Skip to content

आधुनिक सन्दर्भमा पौराणिक प्रेमकथा


पौराणिक कालका सावित्री र सत्यवानले फेरि पृथ्वीमा जन्म लिएछन्। पहिलेको जन्मको याद दुवैलाई भएकाले दुवै एकअर्कासँग नै प्रेम र विवाह गर्ने ध्याउन्नमा थिए। तर, पूर्वजन्मजस्तो राजा-महाराजाको घरमा जन्म नलिएर सावित्रीले राष्ट्रपतिको घरमा जन्म लिइन्। सत्यवान चाहिँ राजनीतिक नेताको घरमा जन्मिए। सत्यवानका मातापिताचाहिँ अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चक्करमा परेर जेलको हावा खाइरहेका थिए। तर, सत्यवानले सच्चा पुत्रले झैँ मातापिताको सेवा गर्न छोडेका थिएनन्।

सावित्रीले बुझेर पुगेपछि सत्यवानको मोबाइल पत्ता लगाउन कोसिस गरिन्। धेरै प्रयत्नपछि मोबाइल त पत्ता लाग्यो तर विधिको विधान ! कहिले बत्तीको कारणले मोबाइल ‘रिचार्ज’ नहुने, कहिले कोही मोबाइलको ‘स्विच अफ’ हुने त कहिले ‘बिजी टोन’ आउने कारणले गर्दा सावित्री हैरान भइन्। तर, आफ्नो हठ छोडिनन् र लगातार फोन गरिरहिन्। एकदिन माइक्रोबसमा बसेका बेलामा सत्यवानको फोन टिरटिर बज्यो, सावित्री बोलिन्, “हलो सत्यवान हो? म पौराणिक कालकी सावित्री हुँ ! तिमी कहाँ छौ। म त्यो कालदेखि नै तिमीसँग प्रेम गर्छु र तिमीसँग विवाह गर्ने प्रतीज्ञा गरेकी छु।” सत्यवान छक्क परे र दंग पनि, “सावित्री मेरी प्रियसी, म अहिले मेरो पजेरोमा बसेर केही नेताहरूलाई भेट्न जाँदैछु। करोडौँको व्यापारको कुरा छ। म नेताजीहरूसँग भेट गरेपछि राष्ट्रपति भवनमा भेट्न आउँछु, तिमी त्यहाँ फूलहरू नफुलेको फूलबारीमा बसिराख।”

सत्यवानको कुरा माइक्रोमा बसेका अन्य यात्रीहरूले सुने। माइक्रोलाई पजेरो भनेर र काठमाडौँको गल्लीमा भौंतारिरहेको मान्छे नेताजीहरूलाई भेट्न जान लागेको भनेर झूटो बोलेको देखेर सबै मुस्कुराए। तर, मोबाइल भएकाहरू सबैले कहिले न कहिले झूठो बोलेर एक ठाउँमा जान थालेको, अर्को ठाउँमा जान लागेको भन्ने बानी भएकाले सब तैँ चुप मै चुप पनि भए। खैर सत्यवानको के पो काम थियो र? आधा घन्टापछि सावित्रीलाई ‘कल ब्याक’ गरे। दुवै जनाले भेटे र पौराणिक कालको रोमान्स सम्झे। सावित्रीले पौराणिक कालकै सोचमा सम्झेर भनिन्, “सत्यवान विवाह त म तिमीसँगै गर्छु। तर, यसपालि यमराज लिन आउँदा तिम्रो होइन, मेरो ज्यान लैजाऊ भन्छु। अनि, तिमी अनेक तरिका गरेर यमराजको पछि लागेर मलाई फिर्ता ल्याउनू। म नभईकन नहुने वरदान माग्नु। अनि त यमराज खुसी भइहाल्छन् र मेरो जीवन फर्किन्छ।”

त्यही सहमतिमा सत्यवानको विवाह सावित्रीसँग भयो। राष्ट्रपतिकी छोरीको विवाह देशभरमा धुमधामसँग मनाइयो। वैवाहिक कार्यक्रम अवधिभर लोडसेडिङ् हटाउन चीन, भारत र भुटानबाट महँगोमा बिजुली मगाइयो। सबै खर्च सरकारले बेहोर्यो। कर्मचारीलाई अरबौँ रुपियाँ बोनस बाँडियो। राष्ट्रपतिको व्यक्तिगत सम्पत्ति भए यो उनलाई चिन्ता हुन्थ्यो। जनताको करको सम्पत्ति जनतामै गयो। राष्ट्रपतिले भने, “जे होस्, धुमधामसँग विवाह भयो।”

यसरी आधुनिक युगमा पनि सत्यवान र सावित्रीको प्रेमकथा भयो। तर, अब अर्को अंश त बाँकी नै छ। विस्तारै-विस्तारै सत्यवानको मृत्युको दिन आयो। भैँसीको जमाना गइसकेको हुनाले यमराज पनि टोयोटा कारमा चढेर आए। “सत्यवान, मसँग हिँड,” यमराजले भने। पूर्वसहमति अनुसार सावित्रीले भनिन्, “प्रभो, पौराणिक कालमा सत्यवानलाई लैजानुभएको थियो। आधुनिक काल छ। नियममा केही परविर्तन गरेर मलाई लैजानूस्। पौराणिक कालमा मैले सत्यवानलाई तपाईंको पन्जाबाट छुटाएझैँ सत्यवानले पनि मलाई छुटाउनेछन्।” सावित्रीको कुरा सुनेर यमराजले भने, “तिमी यी आधुनिक पुरुषको फन्दामा परेर धोका पाउली है। तिम्रो जिन्दगी जाला नि?” यो कुरा सुनेर सत्यवानले हात जोडेर भने, “प्रभो, मेरो जीवनमा सावित्रीबाहेक अरू को छ र?”

लौ त भनेर यमराजले सावित्रीको आत्मा टोयोटामा राखे। काठमाडौंको भीडभाडमा यमराजको टोयोटाको पछाडि सत्यवान दाइजोमा पाएको नयाँ ब्रान्डको मर्सिडिज चढेर यमराजलाई पछ्याउँदै गए। केही पर पुगेपछि यमराजले मोबाइलमा सत्यवानलाई फोन गरेर भने, “मेरो पिछा छोड र बरू सावित्रीको जीवनबाहेक अरू जे भए पनि वरदान माग।” सत्यवानले भने, “मेरो मातापिताविरुद्धको अख्तियारको मुद्दा हटोस् र सबै सम्पत्ति फिर्ता होस्।” यमराज ‘तथास्तु’ भन्दै गए र सत्यवान एकएक गरेर वरदान माग्दै गए। यमराजलाई सम्झाउन मन लागिसकेको थियो कि उसले कहिले सावित्रीको जीवन मागोस् र आफू त्यो दिएर यहाँबाट भाग्न पाइयोस् भन्ने चक्करमा थिए। तर, सत्यवान त बाठा थिए। सावित्रीको जीवनप्रति उनलाई खास मोह थिएन। सावित्रीले आफैँ यमराजसँग जान्छु भनेकी हुनाले उनको विवेकले पनि उनलाई केही भन्दैनथ्यो। पौराणिक कालमा सावित्रीसँग जीवन बिताएपछि आधुनिक कालमा पनि उनीसँग नै किन जीवन बिताउनु भन्ने सोच गर्दै थिए। यत्तिकैमा यमराजले झर्केर वरदान माग्न भने र सत्यवानले वरदान मागे, “प्रभो, मेरो एक पुत्र एक पुत्री हुन्।” यमराजले ‘तथास्तु’ भने। अब त सावित्रीको जीवन माग्छन् अनि तथास्तु भनेर भाग्छु भन्ने सोच्दै थिए कि सत्यवानले सन्तानकी आमा ऐश्वर्या रायको जस्तो अनुहार, विपाशा बसुको जस्तो जीउ, एन्जेलिना जोलीको जस्तो खुट्टा र प्रियंका चोपडा जस्तो मुस्कान मागे।

यमराज दिक्क भए। उनलाई छटपटी पनि भयो। “अनि सावित्री नि?” उनले मोबाइलमा ठूलो स्वरमा कराए। “सावित्री त पहिले नै मेरी एक सय सन्तानकी आमा भइसकेकी छन्। फेरि उनलाई किन अरू सन्तान जन्माउने सास्ती दिनु। आमा बन्ने कुरा कम गाह्रो छ र? म सावित्रीलाई अति प्रेम गर्छु। तपाईंले उनको आत्मालाई लगेर स्वर्गमा आनन्दसँग राख्नोस् र मलाई मैले वर्णन गरेकी जस्तो युवतीसँग विवाह गराई आनन्दपूर्वक बाँच्ने आशीर्वाद दिनूस्,” सत्यवानको सावित्रीप्रतिको त्यत्रो महान् प्रेमले यमराज पुलकित भए। उनले सोचे, आजकलको जमाना लोग्नेमानिसहरू स्वास्नीमानिसले जसरी भए पनि बच्चा पाउन भन्ने विचार गर्छन्। उनको गर्भावस्थाको वेदना बुझ्दैनन् तर सत्यवान साँच्चिकै महान् रहेछन्।

“यस्ती सुन्दरीहरू यिनको मनमा रहेछ र पो त म यमराजसँग जान्छु भन्दा खुसीका साथ हुन्छ भनेका रहेछन्। तर, यस्ता दुष्ट र पापीहरूसँग बस्नुभन्दा त मृत्युपछि स्वर्गमा नै गएर बस्छु,” सावित्रीले पनि सोचिन्। यमराजले सावित्रीको आँखातिर हेरेर भने, “सत्यवानको तिमीप्रति अथाह प्रेम रहेछ र त उनी तिमीलाई प्रसव वेदनाबाट दुःख भएको देख्न चाहँदैनन्। त्यसैले मैले उनलाई चाहेको जस्तो वरदान दिइसकेको छु। तिमीलाई स्वर्गमा सम्मानजनक स्थान दिन्छु।”

यता केही समयपछि सत्यवानले पनि आफूले भनेजस्तो प्रियसी त भेट्टाए। तर, समस्या के परेको छ भने प्रेमका अन्तरंग क्षणमा प्रियसीले ‘कहिले अभिषेक बच्चन, कहिले जोन अब्राहम, कहिले अर्जुन रामपाल’ भन्छिन्। सन्तान जन्माउने त कुरै छैन। “मेरो फिगर बिग्रन्छ,” उनी सत्यवानलाई जवाफ फर्काउँछिन् ।

नेपाल साप्ताहिक ४१७

3 thoughts on “आधुनिक सन्दर्भमा पौराणिक प्रेमकथा”

  1. आधुनिकताको धज्जी
    आधुनिकताको धज्जी उडाउनेहरूप्रति गजबको वाण प्रहार गरेको रहेछ कथाले

  2. आधुनिकताको धज्जी
    आधुनिकताको धज्जी उडाउनेहरूप्रति गजबको वाण प्रहार गरेको रहेछ कथाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *