Skip to content

लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

  • by


बासनारहित तर प्लास्टिक होइनौ
तिमी लाहुरे फूल

म यतिखेर युद्धमा क्षत-विक्षत
मेरा पति सम्झि रहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन
र त्यही पेन्सनको आडमा बाँचेको
जिन्दगी जेनतेन सोचिरहेकी छु

मेरो पतिको जिन्दगीभरको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोकाअगाडि निर्लज्ज फक्रिरहेको
तिमी लाहुरे फूल !

भो भैगो कति नुनचुक छर्छौ यो घाउमा
धेरै भयो – जिन्दगी नै घाउ भएको
धेरै भयो – जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ सुमसुम्याएर
रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल
म तिम्रो नाम फेर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *