Skip to content


महान् पर्व वडा दसैँको बहिरगमनसँगै थारू समुदायमा सुकरात पर्वको लागि तयारी र चहलपहल सुरु हुन्छ । दीपावली अर्थात् सुकरातको दुई हप्ता पहिलेदेखि नै घर घरमा सरसफाइ लिपपोतको काम सुरु हुन थाल्छ । घरको मर्मत सम्भार चल्न थाल्छ । पुराना काम नलाग्ने वा नराम्रो देखिने घेरावारहरू हटाएर नयाँ घेरावार लगाउने वा बनाउने काम सुरु गर्न थाल्छ । घर आँगनमा माटो पुरेर सम्म पार्ने घरहरू सफा गर्न सेतो, रातो माटोले पोत्ने ‘मोख’ -ढोकाको दायाँ वाँया माथि बनाएका फलका लहरा वा अन्य आकृतीमा रङ रोगन लगाउने काम थालिन्छ । यति मात्र हैन घरमा खानपिनको लागि के के खाँचो छ, ती सबै खरिद गर्ने कामसमेत थालिन्छ । किनमेल गर्न गृहिणीहरू दुई हाट (हटिया बजार) तीन हाटसम्म आउने गर्दछन् ।

यो पर्व कात्तिक औँसीको दिनेदेखि सुरु हुन्छ । औंसीको रातमा धनकी देवी लक्ष्मी घरघरमा आँगन आँगनमा घुम्ने गर्दछ । जुन घर आँगनमा बत्ती बलेको हुन्छ त्यो घर आँगनमा लक्ष्मीमाता बास गर्दछिन् भन्ने धारणा बूढापाकाहरूको छ । त्यसैले यो दिनमा साँझदेखि घरघरमा आकाशदीप बाल्ने चलन छ । सन्ध्यापूर्व साँझ बत्ती (दीपावली) लागि पुरुषहरूले सन्ठी (सनपाटको लठ्ठी) को ‘दियाठी -तीनवटा लठ्ठीको स्टेन्डमा बत्ती राख्ने गरिन्छ । सण्ठीको ‘टेक्ठी’ -घरमा देउतालाई चढाउने सामग्री बाहिर खेतबारीमा पनि चढाइन्छ । सण्ठीको ‘हकी-हुक्का’ (मसाल) घर घरमा बनाउने गरिन्छ साथै गृहिणीहरूले साँझ बत्तीको लागि पिठार (चामलको पिठो) को ‘चिराख’ (दियो) बनाउने गर्दछन् । साँझ (सन्ध्या) भएपछि आ-आफ्नो घर आँगन र बारीमा गृहिणीहरूले दियाठीमा अक्षता (चामल) राखी चिराख बाली धन धान्यकी देवी लक्ष्मीलाई स्वागत गरिन्छ । पुरुषहरूले बाहिर ‘बाध’मा गएर आफ्नो खेतमा ‘टेक्ठी’ चढाउँछन् दियाठीमा अक्षता चढाएर ‘चिराख’ धूप बालेर पूजा गरिन्छ । त्यसपछि ‘हकी-हुक्का’ खेलिन्छ । टकी हुक्का खेल्ने बेलामा लक्ष्मीलाई ‘घरको दरिद्रता अन्त्य गर्न हाम्रो घरवारमा बास गरिदेउ’ भनेर पुकारिन्छ । यसरी हाम्रो थारू समुदायमा औँसीको दिनमा लक्ष्मी पूजा गरिन्छ ।

वास्तवमा त्यो क्षणको दृश्यलाई हेर्दा हषिर्त भएर आउँछ । भर्खर साँझ परेको बेलामा पूरै बाधभरि हकी हुक्काको बत्ती, उल्का जस्तै घुमेको, नाचेको दृश्य हेर्दा मन आनन्दित हुन्छ ।

औंसीपछि दोस्रो दिन ‘पखेव’ (गोवर्द्धन पूजा) को तयारी गरिन्छ । बिहान बिहनैदेखि खेतीपाती गर्ने सामग्रीहरू हलो, कोदालो, चौकी (बाँस वा काठको) साथै ढिकी, जाँतो, ओखल, मुसरा घरको झ्याल ढोका, समेत सफा गरेर पूजाको लागि चोखो पारिन्छ । सफाइ सकेपछि गाईवस्तुलाई खुल्ला ठाउँमा लगेर नुन खुवाउने चलन छ । त्यसपछि गाईवस्तुलाई खुवाउनका लागि खेतबाट धानको घाँस काटेर ल्याइन्छ र त्यसलाई सान्ही कुटी (लामो घाँसलाई टुक्राइने) गरिन्छ । यसमा गोठालोले पिपरोली (एकप्रकारको लहरा भएको वनस्पति) र पखेव -जङ्गली अदुवा जस्तै) मिलाएर ओखलमा कुटिन्छ अनि काटिएको सान्हीमा मिसाएर गाईवस्तुलाई खुवाउने चलन छ । गाईवस्तुलाई नयाँ डोरीले सिंगारिन्छ । रङले पनि रङ्गाउने गरिन्छ । सिन्दुर, तेल र पिठार (चामलको पिठोको झोल) ले गाईवस्तुको टाउको र सिङमा लगाइन्छ । ‘पखेव’ मनाउने क्रममा सर्वप्रथम घरको देउताको पूजा गरिन्छ । त्यसपछि आँगन र आँगनको मूलद्वारमा गोसाईं घर (ठाकुरको स्थान) मा पूजा गरिन्छ । यसै क्रममा गाई गोठमा गोवरको गोही र त्यसैमा भकारी बनाइन्छ । भकारीमा बासी भात, धान राखिन्छ अनि दूबो र घिरौंलाको फूलले पूजा गरिन्छ । अन्त्यमा गोहीलाई लठ्ठीले चुटेर सेलाउँछ । त्यसपछि कुवाँ वा ट्युबलको छेउमा गएर जलकुमारीको पूजा गरिन्छ । साँझ परेपछि पुनः साँझ बत्ती दिइन्छ । त्यसपछि गोठमा गाईको पूजा गरिन्छ, साथै खेती लगाउने सामग्रीहरूको पनि पूजा गर्ने चलन छ । त्यस दिनदेखि साथी भाइलाई घरमा बोलाएर खानपिन गरिन्छ । खाने कुरामा मासुको परिकारहरू प्रायः हुन्छ । बगिया (चामलको पिठोको) च्यूरा, आदि आदि यसरी पूजा गरी खानपिन गरेर ‘पखव’ मनाइन्छ ।

तेस्रो दिन पूजाआजा गरिँदैन । खानपिन गरेर रमाइलो मात्र गरिन्छ । छरछिमेकीलाई बोलाएर ख्वाउने, कसैले बोलाएको छ भने गएर खाने, नाचगान गरी रमाइलो गर्ने, कतिपयले जुवा तास खेलेर पनि रमाइलो गर्छन् । तेस्रो दिन गृहिणीहरू जति बाधमा गएर खेत, बाली हेर्न जाने प्रचलन छ । सुकरातको तेस्रो दिनसम्ममा घर तथा खेतबालीमा लक्ष्मीमाता बास गरिसकेको विश्वास बूढापाकाहरूको छ । त्यसकारण सबै गृहिणीहरूले आ-आफ्नो घर ढोकामा लक्ष्मण रेखा कोर्ने गर्दछन् । यसरी लक्ष्मण रेखा कोरी सकेपछि भित्रिएको लक्ष्मीमाता बाहिर जाँदैन भन्ने विश्वास छ । तीनचार दशक अगाडि थारू समाजमा भाइ टीकाको चलन थिएन तर हाल भाइ टीकाको चलनसमेत आएको छ । यो पनि राम्रै सङ्केत हो । यसले दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई मजबुत बनाइराख्छ ।

सुकरातको चौथोदिन अन्तिम दिन हो यो दिनमा थारू समाजका प्रायः सबै सासू ससुराहरूले आफ्नो छोरी र ज्वाइँलाई निमन्त्रणा गरेर बोलाउने गर्दछन् । यसलाई ‘जम जितिया’ भनिन्छ । छोरीहरू माइत आउँदा आमा बुबाका लागि मीठो मीठो खानेकुराहरू ल्याउने गर्दछन् र यो पर्वमा छोरी ज्वाइँलाई मीठो मीठो खाना खुवाएर रमाइलो गरिन्छ ।

यसप्रकार थारूहरूले चारदिनसम्म धूमधामले दसैँ सरह सुकरात मनाउने गर्दछन् । यो पर्वको सकारात्मक पक्ष र नकारात्मक पक्ष छ । सकारात्मक पक्षमा यसको वैज्ञानिक महतव छ किनकि लक्ष्मी पूजाको दिन घर घरमा बाधमा केही समयको लागि एकैपटक बत्ती बालिने गर्दा बालीमा लागेका कीरा फट्याङ्ग्राहरू आगोको ज्वालामा नाश हुने गर्दछ । यसरी खेतबारीमा केही हदसम्म कीराको नियन्त्रण हुन्छ । नकारात्मक पक्ष के छ भने मूल्यवृद्धि, महँगी, अभावले गर्दा कम आय स्रोत भएका परिवारलाई यो पर्व मनाउन निकै नै हम्मे हम्मे पर्छ । अहिले समाजमा तडकभडकको हावा चलेको छ । अनावश्यक रूपमा फजुल खर्च बढ्दछ । यस पर्वमा जुवातास खेल्ने चलन पनि उचित छैन । ऋण काढेर रमाइलो गर्ने, क्षमताभन्दा बढी खर्च गर्ने बाध्यता आउँछ । आफ्नो संस्कृति त जोगाउनै पर्छ तर धनको बास गराउन धनको नाश गरेर लक्ष्मी कहाँ आउँछ र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *