Skip to content


जन्मिएँछु अन्जानमा हुर्किएँछु सगोलमा
चिनाएँछु अरुलाई आफूलाई चिन्न सकिनँ
खडेरीको हुरी आयो उडाई लग्यो पातसरी
पछारिएँ यो भूमिमा जुरुक्क उठी हिन्न सकिनँ ।

बज्रपर्‍यो छातीभित्र चिरा पर्‍यो कलेजोमा
उम्लिदियो आँसुभेल अन्तरमन रोक्न सकिनँ
बाँधफुट्यो गहबाट दह बन्यो मझेरीमा
पोकोपरी पीडाहरू कसैसामु खोल्न सकिनँ ।

व्यक्तिबाटै व्यक्तित्व हत्या टुलुटुलु हेरीरहेँ
छल्न थालेँ आफैलाई आत्मरक्षा गर्नैै सकिनँ
चर्किदोछ घायल मुटु घण्टी ठोकी स्नायुमा
जल्दैआयो आफ्नै चिता अलिपर सर्नै सकिनँ ।

डाकीरहेँछु यथार्थलाई पर्खिरहेँछु तड्पिएर
अन्तररोग पत्ता लाउने विशेषज्ञ भेट्नै सकिनँ
नेपालको वगानमा नयाँ बेर्ना सारौँ भन्थेँ
अन्तरमनका अनन्त चाह जुनीभर मेट्नै सकिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *