Skip to content

लक्ष्मी, उत्सव र हुरी

  • by


काठमाडौ, कार्तिक १९ –
‘शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा,/ दिनको स्वणिर्म सहिदी च्यानमा बर्सन्छन् जल भै तारा,/ जराकी बैरी, बढार्छु बैरी सडल दलको देश ।/ संक्रान्ति ज्वर हुँ प्रकृतिकी जो बर्बर छु किटेर दारा’ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘हुरीको गीत’ मा एउटा समयभित्रको विचलन देखे । एउटा शक्तिको खेल देखे । एउटा परिवर्तनभन्दा पहिलेको समय देखे । प्रकृतिको मञ्चमा अवतरित भूमण्डलीय चहलपहल देखे । त्यो चहलपहललाई रोमानी धारका कविहरू सिर्जनाको एक छटाका रूपमा हेर्छन् । उन्नाइसौँ शताब्दीका अंग्रेजी कवि पीबी शेलीले आँधीमा त्यस्तै छटा देखे तर देवकोटाको काल्पनिकीमा हुरीको उन्मत्त स्वरूपले उनको समयलाई बिम्बका रूपमा राख्छ । यो कुरा समयचेतना अनि परिवर्तनका स्पन्दन भएका उनका कविता र उनका केही महत्त्वपूर्ण ऐतिहासिक कर्मबाट बुझिन्छ ।

नेपालको निकट इतिहासमा त्रिपन्न सालदेखि त्रिसट्ठी सालसम्म एउटा बबन्डर चल्यो । हामी त्यस समयलाई हुरीको रूपक मान्न सक्छौँ । नेपालको इतिहासले एउटा अभूतपूर्व अवतार लियो । नेपालमा माओवादीले जनयुद्ध भनेर हतियारसहितको आन्दोलन सुरु गरे । त्यो दसबर्से युद्धमा तेह्र हजारभन्दा बढी मानिसको ज्यान गयो । भ्रम र यथार्थ छुट्याउन गाह्रो भयो । त्रासद क्षणहरूको अनुभव गरे नेपालीले । भोलिका दिनमा के हुने हो धेरै मानिसले अनुमानसम्म गर्न सकेनन् ।

साहित्यकारहरूले पनि गर्न सकेनन् तर माओवादी र सात दलका दूरदृष्टि भएका केही राजनेताहरूको पहलमा ५ मंसिर २०६३ मा शान्ति सम्झौता भयो । पैंसट्ठी सालको चुनावबाट बनिएको संविधानसभाले नेपालबाट राजतन्त्र समाप्त भएको घोषणा गर्‍यो । हुरीको गीत सहरमा पस्यो । माआवादीको नेतृत्वमा संयुक्त सरकार बनियो । तिनका मन्त्रीहरू र योजनाकारले साहित्यलाई कसरी लिन्छन् कसैलाई थाहा थिएन । पछि अनेकौं घटना भए । एकेडेमी गठनको असफल प्रयोग पनि गरे तिनले तर त्यो सरकारका अर्थमन्त्री बाबुराम भट्टराईले ३ असोज २०६५ को दिन त्यो सालको बजेट प्रस्तुत गरे संविधानसभामा । माओवादी अर्थमन्त्रीको पहिलो बजेटको उद्देश्यमा तिनले कवि देवकोटाको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने कविताको हरफलाई मन्त्र बनाएर राखे । मानिस चकित भए अनि तिनले त्यही बजेटमा देवकोटा शतवाषिर्कीको निम्ति भनेर २५ लाख रुपैयाँ छुट्याए । मानिस झन् छक्क परे । केही दिनपछि रूसी सांस्कृतिक केन्द्रमा तिनले भने, मलाई सानैदेखि देवकोटाको प्रभाव रहिआएको छ । म चकित भएको थिइनँ । मैलेे बहुल पाठक, बहुल विचारधारा र सिद्धान्त, हुरी र झन्झासँग खेल्ने अनि पाठकहरूलाई सहज प्रभाव पार्न सक्ने देवकोटको सामर्थ्य सानैदेखि देखिआएको थिएँ । मैले पनि विद्यार्थी हुँदा हुरीको गीतसँगै तिनको कविता गाएको थिएँ । संघर्षका भयानक अप्ठेरा परिस्थितिमा पनि तिनकै कविता गुन्गुनाएको थिएँ । जोगीको सङ्गतबाट फर्काएर ल्याएको एक बालक स्वप्नधारी मैले सुन्तलाका रूखमा बसेर फूल, रूख, मानिस, गरिब, परिश्रम, भँगेरा र ताराहरूका सपनाको कलेबर बुनेको थिएँ तिनकै कविताका आधारमा ।

एक माओवादी छापामारको शक्तिशाली नेताले बजेटमा कविको निम्ति समर्पण गरेको रकमको कथा नेपाली बजेटको इतिहासमै पहिलो घटना थियो । त्यो माओवादी चिन्तनको जित वा हार थिएन । त्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यिक सामर्थ्यको परिणाम थियो । बाबुराम भट्टराई रूसी केन्द्रमा बोलिरहेका बेला मेरा मानसमा एउटा क्षणका बिम्बहरू सरसर्ती दौडे । महाकवि २०१६ सालमा आर्यघाट शय्यामा भएका बेला भारतीय आङ्ल कवि डममोरे उनलाई भेट्न गए । देवकोटाले उनका कविता सुने अनि एउटा मार्मिक कुरा भने, ‘म रूस गएँ भनेर मलाई कम्युनिस्ट भने । म एक कविमात्र थिएँ । देवकोटाको शीघ्र मृत्युको कामना गरिदिनुहोस् ।’ महेन्द्र राजालाई रूसबाट आउने वा कुनै मानिसले उनले रूसमा कम्युनिस्टसँग भेटघाट गरे भनेर पोल लगाइदिए । यहाँ कविले ठूलो दुःख झेलेछन्, बुझियो । राजा महेन्द्रले कवि देवकोटालाई कम्युनिस्ट ठानेर उपेक्षा गरे भने कम्युनिस्ट बाबुरामले ती स्वतन्त्र कवि हुन् भनेर तिनको सम्मान गरे । यो विरोधाभासबाट बुझिने एक बलियो सिर्जनशील साहित्यिक सामर्थ्यको अभिव्यक्ति देवकोटाको काव्य हो ।

कविको शतवाषिर्की मनाइयो । कार्यक्रमहरू भए । नेपालमा वर्ष मनाउने आफ्नै शैली छ । अलिकता केही उत्सव, केही नाम जोडिएका प्रसंगका रचना, केही कविता पाठ, केही पत्रिकाका विशेष अंक प्रकाशन र केही अन्तरकलाका रचना गर्ने काम हुन्छन् । मलाई राम्रै लाग्छ । मैले भ्याएँ र भेटेसम्म देवकोटा शतवाषिर्की विशेषांकहरू हेरेँ । तिनमा कवि देवकोटाका चलनचल्तीका विषयमाथि बढी चर्चा भएका छन् । देवकोटाको काव्यिक जीवनमा अर्को एउटा विशेषता थियो । तिनको लेखनमा काव्य र जीवनको अन्तरंग सम्बन्ध थियो । त्यसलाई लिएर ससाना मिथकका रचना भएका छन् । ती मिथकमा उनलाई सम्झनेका संस्मरण जोडिएका हुन्छन् । संस्मरण आफैंमा एक विधा हो । राम्रो हुन्छ अनि देवकोटाको प्रकृति, उनको सामाजिक चेतना, विद्रोह, उनको आर्थिक परिस्थितिजस्ता विषयमा लेख लेखिएका छन् । उनका काव्यका स्वरूप र विधाभित्रका वैविध्यका चर्चा भएका छन् विशेषांकहरूमा अनि निकै पत्रिकामा तिनै समीक्षाहरू साभार भनेर पनि छापिएका छन् । क्रान्ति, विद्रोह भनिबस्नेले उनका कविताको अर्थ विद्रोह भनेर लगाएका छन् । उनको जीवनका मिथकमा चाख हुनेले तिनको स्वभाव र सामर्थ्यमाथि अधिचेतना भएका लेख लेखेका छन् । नारीचेतनामा चाख हुनेले उनका काव्यभित्र नारी चेतनाको अभिव्यक्ति भएका उदाहरण खोजेका छन् । त्यस्तै अनुशीलन समालोचनाको सहज विधि पनि हो ।

कवि देवकोटाको समीक्षा गर्दा उनको काव्यको सिर्जनात्मक सामर्थ्यपछिको समय र त्यसको अभिव्यञ्जना खोज्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई यो छोटो लेखमा आफूलाई लागेका एकाध कुराका केही पंक्ति मात्र लेखेर छोड्नु छ । पहिले म दार्शनिक मार्टिन हेदिगरले भनेको कुराको प्रसंग राखेर हेर्छु । व्यक्तिको अस्मिता यो जगत्, अरू मानिस, वनस्पति, आकाश र जीवन्तुसँग अर्थपूर्ण ढंगले जिउनुमा छ । त्यो सम्बन्ध अर्थले भरिएको हुन्छ । यो अर्थ आफूले कस्तो भाषामा कसरी निर्वाह गरिएको छ भन्ने कुराले बनिन्छ । कवि देवकोटाको काव्य र निबन्धमा यस्तै एउटा शक्तिशाली सिर्जनात्मक अधिचेतनाले काम गर्छ । तिनका कविताहरू भाषाका अत्यन्त सिर्जनशील प्रयोग हुन् । हेदिगरले भनेजस्तो आफू र जगत्मा देखिने र कल्पना गरिने अनेकौँ विषयमाथि देवकोटाले अनुरागपूर्ण भाषिक संवाद कायम गरेका छन् रचनामा । ‘सद्ज्ञान छन् प्रकृतिका हरिया मुनामा’ भन्ने कविताको हरफ पढ्दा म अत्यन्त रोमाञ्चित भएको थिएँ । पछि गएर मैले ‘पागल’ जस्ता कविता र ‘सुलोचना’, ‘कृषिबाला,’ ‘मुनामदन’ जस्ता लामा आकारका काव्यमा देखिने अधिचेतना उनको काव्यसाधनाको एक महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा थाहा पाएँ । कवि एउटा रोमानी धारबाट बाहिर निस्केर समय, जीवन, जगत् र आफूले भोगेको समयसँग बुझिने सम्बन्धलाई कवितामा सूक्ष्म र सिर्जनात्मक ढंगले राख्छन् ।

अर्को कुरा उनको काव्यको अधिचेतना हेर्न उनका समकालीन कविहरूका लेखन र उनी र उनका मित्रकविहरूबीचको सम्बन्धको कुरा पनि बिर्सनु हुँदैन । बालकृष्ण समका नाट्य कविता, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितका युगको अनुराग भएका कविताहरूलाई देवकोटाको चर्चा गर्ने समीक्षकहरूले बिर्सेका छन् । देवकोटाका कविताले नेपालीको विश्वचेतना बोध गर्न सक्ने सामर्थ्य, स्पन्दन र चिन्तालाई कसरी देखाएका छन् अनि कविले रचनामा आफ्नै समय र समाजको पृष्ठभूमिबाट जीवन, जगत् र समयलाई कसरी हेरेका छन् भन्ने कुरालाई भित्रसम्म गएर अध्ययन गर्न धेरै समीक्षकहरू त्यति इच्छा राख्तैनन् कि त ?

कवि देवकोटाका काव्यबाट प्रेरणा लिने अनेकौँ विचार र पृष्ठभूमि भएका पाठकहरूको चरित्र अध्ययन पनि देवकोटाका काव्यअध्ययनको महत्त्वपृ्र्ण पक्ष हुनुपर्छ । मैले सुरुमै उठाएका प्रसंगहरूको साहित्यिक अर्थ आजको बृहत्तर साहित्य सिद्धान्तका आयामहरूभित्र पसेर खोज्नुपर्छ । एकल तान मात्र अलापेर हामीले देवकोटाको सिर्जनात्मक र युगसम्मत काव्यिक सामर्थ्य बुझ्नेछैनौं भन्ने देखिएको छ । देवकोटाको काव्य मुक्ति, आनन्द र सौन्दर्यका अभिव्यञ्जनाको त्रिवेणी हो ।

प्रकाशित मिति: २०६७ कार्तिक २१ ०९:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *