हिंसा विरोध, शान्ति अठोटको सङ्कल्पलाई सघन बनाउँदै कवि दीपेन्द्र अधिकारी ‘क्रान्ति र कविता’ कवितासङ्ग्रहमार्फत् आफ्नो दर्बिलो उपस्थिति जनाउन सक्षम भएका छन् । ५१ थान सिर्जना सामेल सद्य प्रकाशित प्रस्तुत कविता कृति वाणिर्त छन्दका प्रमाणिका, उपजाति, इन्दिरा र स्वागताजस्ता लघु आयामका साथै अनुष्टुप, मन्दाक्रान्ता र शार्दूलविक्रीडितजस्ता लामा छन्द विस्तारमा संरचित छ । रूप, लावण्य, सौन्दर्य, अभिधा र लक्षणाका अलावा रस र अलङ्कारको पूर्णतः अवलम्बन गरिएका कतिपय रचना काव्यिक गुणले युक्त पाइन्छन् ।
प्रस्तुत कवितासङ्ग्रह ‘क्रान्ति र कविता’ मा विषयगत अन्वितिमा द्वन्द्वको मारले थिलाथिलो र जर्जर बनेको समाज, बन्दुक मातेर निम्त्याएको अनिष्ट, मौलाउँदो विनासको खेती, न्यायको किनबेचजस्ता द्वन्द्वकालीन समाजको चित्र मानिसको व्यवहारको सापेक्षतामा मुखरित भएको छ । कृष्णभीरको कथा, नेपाल बन्द भएकाले जन्मिँदै गरेको बालकलाई नजन्मन अनुरोध, संसार मूर्दा बनेको यथार्थ, नश्वर शरीरको क्षणिकता, सहिदप्रति कृतज्ञता, समाजमा व्याप्त विभेदका अलावा श्लील प्रेमका अभिव्यक्ति अवलम्बन गरिएका यस सङ्ग्रहका कवितामा छुसीप्रति व्यङ्ग्य र विश्व कल्याणको अभीष्ट एकसाथ प्रस्तुत भएको छ ।
क्रान्तिचेतले लवालव यस पुस्तकका कवितामा युद्धविरोधी आवाज जति तिख्खर छ, खाते बालक र वैधव्य जीवनका दुःखद् अनुभूति उत्तिकै हृदयस्पर्शी छन् । कतै छन्द महिमा छ त कतै काल महिमा । संसार मुर्दा बनेको र द्यौराली चिहानमा रूपान्तरित भएको यथार्थलाई कविले जसरी प्रस्तुत गरेका छन् नेता प्रवृत्तिको भण्डाफोर र नेताको पिछलग्गू बन्ने चलनको अन्त्यको आहृवान पनि त्यसरी नै अभिव्यक्त गरेका छन् । सामन्त, दलाल र जिम्मेवारीबाट विचलित नेतृत्वप्रतिको व्यङ्ग्यमात्र कवितामा छैन, वसन्त ऋतुको मोह, लोकभाका र संस्कृतिको महत्ताका साथै युवाशक्तिको परिवर्तनकामी अभीष्ट पनि कवितामा झल्किएको छ । मानवीय संवेदना तुरिएको विकृत र विसङ्गत अवस्थाको चित्रण गर्दै आत्मबोधको अभिव्यक्ति उक्तिमय प्रविष्टिका साथ कवितामा मुखरित भएबाट कवि परिवर्तन र इमान्दार प्रवृत्तिको कट्टर पक्षपाती रहेको यसरी मुखरित भएको छ ।
भोकै हिँड्छु परन्तु रक्त अरूको अन्धो म भै चुस्तिनँ
दुःखै झेल्छु परन्तु लाश बटुली पासा नयाँ खेल्दिनँ
हात्तीमाथि चढेर शेर कहिले बन्दैन मान्छे नयाँ
छातीमाथि धसेर तीर शरको बग्दैन गङ्गा नयाँ । (म र सर्प)
‘क्रान्ति र कविता’ कृतिमा – सिर्जनाको सौन्दर्य क्षणिक उपयोगिताबाट विमुख हुने – कथनलाई परिपालन गर्दै सौन्दर्याभिमुख शिल्पगत कलाकारिता कविले पस्किएका छन् । पुतना, अश्वस्थामाजस्ता पूर्वीय मिथकीय प्रयोग, सङ्कथनको बहुलता र सीमान्त वर्गका आवाजलाई घनीभूत बनाइएका यस सङ्ग्रहमा कम चल्तीका संस्कृत शब्द प्रयोग, अपेक्षित सरलता विहीनता, पुनरावृत्तिजस्ता कार्यबाट कलाले विचारलाई ङ्याकेको अनुभव हुन्छ । कतिपय कवितामा अन्त्य पाइँदैन भने कतिपय कविता उद्धरणजस्ता लाग्दछन् । यद्यपि छन्दमा विविधता र सरलता अपेक्षित रहेको ‘क्रान्ति र कविता’ कृतिले शिल्पगत सौन्दर्यमा क्रान्तिचेत र परिवर्तन बोधलाई भने राम्ररी मुखरित गरेको छ ।
कृति ः क्रान्ति र कविता (कवितासङ्ग्रह)
कवि ः दीपेन्द्र अधिकारी
प्रकाशक ः प्रशान्ति प्रकाशन
संस्करण ः प्रथम २०६६
पृष्ठ ः ७९-१४
मूल्य ः रु. ९५।-