Skip to content

शहीदको आत्मालाप

HussainKhan


भुल्छन् शासक मर्म-पिर जनको सत्ता चलाए पछि
वाचा-वन्धन तोड्दछन् छिनछिनै नाच्छन् पताका सरी ।
रम्छन् शासक वर्ग स्वार्थ पथमा टेकेर अल्कापुरी
उठ्छन् झुण्ड बनाइ शोषितहरू पड्कन्छ ज्वालामुखी ॥

आगो शोषणको बलेर कहिल्यै अन्याय मेटिन्न रे !
अत्याचार सधैँ रहन्छ बलियो तूफान रोकिन्न रे !
घोच्ने कण्टकको स्वभाव त भने छुट्दैन् कैल्यै पनि
फालौँ खाडल नै खेर गहिरो अन्याय हट्ने गरी ।।

लड्नै पर्दछ युद्ध वीरहरूले यै देशको खातिर
बाँच्नै पर्दछ गर्व साथ जगमा आफ्नो उठाई शिर ।
गर्ने छन् पथभ्रष्टले अझ बढी आनन्दले शोषण
खोस्छन् अंश र आय-आर्जन सबै पाइन्न है पोषण ।।

हाम्रै रक्त र स्वेदले मुलुकको माटो भिजेको अनि
पोखी पौरख लोकतन्त्र जगमा आयो उज्यालो बनी ।
हाम्रै प्राण र रक्तबाट अहिल्यै बन्दो छ साजीवनी
खासेका अधिकार औ हक सबै पाइन्छ पक्कै पनि ।।

फुल्नै पाउनु पर्छ बोट-बिरुवा आ-आफ्नै रङ्गमा
अत्याचार कतै बढ्यो अझ भने उठ्लान् सबै जङ्गलमा ।
गर्नेछन् प्रतिकार भोलि सबले धोका दिएछौ भने
होला घोर विरोध नै सबतिरै कर्तव्य बिस्यौ भने ।।

माटोमा अधिकार हुन्छ सबको तथ्यै स्वयम् सिद्ध छ
सेवामा हक हुन्छ-हुन्छ सबको बाटो भने बन्द छ
कस्तो कारणले भुल्यौ कि जन हो इच्छा लुकायौ किन
सत्तामा हक हुन्छ-हुन्छ सबको चाहिन्छ सम्बोधन

माटोको ममता भरी ह्यमा उड्दा महाशून्यमा
बोकी आस स्वदेशकै प्रगतिको डुल्दैछु यै सिन्धुमा ।
बाँडी अंश समानुपातिक गरी बस्नै पर्यो भूमिमा
गर्ने हो सहकार्य आज सबले सद्भावको बिन्दुमा ।।

मेरा सुन्दर यी हिमाल चुचुरा राखेछु यै आत्मामा
बस्ती-गाउँ जताततै सहरमा बस्नेछु है साथमा ।
अर्ती औ उपदेशले मुलुकको बन्ला नयाँ जीवन
नौलो नोश नयाँ-नयाँ प्रविधिले गर्छन् नयाँ सिर्जना ।।

कालो मेघ चिरेर आत्म-दिले षड्यन्त्र छाडी कन
प्यारो राष्ट्र बनाउनै छ बलियो दायित्व ठानी कन ।
सत्ता लोभ र दाउपेचहरू नै टाढा धपाईकन
छाओस् शान्ति भनेर देशभरि नै गर्दैछु यै कामना ।।

हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।
छन्दः शार्दूल विक्रीडित

1 thought on “शहीदको आत्मालाप”

  1. हुसैन खाँज्यू राष्ट्रप्रेमले
    हुसैन खाँज्यू राष्ट्रप्रेमले भरिएको मार्मिक कविताको पाठक बन्ने सौभाग्य दिलाउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु
    सहिदहरूको बलिदानीको गाथाले मन खायो
    छन्दमा कविता लेख्ने गोर्खेसाइँलो लगायतका एकाध कविका कविता पढ्दापढ्दै बौद्धिकता भरिएको यो कविता पढ्ने मौका मिल्यो
    यस खाले विचारअनुरूप नेताहरूले काम गरे कस्तो हुनेथियो ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *