दैलो हृवाङ्गै थियो ।
ऊ सरासर भित्र पस्यो । भित्रका पनि हृवाङ्गै उघ्रेका दैलाहरुले सीधै पुर्याउने कोठासम्म पुग्यो ऊ । त्यहाँ एकजना नकावधारी सेफ खोल्ने प्रयत्नमा जुटिरहेको थियो । पदचापसहित कोठामा पसेको दोस्रो मान्छेको उपस्थितिबोध उसलाई अवश्य भएको हुनुपर्छ तर उसले पछाडि फर्केर पुलुक्कसम्म हेरेन । बरु आफूले कम्मरमा भिरेको हात-हतियारलाई पो नियाल्यो । निहुरिएर सेफ खोल्न बस्दा उसको कमिज माथि उचालिएर ती सबै बाहिर देखिरहेको थियो ।
नकावधारी पुनः सेफ खोल्नतिर लाग्यो । दोस्रोचाहिँ उसको हतियारमा झुण्डिबस्यो । जहाँ-जसको उपस्थिति हुन्छ, सम्भवतः त्यहाँ उसकै राज चल्छ । उसको क्रियाविहीन उपस्थितिले यसलाई थप पुष्टि गरिरहेको थियो ।
अर्को केही छिन् ऊ यही स्थितिमा बसिरहृयो ।
-‘अपरिचित मेरा महान् मित्र, यतिखेर मेरो मास्टर-किले तिम्रो कामलाई सहज पार्ला ।’ दोस्रोले उसको साँचोको झुप्पाबाट सेफलाई सहजै खोलिदियो । कति गर्दा पनि आफूले खोल्न नसकेको दोस्रोले सहजै खोलिदिँदा ऊ निकै कृतार्थ देखियो । सेफमा केही मुठ्ठा रुपियाँहरू थिए । दोस्रोले पहिलो चोरलाई ती मुठा टिप्न सेफअगाडिबाट आफू हटिदियो । पहिलो चोरले आधा-आधी पोल्टामा हालिसक्दा बाँकी आफूलाई छोड्न दोस्रोले आग्रह गर्यो । पहिलोले पनि नाइँनास्ती केही नगरी आधी उसैलाई छोडी टाप कस्यो ।
सेफसामू ऊ मुठा टिप्ने मुद्रामै थियो । एउटी आइमाई हस्याङफस्याङ गर्दै कोठामा पसी ।
-‘रुपियाँ-पैसा पोका पारेर भाग्न लागेको नकाबधारीसित दैलोमा जम्काभेट भयो । आइमाईको जात भएकाले मैले उसको हातबाट पोको थुत्न सकिनँ । तिमी पनि म जस्तै हत्तप्रभ भयौ कि ?’ उसकी स्वास्नी सर्वस्व गुमेको दुःखद् बेदनामा चिच्याउन आइपुगी ।
उनीहरूको आधा सर्वस्व हरण भइसकेको थियो । अथवा आधा जोगिसकेको पनि थियो । ऊ हर्षमा पनि थियो, विस्मात्मा पनि । ऊ हाँस्न पनि सकिरहेको थिएन, रुन पनि । यही स्थितिमा उसले स्वास्नीसित साउतीमा भन्यो- ‘तिम्रो लोग्ने म आखिर घरमूली जो थिएँ । नक्कली चोर बनेर भए पनि आधी सम्पत्ति जोगाउन बल्लतल्ल सफल भएँ ।’
शनिबार, गोरखापत्र
मंसीर ११, २०६७