Skip to content


बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो जीवन दुरुस्तै खोला । यांवत बगिरहेछ ढलिरहेछ सकिरहेछ रितिरहेछ छोट्टरिहेछ ।

अभियान कलमको गति र भावनाको तरङ्गित वेग थाम्ने कोसिस गर्छ । वरिपरि एकोहोरिएर नियाल्छ । उही पुरानै भित्ता । चार दसैँ बिते पनि रङका बहारले स्पर्शविहीन बनेको विवश भिता । उस्तै भित्ता रङहीन र अताजगी पनि पोतिएको छ । चौतारामा ठडिएको बूढो पीपलको रूख जस्तै बेरूप । प्रत्येक वर्ष फेरिएको भित्तेपात्रोजस्तै पनि फेरिन नसकेको पर्दा उस्तै । शरीरभरि नग्नता प्रस्तुत गर्दै विभत्स बाध्यतामा परेकी नारी जस्तै । लाजविहीन । सिर्फ चियाएका छन् । धपेडीपूर्वक रबिका किरणहरू । साथ छन् तिनीहरूका । कमसेकम जीवनजस्तै त छैनन् । आरोह-अवरोहका थकानमा सास फुलाउनु त पर्दैन ।

बिसौनीमा हल्का सासमा आराम गर्दै गरेको एक परिश्रमी भरियाजस्तै धुलाम्मै भएरै रहेको पर्दा र एयरकन्डिसन हुतिएका हावाका प्रहारसँगै कुस्तीमा हारजितको फैसला चलिरहन्छ । भित्ता मौन र स्तब्ध नियालिरहन्छ चर्तिकला र खेलका परिदृश्यहरू । त्यस्तै घाम निषेध तुल्याउन सङ्घर्षरत पर्दा । चार ठाउँमा च्यातिएरै पनि घामको आगमन रोक्ने प्रयत्नमा । उस्तैउस्तै । उहीउही । जीवनका क्षणहरू । जीवनका भोगाइ । लथालिङ्ग । कोचिएर । ढुसिएर । लक्ष्यहीन भोलिका झिनो आशामा झुण्डिएको स्पष्ट जीवन । जीवनजस्तै ठिङ्ग । त्यस्तै हो जीवन । बेरङ्ग अनि बेढङ्गको । उपलब्धि शून्यमात्र । नियाल्दा बनावटी हाँसो र उमङ्ग छ तर सुख कुण्डको अभाव छ अभियानमा । यद्यपि कुनै पीर र पीडाको बेफिक्रीमा बढिरहेछ लगातार । जीवनलाई सहयात्रा गराउन चाहँदैन समय । स्वार्थी समय । अनि त्यो अलि पर ।

कोठाको निद्रा स्थलसँगै भित्तामा क्यालेन्डर । लाग्छ हिजै आगमन भएको हो नयाँ वर्ष दैलोमा टेकेको खबर । उमङ्ग र जाँगर बोकेर भित्रिएको त्यो । हेर्दाहेर्दै एक फड्को चढ्ने ध्याउन्नमा छ । अभियानको सोंच गहिरिन्छ । आखिर यस्तै रहेछ सब गए गुज्रेका । जीवनजस्तै । उस्तैउस्तै । छ्या यस्तो पनि जीवन ! सोचेको कहिल्यै नहुने । असफल परिस्थितिको पराकाष्ठाले कुल्चिएको जीवन । चाहिएन यस्तो जीवन । अभियानको अठोट तीब्र आवाजमा मौन कोठाभरि ठोकिन्छ । त्यो समय, त्यो निर्जिव क्यालेन्डर ।

त्यसले समेत पराजित पारेको छ जीवनलाई । थिचेको छ । मिचेको छ । त्यसलाई कुनै हालतमा पनि पराजित पार्न सकिएन । पुनः अभियान आवेगको आगो वर्षाउँदै मुठी कस्छ । नजिकको थोत्रो टेबुल थर्किन्छ । पढिएका । भनिएका । लेखिएका । वास्तविक स्मरणका पाटाहरू थुप्रै होलान् तर समयले केहीलाई कुरेन । बलवान छ समय । त्यस्तै रहेछ । ब्रहृमाण्ड र जीवनभन्दा धेरै अघि । गतिहीनता निस्तेज पार्दै लम्किरहेछ लगातार वायुपङ्खी घोडाजस्तै । समयले पूर्व पाइला हेर्दैन । वाह समय । तेरो महानता कायल भएँ म । अभियान शिथिल बन्छ र, नियाल्छ टेबुलमा ठडिएको थोत्रो टिकटिके । चाइनामूलबाट जन्मिएको फुटपाथे केही समय अघि भित्रिएको समयको प्रतिरूप ।

विवशता छ आफ्नै । पुरानो कोठामा महìवहीन बन्दै बेकाम थचारिएको छ । टिकटिकेलाई लाग्दो होला । त्यस्तै जीवनलाई लागेको छ । अभियान व्याकुल बन्छ । यद्यपि त्यसको मान सर्वत्र छ तर जीवनको खै ? समयबाहेक केही मापन हँुदैन । टिकटिके चाइनिज सही तर दूरगामी पथ हाँकिरहेछ । निरन्तर । यता उही जीवन । केही कुनै बदलाव आएन । न कुनै सुखद सङ्केत । त्यही थोत्रो टिकटिके जस्तै । थचक्क उक्किएको सनफेल्कमा बसाई । शायदै जीवनमा अब खुशीका सुनामी फर्किएला ? अभियान घोर निराशामा डुबल्की मार्छ ।

टिर्र टिर्र टिर्र शून्य कोठामा मच्चिएको एकोहोरो धुन । वास्ता गर्दैन उसले । अभियान समय र क्यालन्डरसित एक्लो बहसले जुधिरहन्छ । समय, क्यालेन्डर र जीवनका वास्तविकता पहिल्याउन वकालत गरिरहेछ तर असफलताको चुलीमा उक्लिएको अभियान पलपल त्रसित समयमा बन्दी बनिरहेछ ।

जीवन कैदी सरह जकडिरहेछ । अभियान निद्राका प्रहरहरू आहुति दिने सुरमा छन् । ऊ त वश समयलाई कुल्चेर, क्यालेन्डरलाई च्यातेर र जीवनलाई वसन्तझैँ फुलाउन चाहन्छ । तर बिडम्बना । सोचहरू शून्यतामा अलप बन्छ । धुनजस्तै । विचारविहीन जीवन । एकलौटी जीवनका बहसहरू सोचहीन समयसितै हारिरहेछ हरेकचोटि । अभियानले गतिहीन अवस्थाका शिखरहरू क्रमशः चढिरहेछ निरन्तर । टिकटिके उही महान् समय ।

स्थान नाघेर मध्यशुन्यमा आफ्नो बिगुल बजाइसकेछ । उफ् व्यर्थ तीन घण्टा । अभियान बहकिन्छ । आखिर निष्कर्ष केही किन आएन ? अचानक मध्य सन्नाटामा अनुमतिबाहेक हुरी कोठामा प्रवेश गर्छ अभियानलाई हुरीले हानेको महसुस गर्छ । एक्कासि ऊ सचेत बन्छ । यो पनि जीवनको वैरी । हुरीको मीत मृत्यु नै हो । कहाँ, कतिखेर हुत्याउँछ पत्तै छैन । अभियान पुनः विचारयुद्धतिर अघि बढ्छ । समय क्यालेन्डर र जीवन ।

यता हुरीको वेगले क्यालेन्डर हुत्याउने प्रयत्न गर्छ । निर्दोष जीवनलाई थिच्ने र मिच्ने तँलाई । कस्तो हुँदोरहेछ प्रहार ? बडो मै हुँ भन्थिस् होइन ? अभियान हल्का विजयको मुस्कान छर्दै शानमा गर्व गर्छ क्यालेन्डरतर्फ मुस्कुराएर । अभियानको विचारको लम्बाइ घटेको छैन । यता विचार विरामको कुनै सङ्केत पनि छैन । ऊ, समय, क्यालेन्डर र जीवनको सत्यतामा युद्धरत देखिन्छ । हुरी पनि फर्कियो गतिशील उही एक्लो जूनलाई एकछत्र राज सुम्पेर । बिहानी डाँक्न चारघण्टे लामो यात्रामा क्यालेन्डरमा एउटा गोलो आकृति थपियो । प्रत्येक नयाँपनको द्रूतगतिमा जीवन उही पुरानो ।

केही परिवर्तन छैन । स्थिर, मौन, हर्ष मिसिएको भोलि उज्यालोको कुनै शुभ साइत नै छैन । आधारहीन र विवशतामा पिल्सिएर केही कुनै बदलिएन जीवनमा । हजारौं आशङ्का कुनै पनि टुकडीले पूर्णता पाएन । युद्धरत प्रहरसँगै कोर्छ सलाई अभियान । लामो सासमा सर्को तान्छ ? र, तान्दातान्दै छोटिएको खिल्ली, जीवन यस्तै हुन्छ । झन्झन् छोट्टँिदै जान्छ । क्रमशः खिइँदै, सकिनुपर्छ एकदिन र फेरि जीवन लामो पनि त छैन । त्यत्रो फूर्तिवान क्यालेन्डरको आयु पनि केही हप्ताभन्दा बढी छैन । त्यसपश्चात घमण्डले कुर्लिने अवसर पाउने छैन ।

उस्तै छ समय पनि । तर समयको अन्त कसरी ? टिकटिकेको गतिमा एकटक आँखा पुर्‍याइरहन्छ लगातार अभियान । एक्कासि टिकटिके पुनः कुर्लियो । अन्तिम टुप्पोमा सल्किएर दुई औँलामा च्यापिएको ठुटोको अन्तिम सर्को लिन्छ । विचरा ठुटो पनि विवश होला । उम्किने कसरी ? दुई औँलाको चापबाट ? जीवन उस्तै ठुटोजस्तै । कताकता चेपिएको पनि थिचिएको । बाध्यात्मक जीवन अनि कसरी अघि बढ्न सक्छ र ? अन्तिम चुलीमा सल्किएको ठुटोको हत्या गर्दै हल्का सास फेर्छ ।

आखिर जीवन लछारिँदै यस्तैगरी सिद्धिन्छ । अभियान निष्कर्षमा पुगेको महसुस गर्छ । व्यर्थ ढलिरहेको औचित्यहीन जीवन । यसै बितोस् । उसै बितोस् । निद्रास्थलमा भारी जीवन बिसाएर समय वेग जित्न सपनाको विराट संसारमा प्रवेश गर्छ अभियान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *