूवाँको कुहिरीमण्डल पार्नुहुन्थ्यो । तमाखु खाइसकेर दिनभरि बाल्मीकि रामायण र महाभारतको श्लोक भन्दै आध्यात्मिक रस टपक्कै टिपेर विवेक र गुणका दृष्टिले यो कुरा यस्तो हो भनेर सान्दाजु र मलाई बुझाउनुहुन्थ्यो ।

उहाँ बडादसैँमा नवरात्रिभरि चण्डीपाठ गर्नुहुन्थ्यो । आँखीझ्याल भएको सानो कोठामा जमरा राखिएको हुन्थ्यो । रातको खानपानपछि बिछ्यौनामा बसेर हजुरआमा कथा भन्ने गर्नुहुन्थ्यो । त्यसमा दाजुहरूसमेत भेला भएर गाउँखाने कथा हाल्दा एकआपसमा हाँसोठट्टा चल्थ्यो । हजुरआमाले गाउँखाने कथा भनेर प्रश्न सोध्नुहुन्थ्यो, हामीले उत्तर दिन नसकेपछि गाउँ दिनुपर्‍र्थो, हामीले कुनै ठाउँको गाउँ दिएपछि प्रश्नको समाप्तिका केही कुरा सुनाएर उत्तर पाइन्थ्यो । रोचक र आकर्षक गाउँखाने कथा सुनेर हामी तीनै दाजुबहिनी मक्ख पथ्र्यौं । उहाँको महान्वाणी मेरो हृदयमा कहिले नमेटिने गरी अङ्कित छ । हामी नातिनातिनाहरूका निम्ति प्रथम गुरुबा र गुरुआमा आफ्ना हजुरबुबा र हजुरआमा नै हुनुहुन्थ्यो ।

धार्मिक परम्परामा हुर्किनुभएका मेरा हजुरबा र हजुरआमाको दिनचर्या सम्झँदा आज पनि मलाई अचम्म लाग्छ । म सम्झन्छु- यस धरतीमा करोडौँ, अर्बौं व्यक्तिको जन्म हुन्छ र मृत्यु पनि हुन्छ । जन्म-मृत्यु अपरिहार्य हो । मेरा हजुरबा र हजुरआमा यस संसारबाट बिलाएर गए पनि मनमा उहाँहरूको स्मृति रहिरहेको छ । कहिलेकाहीँ त उहाँहरू यहीँ हुनुहुन्छ कि जस्तो पनि लाग्छ ।

सानीआमाको जूनजस्तो उज्यालो अनुहार, उन्मुक्त हाँसो र फरासिलो स्वभावले म प्रभावित थिएँ । हामी दुई परिवारका आठ जना सन्तान थियौँ । हामीप्रतिको माया कमबेसी थिएन, बराबरी नै थियो । सन्तानलाई हुर्काउने, बढाउने, पढाउने र सही मार्गमा डोर्‍याउने दायित्व पनि आमाबाबुकै थियो । मलाई पनि आफ्ना दुई दाजु र सानीमापट्टकिा भाइबहिनीहरूमा केही भेदभाव लाग्दैनथ्यो ।

सानोमा बाबाले भाइबहिनीहरूलाई खेलाउँदा आत्मीयभाव देखाएर मीठो माया देखाउँदै भन्नुुहुन्थ्यो- “मेरो राजा, मेरो बाबा, यो मेरो छोेरो मायाको डोरो ! उहाँको महान्ता र आदर्शले हामी सबै सन्तान प्रभावित भएका थियौँ ।

उहाँ मीठा-मीठा शब्दहरू भनेर खुसीले उद्वेलित हुँदै वात्सल्य प्रेम दर्साउनुहुन्थ्यो । हामी सबै सन्तानलाई आमा र सानीआमाको माया-ममता र न्यानो छहारी थियो, बाबाले गर्नुभएको हेरचाह, रेखदेख र सहयोगमा कुनै कमी थिएन ।

आमाको स्वभाव र व्यवहार त्यत्तिकै सुन्दर थियो । उहाँ सरल हुनुहुन्थ्यो, मीठो बोलीवचन गर्नुहुन्थ्यो । त्यसैले गर्दा उहाँ छिमेकी, साथीभाइ र आफन्तकी आदरणीय हुनुहुन्थ्यो । गाउँघरमा सप्ताह, विवाह-व्रतबन्ध आदि हुन लागेमा सहयोग गर्ने र आफैँ संलग्न हुने उहाँको बानी थियो । आफूभन्दा सानालाई प्रेरणा, प्रोत्साहन र सहयोग गर्ने आमाको जस्तो परोपकारी भावना मैले अहिलेसम्म कतै फेला पारेकी छैन । उहाँको बोलीमा अरू व्यक्तिसँग सजिलै घुलमिल गर्नसक्ने खुबी अझैसम्म पनि त्यत्तिकै छ ।

हाम्रो शान्त घरायसी वातावरणमा पनि कहिलेकाहीँ भने अशान्ति मच्चिन्थ्यो । आमा र बाबाबीच ठाकठुक पथ्र्यो । आमा र बाबुबीच किन झैझगडा हुन्थ्यो, बालसुलभ म अनभिज्ञ थिएँ । भुक्तभोगी आमा र म बिछ्यौनामा सुतिसकेका हुन्थ्यौँ । म मस्त निद्राबाट ब्यूँझिएर हेर्दा किन हो, आमाका परेला मोतीका दानाजस्तो आँसुले भिजेको हुन्थ्यो । मध्यरातको नीरवतामा रातभरिको आँसुले आमाको छाती भिजेको हुन्थ्यो ।

म अश्रुपूरित हृदय लिएर अवरुद्ध कण्ठबाट आमालाई सोध्ने गर्थें-“आमा, तपाईंलाई के भयो ?” प्रश्न गर्दा उहाँ बोल्नुहुँदैनथ्यो, मौन भइरहनुहुन्थ्यो । हुन सक्छ, उहाँको मनमा कहीँ न कहीँ आफ्नो जीवनप्रति भएको अवहेलनाको पीडा लुकेको थियो । निराशाको बादल दौडिरहेको अनुहारमा कसैको आडभरोसाको रेखा, कुनै उज्यालो झुल्किन सक्दैनथ्यो । कति टीठलाग्दो थियो उहाँको जीवन ! जिन्दगी उकालीओराली, भीरपाखा, लहरापहराजस्तो थियो । मेरो मन लगातार कुडिइरहृयो-बाबुआमाको खटपट देखेर । के गर्नु, आमाको अन्तरआत्माभित्र पनि नारीसुलभ इच्छा-आकाङ्क्षा र अभिलाषाहरू थिए होलान् तर ती पुरा हुन सकेनन् ।

मैले जीवनलाई आफ्नै सपना र घामछायाँमा, आफ्नै भोगाइ र सोचाइमा सजीव पारेर स्मृतिपटमा राखेकी छु-अहिले पनि ती पीडाका दिनहरू मथिङ्गलमा आइरहेका छन् । आमाले सकी-नसकी घरगृहस्थीको अभिभारा बोक्नुभएको थियो । उहाँ बिहानको ३ बजे उठ्नुहुन्थ्यो, राति नसुतुञ्जेल घरभित्र र बाहिरका काम भ्याई पारिवारिक बन्धनले घेरिइरहनुहुन्थ्यो । त्यस्तो देख्दा मलाई एउटा अदृश्य व्यथाले निचोरिरहन्थ्यो । प्रत्येक बिहान वस्तुभाउलाई घाँसपात गरेर गोबर सोहोरी दिनभरि खेतीपातीको काममा आमाको दिन बित्थ्यो । मेरो परिवारमा मात्र होइन, जुनसुकै परिवारमा सामन्तकालीन संस्कृतिको प्रभाव परेको थियो । जातिविभेदका कारण नियम र मर्यादाविरुद्ध घरका निम्ति, कामका निम्ति, जेठीसँगको पवित्र स्नेह सम्बन्ध र बन्धनलाई धमिलो पारी कान्छी भित्र्याउँथे । यस्ता विधिव्यवहार र ढोङ्ग नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएका विकृति हुन् । पुस्तौँदेखि कमजोर आर्थिक स्थिति, व्यक्तिको अवमूल्यन, नागरिकको अधिकारको हनन् आदिले समाजलाई गाँजेको थियो । धार्मिक कट्टरता र अन्धविश्वासलाई गल्र्याम्म अँगालो हालेको थियो । यहाँ कुरीतिको जरो गाडिएकाले समाजमा महिलाहरूले नागरिक अधिकार र मौलिक हकबाट वञ्चित भएर बस्नुपथ्र्यो । पुरुषले कान्छी बिहे गरेपछि जेठी श्रीमतीको जीवनलाई नरक तुल्याइदिन्थे । रमाउनु, हाँस्नु र खुसी हुनुको सट्टामा तीता र नमीठा अनुभव बुटुल्नुपथ्र्यो । यी सबै शिक्षाको कमी, परम्परागत कुसंस्कारका परिणाम थिए ।

त्यस बेलाका नारीहरूले जति खटे पनि, जति सङ्घर्ष गरे पनि र जति दुःख झेले पनि पुरुषवर्ग हरेक कु््रामा आफूलाई मात्र सर्वश्रेष्ठ ठान्थ्यो । आजकाल पनि घरपरिवारमा त्यस्तो देखिँदै छ । जतिसुकै राम्रो योजना बनाए पनि, महिलाहरूले जति भाषण र विकासका नाराहरू फुके पनि जेठी श्रीमतीको उत्थान हुन सकेको छैन । परिवर्तन र सुधारको नारा भाषणमा मात्र सीमित छ ।

आमा बिहानै स्नान गरी पूजाकोठामा पस्नुहुन्थ्यो । पहिले पूजा सकेर गणेशस्तोत्र, लक्ष्मी र गीताको स्तोत्र पाठ गर्नुहुन्थ्यो । चराहरूको चिर्बिर आवाजसँगै चन्दन, विभूत र धूपअक्षता थालीमा लिएर बाहिर तुलसीमठमा पूजा गरी सूर्यलाई अर्घ दिएर पुकारा गर्नुहुन्थ्यो । सधैँ पूजापाठ गरी छोराछोरीको सुखसम्बृद्धि, जीवनस्तरको कल्पना र चिरायुको कामना गर्नुहुन्थ्यो । उहाँ हामीलाई अत्यन्त स्नेह र वात्सल्य बर्साउँदै लेख्न र पढ्न प्रेरणा दिनुहुन्थ्यो ।

वषर्ामा प्रायः पानी परिरहन्थ्यो । साउन-भदौ महिनामा मकैबारीभित्र उखुम गर्मी हुन्थ्यो । घर नजिकैको हरियो घाँसले गर्दा लामखुट्टेले टोकेर राति सुत्न दिँदैनथ्यो । झूल हालेर पनि साध्य नहुने ! यति सार्‍हो लामखुट्टे लाग्थ्यो, भनी साध्य थिएन । लामखुट्टे पनि ठूलठूला, एकै रातमा रगत चुसेर शरीर आधा पारिदिन्थे । आमा र म एकै ठाउँमा सुतिरहेका हुन्थ्यौँ । आमा उठेर मकै भुट्ने हाँडी खोजेर ल्याई हाँडीभित्र धानको भुस हालेर भुसमाथि आगाको कोइला राखिदिनुहुन्थ्यो । घरको वरिपरि चारैतिर धूवाँको कुहिरीमण्डल फैलिन्थ्यो अनि त्यसपछि लामखुट्टेको भागदौड हुन्थ्यो, अनि म निद्रादेवीको काखमा पुग्थेँ ।

एक दिन मैले बाबालाई विनम्र भावले भनेँ- “बाबा हजुर, हामी दुई आमाका आठ सन्तान छोराछोरी, सबै बराबरी, के छोरा के छोरी, हैन त बाबा ?”

बाबाले जवाफ दिनुभयो-“हो बाबै, हो । तँ छोरी हैनस्, छोरा पो रहिछस् । कस्तो आदर्श विचार ? कस्तो विशाल छाती ! लाटी भनेको त यो निकै बाठी पो भइछ । बाबा मलाई हेरेर मुसुमुसु हाँसिरहनुभयो । मलाई खुसी लाग्यो । म पनि केही नबोली मुस्कुराइरहेँ ।

बाबा सिकारी हुनुहुन्थ्यो । उहाँ खुसी र उमङ्गको बेलामा भरुवा बन्दुक बोकेर साथीभाइसँग सिकार खेल्दै रनवन चहार्नुहुन्थ्यो । काशीखोला, छोट्टार, सङ्ख्या डाँडा र पताल्नी स्थानको वनतिर पुगेर शिकारमा कालिज तित्रा मारेर साँझमा घर र्फकनुहुन्थ्यो ।

म सानो छँदा एक दिन काकाले ठट्टैठट्टामा भन्नुभयो- “त ठूली भइसकिस्, मैले केटा खोजिसकेकी छु । बिहे गर् नानी ! हाम्रो हिन्दू धर्म र संस्कारअनुसार छोरीले रजस्वला भइसकेपछि बिहे गर्ने चलन छैन, बुझिस् त ?”

मैले हाँस्दै भनेँ-” काका, कति ठट्टा गर्नुभएको हजुरले ? अहिले १४ वर्षको कलिलो उमेरमा पनि बिहे गरिन्छ ? काम नपाएर ! छाड्नोस् यस्ता कुरा ।”

गाउँको घरअगाडि बगैँचा थियो । यताउति निबुवा, कागती लटरम्म झुण्डिरहेका थिए । कतै मालभोग र झप्री केरा पाकेर बोटैमा हल्लन्थे भने कतै आँप र अम्बाका रूख लर्केर पहेँलपुर देखिन्थे । घरबाट ओरालो झर्दा दायाँबायाँ धँयेराका राता फूल, धुर्सिला र असुराका फूल तथा विभिन्न प्रजातिका फूलहरू टाढैबाट देखिन्थे ।

घरमा गाइँभैँसी र बाख्रा पालिएका थिए । खेतीपातीका लागि दुईचार हल गोरु थिए । मैले मेरा बालसखाहरू र साथीसङ्गीहरूसँग गाईबाख्रा चराउँदै हाँस्दैखेल्दै प्रत्येक वनबुट्यानहरूमा उफ्री-उफ्री आफ्नो बाल्यकालको अधिकांश समय बिताएँ ।

जब दसैँ आउँथ्यो, टीकाको दिन हजुरबुबा, हजुरआमा, काकाकाकी, मावलका हजुरआमा, हजुरबाहरूले टीका र जमरा लगाई सुख-सम्वृद्धिको आशिष र शुभेच्छा दिएको म कहिल्यै भुल्न सक्दिनँ । त्यस्तै भाइटीकाको दिन पनि थालभरि सेल, मिठाई राखेर दाजुभाइहरूलाई निधारमा लामो सप्तरङ्गी टीका लगाई, फूलको माला गलामा पहिर्‍याई दक्षिणा लिने हतार हुन्थ्यो ।

म संवेदनशील भएर हो कि सानैदेखि कसैलाई सहयोग र प्रेरणा बाँड्दै हिँड्थे । मेरो जन्म भएपछि मेरी माहिली हजुरआमाले मेरो बोलाउने नाम ‘रुक्मिणी’ राखिदिनुभएछ, सोही नामबाट छोट्याई पछि पढाइ र नागरिकतामा समेत ‘रुकु’ भयो ।

बाबाआमाले घरबाहिरको खेतीपाती सम्हालेर, धैर्य गरेर हामीलाई आज यो ठाउँमा ल्याउन सफल हुनुभएको हो । हिजोकी मिहिनेती र साहसिली आमाको जीवनमा हिजोआज परिवर्तन भएको छ । अहिले म सम्झिन्छु-आमाले हिजोका सङ्घर्षशील जीवन र लडाइँ केका लागि गर्नुभयो ? हामी छोराछोरीका लागि नै त थियो । म अहिलेसम्म आमाको काम गर्ने उत्साह र जाँगरलाई सम्झन्छु-सम्झिरहन्छु ।

हेटौँडा, मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *