Skip to content


पूर्वको सीमावर्ती द्वारमा लामो समयदेखि शिक्षण गर्दै आएकी भुवन सुब्बा खरेल सायद साहित्यमा अलि अघि नै आउनुपर्ने थियो। उनका नौवटा कथाहरूको सँगालो सेती नदीभित्रका सबै कथाहरूको विभिन्न भँगालाहरूलाई छिचोलेर किनारमा पुगेपछि यस्तो लाग्छ, उनका कथाले नेपाली समाजरिरसंस्कृतिमा हुर्किरहेको आजको गाउँलाई आफ्ना कथाभित्र कसिलोसँग बाँधेेकी छन्। देशमा क्रान्ति र आन्दोलनका अनेकौँ चरणहरू छिचोल्दै ‘नयाँ नेपाल’, ‘रूपान्तरण’, ‘गणतन्त्र’जस्ता अनेकौँ नौला नारा उर्लिए पनि गाउँ आज पनि त्यहीँ छ। कुनै रूपमा नयाँ हुन सकेको छैन, कतैबाट रूपान्तरित भइरहेको छैन र समाजको कुरीतिबीच बाँचेको यी गाउँमा आज पनि गणतन्त्र भन्ने कुरा खालि शब्दमा बाँचेको रहेछ। भुवनका अधिकांश कथाले समाजभित्र पहिल्यै हुनुपर्ने तर कहिल्यै हुन नसकेको परविर्तनका विभिन्न पाटाहरूलाई प्रस्तुत गरेकी छन्।

विशेषतः नारी पीडाहरूको भित्री तह खोतल्न सफल छिन्, कथाकार। शीर्षक कथा सेती नदी मात्र पढ्यो भने आजको आधुनिक समाजमा खियाजस्तो टाँसिएर भित्रभित्रै खाइरहेको प्रवृत्तिलाई बुझ्न सकिन्छ। पुरुषप्रधानताको हैकममा आफ्ना हरेक रहर र इच्छाहरूलाई बन्धकी राखेर शताब्दीयौँदेखि बाँच्दै आएकी एउटी महिलाभित्र लुकेको कारूणिक बाध्यता उनका हरेक कथामा उद्घाटित हुन पुगेका छन्।

त्यसैले, शैली, प्रस्तुतीकरण र कथाको बुनोटले सेती नदीलाई भुवनको पहिलो कृति हो भन्दा पत्यार लाग्दैन। उनका हरफहरफ माझिएका छन्। बरु कथावस्तुको चुरोमा केही नवीनता आइदिएको भए अझ सशक्त संग्रह हुनसक्थ्यो। सेती नदी एउटै कथाले उनको सशक्त कलमको उदाहरण दिन्छ। कलात्मक संवादमा उनले खेलाएका शब्द र विन्यास तथा यस कथामा उनले अघि सारेको तर्क साँच्चिकै प्रशंसनीय छ।

कमल खरेलद्वारा प्रकाशित यस संग्रहको आफ्नो भनाइमा आफू ढिलो भएकामा कथाकारले पछुतो मानेकी छन्। यो स्वाभाविकै पनि हो। तर, ढिलो आइन् र सफल कृतिका साथ आइन्। यस पक्षबाट उनले चित्त बुझाउँदा हुन्छ। जम्माजम्मी ४८ पृष्ठमा अटाएका नौवटा कथाभित्र उनले आफ्नो अभिव्यक्तिपूर्ण कला र सीप देखाएकी छन्। भुवनले ४ हजार ८ सय शब्दमा भन्न नसकेका कुरा यी ४८ पृष्ठमा भनेकी छन्।

‘मान्छेको मन खुसी हुँदा जाँगर पनि उर्लिएर बाढी आउँछ’ (सरकारी खर्च, पृष्ठ ः ४६), ‘अन्तर्घातको पीडाले यो आत्मा जलाउनु थियो भने म यो संसार किन रच्थेँ? यो फूलबारी किन स्याहार्थें? आफ्नो अस्तित्वलाई यो घरको ढुंगोमाटोमा किन मिसाउँथे’ (सेती नदी, पृष्ठ ः २८) ‘साँच्चै भन्ने हो भने अब उनीहरूको संरक्षकत्व र पितृस्नेहमा समेत अंश लाग्ने दुर्दिनहरू आउने छन्’ (सेती नदी, पृष्ठ ः २९) यी केही उदारहणीय हरफहरू हुन्, जसले उनको काव्यात्मक गद्यको उदाहरण दिन्छन्। एकै फड्कोमा तर्न सकिने यो सानो सेती नदीमा सेती नदीजस्तै गहिरा अभिव्यक्तिहरू छन्। यस संग्रहको प्रेरणाले भुवन सुब्बा खरेलले निरन्तर कलम चलाइरहिन भने उनको कलमले निश्चय नै साहित्यलाई नयाँ मोडतर्फ डोर्‍याउने छ।

नेपाल साप्ताहिक ४१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *