Skip to content


“होइन ए बिर्खे किन फर्किस् तँ स्कुलबाट यति छिट्टो ?” भर्खर पढ्न हिडेको छोरो फर्केर आएको देखेर बीरबहादुर छोरालाई सोध्छन !

बिर्खे केही बोल्दैन, ठिंग उभिरहन्छ मात्र ।

“ए किन बोल्दैनस त ह किन फर्किस स्कुलबाट भन्या ?” बीरबहादुर जङ्गिन्छन् छोरोसित ।

“के भो के भो किन चिच्याएको ?” फुलमाया कराउँदै निस्किन्छिन भित्रबाट ।

बिर्खे अँझै ठिंग उभिई नै रहेको हुन्छ ।

“के भो ए बजिया ? किन फर्किस स्कुल नगएर ?”

बिर्खे अँझै केही बोल्दैन ।

फुलमायालाई रिस उठ्छ छोरो न बोलेको देखेर । चट्यांग चट्यांग दुई चड्कन हान्छिंन् घुमाएर । बिर्खे रुँदै झोला फ्याकेर घरभित्र पस्छ ।

“के भयो मोरोलाई ? केही त बोल्नु नि !” भन्दै बीरबहादुर छोरो पछि-पछि भित्र पस्छन ।

बिर्खे सुक्क सुक रोइरहेको हुन्छ । बीरबहादुरले कठालोमा समातेर जुरिक्क उचाल्छन बिर्खेलाई र सोध्छन, “के भयो ? किन न गएको स्कुल ? बोल्छस कि रछ्यान फ्याकिदिऊँ ?”

बिर्खे हिक्क हिक्क गर्दै रोएर भन्छ, “बा मलाई स्कुलको फिस नतिरेको भनेर स्कुलको कक्षा कोठामा पस्ने दिएनन । ”

“हु हु …..हू हूउ,” बिर्खेको रुवाइ झन ठुलो हुन्छ ।

बीरबहादुर छोरालाई अँगालो हालेर उसको कपाल सुम्सुम्याउँन् थाल्दछन ।

“पहिले नै बोलेको भए आमाको पिटाइ खानु पर्थ्यो मोरा ? बोल्नु पर्छ नि ?” बीरबहादुर छोरालाई सान्त्वना दिन्छन ।

बीरबहादुरको रिस स्कुलका प्राध्यापक तर्फ मोडिन्छ, “होइन, कस्तो अविस्वास गरेको होलान मलाई ? हिजो मात्रै गएर दुई चार दिन भित्रमा फिस बुझाउन ल्याउछु भनेको थिए त मैले हेड मास्टरलाई ! हुन्छ पनि भनेका थिए ! किन दिमाग खराब भयो यो हेड़ मास्टरको ? हुने र तिर्नसक्ने नेता, टाठा बाठाको छोरा छोरीलाई भने नि:शुल्क पढाउने ! गरिबका छोरा छोरीलाई भने दुई चार दिन फिस तिर्न ढिला हुँदा स्कुलमा नै छिर्न नदिने ? यो कस्तो अन्याय हो ?”

“फुलमाया, ए फुलमाया ! ले फुका भैंसी बेचिदिऊँ छोराको फिस तिर्नु पर्यो । ”

“एउटा भएको दुध दिने भैंसीलाई बेचेर यी नालाबालालाई के खुवाएर हुर्काउने हो ए बुद्धि बिग्रेका बुढा ? केको कमाइले किन्ने हो दुध तिनीहरूलाई पिलाउन ?” फुलमाया फत्फताउन् थाल्छिन् ।

“पढ्छु भनेर रहर गर्छ । के नपठाउने त स्कुल अब ?”

“आ के गर्छ पढेर यसले ? गाउँलेको खेत जोत्छ बस्छ । के गर्नु त अब यसलाई मात्र पढाएर पनि त भएन नि ? अर्को बर्ष साइँलो, अनि अर्को बर्ष कान्छो के गरी धान्ने हो ? पालै-पालो बर्षेनी स्कुल जाने भएका छन् । खोइ कमाइ ? दाँत बेच्ने कि करंग ?” फुलमाया उतर्सिन्छिन बीरबहादुरसित ।

“जन्माउने बेलामा आँखा देखिनस् अहिले हिसाब लगाउँछेस बजिनी ! खुरुक्क भैंसी फुका । ”

“हिंड तल्ला घरे लाहुरे माईलोकोमा धितो राख्न । सक्दिन म केटाकेटीको आत्मालाई मारेर भैंसी बेच्न । ”

“दशैँ मुखमा आइसक्यो आफूलाई नकिने पनि तिनीहरूलाई त एक जोर लुगा फाटो किनिदिनु पर्ला ! दुई चार पाथी चामल लिन सदर मुकाम जानु पर्ला ? एक छाक भए नि जोरीपारीका अगाडी ती बच्चालाई मासु खुवाउनु पर्छ कि पर्दैन ? नन्द, अमाजू, ज्वाईंहरू कुन दिन आउने हुन् । तिनको लागि पनि त जोहो गर्नै पर्ला । चैते दशैँमा लेरा’को मासुको पैसा अँझै तिरेको छैन । काइँला काजी आँखा तर्दैथे हिजो । त्यो बाटो हिड्न नै लाज लाग्ने भै सक्यो । ती हरि काका चुच्चे बाहुनको हिसाब पनि के हो के हो । जत्ति ज्यामी गए पनि कहिल्यै तिरिसकिएको होइन। अँझै बाकी छ, अँझै बाकी छ भन्छन् । आफूलाई हिसाब गर्न आउदैन,” फुलमायाले आउँदो बजेट सुनाइन ।

बीरबहादुर केही बोलेनन । टोपीलाई टाउकोमा नै फनफनी घुमाउँन् थाले । लामो स्वास फेरे उनले, “भगवान कसरी पार लगाउने यो भवसागर उधारो ? सापट दिने जति कोहीसित माँग्न बाँकी छैन । सबको तिर्नु छ । छड्के बाटो हिड्नु पर्छ । कोहीसित टाउको ठाडो पारेर हिड्ने अबस्था छैन । के गर्ने, कसो गर्ने ?”

यो सब गलफत्ती सुनिरहेको बिर्खे चिन्तित हुन्छ । बाउको काँधमा हात राखेर भन्छ, “चिन्ता नगर बा म स्कुल जान्न । भोलिदेखि तिमीसँगै ज्यामी गएर सबैको उधारो तिरौला । ”

—-

अगेनाको वरिपरी बसेर सबै खोले खाँदै थिए । अचानक कान्छो बान्ता गर्न थाल्यो । केही क्षण मै तारन्तार पखाला लागी नै रह्यो । रातभरमा कान्छो शिथिल भैसकेको थियो बिहान सबेरै स्वास्थ्य चौकी दौडाए ।

हस्याँग फस्याँग गर्दै चार कोस परको स्वास्थ्य चौकी पुग्छन बीरबहादुर ।

उनी छोराको ज्यान बचाई दिन बिन्ति गर्छन् । बिन्ती सुन्ने स्वास्थ्य चौकीका पिउन थिए। न डाक्टर न औषधि, उनकै सल्लाहमा बीरबहादुर छोरोलाई सदरमुकामको अस्पतालतर्फ दौडाउँछन् ।

फुलमायाले बिहेको चिनो घाटीमा झुन्ड्याएको तिलहरीलाई डिठ्ठा बाजेकोमा धितो राखी पैसा लेराउन दौडिन ।

सदरमुकाम तर्फ कुध्दा-कुध्दै बीरबहादुरका बुढा-बुढीलाई पत्तै हुन्न पिठ्युँमा बोकेको छोरो चिसो भैसकेको । थाकेर एकछिन चौतारीमा बिसाएर कुवाको पानी खाऊँ भनी छोरालाई ओराल्दा पो थाहा भयो कान्छो प्यारो छोरो, भर्खर तोतेबोली बोल्दै सबैलाई हँसाउँथ्यो, रमाइलो गर्थ्यो, सबको प्यारो कान्छोको पखेरु उँडिसकेको रहेछ ।

कताको पानी खानु ? केको प्यास ? दुवै बुढा-बुढी क्वाँ कवाँ डाँको छोडेर रुन थाले ।

“मेरो बाबा, मेरो कान्छो । हामीलाई छोडेर किन गयौ ? हाम्रो माया लागे तिमीलाई मेरो बा बा । हे भगवान् हामी बुढा-बुढीलाई लगेको भए पनि त हुन्थ्यो नि यो बालखले के बिराएको थियो र यसलाई छिन्यौ ? हे निष्ठुरी दैव । ”

वरिपरि भीड जम्मा भयो ।

सबैले सम्झाए, “के गर्छौ ? जे हुनु भैहाल्यो । उसको भाग भोग त्यति नै रहेछ । तिमीहरूले बचाउन खोजेकै हौ । ”

उनीहरूको अबस्था बुझेका गाउँलेहरूले आ-आफ्नो गच्छे अनुसार सहयोग संकलन गरे । अनि उनीहरूकै सहयोगमा नजिकैको खालामा रीतिपूर्वक समाधिस्त गराई घर फर्किए । बीरबहादुरका बुढा-बुढी रुँदै रुँदै घरभित्र पस्छन त उनीहरूको हंसले ठाउ छोड्छ । इन्तु न चिन्तु भएर थुचुक्क दुवै भूईंमा बस्छन ।

“बिर्खेकी आमा, यो के देख्नु पर्यो ? हे ईश्वर, हे भगवान । म गरिबले तिम्रो के बिराएको थिएँ ? के पाप गरें मैले ? किन यो बज्रपात ममाथि ? किन भगवान किन ?”

“ह्वाँ, ह्वाँ । मेरो बाबु बिर्खे के गर्यौ तिमीले यो ? किन सजाय दियौ हामीलाई ? मेरो छोरा एउटा हुर्केको तिमी, तिमीले पनि । यो दुखी बाबु आमालाई माया मार्यौ ? बिर्खे ! ए बिर्खे ! हिजोसम्म तिमीसँगै ज्यामी गएर ऋण तिरौंला चिन्ता नगर बा भन्थ्यौ । मेरो बाबा के गरेको यो तिमीले ?”

“हे दैव हामीले के अपराध गरेछौ ?” उनीहरूको छाती पिटी पिटी रुवाइ सुनेर गाउँलेहरू जम्मा भए । त्यो बियोगलाई गाउँलेहरूले पनि थाम्न सकेनन । सबै रुन थाले । सम्झाउने हिम्मत समेत आएन कसैमा । सार्है टिठ लाग्दो दर्दनाक दृष्य थियो त्यो ।

छाती पिटी-पिटी रोइरहेका बीरबहादुर जुरुक्क उठ्छन ।

उनको आँखामा आँसु रोकिएको थियो । राता राता आँखा । उनी सरासर आगाडी बढे । पिसाब फेर्न गए होलान भन्ठाने कसैले पनि वास्ता गरेनन।

गाउँका मुखिया दौडदै आएर भन्छन, “लौन हे गाउँले हो यो त बित्यासै भयो । बीरबहादुरले तल्लो बारीको बकैनाको रुखमा पासो लगायो भन्या । ” सबै गुरुरु त्यता दौडिए ।

फुलमाया तर्फ कसैले ध्यान नै दिएँनन् ।

बीरबहादुरको पनि प्राण पखेरु उडिसकेको थियो यो संसारबाट गाउँलेहरूले बचाउन सकेनन ।

कोही उतै रुँग्न बसे कोही यता फुलमायालाई कसरी सम्झाउने के भन्ने कसरी सहली यो बियोग ? बिचरी फुलमायाले? भन्दै दौडदै आए ।

फुलमाया पिंढीमा थिइनन् ।

पाँच बर्षे साइँलोले कुकक कुकक गर्दै हातले इशारा गर्यो भित्र दलिनतर्फ ।

यता फुलमायाले पनि पासो लगाउन भ्याई सकिछिन् । जेठो छोरोसँगैको दलिनमा ।

गाउँलेहरूले यस्तो यो हृदय बिदारक बियोग कहिले पनि न देखेका न सुनेका थिए । यस्तो पनि हुन्छ संसारमा धत्तेरिका के गरेको यो भगवान भन्दै रुँदै रात कटाए कोही पिढी मा, कोही बारीको पाटामा प्रहरी, र सरकारी वकिलको प्रतीक्षामा ।

—-

साइँलो उर्फ सुर्जे डाँन् आफू बसेको कोठाका साथीहरूलाई दुई घुडाँको बिचमा मुन्टो राखेर आफूलाई थाहा भए जति कथा सम्झी सम्झी सुनायो । त्यो अत्यास लाग्दो बियोगान्त गरिबीको कथा सुनेर कसैका आँखा सुख्खा थिएनन सुँक्क सुँक्क गर्दै थिए ।

“धत् किन रोएको तिमीहरू ?” सुर्जे हाँस्छ, तर उसको आँखा पनि रसिला थिए ।

“एक्लो बेसाहरा भएपछि सहर पसें म । केही बर्ष सडक खाते भएर हिंड्दै गर्दा धनी बन्ने भुतसवार भयो मलाई । कहिले लुट्ने कहिले पसल फोर्ने गर्दा गर्दै मेरो जोस र आकांक्षाले अपराधिक समुहको नाइके बनाइसकेछ पत्तो नै भएन । कैयौं सफल अपराधपछि एउटा साथीको गद्धारीले प्रहरीको फन्दा परियो । बच्ने आशा रहेन अब अदालतले २० बर्ष जेल तोकिसक्यो, भित्तो फोरेर भाग्ने बाहेक । ”

“हा हा हा,” सुर्जे रुन्चे हासो हाँस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *