Skip to content


सुजातालाई टिकट नदिनु मेरो ठूलो गल्ती थियो, म निश्चित छु उनले त्यसबेला चुनाव जित्ने थिइन् ।
– पूर्व प्र.म. गिरिजाप्रसाद कोइराला

त्यस बैठकमा देउवा रूनुभयो । पूरै समय अश्रुपुरित थिए, भारी देखिन्थे । लाग्थ्यो यिनले केही विचार बनाइसकेका छन् ।
– जयप्रकाश आनन्द

हाम्रा पर्चाले माओवादीका हतियारले मच्चाएको हत्या, हिंसाभन्दा धेरै गुणा बढी काम गरेको थियो ।
– रामहरि शर्मा

यी केही भनाइहरू आत्मकथा भित्रका हुन् । आत्मकथा जीवनी साहित्यकै त्यस्तो विधा हो, जसमा स्वयं व्यक्ति विशेषले आफ्नो जीवनका बारेमा प्रकाश पार्दछ । यसका लागि संस्मरण, दैनिकी, चिठ्ठीपत्र, जस्ता प्रमाणिक अभिलेखको प्रयोग गरी कृतिलार्य रूचिकर बनाइन्छ । आफ्नो सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा अर्थात् आफैँले बनाएको आफ्नै वृतान्त, आफ्नै जीवन चरित्रलाई आत्मचरित्र, आत्मकथा भनिन्छ ।

नेपाली साहित्यमा यस्ता जीवन, आत्मकथा, दैनिकी (डायरी) संस्मरण लेख्ने चलन प्रारम्भदेखि नै हुँदै आएका छन् । सिधै नलेखेर कतिपयले पत्रात्मक, यात्रा वर्णनका रूपमा तथा कतिपयले कवितात्मक रूपमा पनि यसलाई अङ्गिकार गर्ने गरिएको पाइन्छ । नेपाली साहित्यमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई आत्मकथाको प्रथम कृति मान्ने गरिन्छ । यो स्वयम् बडामहाराजाले नलेखेर अरूलाई भनेर लेखाइएको कृतिका रूपमा लिइएको छ ।

साहित्यका अरू विधा झैँ आत्मकथाले पनि उत्तिकै महत्त्व राखिआएको छ । ऐना अगाडि आफू बसेर हेर्दा जस्तो आकृतिको जे देखिन्छ, यथार्थ रूपमा त्यही कुरा लेख्नसक्नु नै यसको नियम हो, अनुशासन र लक्ष्मणरेखा हो । आफूद्वारा आफ्नै विषयमा लेख्नु असजिलो, अप्ठ्यारो र सङ्कोचको विषय हो भन्नेहरू केही छन् भने केही चाहिँ यसलाई निकै सजिलो र हल्का रूपमा पनि लिने गर्छन् । किनभने यसका लागि विशेष कुनै मुड, भावभूमि, सोच र नाटकीयरूप खासै दिइरहनु नपर्ने हुँदा आफूले भोगेका घटनाक्रम र विषयवस्तुलाई यथार्थ रूपमा लेखिदिएपुग्छ भनिन्छ । आखिर जेहोस् यस्ता आत्मकथा, जीवन चरित्र वा आत्मचरित्रहरू पाठकका लागि रमाइला, प्रेरणाप्रद र ज्ञानवर्धक हुने कुरालाई भने नकार्न सकिँदैन ।

नेपाली साहित्यिक बगैँचामा आत्मकथाका थुप्रै सुन्दर फूलहरू नदेखिने होइनन् । मुख्य रूपमा यिनीहरूको नाम लिनुपर्दा चिरञ्जीवी शर्मा पौडेलको आफ्नु कथा, पारसमणि प्रधानको आफ्नोबारे, राममणि आ.दि.को पुरानो सम्झना, खड्गमान सिंहको जेलमा बीस वर्ष, केदारमणि आ.दी.को आफ्नै कुरा, चन्द्रकान्तदेवी मल्लको मेरो आत्मकथा, वी.पी. कोइरालाको आफ्नो कथा र आत्मवृतान्त, पूर्णसिंह ठाकुरको अनुभव, कमल दीक्षितको बिर्सेको सम्झेको, बी.एल. शर्माको राष्ट्रियता र म, मोहनध्वज बस्नेतको मेरा अतितका सम्झनाहरू पारिजातको धूपी, सल्ला र लालीगुराँसको फेदमा, अध्ययन र सङ्घर्ष, बासु पासाको पछाडि फर्केर हेर्दा, नारदमुनि थुलुङको बिर्सेका अनुहारहरू बिर्सन नसकेका घटनाहरू, धु्रवचन्द्र गौतमको बाल्यकाल, मदनमणि दीक्षितको आनन्दमय आकाश तथा म रूँदै बिर्सिन्छु, भूपालमान सिंंह कार्कीको मेरो जीवनयात्रा, ज्ञानमणि नेपालकेा मेरे गुरूकुलीय शिक्षा र सहपाठी आदि छन् । त्यसो त बासुदेवशर्म लुइटेल, शंकर कोइराला, साम्वभक्त शर्मा सुवेदी, शंकर लामिछाने, दमनराज तुलाधर, मुक्तिनाथ तिमसिना, धरणीधर कोइराला, नरपति शर्मा पोखरेल, छविलाल पोखरेल, भरतराज पन्त, जयराम शर्मा, शान्ता श्रेष्ठ, शेषराज दली, राधाकृष्ण मैनाली, डि.वी.लामा आदिले पनि विभिन्न रूपमा आत्मकथा लेखेका छन् । आफूद्वारा आफ्नै विषयमा लेखिनु निश्चय नै असजिलो कुरो हो । यसमा पनि पूर्वाग्रहविना लेख्न सक्नु त झनै ठूलो कुरा हो । आफूमाथि अनयाय नगरिकन जुन जुन सर्जक, महापुरूष र साहित्यकारहरूले आ-आफ्ना आत्मकथाहरू लेखेका छन् तिनीहरू अझ महान् बनेका छन् । केही महापुरूषहरूले यो व्रत पालन गर्न नसक्दा उनीहरूको आत्मकथा आलोच्य मात्र होइन स्वयम् उनीहरूको प्रतिष्ठा धूमिल हुन पुगेका उदाहरणहरू पनि नभएका होइनन् ।

सम्पूर्ण व्यक्तिका जीवनमा आफ्नै प्रकारका कथाहरू हुने गर्छन् तर केहीले मात्र पुस्तककार कृतिका रूपमा त्यसलाई सार्वजनिक गर्दछन् । यसका लागि एउटा लेख्न सक्ने कला पनि चाहिन्छ भने कतिले चाहिँ ‘आफू आत्मकथा लेखिन योग्य नभएको’ ठान्ने प्रचलनले पनि यसमा चाहे जति बढोत्तरी नआएको मानिन्छ । साधारण परिवेश र परिस्थितिमा हुर्किएको एउटा सामान्य नागरिकको भन्दा देशको कुनै क्षेत्रमा प्रतिष्ठा प्राप्त व्यक्तिको आत्मकथालाई विशेष महत्त्व दिएर पढ्ने चलन हाम्रो पाठक चेतनामा व्याप्त छ ।

हाम्रो देशमा पनि थुप्रै शिर्षपुरूषहरू छन् तर उनीहरूका आत्मकथा भने लेखिएका छैनन् । हाम्रा देशका अमर शहिदहरूको आत्मकथा भएको भए सम्भवतः हामीलाई ती शहिदहरूका बारेमा जानकारी लिन सजिलो पर्ने थियो । नेपालका प्रधानमन्त्री भिमसेन थापा, जङ्गबहादुर राणा, लक्ष्मीप्रसाद देवकोटा आदिका बारेमा पनि अनेकौँ रोचक र बहादुरीका टिकाटिप्पणीहरू प्रचलनमा छन् । आत्मकथाको अभावमा यो टिप्पणीको वास्तविकता केवल अनुमानको मात्र विषय बनिरहेको छ ।

अहिले नेपालमा यस क्षेत्रमा निकै कलम चलिरहेको देखिन्छ । “मैले कहिले पनि आफ्नो बारेमा लेख्ने प्रयास गरिनँ । मलाई के लाग्छ भने मैले त्यस्तो कुनै कुरो गरेको छैन, जुन इतिहासको रेकर्डमा रहोस् ।” वी.पी. कोइरालाले आफ्नो आत्मवृतान्तमा यो कुरा भने पनि उनका थुप्रै कुराहरू हामी पढ्न, सुन्न पाउँछौँ । त्यस्तै वी.पी. को अर्को कृति आफ्नो कथामा पनि आफूलाई अत्यन्त न्याय गरेको कुरा बताइन्छ । त्यसमा वी.पी.ले आफ्ना दुःख, कमीकमजोरी र लाचारीहरूलाई कति पनि लाज नमानी पाठक सामू तेस्र्याइदिएका छन् । यति हुँदाहुँदै पनि यसभित्र वी.पी.को सम्पूर्ण जीवनी नअटाएको भनी पठकवर्गले अपर्याप्तता महसुस गरिरहेको देख्छौँ ।

छोरी सुजातालाई २०५६ सालको निर्वाचनमा टिकट नदिनु ठूलो गल्ती भएको पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो आत्मवृतान्त मार्फत् व्यक्त गरेका छन् । पुस्तकमा कोइरालाले छोरी सुजाता प्रति ठूलो आशा राखेका छन् । उनले ‘छोरीमाथि त्यस्तो गल्ती कहिले नदोहोर्याउने’ पनि बताएका छन् । किताब कोइरालाको निकटमा रही काम गरेका दिल्ली विश्वविद्यालयका रिउर डा. परमानन्दले लेखेका हुन् । जीपी कोइरालाको नेपालमा प्रजातन्त्रका लागि सङ्घर्ष नामक एकसय एकसठ्ठी पेजको उक्त पुस्तकले कोइरालाको बाल्यकालदेखि शिक्षा, राजनीतिक जीवन हुँदै दोस्रो जनआन्दोलन र त्यसपछिको सात दलको प्रधानमन्त्रीसम्मको समय समेटेको छ । कृष्णप्रसाद भट्टराई, गणेशमानसिंहदेखि लिएर तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका सनदर्भहरूसमेत पुस्तकभित्र पाइन्छन् । पूर्वराजा ज्ञानेन्द्र बढी महत्त्वाकांक्षी र कम विश्वसनीय भएको भन्दै कोइरालाले राज्य सञ्चालन कलाबारे पनि उनलाई केही थाहा नभएको कुरा पुस्तकमा उल्लेख छ ।

‘मेरो डायरीका पानाहरू’ मा वरिष्ठ राजनीतिज्ञ गणेशमान सिंहले आफ्नो राजनीतिक अतीत खोतलेका छन् । नेपाली राजनीतिमा अलिकति मात्र चाख राख्ने जो कोही पाठकलाई यसले राम्रै खुराक प्रदान गर्ने सामर्थ्य राख्दछ । यसमा गणेशमान सिंहको राजनीतिक कथा मात्र समेटिएको हुँदा उनको समग्र आत्मकथाको अभाव चाहिँ यसले पूर्ण गराउन सकको छैन ।

जिउँदा शहिद भनेर चिनिने रामहरि शर्माको आत्मवृतान्त पनि आएको छ । राणाशासन फाल्न चालिएका विभिन्न कदमहरू उल्लेख गर्दै एक ठाउँमा भनिएको छ -“हाम्रा पर्चाले माओवादीको हतियारले मच्चाएको हत्या हिंसाभन्दा धेरै गुणा बढी काम गरेको थियो र राणाहरू हतास भएका थिए । प्रतिक्रियावादी राणाहरूको हुकुमीतन्त्रलाई खत्तम पार्ने काममा हाम्रो पर्चाले ज्यादै महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।”

त्यसो त पुरानामा वामपन्थी राजनीतिज्ञ तुल्सीलाल अमात्यको राजनीतिक दृष्टिकोण र निचोड सङ्गालिएको ‘संस्मरणका पानाहरू’ नामक पुस्तकलाई पनि आत्मजीवनीकै कोटीमा राख्न सकिन्छ । नेपाली राजनीति र विशेष गरी वाम राजनीतिको विश्लेषणका क्रममा दिवंगत नेता तुल्सीलाल अमात्य रचनाहरूमा इमान्दार देखा परेका छन् ।

आफू अख्तियारको थुनामा रहेको अवसरलाई उपयोग गर्दै जयप्रकाश आनन्दद्वारा लेखिएको अर्को पुस्तक हो -“अख्तियारको थुना मेरो सम्झना ।’ देउवा सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री समेत रही सकेका जयप्रकाश गुप्ताले तत्कालिन आफ्नो सरकारको निरीहता, माघ १९ को पूर्वानुमान, दरबारको इशारामा काम गर्नुपर्ने सरकारी बाध्यता जस्ता तथ्यहरूलाई उद्घाटित गर्दै -“त्यस बैठकमा देउवा रूनुभयो । पूरै समय अश्रुपुरित थिए, भारी देखिन्थे । लाथ्यो यिनले केही विचार बनाइसकेका छन् ।” भनेर शेरबहादुरका बारेमा कृतिमा यसरी उल्लेख गरिएको छ । आफू धेरै समय पार्टी र महत्त्वपूर्ण पदमा आसिन भएर पनि पुस्तकमा आफ्ना बारेमा मौनता प्रकट गर्नु तर अन्य राजनीतिक व्यक्तिलाई नङ्ग्याउनुले यसलाई एकांकी र पूर्वाग्रहीको आरोप पनि नलागेको होइन । शैलीगतरूपमा पुस्तक अत्यन्त रोचक मात्र नभएर सरकारको मन्त्रीमण्डलमा रहेका जिम्मेवार सदस्यले एक डेढ वर्ष नपुग्दै सार्वजनिक गरेका तथ्यहरूले त्यहाँ हुने गरेका कथा, व्यथा र वाध्यताहरूलाई बुझ्न यस पुस्तकले धेरै मद्दत पुर्याएको छ ।

व्यवसायले चार्टड एकाउण्टेण्ट भए पनि राजनीतिज्ञको रूपमा परिचित कुवेर शर्माको ‘विद्रोह इतिहासका साक्षीहरू’ पुस्तकमा २००७ सालदेखिका मुख्य मुख्य राजनीतिक घटनाक्रमहरू यसमा समेटिएका छन् । राजाहरू महेन्द्र तथा वीरेन्द्रका अलावा वी.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँगको भेट प्रसङ्गहरूलाई समेत उल्लेख गरिएको उक्त पुस्तक काङ्ग्रेसका विषयहरूमै बढी केन्द्रित देखिन्छ ।

त्यसो त पूर्वप्रशासक सूर्यबहादुर सेन ओलीको मेरा कथाहरूको कथा नामक पुस्तकको पनि निकै चर्चा, विवाद, वहसहरू भएकै हुन् । मन्त्री र दरवारिया सचिवहरूको हस्तक्षेप, घुस प्रकरण, नमिता, सुमिता काण्ड आदिलाई उठाइएको छ । पञ्चायतकालको प्रशासक भएर बस्दा उनले गरेका क्रियाकलाप भोग्ने, देख्ने, सुन्ने जो कोहीसमेत मर्माहत हुने गरेको टिप्पणीका परिप्रेक्ष्यमा आएको यो सामग्रीमा यससम्बन्धी कुनै कुरा पनि उल्लेख नहुनुले यो कृति स्वस्थ र सन्तुलित हुन नसकेको आरोप पाठकहरूले लगाइरहेका छन् ।

अर्का पूर्वप्रशासक राधारमण उपाध्यायद्वारा लिखित ‘जागिर यात्रा’ नामको कृतिलाई पनि आत्मजीवनीकै रूपमा लिन सकिन्छ । उनले आफ्नो जागिरे जीवनक्रममा भोग्नु परेको उतार चढावलाई समेटेपनि पुस्तकलाई आत्मप्रशंसामा बढी रमेको आलोचना गरिन्छ ।

नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति डा. दयानन्द बज्राचार्यद्वारा लेखिएको ‘वैज्ञानिक गोरेटो’ नामक कृति अर्को आत्मकथाको सङ्गालो हो । यसभित्र उनले आफू कार्यरत हुँदाको विभिन्न अनुभवहरू सङ्गालेका छन् ।

‘जिन्दगीका टिपोटहरू’ कृष्णचन्द्र सिंह प्रधानको आत्मवृत्तान्त हो । यसभित्र छवटा शीर्षकमा विभिन्न समय परिस्थितिसाग सम्बन्धित निबन्धात्मक शैलीका रचना छन् । प्रसिद्ध सङ्गीतकार अम्बर गुरूङले ‘कहाँ गए ती दिनहरू’ नामक कृति मार्फत् २६ वटा संस्मरण/निबन्धको सङ्ग्रह प्रकाशित गरेका छन् । यो कृतिलाई लघु आत्मकथाका रूपमा हेर्न सकिन्छ । गीत-सङ्गीत र गायनका आरोह अवरोहलाई उनले यसमा उतारेका छन् । डा. बाबुराम शर्मा पोख्रेलले हालै ‘भए गरेका कुरा’ नामक आत्मकथाको सङ्गालो प्रकाशित गरेका छन् । यसमा उनले आफ्नो बाल्यकाल बनारस यात्रा, शिक्षाध्यक्ष भएर विश्वविद्यालयमा रहँदाका अनुभव लगायत अन्य ज्ञानवर्द्धक र रोचक सामग्रीहरू समेटेका छन् ।

“…साह्रै पोसायो मलाई साहित्य । यसले धनी पनि बनायो । साना ठूला १२ जति पुरस्कारबाट तीन लाख पचास हजार जति रकम र प्रशस्त विक्रीबाट लेखकस्व बापत तीनलाख जति रकम पाएँ । नेपाली लेखकले यति पैसा पाउनु सामान्य कुरा होइन । लेखेर के हुन्छ र ? भन्ने प्रश्न पनि सानो छैन तर, लेखेर खुब इच्छा भन्ने लाग्न थालेको छ अचेल आफूलाई । ..” मेरो साहित्यिक यात्रा र मदन पुरस्कार नामक संस्मरणात्मक पुस्तकमा कृष्ण धरावासी आफ्नो वृतान्त यसरी व्यक्त गर्दछन् ।

“…. मान्छे पीडा र यातनासहित पनि बाँच्न चाहन्छ । कतिप्रिय छ जीवन, म जसरी पनि बाँचेकोमा मेरो परिवार खुशी छ, म खुशी छु । मेरो स्वजनहरू खुशी छन् । धन्य तिर्सना …।” प्राणघातक रोग (रक्त क्यानसर माइलोमा) बाट पीडित साहित्यकार जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ नामक आत्मालापमा यीप्रसङ्गहरू उल्लेख गरिएका छन् । यो कृतिभित्र दुखेसो र गुनासाहरूमात्र होइन साहित्य, राजनीति, समाजसेवा आदिका विषयहरू समाविष्ट छन्, व्यक्ति चरित्रका अनेकौँ उदाहरणहरू छन्, राजनीतिका थुप्रै रङ्गहरू भेटिन्छन् । यही कृतिले मदन पुरस्कार प्राप्त गरेको छ ।

यी त भए केही नेपालका प्रसङ्ग, भारतमा पनि थुप्रै व्यक्तिहरूका आत्मकथाका चर्चाहरू सुन्न पढ्न पाइन्छन् । भारतका सुप्रसिद्ध कवि हरिवंश राय वच्चनले आफ्नो आत्मकथामा लेखेका छन् – ‘म कलममा हात राखेर भन्दैछु म जे भन्छु साँचो भन्छु, त्यसको अतिरिक्त अरू केही पनि भन्दिन ।’ उनले आफ्नो आत्मकथा सत्य लेखिएका कुरा स्पष्ट पारेका छन् । भारतकै अर्का कवि अज्ञेय आत्मकथाका बारेमा भन्दछन् -“जब मैले कुनै झूठ लख्न परे म आत्मकथा लेख्नेछु ।’ आत्मकथा झूठो लेखिन्छन् भन्ने अभिप्राय यसमा उनले व्यक्त गर्न खोजेको प्रतीत हुन्छ । अज्ञेय कै भनाइलाई साथ दिँदै भारतकैअर्का स्रष्टा राजेन्द्र यादव पनि – “यदि मैले झूठो लेख्नु छ त म आत्मकथा नै लेख्नेछु, तर साँचो लेख्दा म उपन्यास अथवा कथा लेख्नेछु” भन्दछन्।

महात्मा गान्धी जस्तो व्यक्तिले पनि जंजीवार जाँदा आफू वेश्यालयभित्र पसेको अनि तुरून्तै बाहिर निस्केको र आफ्नो सोझोपन बारे सबै साथीहरूले त्यसबेला बुझेको कुरा आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । उनले आफ्ना कमजोरी श्रीमती माथि पोख्ने गरेको कुरा पनि स्पष्ट गरेका छन् । उनी भन्छन् -“मैले उनलाई माइत पठाइदिएँ र धेरै कष्ट दिएपछि फेरि आफूसँग राख्न मञ्जुरगरेँ ।” महात्मा गान्धी जस्तो आदर्श पुरूषले आफ्नै श्रीमतीलाई यस्तो क्रूर व्यवहार गरे भन्ने कुरा सितिमिति पत्याउन सकिन्न । यो कुरा उनले निष्पिmक्री आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । त्यतिमात्र होइन -“कानुनको सविनय भङ्ग गर्नका लागि आहृवान गरेर हतारमा मैले गल्ती गरेँ, जुन पहाड जत्तिक्कै ठूलो गल्ती थियो । यो स्वीकारोक्तिका कारण मलाई धेरै उडाइयो, तर पनि आफ्नो गल्ती स्वीकार गर्नका लागि मलाई कुनै पश्चाताप छैन ।” यसरी गान्धीले आफ्नो गल्ती, कमीकमजोरीलाई स्पष्टसँग देखाएका छन् । शायद त्यसैले उनी महान् छन् । यसबाट हाम्रो नेताहरूले राम्रो शिक्षा लिँदै गलत काम कारवाहीका प्रति पश्चाताप तथा आत्मआलोचना गर्ने बानी बसाउनु आवश्यक देखिन्छ ।

यस प्रसङ्गमा नाथुराम गोड्सेको प्रसङ्ग निकाल्नु पनि सान्दर्भिक नै ठहर्ला । ‘मैले गान्धीजीको हत्या किन गरेँ’ भन्ने पुस्तकमा गोड्सेले लेखेका छन् “मलाई स्पष्ट थाहा थियो कि यदि मैले गान्धीजीको हत्या गरेँ भने मेरो जरोबाट नै नष्ट गरिनेछ । मानिसले मसँग घृणा गर्नेछन् । मेरो प्राणभन्दा प्यारो सम्मान नष्ट हुनेछ । यसको साथसाथै मलाई यो पनि ज्ञान थियो कि गान्धीजी सदाका लागि विदा भए भने देशको राजनीतिमा शस्त्र प्रयोग र प्रतिकारात्मक कारवाहीलाई स्थान मिल्ने छ । देश शक्तिशाली हुनेछ । सबैले मलाई मूर्ख भन्नेछन्, तर देश यस्तो बाटोमा चल्नेछ जो उचित हुनेछ । यही सोचेर मैले गान्धीजीको अन्त गर्ने विचार गरेँ । मैले आफ्नो निर्णय कसैलाई पनि बताइँन । … ३० जनवरी१९४८ को दिन मैले गान्धीजीको हत्या गरेँ । यदि देशभक्ति पाप हो भने म भन्दछु मैले पाप गरेको छु । यदि प्रशंसनीय हो मैले आफूलाई त्यो प्रशंसाको अधिकारी सम्झन्छु । मलाई विश्वास छ यदि मानिसद्वारा स्थापित न्यायलयभन्दा माथि अन्य न्यायलय छ भने त्यसमा मेरो कार्यलाई अपराध मानिने छैन …. ।’

त्यस्तै भारतमा सन् १९७७ मा जव श्रीमती इन्दिरा गान्धी चुनावमा हारिन् त्यो समय उनीसँग फुर्सद थियो । सो समयलाई उपयोग गर्दै उनलाई आत्मकथा लेख्न विश्वका छ, सातवटा ठूलाठूला प्रकाशकहरूले उनीसँग अनुरोध गरेका थिए तर श्रीमती गान्धीले कहिल्यै पनि आत्मकथा लेख्न चाहिनन् । किनभने उनलाई डर थियो कि यसबाट उनका निकटका धेरै व्यक्तिहरू रिसाउने छन् । आत्मकथाबाट धेरै व्यक्तिहरू रिसाउन सक्छन् भन्ने राजनीतिक सुझ श्रीमती गान्धीको हुनसक्छ । भारतकै दस्यु सुन्दरी फुलनदेवीको आत्मकथा पनि एकताका निकै चर्चा, विवाद र रोचक भएको कुरा पत्रपत्रिकाहरूमा नआएको होइन ।

भारतीय बच्चन परिवारकी बुहारी ऐश्वर्या राय सिनेमा जगतकी चर्चित नायिका हुन् । उनले अब सिनेमाका प्रसङ्गका साथसाथ आफ्नो व्यक्तिगत सम्बन्धका विषयमा समेत आत्मकथा लेख्ने भएकी छन् । ‘म कुनै कुरा पनि लुकाउँदिन, मेरो वायोग्राफी पढेपछि सबै कुरा थाहा पाउनुहुनेछ ।’ भन्ने ऐश्वर्याले यसका लागि आफ्नी आमाको सहयोग लिने भएकी छन् ।

त्यसो त अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनले आफ्नो आत्मवृतान्तमा आफ्ना साह्रै गोप्य कुराहरू पनि प्रकाशित गरेर पाठक र स्वय्र आफैँप्रति पनि अत्यन्त न्याय गरेका छन् । उनले सो पुस्तकमा आफ्नै कार्यालयकी एक कर्मचारी मोनिका लेवेन्स्कीसँग गरेको प्रेम प्रसङ्गलाई उल्लेख गर्दै उक्त कुरा थाहापाएपछि आफ्नै श्रीमती हिलारी क्लिन्टनले आफूलाई सँगै ओछ्यानमा सुत्न नदिएर बाहिर सोफामा रात बिताउनु परेको कुरासमेत उल्लेख छ । अमेरिकाको राष्ट्रपति जस्तो व्यक्तिले सोफामा रात बिताउनुपर्ने परिस्थिति आफ्नै कारणले निम्त्यो । यसमा उनले कति पश्चाताप, प्रायश्चित गरे होलान् स्वतः अनुमानगर्न सक्छौँ । यो आफैँ रोमाञ्चक विषय हो । त्यो वाहेक आफू गरिब परिवारको भएको, सानैमा बाबु-आमा मरेका, आमाले थुप्रै सौतेने बाबुहरू फेरेको र उनीहरूसँग जीवन बिताउँदै गरेका सङ्घर्षहरू त्यहाँ सजीव छन् । यसबाट थुप्रैले प्रेरणा र हौसला प्राप्तगर्न सकिन्छ ।

आफ्ना संस्मरणलाई पुस्तककार दिन बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई ६० लाख पाउण्ड प्राप्त हुने भएको छ । लण्डनबाट प्रकाशित ‘दैनिक मेल’ समाचारपत्रका अनुसार दुई वर्षपछि व्लेयरले आफ्नो संस्मरण लेखिसक्नुहुनेछ । सम्झौता बापत प्राप्त हुने वैना रकमले कनट स्क्वायरस्थित आफ्नो निवासका लागि मासिक तिर्नुपर्ने १६ हजार पाउण्ड तिर्न ब्लेयरलाई सहयोग हुनेछ । प्रस्तावित संस्मरणको प्रकाशन अधिकार बेलायती र अमेरिकी प्रकाशन गृहहरूलाई प्रदान गरिनेछ । प्रधानमन्त्री पद त्यागरेका मध्यपूर्वका ब्लेयरेले भन्नुभयो -“बेलायतको प्रधानमन्त्री र सांसद् रहँदा बेहोरेका जस अपजसहरूका यो सङ्कलन मननयोग्य र चाखलाग्दो हुने विश्वास गरेको छु ।

अमेरिकाका लेखक जेम्स फ्रेले लागू औषधको बानीबाट पीडित भएर जेलमा रहँदाको अनुभव संगाली एक पुस्तक निकालेका छन् । उक्त पुस्तक सैयौँको सङ्ख्यामा बिक्री भइसकेको छ । पुस्तकमा कतिपय कुराहरू साँचो नभएको भनेर विवादित बनेको छ । ‘अ मिलियन लिटिल पिसेस’ नामक कृतिका लेखकले यस बापत् माफीसमेत माग्नुपर्यो ।

यसरी आत्मकथाका रोचक टिप्पणी र यसबारेका विभिन्न व्यक्तिहरूका भनाइले पनि यसको महत्त्व र गरिमालाई वृद्धि गराएको महसुस हुन्छ । आत्मकथाले नेपाली साहित्यको श्रीवृद्धिमा समेत ठूलो योगदान दिइआएको छ । अतः यसतर्फ अझ हाम्रो समाजका गन्यमान्य महानुभावहरू तथा लेखक, कविहरूले कलम चलाएर यस विधालाई अझ सशक्त बनाउनु आवश्यक देखिन्छ । जसले गर्दा भोलिका पुस्तालाई समेत आत्मकथाले प्रेरणा प्रदान गर्न सकोस् ।

शनिबार, गोरखापत्र
आश्विन ८, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *