Skip to content

एक थिए देवकोटा

  • by


काठमाडौ, कार्तिक १९ –
महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला (वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको । मैले देवकोटाका लगभग सबै नभए पनि अधिकांश र त्यसमा पनि उनका ‘भयंकर कर्महरू’ (म्याग्नम ओपस) पढेको छु । उनका ‘पागल’, ‘यात्री’ जस्ता कविता, अनि खण्डकाव्य ‘मुनामदन’ का केही हरफ मलाई मुखाग्र छन् । तैपनि देवकोटा भन्नासाथ मलाई उनी कविभन्दा पनि मिथक ज्यादा लाग्छ र यस लेखमा पनि म उनको काव्यिकभन्दा पनि मानवीय वा मिथकीय पाटाहरूबारे नै चर्चा गर्नेछु । महाकविका काव्यिक देन र तिनका आयामहरूबारे समालोचक र विद्वान् लेखकहरूले चर्चा गरेका छन् र गर्ने नै छन् ।

देवकोटा र मिथकहरू भन्नासाथ मलाई अहिले गान्धीमाथिको अल्बर्ट आइन्स्टाइनको भनाइको सम्झना हुन्छ । गान्धीको त्याग र सादगीबाट द्रवित भएका आइन्स्टाइनले भनेका थिए, ‘हाड र मासुले बनेको यस्तो मान्छे यसै धर्तीमा थियो भन्ने विश्वास गर्न आउँदो पुस्तालाई मुस्किल पर्छ’ सायद देवकोटा पनि यस्तै हुन्, वर्तमान तथा आउने पिंढीका निम्ति । यस्तो कवि जो आफ्नो हातमा चुरोट निभ्दै गरेको पत्तो पाउँदैनथ्यो, जो चुरोटका खोलमा समेत कविता कोथ्र्यो र कापी, कलम र चुरोटका खोलसमेत खोसी दिएपछि ऊ अँगारले भित्ता कोर्थ्यो, जसले एकै रातमा खण्डकाव्य सिध्याएको थियो, जसले दस दिनभित्रै महाकाव्य लेख्छु भनेर बाजी ठोकेको थियो र त्यसलाई फत्तेसमेत गरेको थियो ।

उनका काव्यिक रचनाहरूजस्तै व्यवहार पनि सधैं चर्चामा रहे । उनले जाडाले काँप्दै गरेको भिखारीलाई आफ्नो कोट ओढाएका थिए रे ! भारतको एक काव्यिक सम्मेलनमा हिन्दी भाषामा बोल्दा कसैले ‘कविजी आपका लिंग गडबड हैं, जरा लिङ पकडकर बोलिए’ भन्दा महाकवि निकै कड्किएका थिए रे । उनी बनारसमा रहँदा गुजाराका निम्ति सुका मोहरमा कविता बेच्थे रे अनि उनकै कविता किनेर धेरै कवि पनि भए रे । उनीबारेका मिथकहरूको सूची निकै लामो छ ।

कवि देवकोटालाई मन्त्री पनि बनाइयो । उनी उचालिए अनि पछारिए पनि । सायद देवकोटाकालाई पत्याएर अरू देवकोटाहरू, डाक्टरहरू, इन्जिनियरहरू, कविहरू, लेखकहरू, समाजसेवीहरू यस देशमा मन्त्री हुन लालायित भए र बने पनि तर तिनीहरूको हविगत कवि देवकोटाभन्दा फरक हुनचाहिं सकेन । मैले आजसम्म देवकोटाउपरको सम्बोधनमा महाकवि एवं पूर्वमन्त्री भनेको सुनेको छैन । मन्त्रीको पद महान छाती, मस्तिष्क र मन भएका देवकोटाका निम्ति तुच्छ थियो र उनले त्यागिदिए त्यो । खै, अरू ‘देवकोटा’ हरूले त्यो बुझेको ।

सयौं कविहरूले सयौं वर्षमा दिन नसक्ने कुरा एक्ला देवकोटाले दिए यस मुलुक र हामीलाई । उनी दिँदै गए हामी लिँदै गयौं । लहडी के आई सिंहले कुन अभीष्टले देवकोटालाई मन्त्री बनाए, त्यो थाहा छैन र मुलुकले उनलाई मन्त्री बनाएरै सम्मान गरेको भए त्यो पनि जान्दिनँ म तर देवकोटाले केवल अभाव र उपेक्षाको जिन्दगी बाँचेको कुरा पक्का हो । देवकोटा रूसबाट र्फकेर आएपछि कुनै चाटुकारले राजा महेन्द्रलाई ‘यी कवि कम्युनिस्ट भए’ भनेर चुक्ली लगाएको थियो रे । नत्र कविता नै लेख्ने राजा भएको मुलुकमा देवकोटाको किन त्यस्तो दशा हुन्थ्यो ? हाम्रा महानतम् कविलाई न त हामीले जिउँदो हुँदा नै सम्मान गर्न सक्यौं, न त उनले यो संसार छाडेर गएपछि नै । बाँचुन्जेल उनी अक्सर उपहासका पात्र बनिरहन्थे । उनले कुन मनोदशामा ‘पागल’ कविता लेखे, त्यो पढ्दा थाहा लागिहाल्छ । जसरी देवकोटा काव्यिक फाँटका धरहरा हुन्, उनी त्यसभन्दा बढी अभाव र उपेक्षाका सगरमाथा पनि हुन् । देवकोटा एउटा त्यस्ता बिम्ब पनि हुन् यस मुलुकमा कि सिर्जना गर्नेहरूको नियति उनको जस्तै हुन्छ भन्ने पनि । आज पनि यो मुलुकमा को बढी उपेक्षित छ भनेर हेर्ने हो भने पहिलो पंक्तिमा सिर्जनाधर्मीहरू नै पर्नेछन् ।

मुलुकले महाकविको उपाधि दिएर उनीप्रतिको दायित्व पूरा भएको ठानेको छ । नत्र राजा, महाराजा, धनाढ्यहरू र तिनका सन्तानदर सन्तान र प्रेमीप्रेमिकाका नाममा समेत पुरस्कार स्थापना हुने देशमा खै राष्ट्रका तर्फबाट उनका नाममा पुरस्कारको घोषणा ? खै उनका पाण्डुलिपि र सरसामानहरू (मेमोराम्बिलिया) को संग्रह ? छ कतै लक्षमीप्रसाद देवकोटा नामको संग्रहालय ? बरु उनको घर पनि भत्कँदै छ र हामी बनेका छौं केवल रमिते । राष्ट्रको ढुकुटी रित्याएर विदेश सयर गर्ने र मोतीबिन्दुको शल्यक्रिया गर्न बैंकक पुग्ने नेताहरूबाट उनको घरको जीर्णोद्धार र त्यहाँ देवकोटा संग्रहालयको कल्पना गर्नु बेकार छ । अब हाम्रो माटोका महान् स्पन्दन महाकविको घर बचाउन हामी सबै जनस्तरबाट लाग्नुपर्छ ।

मैले यसै दैनिकमा मेरा प्रिय डाक्टर दिनेशचन्द्र पोखरेल गोजीमा छ हजार रुपैयाँ हालेर महाकविको घरलाई भत्कनबाट जोगाउन कुनै टेवा पुग्छ कि भनेर मैतीदेवी पुगेको आलेख पढेको थिएँ । ती सौम्य डाक्टर अलि बढी धनराशिको जोहो गर्नसके महाकविको धरोहरलाई संग्रहालयमा परिणत गर्न सकिन्छ कि भन्ने स्तुत्य काममा लागेका छन् भन्ने सुनेको छु । हामीले किन यी उदारमना डाक्टरको होस्टेमा हैंसे नगर्ने ? सायद यो काम पूरा गर्नसके देवकोटा जन्मेको शय वर्षपछि नै सही एउटा सार्थक काम अनि हाम्रा प्यारा महाकविप्रति सच्चा श्रद्धाञ्जलि हुन्थ्यो कि ?

प्रकाशित मिति: २०६७ कार्तिक २१ ०९:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *