हुरी बुढो रुख भच्चाउन तल्लिन छ,
बतास निकै बेगमा बह्न्छ,
रुखको डाली भूईं र टुप्पो हुँदै शैसला खेल्छ
परिपक्क फलदाना दाँया र बाँया हल्लिन्छ
अनि कोयाको गुप्ताङ्ग प्याट्ट फोरेर
बाहिर निस्कन्छन,
सिमल भुवाहरू ।
सिमल भुवाहरू !
आरु फुल्ने बेला, हावा चल्ने बेला,
आकाश गर्जदा जन्मे,
मेरो जन्म
न आरु फूल्ने बेला भयो
न हावा चल्ने बेला भयो
न आकाश गर्जदा भयो
म त बाख्राको दुध पिएर
कसैको काखमा हुर्किएको रे…
अरु कसैको कोक्रामा हल्लीएको रे…
धरै बर्ष थाङ्नाको दिशा र पिशामा मुच्छिएको रे…
अनी आमाको वात्सल्यताबाट छुटिएको रे…. ।
कसैसँग अनुबन्धित जीवन लिएर,
कसैसँग अनुबन्धित यात्रा लिएर,
आकाशको हावामा कावा खान्छन
निसङ्कोच गन्तब्यमा स्वातन्त्र
उडिरहेछन
सिमल भुवाहरू ।
हावाको दिशा उसकोबाटो हो
उसैसग अनुबन्धित छ,
पानी सग अनुबन्धित छ
माकुरो जालसग अनुबन्धित छ
अनि म,
सिमल भुवा हेरेर गर्व गर्छु,
बर्ष बर्ष थाङ्नामा मुछिएको
मेरो जीवन कति स्वातन्त्र छ !
न म आमा बाबा सग अनुबन्धित छु
न म परिवारसँग,
न म कसैको मायामा अनुबन्धित छु
न संसारसँग ।
प्रकृतिले छनोट गर्यो भने,
सिमल भुवा र म उस्ता उस्तै हो
धर्तीको फाटमा सिमल बिजाङ्कुरण भएर
नयाँ सिमल दिन सक्छ,
म कसैको मायामा गर्वधान गर्नसक्छु…..
यदि हामीले बाँच्नको लागि सघर्श गरयौ भने
अनी सक्षम नै बाच्ने भयौ भने ।
म त यहाँ मेरो जन्म खोजी गर्दै छु
सिमल भुवाको जन्मदाता मलाई माने हुन्छ
किन की म उसको जन्म निर्धारण गर्न सक्छु
के मेरो जन्म सिमल भुवाले बताउन सक्छ …?
मेरो जन्म संसारको मान्छेलाई चुनौती हो,
म एक दिन मृत्यु हुन्छ
मेरो मरण संसारलाई चुनौती हो
यहाँ को अछुतो छ र अनुबन्धबाट ?
अनुबन्धित जीवनबाट ?
म अनि मान्छे सबै अनुबन्धित छन्
समय काल र परीस्थीतीबाट
जीवनबाट…. मायाबाट
उही सिमल भुवा सरह,
उही सिमल भुवा जस्तै… ।