Skip to content


उता पुगेर उतैबाट यता हेरें
म त कस्तो कस्तो देखिँदो रहेछु !

अहा !
हरियो चौर छु
कसैले पनि नकुल्चेका
शान्त शान्त पोखरी छु
कसैले पनि ढुंगा नफ्याकेका
वरिपरी कारहरू गुडिरहेका
चुपचाप चुपचाप
विना कुनै ट्राफिक पुलिस ।

छोटा स्कटहरू
तिघ्रा छोप्न नभ्याएर
आँखालाई गुहार माग्छन् ।
मन तराजुमा झुण्डिन्छ
एकातर्फ मन
अर्कातर्फ पवित्रता !

कागजका टुक्राहरू
प्लास्टीकका ब्यागहरू
फलफूलका बोक्राहरू
खिच्रीमिच्री जताततै
मेरै आँगनमा मात्रै रहेछ !
अपसोच !
पायाप मेरो आँगन हैन
यहाँको स्वच्छता
खै केमा बोकी लैजाऊँ ?
यहाँको वातावरणले
मेरो शहरसित प्रिती गाँसे
कस्तो प्रेम–पत्र लेख्थें होला !
त्यहाँका सडकहरू
मनभरी छपाएर
यहाँ ल्याएको थिएँ।
मेरो शहरमा आइपुगेपछि
खुम्चिएर साँघुरो भयो ।
बाइक, टयाम्पो र माइक्रोबसहरूको
जुलुसले झसंग पार्दा पो थाहा पाएँ
यहाँ त मन मात्रै पो आएछ
सडक त उतै पो रहेछ ।

हिजोआज मेरो शरीर
शहर घुम्न जाँदा
मन चाहीँ पायाप पुग्दो रहेछ ।
यो शरीर र मनको झगडालाई
खै कसरी मिलाउनु ?

उता पुगेर उतैबाट यता हेरें
म त कस्तो कस्तो देखिँदो रहेछु !
फूलले मलाई हेर्‌यो
सफा चौरले मलाई हेर्‌यो
पायापले मलाई हेर्‌यो ।

नोटः पायाप, थाइल्याण्डको च्याङ्‌माइ शहरमा रहेको एक विश्वविद्यालय हो ।

3 thoughts on “पायाप”

  1. ठिस बुढा

    Sushil Subba sir राम्रो छ
    Sushil Subba sir राम्रो छ लेखाई ।
    सार्है शुन्दर ।

    पायाप मा बात न मिलाको ? एैले याद आको ! खै के भाको ?

    नोटः बात मिलाउनु, थाइल्याण्डमा नेपालि बर्मेलिले प्रयोग गर्ने सब्द ।

  2. ठिस बुढा जी ! धन्यवाद छ,
    ठिस बुढा जी ! धन्यवाद छ, तपाईको उत्साहप्रद प्रतिक्रियाको निम्ति । लेखक र पाठकको दोहोरो प्रतिक्रियाले कलालाई असरदार बनाउँछ । तपाईको प्रतिक्रिया पनि मेरो कविताकै एक भाग हो, जो कविता देखि बाहिर थियो । तपाईले पोख्न कस्ट गर्नुभयो । दृष्टि नभए हजार दृष्यको के काम ? सद्भावको दृष्टि लगाइदिनुभयो धेरै आभारी छु ।

  3. ठिस बुढा

    Sushil Subba sir
    धन्येबाद

    Sushil Subba sir
    धन्येबाद ।
    तपाईको “पायाप” सार्है शुन्दर छ ।

    तपाईको शब्द-शब्दले, स्वर्ग को कुरोले, अप्सराको कुरो ले, बिदेशको कुरोले अनि स्वदेशको कुरोले मुटु छोएको छ ।

    ” अपसोच ! / पायाप मेरो आँगन हैन ”
    ” खै केमा बोकी लैजाऊँ ? ”
    ” कस्तो प्रेम–पत्र लेख्थें होला ! ”

    धन्येबाद फेरि एकपल्ट ।

    ” त्यहाँका सडकहरू / मनभरी छपाएर / यहाँ ल्याएको थिएँ। ”
    ” मेरो शहरमा आइपुगेपछि / खुम्चिएर साँघुरो भयो । ”

    वाह !

    धन्येबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *