करिब साठीबर्ष पछाडि यसपालि मेरो पिताजी काठमाडौं जानुभयो । विक्रमसम्वत् दुईहजार सालमा उहाँ अठार उन्नाइसबर्षको उमेरमा पहिलो चोटि काठमाडौं टेक्नु भएको थियो । त्यसपछिको एक लामो समयरेखा काठमाडौँबाट विरत भएर पूर्वी पहाडको एउटा अनाकन्टर गाउँमा आफ्ना आयुरेखाहरू फटाइरहनु भयो । दशैँको बेलाका खसीखरिदेहरूका मुखबाट काठमाडौंको पछिल्लो दृश्य चासो राखीराखी सुन्नुहुन्थ्यो । आफ्नो एक आयु उमेरमा खण्डखण्ड युगको आस्वाद लिनुहुन्थ्यो ।
पछिल्लो काठमाडौंयात्रामा विस्मृतिको गर्भमा पुरिएका थुप्रै पुराना कुराहरू सतहमा उत्रिए । पिताजीको मार्गदर्शक भएर काठमाडौंको अनेकौ ठाँउहरू वहाँलाई डुलाउँदा दुई भिन्नयुगका आवाजहरू, ध्वनि र धुमिल दृश्यहरू श्पर्श गर्न पाँए । उहाँले दुई हजार एक साल अगाडि चुला चौका जोरेर भात पकाएको टुँडिखेल खोज्नुभयो । बानेश्वरका खोल्सामा दिशा बसेका ठाँउहरू ठम्याउन खोज्नुभयो, त्यो गगनचुम्वी कन्क्रिटका महलको वीचमा व्लाकहोलमा तारा खसे जस्तो खोजाइ थियो ।
त्यतिखेर एकपैशाको दाउरा किनेर एकछाक भात पकाएको दृश्य ब्युँझिएर दाउरा दोकान ठम्याउन खोज्नुभयो, त्यो पनि स्यालको सिङको खोज जस्तो भयो । तीन मोहरमा एक बिसौली खसीको मासु किनेको, एक मोहरमा दुई छाक चामल किनेको, बाइस रुपैयाँमा काकाको बिहेका सम्पूर्ण लुगाकपडाका किनेका अनेकौ विस्मरणहरू स्मरणमा तैरिए तर ती युगका कुनै पनि विम्वहरू, छायाँहरू र पदचापहरू उहाँले भेट्न सक्नुभएन ।
दक्षिणकाली जाँदा बास बसेको, बिहान बानेश्वरवाट वुढानिलकण्ठ पुगेर फर्किँदा झमक्क साँझ परेको, रातिको तोप पड्किँदा भद्रकालीमा रुखको सियाँलमा ठाँउको ठाँउ बास बसेको आदि आदि दृश्य मेरो लागि किम्वदन्ती भन्दा कम विस्मयका शिक्षा थिएनन् ।
पिताजी र मेरो युगको पुस्तान्तर परिवर्तनलाई सजीव र सादृश्यरुपमा अवलोकन गर्न पाएको यो अपूर्व अवसर थियो । उहाँलाई किनमेलको बजार घुमाउन लैजाँदा चाँदन घोट्ने ढुंगो खोज्नुभयो, मलाई वडो अप्ठ्यारो भयो, यो वस्तु पाउन । तैपनि पशुपतिक्षेत्रका दोकानहरू खुप चहारियो । चनौटो पाउन असफल भइयो । आफू नेपाल आएर लान खोजेको चिज नपाउँदा पिताजी खिस्रिक्क बनेको दृश्य देखेँ ।
उत्तरआधुनिक कालको काठमाडौमा पिताजीले किनमेलको ठूलो चिज अर्थात सौदागिरीको वस्तु चनौटो रोज्नु, एउटा आदिम चेतनाको अवशेष थियो भने अर्को दुई विपरित युगको प्रदोषकालमा म यता न उता भएर किंकर्तव्यविमूढ बनेको स्थिति थियो । हाम्रो आदिम चेतनाको समाजमा समय प्रविधिले खरायो गतिमा ल्याएका परिवर्तन र मान्छेले हृदयंगम गर्न नसकेका, सहजढंगले पचाउन नसकेका अनगिन्ति त्यस्ता विरोधाभासवाट म सदैव ठुङ्गिरहेको छु ।
तर यी सवै समयपींडाहरूलाई म इतिहासको स्वभाविक गतिमा राखेर बुझ्ने कोसिस गर्छु । औद्योगिकक्रान्तिको उत्कर्ष विन्दु इङ्गल्याण्डले टेकेको समयमा हाम्रा जंगवहादुपर युरोपको यात्रा गरिरहेका थिए । अर्थात् सन् अठार सय पचासमा जंगवहादुरले वेलायत भ्रमण गरेर सौदा गर्न बजार पस्ता त्यहाँ उनले घोडा किनेका छन् । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि र चेतनाको आलोकमा रङ्गमङ्गिएको वेलायतमा नेपाल भित्र्याने चिजमा जंगवहादुरले काइदाको घोडा ठम्याउने र मेरो पिताजीले सन् दुईहजार पाँच को काठमाडौंको बजारबाट ढुङ्गो किनेर पाहाड ल्याउन खोज्नु एउटै चेतनाका दुईपाटा थिए ।
इतिहासको यो घटना सम्झेर पनि मलाई पिताजीले ढुङ्गो खोजेको कुरा अनौठो लागेन । मैले कल्पना गरेको थिए, पिताजीलाई के लाने काठमाडौंको चिनो ? भनेर सोद्दा अरुअरु चिज माग गर्नुहोला भन्ने लागेको थियो । तर चनौटे ढुङ्गो भने मेरो निम्ति कल्पनातित बस्तु थियो । जंगबहादुरको चेतनाले युरोपबाट नेपाल भित्र्याउने खालको वस्तुमा घोडा भेटे जस्तो मेरा पिताजीको चेतनामा ढुङ्गो आएर बस्यो । जंगवहादुरले बेलायतमा किनेको घोडा एउटा प्रतीक हो । यस प्रतीकका धेरै धेरै अर्थहरूछन्, जंगबहादुर एउटा कुशल घोडचडी थियो । हात्तीखेदाथियो । ऊ घोडा दौडाएर हात्ती समातेर त्यसै योग्यताको सिँढी समातेर, त्यसै योग्यताको सिंढी उक्लिएर सत्तामा आएको थियो, त्यसैले वेलायत आएर अक्षर रोजेन अर्थात किताव कलम नरोजेर घोडा रोज्यो । यो उसको संस्कार चेतमा खिपिएर रहेको थियो । अर्को जंगवहादुर जनतालाई घोडाको स्थरमा राखेर कोर्रा बर्साउने चेतबाट दीक्षित थियो । घोडा अनि कोर्रा एकअर्कामा परिपूरक चिजहरू हुन् । ऊ घोडा किनेर चढ्नुको अर्थ जनताको ढाडमा चडेर कोर्राले लाउने चेतना बाट निर्देशित थियो । अर्को कुरा युरोप औद्योगिक क्रान्तिमा फड्को मारिसकेको वेला नेपालको शासकीय चेतना जंगली घोडा कज्याँउने युगको स्तरमा विन्यस्त थियो भने संकेतहरू पनि यसबाट उद्घाटन भएका छन् ।
अब अड्तीसबर्षपछि हामी बिक्रमको बाईसौ शताव्दी टेक्छौं । तर शासकीय चरित्र विम्व भने बारौं शताव्दी अगाडिको मध्ययुगीन वर्वर कालखण्डको प्रतिरुप ठिङ्ग उभिएको छ । एउटा भयानक भ्रान्तिकालमा हामी अड्किएका छौं । निरोकालीन युगका निरोकृत्यहरू एक पछि अर्को रुपमाम पटाक्षेप हुँदाछन् । नागरीकजनहरू कहिल्यै नभोगेको पींडाका त्रासदीमा गुम्सिएर रुँदा छन् । एकाइसौं शताव्दीमा भर्खर हामी पुनः राजाको सक्रिय सासनमा डोरिएको वखत युरोप लगायत संसारले पाँच सय वर्षा अगाडि तिलाञ्जली दिइसकेका इतिहासका आखेटहरू ब्यूँझिएका छन् ।
नृप निरो बनेर बारौं शताव्दीमा देश डोर्याउदा शहरको युवापुस्ता अमेरिकी, वेलायती स्टाइलको लवाइखवाइ, रमझम, रङ्गरमिता र खेल तमासामा अभ्यास गरिरहेका छन् । गाउँका सीमान्त गरिबीमा उभिएका युवा भने घरखेती अडना लेखेर अरबको तातो मरुभूमिमा बेल्चा हानिरहेका छन् । उनिहरूका रक्तपसिनाले लतपत रेमिटान्समा राजन भुजा ज्युनार गरिरहेछन् ।
एउटै समयरेखामा झण्डै चारवटा युगको दर्शन गरिरहेछु म, मध्ययुगीन वर्वर दास समाज, सामन्त समाज, पूजीको वैभव विलासले आकासिएको चरम भोगवादी समाज र गिठ्ठा, भ्याकुर र जलुकोमा जीवित भोकतन्त्री कविला समाज । यहाँ एकातिर निरो छ, अर्कोतिर म्याडोना छे, । कति विरोधाभासको युगसन्धीमा चेपिएको छु म ।
इलेक्ट्रोनिक्सका नयाँ साधन गाउँ पुगेको वेला बाजे निधारभरी चाँदन दलेर एकतारे वजाँउदा छोरो गितारको झंकारमा क्याब्रेडान्स दिइरहेको छ । बाउ बालुन खेलाउन सर्दाम जुटाइरहेको बेला, नाति रक, पप, रिमिक्सको डाङ्गडाङ्गडुङ्गडुङ्गमा गजो ठटाइरहेको छ । संक्रमणकालीन युगसन्धीमा जन्मिएका हामीले अहिले सवैभन्दा वढी विद्रुपता हेर्नुपरेकोछ । विरोधाभास पचाउनु परेको छ । विपरित यथार्थलाई अंगिकार गर्नु परेको छ ।
कुनै गाउँलेको छोरो न्युरोडको साइवर क्याफेमा बसेर न्युयोर्ककी कुइरेनीसँग च्याटिङ्ग गर्छ । त्यही शहरमा कुनै जनलाई राजाले गोडाको पानी खुवाउछन् । अर्को गाउँलेको छोरो कोरियामा कम्प्युटर खेलीरहेको वेला उसको बाउ खोरियामा झार उखल्न नसकेर खोकिरहेको दृश्य साक्षात आँखामा तैरिरहेका छन् ।
अरुले जे भनुन् हामी भुपीले भने झैँ जेट युगमा होइन, घाँटी मुनीको पेट युगमा छौं । पेटका पींडालाई शमन गर्न हामी असफल छौं । काँही नहुने जात्रा हाँडीगाउँमा भएझैं आजभोलि यस्तो लाग्न थालेको छ काँही नभएको दृश्य नेपालमा देख्न पाइन्छ । एकातिर लुम्विनी छ, अर्कोतिर नारायणहिटी छ । मान्छेको मात्र होइन कुनैपनि जीवजन्तुको रगत शरीरबाट वाहिर निकाल्नु हुँदैन । रगत बाहिर देखाउने चिज होइन भनेर रक्तनृत्यको विरोध गर्ने वुद्धका मूर्ती छन् एकातिर, अर्कोतिर रगतमा डुबेर रगत चाटेर शासनमा रम्ने हिटलरवृत्तिका रत्त् शासक पनि छन् ।
इतिहासको दोसाँधमा उभिएर कालवेला परीवेक्षण गर्दा समय छिटो छिटो फड्को मार्दै छ । दुईटा युगको विकराल खाल्टो पुरिने छेकछन्दहरू बढेर गएका छन् । निरो, बोकासा, इदिअमिनका प्रेतात्माहरू, हेरोदहिटलरका जागित्ररुपहरू शनै ः शनै ः चिहानघारी तर्फ उन्मुख छन् । शव्दसमिधा थपेर म आगो हुर्काउँदैछु । आगोको जरुरी सिजन हो यो । पुरातन जाडो मास्न पनि आगो चाहिएको छ । इतिहासमा तर्र्साइ आएका व्युख्याँचाहरूका पुँत्ला दहनको निम्ति पनि आगोको खाँचो छ । आगो निकाल्ने यात्रामा हामी अविराम लामबद्ध छौं ।
समय मेरो पिताजीले खोजेको चनौटो, जंगवहादुरको घोडा, रक्तआहालमा जन्मेको व्युख्याँचाबाट एक कदम अगाडि घस्रिसक्यो । इतिहासको वोललाई खोल चढाउने जवानहरू एउटा नयाँ चेतनाको नवीनतम शक्तिपाठ गरेर शैतान सुल्याउन, रैतान फुल्याउन समर मैदानमा ओर्लिसकेका छन् ।
पुरानो पात झर्दो छ, नयाँ मुजुरा कापकापबाट फुट्ता छन् । पुराना पर्खाल चर्किंदा छन् नयाँ पर्खालको निम्ति चर खनिंदैछ । पुरानो बार धमिराले जरा जिर्ण पारेर मक्ंिकदो अवस्थामा छ, नयाँ बारको निम्ति घोचाघारा ठिकठिक अवस्थामा खडा छन् । एउटा बुढो युग चिर निंद्रामा सुत्ने तरखरमा छ । अर्को कलिलो युग बुढो युगकै गर्भ बाट जन्मिने सुरसारमा छ ।
इतिहासकै सर्वाधिक थोत्रो मान्छे अन्तिम थोपो शक्तिको चमकदमकमा यताउति फूर्ती छाडिहिंडेको दृश्य हेरिरहेको छु । मानवप्रजाति भित्रको यस थोत्रो मान्छेका नाटकहरू मेरो निम्ति जादुगरका चटक जस्ता लागेका छन् । चटकी र उसका चटकहरू जनहरूमा क्षणिक दिग्भ्रान्त सिर्जन गर्न साहायक सिद्ध होलान्, अन्तिमसम्म कामयावी हुन सक्दैनन् । मलाई थाहा छ– मर्ने वेलामा मधौरुको पनि एकचोटि ज्योति फिर्छ । तेल सकिएको दियो पनि निब्ने वेलामा एकचोटि धिप्धिप् धिप्धिप् गर्छ । थोत्रो मान्छेको इहलिला समाप्त हुने घडीमा धिप्धिपाइरहेको दियो, एकदम आँखामा गोचर हुन आँउछ । जति आँखा पुछेर हेरेपनि मेरो आँखामा त्यही थोत्रो मान्छे र धिप्धिपाइरहेको दियो साक्षात्कार हुन आउँछन् । जागरणको घडीमा देखेको यो स्वप्ना शैतानको निम्ति अपशकुन युक्त भएपनि रैतानको निम्ति शकुनयुक्त छ भन्ने मेरो राय हो । यो स्वप्ना साकाररुपमा परिणत गर्न म अक्षर अग्नि वर्षाइरहेको छु आउनुहोस् तपाई पनि आफ्नो ठाउँबाट के गर्न सक्नुहुन्छ मलाई हात दिनुस् अक्षर यात्रालाई साथ दिनुस् ।
पुन्य कार्की
उदयपुर