Skip to content

सामान्यज्ञानका धेरै प्रश्नहरुको एउटै उत्तर


न्यूजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारीले तेञ्जिङ शेर्पासँग संयुक्तरूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकै समयमा एक जना नेपालीले पहिलोपल्ट न्यूजिल्यान्ड भूमि टेकेका मात्र होइन, हिलारीकै घरमा पुगेर कीर्तिमान कायम गरेका छन् । त्यो भाग्यमानी र साहसिक व्यक्ति को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ तर उहाँले ‘न्यूजिल्यान्डमा पहिलो नेपाली’ भनेर वर्गसाथ किताव नै लेख्नुभएको छ ।

नेपालको पहिलो ‘पुरातत्व र संस्कृति विभाग’ को डाइरेक्टर को हो भनेर सामान्यज्ञान पल्टाउँदा पनि उहाँकै नाम आउँछ । हालको लोकसेवा आयोगको स्थापना हुनुभन्दा अगाडि अर्थात् वि.सं. २००१ सालमा ‘औद्योगिक/व्यापारिक समाचार सङ्ग्रह अड्डा’मा गरिएको पाँच जना बी.ए.सम्म पढेकाहरूको विज्ञापन आहृवानमा एक जना उहाँ पनि छनोटमा पर्नुभएको थियो । यी त धेरैलाई थाहा नभएका विषय हुनसक्छन् तर नेपालको साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिएको मदनपुरस्कार पहिलोपल्ट पाउने तीन जनामा उहाँ एक जना हुनुहुन्छ भने सबैभन्दा ठूलो त उहाँले यो पुरस्कार तीन पटक प्राप्त गरेर ज्यादै गौरवपूर्ण कीर्तिमान कायम गर्नुभएको छ ।

पुस्तक विमोचन, अन्तक्रिर्या, पुरस्कार वितरण, गोष्ठी, सेमिनारलगायतका अनेक कार्यक्रमहरूमा उहाँ निम्तो स्वीकारेर पुग्नुहुन्छ । सार्वजनिक सवारी साधन, शुभेच्छुकका मोटरसाइकल अथवा पैदल नै पनि उहाँ तोकिएको समयमा टुप्लुक्क पुग्नुहुन्छ । उहाँको सक्रियतालाई हेर्दा लाग्छ युवा अवस्थाको एक सक्रिय व्यक्तिले पनि उहाँको जत्तिको खटाइ धान्न सक्दैन होला तर उहाँ ठाँटका साथ भन्नुहुन्छ-अहिले ९१ वर्षमा हिँडिरहेको छु, यही सक्रियताले नै इच्छाशक्तिलाई मर्न दिएको छैन ।

हो, यति धेरै कीर्तिमान कायम गर्ने व्यक्तित्व हुनुहुन्छ सत्यमोहन जोशी । वि.सं. १९७७ वैशाख ३० गते बखुंबहाल, ललितपुरमा पिता शङ्करराज जोशी र माता नुगलदेवीबाट जन्मिनुभएका जोशीको जीवनका प्रत्येक पाटा रोचक इतिहास बनेका छन् । उहाँका अनुभव फुकाएर सकिँदैनन्, उहाँ स्वयंमा हजारौँ पृष्ठको इतिहासको ठेलीझै लाग्नुहुन्छ ।

उहाँ अहिले जुन घरमा बस्दै आउनुभएको छ, त्यो घर उहाँका पिताजीले किनेको हो । घरको इतिहास पनि रोचक छ नि भन्दै उहाँ भन्नुहुन्छ, मल्लकालका काजीहरूले बौद्धविहार बनाएर बखुंबहाल बनाउन खोजेको हुनुपर्छ । विहारमा बुद्धमूर्ति हुनैपर्छ तर यहाँ छैन । के कारणले हो भन्ने त पत्ता लगाउन सकिएकै छैन । पछि मेरा पिताजीले यो घर किन्नुभयो । यसको मूलस्वरूप कहिलेको हो भनेर यकिन छैन । ९० सालभन्दा अघि घरको ढोकामा ‘पञ्चझ्याल’ थियो । ढोकामा बज्रसत्व मूर्ति पनि छ । यस्तो मूर्ति अरू कसैको घरमा छैन । विहारका लागि बनेको हो भन्ने स्पष्ट हुन्छ । ९० सालको महाभूकम्पमा क्षति भयो । मर्मत गरेर बस्दैआएकोमा पिताजीको निधनपश्चात उहाँकै स्मरणमा विहारको रूप दिएर बुद्धमूर्ति प्रतिष्ठापन गरी धार्मिक अनुष्ठानहरू गर्दै आएको छु । प्रत्येक सोमबार प्रार्थना चल्छ ।

वि.सं. १९९८ सालमा गोरखापत्रमा ‘परिचय’ शीर्षकमा कविता प्रकाशित भएर प्रारम्भ भएको सत्यमोहन जोशीको साहित्यिक यात्रा पछि आएर लोकसाहित्य, संस्कृति र नाटकमा केन्द्रित भयो । लोकगीत र लोकसंस्कृतिको सङ्कलनक्रममा जुरेली चरीको जीवनको गीतले आफूलाई ‘सादा जीवन, उच्च विचार’ को पाठ सिकाएको र यही दर्शनमा चलेकोले सन्तुष्ट रहन सकेको उहाँ बताउनुहुन्छ ।

आफ्नो प्रारम्भिक जागिरे जीवनका सम्झना उहाँले फुकाइरहँदा जो कोहीलाई पनि इतिहासका पाना पढिरहेझैँ अनुभव हुनसक्छ ।

‘म वि.सं. २००१ सालमा जागिरे भएको हुँ । त्यतिबेला नेपाली चार पास भएपछि जागिर पाइन्थ्यो । त्यतिबेला कलकत्ता विश्वविद्यालयबाट एम.कम.गरेर आएका भीमबहादुर पाँडे नेपालकै पहिलो एम.कम. गर्ने व्यक्ति थिए । उनका बुबाले जुद्धशमशेरलाई दाम चढाएर बिन्ती चढाउन लगाएपछि जुद्धशमशेरले खुसी हुँदै ‘ल प्रोफेसर भयौ, भोलिदेखि कलेज पढाउनू’ भनेर हुकुम त दिए तर भोलिपल्ट त्रि-चन्द्र कलेज जाँदा त उनको विषय मिल्दो पढाइ नै छैन । त्यसपछि उनलाई उद्योग हेर्नेगरी खटाइयो । उद्योग परिषद्को डाइरेक्टर जनरल विजयशमशेर थिए । अनि मुलुकभर हेर्नेगरी ‘औद्योगिक-व्यापारिक समाचार सङ्ग्रह अड्डा’ बन्यो । त्यस अड्डालाई पाँच जना बी.ए. सम्म पढेका मानिस मागेर विज्ञापन गरियो । यो नै पहिलो लोकसेवाको जस्तो विज्ञापन थियो । त्यतिबेला छानिएका पाँच जनामा हामी तीन जना-नरकान्त अधिकारी, स्थिरबहादुर रायमाझी र म जीवितै छौँ । हामीलाई भीमबहादुरले तालिम दिएथे । हामीले देशभरका स्थान विशेषका कच्चा पदार्थ र सम्भावित उद्योगका लागि विस्तृत सर्भे रिपोर्ट तयार पाथ्र्यौ तर मेरो रुचिको विषय थिएन यो । समय विताउन गाह्रो हुन्थ्यो । त्यसैले म जहाँजहाँ पुग्थेँ, त्यहाँको लोकगीत र नाचगानतिर तानिएँ । जुरेली चरी, वनको न्याउली जस्ता मर्मस्पर्शी लोकगीतहरू मेरो जीवनका मार्गदर्शन नै बने । लोकसाहित्यका क्षेत्रमा काम गर्न तनहुँ जिल्लामा जाँदा लमजुङ र स्याङ्जालाई पनि समेटेको थिएँ । झ्याउरे भनिँदै आएकोमा लोकगीत, लोकभाका भनेर मैले नै ‘शारदा’ पत्रिकामा छपाएपछि प्रचलनमा आएको हो । त्यतिबेला विश्वमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो । लोकभाकामा यसरी गाइन्थ्यो-

गाई पाल्यो वनको बाघलाई
छोरो पाल्यो जर्मनको धावालाई ।

शारदाका त्यतिबेलाका प्रवन्धसम्पादक गोपालप्रसाद रिमालले गीतको पृष्ठभूमि, गाउनेको विवरणसहित सङ्कलन गर्न मलाई प्रेरणास्पद सुझाव दिएका थिए । त्यसो गर्दै जाँदा त ‘हाम्रो लोकसंस्कृति’ पुस्तक नै तयार भयो र २०१३ सालमा पहिलो (गद्य विधातर्फ) मदन पुरस्कार प्राप्त गर्‍यो ।’

त्यतिबेलाको उहाँको जागिरको प्रारम्भिक दिन सम्झँदै उहाँ अगाडि भन्नुहुन्छ- म खरदार सरहको जागिरे । वाषिर्क ६५० रुपियाँ तलब थियो, त्यसले राम्रै खर्च पुग्थ्यो । पछि नेपाल पनि संयुक्त राष्ट्रसङ्घको सदस्य बन्न लागेकोले वैज्ञानिक जनगणना प्रणाली अपनाउन राष्ट्रसङ्घको जनसङ्ख्या विभागले दिल्लीमा एउटा अफिस नै खडा गरेको थियो । यहाँबाट पनि काम गरिरहेका हामी पाँच जना र अर्को एकजनालाई पनि तालिमका लागि दिल्ली पठाइयो । हाम्रो जनसङ्ख्या अड्डालाई पनि गाभेर ‘सङ्ख्या विभाग’ बनाइयो । तालिमकै क्रममा श्रीलङ्का र न्युजिल्यान्ड पनि पठाइयो । देशको पहिलो जनगणना गराउने अड्डा हो मेरो ।

मदनपुरस्कार पाएपछि उहाँलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उहाँ स्वयंलाई अनुभव छ-वि.सं. २०१५ मा पहिलो आमनिर्वाचन भई वि.सं. २०१६ मा नेपाली काङ्ग्रेसको बहुमतको सरकार बन्यो । यसले पहिलोचोटि ‘पुरातत्व र संस्कृति विभाग’ खडा गर्‍यो । त्यसको डाइरेक्टरमा म नियुक्त भएँ । म खरदारको जागिर खाइरहेको मान्छे, एकैचोटि डाइरेक्टरमा नियुक्त भएँ ! मलाई शङ्का लाग्यो कतै अर्कैै सत्यमोहन जोशी पनि रहेछ कि भन्ने ! बोलाएको ठाउँमा गएँ र म सत्यमोहन जोशी हुँ भनेँ । उनीहरूले पनि सोधे- मदनपुरस्कार पाउने तपाई नै हो भनेर । मैले हो भनेँ । त्यसपछि मेरै नियुक्ति भएकोमा ढुक्क भएर सोधेँ – मैले के काम गर्नुपर्छ ?

मलाई त ठाडै हकारे – तपाईं किताव लेख्ने, हामीलाई सोध्ने के गर्नुपर्छ भनेर ! छोटै अवधिमा पनि मैले धेरै काम गरेँ त्यो विभागमा । पछि वि.सं. २०१७ सालमा पञ्चायती व्यवस्था लागू गरिएपछि विश्वबन्धु र तुलसी गिरी राजाका ‘दाहिना हात’ भए र मलाई खोसेर विश्वबन्धुको भतिजोलाई राखे ।

खाइरहेको जागिर खोसिएपछि उहाँलाई परिवार पाल्न नै धौधौ भयो र कामको चहारी गर्न थाल्नुभयो । त्यतिबेलै चीनमा चिनियाँ विद्यार्थीहरूलाई नेपाली पढाउन र रेडियो पेचिङमा काम गर्नलाई मान्छे मागियो । प्रारम्भिक चरणमा चूडानाथ भट्टराई, मोहनहिमांशु थापा र उहाँ छानिनुभयो । उहाँहरू प्रोफेसर हुनुहुन्थ्यो तर जोशी चाहिँ आई.ए.पास मात्र । त्यसैले आफू छानिनेमा उहाँलाई कत्ति पनि आशा थिएन अरे । आश्चर्य त्यतिबेला भयो जब त्यो कार्यक्रममा छानिएर उहाँ चीन जानेमा पर्नुभयो । त्यो कार्यक्रमका लागि यसरी प्रतिस्पर्धामा छानिएको पनि यो नै पहिलो थियो र यसमा पनि जोशीको रेकर्ड कायम भयो । यसरी छानिनुमा उहाँले मदनपुरस्कार प्राप्त गरेको आधारले थियो ।

‘पुरातìव र संस्कृति विभागमा रहँदा पाँचौँ शताब्दीदेखिका मुद्राहरू व्यवस्थित गरेर राख्नलाई काम गरेको थिएँ । त्यसकै बारेमा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक पुस्तक तयार पारेँ र मेरो त्यस कृतिले पनि २०१७ सालमा दोस्रोपटक मदनपुरस्कार पाइसकेको थियो ।’

यो कुरा वि.सं. २०१९ सालको हो भन्दै उहाँ अगाडि सम्झिनुहुन्छ- ‘त्यस कार्यक्रममा चीनमा रहेर चार वर्ष चिनियाँ विद्यार्थीहरूलाई नेपाली पढाएँ । जहानबच्चा पनि उतै लगेँ । ‘त्यस समयमा कलाकार अरनिकोको बारेमा आफूले निजी अध्ययन गरेँ र ‘नेपाली कलाकार अरनिको’ भन्ने शोधग्रन्थ नै लेखेँ । त्यसपछि नै हो अरनिकोले चर्चा पाएका । मेरो त्यो किताव ज्यादै चर्चित भयो । उनको कलाकारिता श्वेतचैत्यको बारेमा पनि नेपालभाषामा महाकाव्य लेखेँ ।’ भानुभक्तलाई चिनाउने मोतीराम भनेझैँ अरनिकोलाई चिनाउने सत्यमोहन भनियो भने अतिशयोक्ति हुँदैन ।

चीनमा चार वर्ष बिताएर फर्किएपछि उहाँ फेरि कामविहीन हुनुभयो । उहाँलाई सबैभन्दा ठूलो पीडाबोध नै काम नहुँदा हुन्थ्यो । राजा महेन्द्रले तत्कालीन प्रज्ञाप्रतिष्ठानमा केदारमान व्यथितलाई कुलपति बनाएका थिए । त्यतिबेलाको प्रज्ञाको प्रसङ्गमा उहाँ यसरी खुल्नुहुन्छ-केदारमान चार पासे मात्र थिए । अरू सदस्यहरू भने पढेका र सिनियर पनि थिए । सह-सदस्यमा म पनि छानिएको रहेँछु । धेरैजसो सदस्यले संस्कृतिमै काम गर्न रुचि देखाउने । मेरो पनि रुचि त्यसमै हो । सबैले आ-आफ्ना विषय देखाए । अब मलाई लोकगीतको काम त्यहाँ थिएन । केदारमानले सोधे – तिमी के गर्छौ त जोशी अब ?

त्यही के गर्छौ त जोशी अबमै उहाँले अर्को चुनौतिको बाटो रोज्नुभयो । उहाँले नेपाली भाषाको व्युत्पत्तिको थलो कणर्ाली अञ्चलको सिञ्जाखोला भन्ने त सुन्नुभएको थियो तर त्यसभन्दा पर अरू केही थाहा थिएन । मलाई चुनौतिपूर्ण काम गर्न मन लाग्यो भन्दै जोशी व्याख्या गर्नुुहुन्छ -म सिञ्जाखोला गएर नेपाली भाषाको खोजअनुसन्धान गर्छु भनेँ । सबैले हाँसेर उल्ल्याए मलाई । प्राज्ञहरू त्यतिबेला कि बनारस जान्थे, कि दार्जिलिङ जान्थे । त्यसैले उनीहरूले भने -कणर्ाली अञ्चलको पल्लोछेउ, एक त पुग्नै कठिन । पुगे पनि काम गर्न सक्दैनौ तिमीले भने । मैले एक मौका मागेँ र स्वीकृत भएपछि योजना बनाएँ । मसँग देश घुमेको आँट थियो । पछि डोरबहादुर विष्टलाई दुर्गमक्षेत्रको लियाजो अधिकृत बनाइएको थाहा पाएँ र उनलाई भनेँ । उनले मान्छेहरू तयार पारिदिए र पाँच जनाको टोली बनाएर प्रज्ञामा प्रस्ताव बुझाएँ । हामी जाने भयौँ । जाँदाको पनि रमाइलो कथा छ । ‘समर इन्स्िटच्युट अफ लिङ्गुस्टिक’ भन्ने एउटा अनुसन्धानात्मक अफिस थियो । अहिलेको भाषामा आई.एन.जी.ओ. । उनीहरूको आफ्नै छ सिटे हवाईजहाज थियो । त्यो संस्थालाई त्रैलोक्यनाथ उप्रेतीले नेपालमा भित्र्याएका थिए । उनीहरूको आफ्नै ‘अफसेट प्रेस’ पनि थियो । उनीहरूको त्यो जहाजलाई ‘फट्याङ्ग्रे जहाज’ भन्थे । त्यस्तो संस्थालाई पनि पछि नराम्रो गरेर निकालियो । हो, त्यही फट्याङ्ग्रे जहाज चढेर हामी जुम्ला गयौँ । जुम्लामा पाँच महिना बसेर काम गर्‍यौँ । हामी पाँचैले बेग्लाबेग्लै क्षेत्रमा अध्ययन गर्‍यौँ र बेग्लाबेग्लै कृति तयार पार्‍यौँ । नेपाली भाषाका लागि सम्बन्धित क्षेत्रका विद्वानहरू लगेर गरेको यो अध्ययन ज्यादै वैज्ञानिक र वृहत् थियो । मेरो मेहनतको ‘कणर्ालीको लोकसंस्कृति’ ले पनि २०२८ सालमा संयुक्तरूपमा मदनपुरस्कार पायो ।

उहाँले चुनौतिपूर्ण काम गरेर देखाएकाले उहाँको मूल्याङ्कन राम्रै भएछ । उहाँ फेरि सदस्य-सचिवमा नियुक्त हुनुभयो अर्को पाँच वर्षे कार्यकालका लागि । त्यो कार्यकाल सकिएपछि उहाँ फेरि खाली पर्नुभयो । त्यो खाली समयमा फेरि दुई वर्षका लागि चीन जानु भयो । त्यहाँबाट फर्केर आएपछि पाटन क्याम्पसमा लोकसंस्कृति विषयको अध्यापन गर्नुभयो । यतिबेला उहाँ नेपालभाषा एकेडेमीमा कुलपतिको जिम्मेवारी सम्हालेर काम गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ – यो पद अवैतनिक हो । मातृभाषाका लागि काम गरेको हुँ । त्यसो भनेर नेपाली भाषामा काम गर्न छोडेको होइन । मेरा कृतिहरू पनि दुवैभाषामा बरोबरजस्तै छन् । देवकोटा शताब्दी महोत्सवमा सम्पन्न ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ को संयोजक पनि मै थिएँ ।

उहाँका दुवै भाषामा गरी तीन दर्जनको हाराहारीमा कृतिहरू प्रकाशित छन् । उहाँको सिद्धान्त नै ‘अर्काको लिने मात्र होइन, आफू पनि देऊ’ भन्ने रहेको छ । मेरा कृति प्रायः यसैगरी जन्मिएका हुन् भन्नुहुन्छ जोशी । उहाँले आत्मपुराण सुनेर ‘दैलोको बत्ती’ नामक नाटक लेख्नुभएको थियो । उहाँले बुद्धको ‘शून्यवाद’ मा आधारित ‘प्रज्ञापारमिता’ सिरानीमा राख्नुभएको छ र दैनिक पाठ गर्नुहुन्छ ।आफूले लेखेका यतिका कृतिहरूमा आफूलाई सबैभन्दा मन परेको चाहिँ ‘कणर्ालीको लोकसंस्कृति’ नै हो भन्नुहुन्छ उहाँ ।

सत्यमोहन जोशी सङ्घर्ष र चुनौति स्वीकार गर्न सदैव तत्पर रहनुहुन्थ्यो । उहाँलाई दुःखी बनाउने पारिवारिक घटनाहरू नभएका होइनन् । पिताजी विरामी पर्दा औषधि गर्न पैसाको अभाव भएको, पिताजीको निधनपछि घरको जिम्मेवारी सम्हाल्न गाह्रो परेको भए पनि मेरो आफ्नै दर्शनले गर्दा विचलित भइनँ भन्नुहुन्छ । अहिले एउटा छोरो क्यानडा, एउटा बेलायत र एउटा यहीँ भए पनि बेग्लै बसेका छन् । दुइटी छोरीमा एउटी अमेरिकामा छिन् भने अर्की मकवानपुर भीमफेदी । उहाँको एउटा भाइ र एक बहिनीमा भाइ स्वर्गीय भइसके । हेर्नुस् न, जति भए पनि के गर्नु ? ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि ।’ बूढाबूढी बसेका छौँ बूढोघरमा, यति भनेर उहाँ फिस्स हाँस्नुभयो ।

उहाँ आफ्नो जीवनदर्शनलाई स्पष्ट पार्न खोज्नुहुन्छ -म ‘प्रज्ञापारमिता’ अध्ययन गर्छु । यसले कुनै पनि वस्तुको आफ्नो अस्तित्व छैन भन्छ । किताव भन्छौँ । यसलाई खोज्दा-कागजमा जान्छ । कागजको काठमा-घाँसमा पुग्छ । व्यवहारमा जे सम्झ्यो त्यही हो । दार्शनिक चिन्तनले सबै कुरा गौण बन्दारहेछन् । त्यसैले म न त धेरै खुसी हुन्छु, न त धेरै दुःखी नै । तै पनि सोधिहाल्नुभो, प्रज्ञामा सदस्य सचिव हुँदाको एउटा घटना भन्छु भन्दै ‘खुसी’ भएको प्रसङ्गमा उहाँ भन्नुहुन्छ-”सूर्यविक्रम ज्ञवाली सदस्य सचिव हुँदाको एउटा मुद्दा थियो – तत्कालीन लेखापाल गणेशलालसँगको एक लाखको मुद्दा । त्यो सर्वोच्चमा पुगेर सूर्यविक्रम ज्ञवालीलाई १७ हजार तिराउने गरी तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले फैसला गरिदिएका थिए तर ज्ञवालीजी निर्दोष हुनुहुन्थ्यो । म सदस्य सचिव भएपछि महान्यायाधिवक्ता र विशेष प्रहरी विभागसँग अनुरोध गरेर मुद्दा दोहोर्‍याउन लगाएँ । त्यतिबेला नयनबहादुर खत्री प्रधानन्यायाधीश भइसकेका थिए । उनले मुद्दा उल्ट्याइदिए र ज्ञवालीजीले सफाइ पाउनुभयो र गणेशलालबाटै सबै रकम असूलउपर गर्नेगरी फैसला भयो । अरूले नमान्दा नमान्दै पनि आफू अघिसरेर गरेको काममा ठूलो सफलता मिलेकोले ज्यादै खुसी भएँथेँ ।”

उहाँलाई पछिल्लो समयमा प्रज्ञाप्रतिष्ठानमा कुलपति बनाउनलाई सोधिएको थियो तर मैले स्वीकारिनँ भन्नुहुन्छ । त्यसो त सूर्यबहादुरकै पालामा पनि उपकुलपतिका लागि सोधिएको रहेछ । उहाँले नमानेपछि बासुदेव त्रिपाठीलाई बनाइएको रहेछ । उहाँलाई आफ्नो ‘छवि’ बिग्रिएला कि भन्ने डरले पद स्वीकार गर्न मन मानेन अरे । फेरि नेपालभाषा एकेडेमी पनि त चटक्कै छोड्न भएन नि । जिम्मेवारी हो लिएपछि छोड्नु हुँदैन भन्ने उहाँको सिद्धान्त छ । अचेल लेखपढमा कमी छ आँखा कमजोर हुँदै आए तर पनि कार्यक्रमहरूमा बेलाउँदा नकार्न सक्दिन भन्नुहुन्छ । उहाँलाई सबैले सजिलो मान्छे भन्छन् । भूमिका लेखाउन, प्रमुखअतिथि बनाउन उहाँलाई नै खोजिन्छ । हो, जसले आश गरेर आउँछ, उसलाई खाली हात फर्काउन चित्त मान्दैन उहाँको । चित्त दुखाउन चाहनु हुन्न कसैको पनि । मिल्दै नमिल्ने भए मात्रै हो, नत्र मन राख्नु ठूलो कुरो हो उहाँको हेराइमा । मेरो देश, मेरो राष्ट्र, मेरो विचार-दर्शन भन्ने खालका विचारप्रधान र आध्यात्मिक किताव पाए अझै पढ्ने थिएँ, अरुमा त रुचि छैन अब भन्नुहुन्छ उहाँ ।

उहाँको पछिल्लो प्रकाशित कृति भनेको नेपालभाषाको ‘चारुमति’ नाटक हो । कलासम्बन्धीको ज्यादै वृहत् पाण्डुलिपि प्रज्ञाबाट प्रकाशित गरिने भनेर बनारस पुगेर पनि फिर्ता आएको र कसैले पनि प्रकाशन गर्न हिम्मत नदेखाएको खोपामा राख्नु भएको छ जोशीले । ‘आफू १० वर्ष बसेर पनि छापिनँ, नैतिकता हेरेँ, अहिले धमिरा लाग्ने भयो’ भन्ने चिन्ता उहाँले व्यक्त गर्दा मैले सिङ्गो नेपाली साहित्यको खोज-अनुसन्धानको अवस्थालाई सम्झिएँ एकपटक । अहिले पनि उहाँ पाटनमा देखाइने कात्तिक नाचका बारेमा अध्ययन-खोज गरिरहनुभएको छ । जोशीको जोश ९१ वर्षमा पनि कुनै युवाभन्दा कम छैन भाषा, साहित्य, कला र संस्कृतिका लागि ।

1 thought on “सामान्यज्ञानका धेरै प्रश्नहरुको एउटै उत्तर”

  1. ठिस बुढा

    धन्यवाद KBS ९१ बर्षे जोशीको जोशलाई
    धन्यवाद!

    क्रिशमस र नयां बर्षको सुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *