
आयो वसन्तको बेला छैनन् आनन्दका दिन
बिब्ल्याँटो सोच आएको मलाई किन हो किन ।
वायु स्वच्छ छँदै छैन कहाँ पाउनु मग्गमगी
यता त्रास उता त्रास बाँच्नैमा हुन्छ जग्गजी ।
न स्वच्छ वायुको आस न छ पानी सफा यहाँ
यहाँको हाल यस्तो छ खोज्ने स्वच्छ कहाँ कहाँ ।
सत्ताले किन पो सोच्थ्यो हामी मानवको हित
स्वच्छता सब बेचेर झिकायो सब दूषित ।
साँढे झैँ अझ उघ्राओस् फिँज काढेर गज्गजी
बसोस् आनन्दका साथ प्रभुस्तोत्र सदा भजी ।
जननिर्यातमा लागोस् बनोस् सन्सारकै धनी
उस्का इज्जतको त्यान्द्रे लँगौटी खुस्किए पनि ।
नथामी मनको पीडा खसाली आँसु धर्धर
देशको हाल यो देखी रुँदा हुन् शिवशङ्कर ।
पाल मात्र कहाँ हो र चुहुन्छन् सबका छत
परिवार सबै रुन्छ यता बेग्लै छ हालत ।।
खाडीका देशमा पैसा रुखमा धेर फल्दछ
छोरा निर्यातले हामी बाबुको भात चल्दछ ।
जनता घोड्दछन् हड्डी बस्छ नेतो सदा ढुकी
तिनको श्रमले हाम्रा नेतोको चल्छ धुक्धुकी ।
खाडीमा सोच्तछन् मानौँ पैसा फल्ने छ रे तरु
टिपेर तिनले राख्छन् देशको थोर आबरु ।
सधैँ गाना सधैँ नाना सधैँ खानु छ ठक्कर
हामी मानवको कस्तो जिन्दगी घनचक्कर ।
सधैँ तेरो सधैँ मेरो यसैमा पर्छ टक्कर
हामी मानवको कस्तो जिन्दगी घनचक्कर ।
खुदो जस्तो कतै हुन्छ कसैको हुन्छ सख्खर
हामी मानिसको कस्तो जिन्दगी घनचक्कर ।
बाहिरी दृश्यमा बेग्लै भित्र बेग्लै छ चक्कर
जनताको छ यो कस्तो जिन्दगी घनचक्कर ।
प्राण धान्न उँभो चढ्ने भिर छन् अति अक्कर
दुखमा अझ झन् दुख्ने जिन्दगी घनचक्कर ।
घनचक्करमै मानौँ जिन्दगी घुम्छ फन्फनी
सयमाथि ज्वरो चढ्छ जिउ पोल्दछ हन्हनी ।
।। समाप्त ।।
