मभित्र अर्को शालीन मान्छे छ
ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ
ऊ मभित्र कतै ‘ग्यापस’मा छ
म उसको जात चिन्दिनँ
उसको देश चिन्दिनँ
उसको रंग चिन्दिनँ
उसको रेखा चिन्दिनँ
ऊ मबाट छोपिएको छ,
हेपिएकोछ, दबाइएको छ
ऊ मलाई प्रगतिको अवरोध ठान्छ
यथास्थिति ठान्छ र भन्छ
त्यसले उसको ‘म’त्व खोसियो रे
वाद खोसियो रे
महाख्यानको अपव्याख्या भयो रे
इतिहास मारियो रे
र लेखकलाई केन्द्रमा उभ्याइयो रे
खोइ के के पो भयो रे
अहिले ऊ अजङ्गको
क्रोधी भएको छ,
इखालु भएको छ
जिज्ञासु भएको छ
ईश्वरलाई सुलीमा चढाएर
हत्याको आदेश दिने
न्यायधिश भएको छ
खोइ अरु के के पो भएको छ
त्यसैले ऊ सबै केन्द्रहरूको विरुद्धमा
शालीन विद्रोह गर्छ र
अभिमन्यू घेरा भत्काउन
मभित्रबाट निस्केर
अर्जुनको अवतारमा
मलाई चेम्बरमा उभ्याएर
गाण्डिव ताक्न चाहान्छ
मभित्र अर्को शालीन मान्छे छ
ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ
फ्रायडेली चिन्तनले रङ्गिएको
फ्रायडेली चिन्तनले रङ्गिएको कविता लाग्यो । धेरै राम्रो मानेर दोहार्याएर पढें । जे देखिन्छ वास्तवमा छायाँ जस्तो मात्र हो मान्छे । आजसम्मको इतिहास त्यही शालीन मान्छेको नै हो । भित्रको गुदी पस्किन खोज्नु भएको रहेछ, देसजीलाई धेरै बधाइ छ । बाहिर त जसले पनि देखिहाल्छ नि । जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि ।
केन्द्रहिनताको आव्हान गर्नुभएको रहेछ , धन्यवाद ।
कविजीको यो रेखा कविता लगातार प्रयोगमा आउनुको कारण्ा चाहिँ के रहेछ ? यसको बारेमा बुझ्न पाए आभारी हुने थिएँ । के यो भयवादको प्रयोग हो ?