Skip to content


वातावरण सुनसान र चकमन्न छ । बाहिर हावा पटक्कै चलेको छैन, रूखका पातसमेत ओइलाएजस्ता देखिएका छन् । हप्प गर्मी छ, खट् खट् खट् खट् चलेको पङ्खाको आवाजले मौनतालाई भङ्ग गरिरहेकोछ । वरपर हिँडिरहेका मानिसका अनुहारमा पनि कुनै खुसी र मुस्कुराहट छैन । लाग्छ सम्पूर्ण वातावरण निस्तब्ध र शून्य छ ।

आखिर कोही कसैलाई अरूको दुःख सुन्ने र उसको व्यथाको अनुभूति गर्ने फुर्सदै पो कहाँ छ र ? लाग्छ, अब त मानिसहरूको मन मुटु पनि हराइसकेकोछ । धत्तेरी कतीसारो निर्जिवपना हुर्किरहेकोछ हाम्रो समाजमा ।

भित्र कार्यालय कोठाको एउटा कुर्सीमा बसेको विमल निन्याउरो अनुहार लगाउँदै मसिनो स्वरमा एक्लै बोल्छ । पूर्ण रूपमा उसको गुनगुनाहटमा ध्यान नदिइरहेको उसको सहकर्मी दीपक पुलुक्क उतर्फ र्फकन्छ । दुबै एकार्कामा मुखामुख गर्छन्, केही बोल्दैनन् ।

दीपक त्यस कार्यालयमा भर्खरै सरुवा भएर आएको नयाँ व्यक्ति भएर होला सायद त्यहाँको वातावरण, रहनसहन र परिस्थिति सबै नै उसलाई नौलो र अनौठो लाग्छ ।

उनीहरूको ढोकैछेउ बाहिर पटि्ट भुइमा घुँडा मारेर बसेकी एउटी अधबैंसे महिला एक्लै खै केके बोलिरहेकी छन् । धेरैबेरसम्म उनी एक्लै बोलिरहेपछि उनीहरू दुबै उठेर बाहिर निस्कन्छन् र अलिपर उभिएर त्यो दृष्य नियाल्छन् ।

ला न बाबु ला, ला खा, खा भनेको खा त खा । कति दिन भइसक्यो भौकै भएको ? खानु पर्दैन लाटो । बिचरा मेरो बाबु, भोकले गलेर, थाकेर कस्तो भइसक्यो होला । अब त म मेरो बाबुलाई कतै जान दिन्न नि । अब कहीं न जा है बाबु मलाई एक्लै छाडेर । अब त म तँलाई छाड्दै छाड्दिन ।

विमलजी यिनी को हुन् ? यिनले यो के गरेको ? अनि के भनेकी ?

दीपकजी यिनी यही पर राप्तीपारि रमेशकी आमा हुन् । धेरै दिन भइसक्यो यिनको यो अवस्था भएको । कति दिन हेर्नु, के गर्नु ? भन्दै विमल खुईय… गर्दै लामो श्वास फेर्छ र गोजीबाट रूमाल निकालेर विस्तारै आँखा पुस्छ ।

ए बाबु, बाबु यी हेर्नु त मेरो छोरो कस्तो भएर आएछ । जति गाली गरे पनि हाँसिरहन्छ, बोल्दैन, कस्तो ज्ञानी भएछ हो कि ।

आफूहरूपटि्ट र्फकदै इसारा गरेर उनीले त्यसो भनिरहँदा अझ विमल र दीपक दुबै अवाक भएर मुखामुख गर्छन् । खिन्नता, निरीहता बस् अरू के नै गर्न सक्नु र ?

विमल फेरि भन्दै जान्छ, यिनको नाम धर्मकला थापा हो । घर राप्तीपारि । यिनका दुई भाइ छोरा थिए रे । विवेक र रमेश । यिनका लोग्नेले १८-२० वर्ष पहिले नै अर्की स्वास्नी ल्याएर भिन्नै बसेका रे । धेरै वर्षदेखि ती पनि बसाई सरेर कहाँ गए त्यो पनि यिनलाई थाहा छैन । साह्रै दुःखले दुई भाइ छोरा हुर्काइन् । खान लाउनसमेत पुग्ने अवस्था नभएर बनीबुतो, मजदुरीको भरमा छोरा हुर्काइन् ।

द्वन्द्व बढ्दै गएर गाउँनै आतङ्कित भएपछि गाउँमा बस्न नसकेर गाउँबाट भागेर ठूलो छोरो विवेक कामको खोजीमा इन्डियातिर पसेको थियो । सानो रमेश स्कुल पढ्दै थियो । झण्डै ५ वर्ष घर नफर्किएको विवेक युद्धविरामको समयमा आमालाई भेट्न घर फर्किएको थियो । राजनीतिक रूपमा युद्धविराम भएको थियो, सञ्चार माध्यममा युद्धविराम भएको थियो तर गाउँवस्तीमा शान्ति थिएन । रात, साँझ, बिहान वातावरण भयभीत र आतङ्कित नै थियो । घरीको छापामार त घरीको सुरक्षाकर्मीको गस्ती घुमिनै रहन्थ्यो । विचरो विवेकलाई के थाहा गाउँको त्यो अवस्था ? आखिर दिउँसो नेपालगञ्ज गएर घर र्फकदै गरेको विवेकलाई साँझै नपरी सुरक्षाकर्मीले राप्ती किनारमा गोली ठोकेर मारेर मकैवारीमा फालिदिएछन् । त्यो घटना थाहा पाएपछि त्यसको विरोधमा मानवअधिकारकर्मीहरूले प्रशासनमाथि प्रश्न उठाए, घटनाको छानविनको माग गरे तर केही भएन । सुरक्षाकर्मीसँग भिड्न आएकाले मारियो भन्ने सपाट जवाफ दिएर प्रहरी प्रशासन पन्छियो । घटना त्यसै ढाकछोप भयो कसैको केही जोड लागेन ।

पाँच वर्षपछि घर र्फिर्एको छोरो तीन दिनकै दिन त्यसरी मारेर आफ्नै आँखाअगाडि फ्याकिँदा बिचरी आमाले खपुन् पनि कसरी ? झण्डै दुई दिनसम्म त यिनी बेहोसनै भइन् । गाउँलेहरूको सबैको मद्दतले झण्डै चार दिन अस्पताल राखेर घर लगे । घरमा कान्छो छोरो र आमा सिवाय कोही थिएनन् । यसो विचरीलाई भेट्न बोलाउन छर छिमेकी आउँदा जाँदा पनि सुरक्षाकर्मीले धम्क्याउँथे । युद्धविराम त भन्नु मात्रै न थियो । सहरमा मात्र युद्धविराम थियो, गाउँ त सधैँ भयभीत नै त थियो । बल्लतल्ल बिचरीले छोराको १३ दिनको काम सकिन् तर के गर्ने सुरक्षाकर्मीले रात, साँझ, बिहान केही नभनी धम्क्याउन र घरमा दुःख दिन छाडेनन् । एउटी निरीह महिलामाथि दुव्र्यवहार गर्ने, आतङ्कित गर्ने अनेक दुःख दिने गरिरहे । विस्तारै कक्षा १० मा पढ्दै गरेको कान्छो छोरो रमेशसमेत घरमा बस्न नसक्ने अवस्था बन्दै गयो । राति बास बस्नसमेत घर नगई लुकीलुकी, भागीभागी हिँड्न थाल्यो ।

त्यसपछि त अझ घरमा त्रास बढ्न थाल्यो । झण्डै दुई महिना लुकीलुकी हिँड्दाहिँड्दै एक दिन साँझ आमा बिमारी भएको थाहा पाएर ऊ घरमा पुगेछ । त्यसै रात घरैबाट उसलाई पनि सुरक्षाकर्मीले गिरफ्तार गरेर लगेछन् । त्यसपछि कहाँ लगे, कता लगे केही थाहा भएन ।

एकोहोरो बिमलको कुरा सुनिरहेको दीपकका आँखाअगाडि ढोकैछेउमा बसेकी महिलालाई मात्र नियालिरहेका छन् । बिमलले लगातार बोलिरहँदा पनि दीपकलाई पट्यार लागेको छैन, बरू अनि के भयो ? अनि के भयो ? भन्ने जिज्ञाशाले घच्घच्याइरहन्छ । बिमलको आँखामा त्यो गाउँ, वस्ती फनफन घुम्न थाल्छ, कस्तो होला त जहाँ दिउँसै मानिस मारेर फालिन्छ, कोही केही भन्न सक्दैन । न न्याय, न निसाफ ।

आफूपटि्ट फर्केर कुरा गरिरहेका ती दुबैलाई हेरेर उनी अझ उत्साहित हुन्छिन् र अझ थप्न थाल्छिन्, बाबु अब मङ्सिरमा त म यो छोराको बिहे गरिदिन्छु नि बुझ्नुभो । यी, यी हेर्नु त यसको बिहेका लागि भनेर मैले एउटा तिलहरी त कमाइसकेकी छु । कस्ती राम्री छे मेरी बुहारी, कस्तो माया गर्छे मलाई । बाबु मेरा छोरी पनि त छैनन् । छोरी भने पनि बुहारी भने पनि त्यही त हो । हैन त ? हैन किन नबालेको बाबु ?

उनको त्यो अवस्थाले विमल र दीपक दुवैको मुटु चहर्‍याउँछ, आफैँप्रति ग्लानि हुन्छ, धिक्कार होस्, केको मानवअधिकार । दुवै खुईय… गर्छन् फेरि पैन्टको गोजीबाट रूमाल निकालेर निधारको पसिना र आँखा पुस्छन् । रमेशकी आमा मौन हुन्छिन् र अलि गम्भीर भएर हेरिरहन्छिन् उनीहरूलाई ।

दीपकको आँखाको भावले विमलको कुराको निरन्तरता खोज्छ । विमल भन्दै जान्छ, छोरालाई सुरक्षाकर्मीले लगेको हप्ता दिनदेखि यिनी खोजीखोजी हिँडिरहेकी छन् । मानवअधिकारका कार्यालयमा आएर उजुरी दिएकी छन् । राजनीतिक पार्टीका कार्यालयमा गएर दवाव दिएकी छन् । आफ्नो छोराको खोजी गरी माग्न यहाँ त कति पटक धाइन् धाइन्, कुनै हिसाब नै छैन ।

ए… बाबु, तपाईंहरूको मानवअधिकार भनेको के हो ? मेरो छोरोले कसको के बिगार्‍यो र त्यसलाई समातेको ल भन्नुहोस् त बाबु । एउटा छोरो ५ वर्षपछि बल्ल घर फर्किएको थियो, तीन दिनकै दिन मारेर फ्याँकिदिए । बिचरो कसैको केही बिराएको थिएन । बरा सोझो थियो, असाध्य सीधा । कसैलाई भनी नबिझाउने, केही नबिगार्ने कसैको दुःख हेर्न नसक्ने । छरछिमेकीहरूलाई समेत आपतबिपतमा सकेको मद्दत गर्थ्यो ।

के गर्नु ? दिनदहाडै बाटो हिँडेको मान्छे समातेर गोली ठोकेर मार्दा पनि कोही बोलेनन् । कतै न्याय पाइएन । मारेर पनि पुगेन, ज्यूँदालाई पनि शान्तिसँग बस्न दिएनन् । अर्को सानो छोरोसमेत घरमा बस्न नसकेर भागीभागी हिँड्नु पर्ने भयो । स्कुल पढ्नसमेत नपाउने, दिन नभनी रात नभनी भागीभागी हिँड्नु पर्ने ।

”कतै लप्पनछप्पन नगर्ने, कसैको कुरामा नलाग्ने । लुरुलुरू स्कुल जाने घर आउने गर्थ्यो । त्यस्तो सोझो केटोलाई पनि समातेर लगे । लगेको पनि यतिका दिन भइसक्यो, कहाँ लगे ? कहाँ राखे ? केही थाहा छैन । केही पत्ता छैन । बाबु लौन मानवअधिकारमा खोजी दिनु, मेरो छोेरो भेटाइ दिनु । शरीरमा जम्मा जोडा लुगा लगाएको थियो, त्यो पनि पातलो गर्मीको लुगा । अब त जाडो हुन लागिसक्यो के लगाउने ? के फेर्ने ? के खायो होला ? ए बाबु लौन मेरो छोरो खोजी दिनु न कहाँ छ ? म उसका यी फेर्ने लुगाहरू पुर्‍याइ दिन्छु र एकपटक मुख हेरेर र्फकन्छु भन्दै रुन्थिन् । हामीले टुलुटुलु हेर्ने र सुन्ने सिवाय उनलाई केही सहयोग गर्न सकेनौ ।

सुरक्षा व्यारेकमा सोधपुछ गर्दा पनि काठमाडौँ सरुवा गरेर पठाइसकेको बताए । काठमाडौँमा पनि धेरै खोजी भयो । काठमाडाँै गएर मानवअधिकार आयोगमा पनि उजुरी दिएर आइन् । त्यसरी बेपत्ता भएका अरूहरूको समेत खोजी गर्दै धर्ना जुलुस अनेक भयो तर केही पत्ता लागेन । धेरैपछि सुन्यौँ यहाँको व्यारेकबाट लगिएकाहरूलाई पनि काठमाडाँैको भैरवनाथ गणमै राखिएको छ रे भनेर । त्यसपछि पनि बेलाबेलामा यिनी यहाँ आइरहन्थिन् । दिनभरि बस्थिन्, गुनासो गर्थिन्, रुन्थिन् र जान्थिन् । यसैगरी यिनका तीन-चार वर्ष वितिसकेका थिए ।

यिनी यहाँ आउनेजानेक्रम नियमितजस्तै भइसकेको थियो । हामी यिनका लागि परिवारका सदस्यजस्तै भइसकेका थियौँ । कहिले कहीँ खुशी भएर दङ्ग पर्दै भन्थिन्, बाबु तपाईंहरूलाई के थाहा ? मैले त छोराको बिहे गर्न केटी पनि हेरिसकेकी छु नि । मेरो छोरो फर्केपछि म झ्याइँझ्याइँ बाजा बजाएर छोराको बिहे गर्छु । तपाईंहरूलाई पनि बोलाउँछु, आउनु पर्छ है बाबु भन्थिन् । हामीहरू हुन्छ आमा हुन्छ हामी त आइहाल्छौ नि, बरू बोलाउन चाहिँ नबिसर्नु है भन्थ्यौ । यसरी हामीसँग गफ गर्दा पनि उनलाई आनन्द र सन्तोषको अनुभूति हुन्थ्यो ।

एक दिन हामी अफिस पुग्दा हामीभन्दा पहिले नै यिनी अफिसको ढोकामा आड लागेर बसिरहेकी थिइन् । हामीलाई अनौठो लाग्यो तर फेरि उनको अनुहारलाई नियाल्दा उनी निक्कै खुशी र उज्याली थिइन् । हामी अझ अलमल्ल पर्‍यौँ । सायद उनी पनि हाम्रो अनुहार पढिरहेकी होलिन् होला । तै पनि एउटा मौनतालाई चिर्दै मैले सोधेँ, ”आमा, आज यति बिहानै तपाईं कताबाट आउनुभयो ?”

उनले उत्साहित हुँदै जवाफ दिइन्, बाबु हिजो रातिबाट त हाम्रो देशमा लोकतन्त्र आयो रे नि हैन र ? मध्यराताँ राजाले भाषण गरेर जनतालाई लोकतन्त्र दिएरे नि हैन त ? हेर त वित्थैमा लडाइँ मच्चाएर यत्रा बिध्नि जनताका छोराछोरीहरू मारिए । मेरै विवेकजस्तै त हुन् आखिर ति सबै । के गर्नु र ? जनताका सामने राजाले पनि झुक्नै पर्‍यो, हगि बाबु । जनतालाई अधिकार नदिई सुखै भएन । अनि हाम्रा गाउँमा त मध्यरातबाटै नारा जुलुस गरेर हर्क बढाई गर्न थाले । आफूलाई भने कतिबेला रात बित्ला र उज्यालो होलाझैँ भएर छट्पटी भयो । अ, त्यसैले बाबु अब लोकतन्त्र आएपछि त मेरो छोरो रमेश पनि आइपुग्छ नि हैन त ? लौन बाबु एक पटक फोन लगाइदिनुहोस् न मेरो छोरो कहाँ छ भनेर ? म उसको बोलीमात्रै भए पनि सुनिहाल्छु नि । के गर्नु बाबुआमाको मन । मेरो त मुटु फुटेझैँ दुखेको छ । सारै नै गारो भएको छ, धन्न खपेर बसेँछु र आज लोकतन्त्र आयो । अब त छोरो आउने भयो नि ।

उनी बोलिरहिन्, बोलिरहिन् । एकोहोरो भनिरहिन् । हामी अवाक् मूर्तिवत् भएर उनका कुरा सुनिरह्यौ ।

नाजवाफ, किकर्तव्यविमुढ ।

हाम्रो अनुहार हेर्दाहेर्दै विस्तारै उनको अनुहार पनि धमिलिँदै गयो ।

हो, उनको कुरा साँचो थियो । उनको आशा बलियो थियो । सहारा, भरोसा हामी नै थियौँ । त्यसैले त उनी खुसीले आल्हादित हुँदै हामी भाठाम आएकी थिइन् ।

बिचरा… मानवअधिकार…।

मानवअधिकार भनेको के हो ? कसका लागि ? कहाँ खोज्ने मानवअधिकार ? उनले त हामीलाई मानवअधिकार देखेकी छन्, त्यही बुझेकी छन् । उनले मात्रै कहाँ हो र ? उनीजस्तै अन्याय अत्याचारमा परेका अरूहरूले पनि त्यही देखेबुझेका छन् तर यथार्थ त्यति सजिलो कहाँ छ र ? हामी नाजवाफ भयौँ, एक अर्कालाई नियाल्यौँ तर उनलाई केही भन्न सकेनौँ । उनको त्यो अभिव्यक्तिले हामीलाई हुनसम्म मर्माहत बनायो । मुटु भक्कानियो, छाती भारी भयो ।

तर पनि उनी हाम्रो जवाफ र आश्वासनको पर्खाइमा थिइन् । केही भन्नैपर्ने हाम्रो बाध्यता थियो । आफूलाई सकेसम्म संयम् बनाउँदै मैले भनेँ-

”आमा, नआतिनु होस्, ठीकै छ म बुझ्छु । हामीले कुरा पनि गरिसकेका छौँ, बुझ्दै पनि छौँ । पक्कै पत्ता लाग्छ । तपाईंको छोरो मात्र हैन आमा अरू पनि धेरै त्यस्ता छोराछोरी थुनिएका छन्, बेपत्ता पारिएका छन् । हामी ती सबैको खोजी गरिरहेकाछौँ । त्यसैले आमा ढुक्क पर्नु अब केही दिनमा तपाईंको छोरा भेटिन्छन् ।

यसो भन्दाभन्दै उनको उत्साह केही ओइलायो तर पनि कुरा सुनी सकेपछि उनी शान्त भइन् र भनिन् –

”लौ हुन्छ नि त बाबु म ढुक्क परेँ तर जसरी पनि मेरो छोरो खाजिदिनु है बाबु । मेरो त सहारा नै त्यही हो त्यही छोरोको आशमा अल्झेर बाँचेकी छु । त्यो भएन भने त म एक्ली बूढी बाँच्नुको सार नै के हुन्छ र राप्तीमै फालहानेर मरे भइहाल्छ नि । बाबु, यसपालिको दसैँसम्ममा त पक्कै आउँछ होला नि हैन त ?”

हामी फेरि उनको अन्तिम प्रश्नमा नाजवाफ हुन्थ्यौँ । उनी आउनेजानेक्रम चलिरहन्थ्यो । यसरी उनी आउने जानेक्रममा अरू पनि कोही छोरो, कोही छोरी कोही पति बेपत्ता भएर उजुरी दिन आएकाहरूलाई पनि भेट्ने गर्थिन् । त्यस्ता अरूका परिवारका सदस्यहरूलाई पनि भेट्दा उनलाई म मात्र एक्ली रहेनँछु भन्ने लाग्थ्यो र आश्वस्त हुन्थिन् अनि आशा सँगालेर र्फकन्थिन् ।

दसैँंको नौरथा लागेपछि उनी फेरि आइन् । ”बाबु दसैँ आयो त । छोरालाई टीका नलगाएको पाँच वटा दसैँ भइसक्यो । यसपालि त लोकतन्त्र आएको भनेर गाउँमा सबैले धुमधामसँग दसँै मनाउने भएका छन् । मैले पनि धेरै वर्षपछि छोरो घर र्फकने दसँै भनेर दुई पाथी चिउरा कुटेर एउटा सानो बोको पनि ठीक पारेकी छु नि । बरा…, यतिका वर्षपछि घर आउने छोरो । बिचराको आँत कति हरहराएको होला ।”

भन्दाभन्दै उनी भावुक भएर हिक्हिकाउँछिन् र फरियाको सप्को तानेर आँसु पुस्न थाल्छिन् । उनको त्यो अवस्था हेरिरहँदा हामीसमेत भावुक हुन्छौ र आँखा डबडबाउँछन् । सुन्नु, हेर्नु । आखिर त्यो बाहेक हामी के नै गर्न सक्थ्यौ र?

तै पनि हुन्छ आमा हुन्छ, हामी कुरा बुझ्दै गरौँला । तपाईं अहिले घर जानु भनेर हामी उनलाई फकाएर घर पठाउँथ्यौँ ।

दीपकजी कहिलेकाहीँ त मनमा साह्रै ग्लानि र पीडा पनि हुन्छ । धिक्कार छ आफैँले आफूलाई मानवअधिकारकर्मी भन्नु पनि । कसैका लागि परेका बेला केही त गर्न सकिँदैन, के गर्नु ? केको अधिकार ? कसको अधिकार ?

केही दिन अगाडि गाउँबाट आउने साथीहरूले कुरा गर्थे, हिजोआज रमेशकी आमा घरमा पनि बस्दिनन् । दिनभरि राप्ती किनारमा झोक्राएर बसेकी हुन्छिन् । साँझ पर्दा पनि घर र्फकन मान्दिनन् । कहिलकाही त गाउँले जवरजस्ती डोर्‍याउँदै घर पुर्‍याएर छाडिदिन्छन् । प्रत्येक दिन उज्यालो नहुँदै उनी राप्तीको डिलमा गएर बस्छिन् । बाबु मेरो छोरो रमेश आयो ? रमेश आयो ? भन्दै सोध्छिन् । के गर्ने होला यिनलाई साह्रै ठूलो मानसिक आघात पर्‍यो, हामीले केही गर्न सकिएन ।

हामी पनि ती सबै खबर सुन्थ्यौ मात्र । गर्न के नै सकिन्थ्यौँ र ? दोहोरो द्वन्द्वले पिरोलिएका हजारौँ घर परिवारमा यस्तै पीडा छन् । द्वन्द्वको चपेटाले बस्ती उजाडिएकाछन् । मान्छेका मन मुटु चिथोरिएका छन् । आस्था, बिश्वास र भावना सबै ओइलाइसकेका छन् । कोही हराएका छन्, कोही बेपत्ता पारिएका छन्, कतै मारिएका छन् अनि अङ्गभङ्ग पारेर क्षतबिक्षत भएका छन् । आतङ्कै आतङ्क । न कसैको ज्यूधनको सुरक्षा ? कहिले कसले त कहिले कसले ? कानुन नभएको राज भएपछि यस्तै हुँदोरहेछ । आपसी विश्वास, माया, संवेदना सबै हराउँदो रहेछ । अब त हामी पनि यस्तैयस्तै घटना र अवस्था देख्दादेख्दा संवेदनहीन भइसक्यौँ । यिनी लामो समयसम्म आएकी थिइनन् । फेरि गाउँलेले साथ दिएर एक-दुई पटक गाउँका चिनजानहरूसँग काठमाडाँैसम्म पनि पुगिछन् । त्यहाँबाट अरूहरूका आफन्तसँगै उनको छोरो पनि काठमाडाँैकै भैरवनाथ गणमा राखेको छ रे भन्ने थाहा पाएर फर्किछन् । काठमाडाँैबाट आएपछि म मात्र हैन रहेछ, अरू पनि मजस्तै आफ्ना सन्तान हराएर खोज्दैरहेछन्, पर्खिरहेका छन् भनेर आश पलाएछ । हामीलाई पनि आएर बताइन् । आफैँ आश्वस्त भइन् र सन्तोषको सास फेरिन् । हामीले उनका कुरा सुनी मात्र रहृयौँ बिना प्रतिक्रिया, केही भनेनांँै, किन कि भन्न सक्ने अवस्थै थिएन ।

तर अस्तिभर्खरै मात्र राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारकर्मी, नागरिक समाज र आफन्तहरू सबैको दवाबका कारण भैरवनाथ गणको कुरा बाहिर आयो । सबैतिरबाट प्रश्न उठ्यो । सञ्चारमाध्यममा सनसनी भयो । त्यहीँ भित्रै थुनिएकाहरूबाटै त्यहाँ राखिएका हाम्रा साथीहरू अब कोही पनि जीवित छैनन्, उनीहरू मारिए, अब परिवारजन र कोही पनि आफन्तले उनीहरूको आशा नगर्नु, अब बाटो नहेर्नु । मारिए, हाम्रा साथीहरू गणबाटै जङ्गल लगेर मारिए । अब कहिल्यै फर्कंदैनन् भन्ने अभिव्यक्ति टेलिभिजनबाट प्रसारण भयो । त्यो समाचारले गाउँ नै स्तब्ध भयो, सबैतिर सनसनी भयो । रूवावासी भयो । यिनले पनि त्यही खवर सुनिन्, जे अरूले बताए । त्यसपछिका दुई दिन रुँदारुँदै होस बेहोसमा बिताइछन् । बिस्तारै उनी चलमलाउन त थालिन् तर त्यही रूपमा छन् । यी यही हो यिनको अवस्था ।

यी हेर्नुहोस् न, यो काठको मुड्कोलाई लगाएको सर्ट, बेरिएको हाफपैन्ट सबै उनकै छोरो रमेशको हो ।

टेलिभिजनबाट त्यस्तो समाचार हेरेपछि हामी सबै स्तब्ध थियौँ अब फेरि उनी आउँदा के जवाफ दिने भनेर तर उनी अफिस आउँदा एकै पटक हुत्तिँदै ढोकाबाट भित्र पसिन् । हामी उनलाई देखेर स्तब्ध भयौँ । उनी कसैको अनुहार नहेरी भन्न थालिन्, बाबुबाबु ल हेर्नु त बाबु मेरो हराएको छोरो आयो नि । यही हो नि बाबु, मेरो हराएको छोेरो । यी यही हो मेरो छोरो रमेश । कति राम्रो छ मेरो छोरो मोरो भन्दै छातीमा टाँस्छिन् । अब मेरो छोरो आयो । हेर यतिका दिन मलाई एक्लै छोडेर कहाँ हराएको थियो मेरो काले मोरो । बिचरा, हेर कस्तो जाडो भएको होला, कति भोकायो होला, यी हेर त कस्तो दुब्लाएछ पनि मेरो बाबु त । ला बाबु खा…, खा… खा खानु पर्छ नि । खाँदैनस् ? लाटा पिट्छु अनि ला.. ला.. भन्दै त्यसैलाई च्यापेर थचक्क भुइँमा बसिन् ।

उनको अवस्था र त्यो दृश्य हेर्दा हामी आफैँलाई पनि सम्हाल्न गाह्रो भयो । फेरि पनि हामी केही बोल्न सकेनौँ ।

किकर्तव्यविमुढ, अवाक ।

हेरिरहृयौँ, हेरिरहृयौँ पानी भरिएका आँखाले उनको त्यो व्यवहार नियालिरहृयौँ, हामी सबैको गला अवरुद्ध भयो, मन अमिलियो, चारैतिर सन्नाटा छायो ।

के हेरेको ? के हेरेको…? के मेरो छोरो मन परेन ? हो मन परेन ? खुब तिमेरू आफू मात्रै राम्रा भका । बड अर्काको छोरो मन नपर्ने भा । मेरो बाबु…, मेरो कान्छो छोरो …। अब त म मेरो काले मोरोलाई एक्कैछिन् पनि छाड्दै छाड्दिन भन्दै त्यसैलाई च्याप्प समातेर त्यहाँबाट जुरुक्क उठ्छिन् र बाहिर गएर बस्छिन् । धिक्कार होस् दीपकजी, हामी पनि टुलुटुलु हेर्नेबाहेक के नै गर्न सक्दारहेछौ र ? मलाई त यिनको अवस्था देखेर साह्रै नराम्रो लाग्यो, असाध्य ग्लानि र पीडाबोध भयो । कति आसै आसमा पर्खिबसेकी थिइन्, यति दिनसम्म । हामी नै त थ्यौ उनको आशा भरोसा तर सबै पैह्रो गयो, केही बाँकी बसेन, केही बाँकी बसेन ।

हो, त्यही बेलादेखि यिनी यसैगरी यतै वरिपरि घुमिरहन्छिन् । उनलाई सम्झाउन कोही छेउमा जान हुन्न । उनले च्यापेको त्यो काठको मुड्को कसैले छुन चलाउन हुँदैन । तपाईंले यिनलाई केही खान दिनुभयो भने यिनी पहिले त्यसैलाई खुवाउँछिन् । मुखभरि दलेझंै गरेर फेरि पानीले पुछिदिन्छिन् । अनिमात्र आफू खान्छिन् ।

हामी हरेक दिन प्रायः यिनको यो अवस्था देखिरहेकाछौँ । देशलाई लोकतन्त्र आयो, गणतन्त्र आयो तर दीपकजी यिनलाई केही आएन । आफ्ना भएका दुबै छोरा मारिए । कोख रित्तो भयो, घर रित्तो भयो, केही आएन ।

लगातार बिमलले बताएका कुराहरू सुनिरहँदा दीपकको अनुहारभरि विशादका रेखाहरू झल्कन्छन् । खिन्नता, दिग्दारी, पीडाबोध र आक्रोशले पिरोल्छ । आखिर फेरि पनि के गर्नु र ? लामो खुई… तानेर पैन्टको गोजीबाट रूमाल निकाल्दै अनुहार पुस्छ, ओठ टोक्दै रूमाल गोजीमा राख्छ, फेरि सुस्केर काट्दै लामो सास फेरेर भन्छ, रात अझै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *