Skip to content

मझेरी भलाकुसारी, अंक ०७ (शरण आँसु)

SharanAnsu-02


शुरुमा यहाँको आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय तपाईं आफैबाट पाऊँ न ।
सर्वप्रथम मझेरीमा बास दिएर आदरणीय पाठकहरू समक्ष प्रस्तुत गरिदिनु भएकोमा आभारी छु । मेरो वास्तविक नाम हरिशरण अधिकारी भए पनि ‘शरण आँसु’ भन्ने नाममा गीत, कविता र गजलहरू लेख्ने गर्छु । म माता टंकेश्वरी र पिता पं. पुरुषोत्तम अधिकारीको छोरो हुँ । गोरखा जिल्लाको मुच्चोक गा.वि.स. अन्तर्गत कुसुण्डे मेरो गाउँ र मेरो जन्मभूमि हो । त्यहींको गाउँ बेंसी, पाखा पखेराहरूमा लट्पटिएर मेरो वाल्यकाल बित्यो । सामान्य किसान परिवारको जीवन पद्धति – घाँस, दाउरा, मेलापात, गरिबी, ग्रामीण जनजीवन, प्राकृतिक सौन्दर्य, देशभक्ति, सामाजिक विभेद र मायाप्रीतिका अनुभूतिहरू मनमा छचल्किन्छ, अनि तिनै अनुभूतिहरूलाई शब्दले उनेर म लेख्ने गर्छु । पेशाले म रसायनशास्त्र विषयको उप–प्राध्यापक हुँ र पश्चिमाञ्चल इन्जिनीयरिङ्ग क्याम्पस पोखरामा कार्यरत छु । पोखराको गण्डकी आवासीय उच्च मा.वि.बाट यु.एम.एन.को छात्रवृत्तिमा एस.एल.सी. तथा काठमाडौंबाट एम.एस्सी. सम्मको अध्ययन पश्चात् विगत १५ वर्षदेखि पोखरामा नै शिक्षण पेशामा संलग्न रहँदै आएको छु । शिक्षण मेरो पवित्र पेशा र जीवन निर्वाहको साधन हो भने साहित्यलाई मैले आफ्नो जीवन पद्धति ठानेको छु ।

शरण आँसु भन्ने नाम नै किन राख्नुभो ?
मैले आफूलाई सबै अधिकारहरू खोसिएको अधिकारी भन्न चाहिन । म सधैं भगवानको शरणमा छु तर भगवान्प्रतिको शरणागति र कर्मसन्यास मात्र जीवन पद्धति हुन सकेन । जिन्दगीको रङ्गमञ्चमा आँसुले नै रुझेको अनुभव गरें र अलिकति आस्था बेचेर हाँस्न सकिन । हाँस्नेहरूको लागि त सबै छन्, रुनेहरूको लागि पनि जीवन बाड्न सकूँ भनेर आफूलाई आँसु भनें । सायद उज्यालोको खोजीमा आँसु बगाएर अँध्यारा दिनहरू काट्दा काट्दै आँसु भएँ ।

तपाईंको लागि साहित्य के हो? साहित्यिक क्षेत्रमा रुची लाग्नुको पछाडि के छ त्यस्तो ?
साहित्य समाजको दर्पण हो । मनका संवेग, उद्वेग, भाव र आवेशहरूलाई पोख्ने माध्यम हो । सामाजिक, राजनैतिक विकृति र विसंगतिहरूप्रतिको कटाक्ष अनि सौन्दर्य र संगतिहरूप्रतिको मोहलाई अभिव्यक्त गर्ने माध्यम हो । सायद, साहित्य मेरो जीवनको सरगम हो । साहित्य विना म निस्तेज र निस्प्राण हुन्छु ।

साहित्य सृजनापछिको सन्तुष्टि र आफू उभिएको माटोप्रतिको दायित्वबोध अनि पाठकहरू र मेरा साथीहरूले बढाइदिनु भएको हुटहुटी नै सायद यस क्षेत्रमा रुची लाग्नुको कारण बन्यो ।

तपाईंका विशेषगरी गजलहरू मझेरीमा पढ्न पाइन्छन् । कहिलेदेखि गजल लेखन शुरु गर्नुभो ?
गजल यात्रामा छु – दुई तीन वर्ष अघिदेखि । तर यकिन छैन – यो यात्रा कहिले र कहाँबाट शुरु गरे । गजल संग्रह ‘नजराना’ प्रकाशोन्मुख छ ।

कविता र गजल बाहेक अन्य विधामा पनि हात हाल्नु भएको छ कि ?
कविताको सौन्दर्य र गजलको शृंगारभित्र हराएर यिनै विधाहरूमा पोखिएको छु । यसका अतिरिक्त केही हाइकुहरू लेखेको छु । तर अन्य विधामा चाहिँ हात हालेको छैन ।

रचना लेखेर प्रकाशित गरेपछि आफैले फेरि पढ्दा कस्तो लाग्छ?
प्रकाशित भएको रचना पढ्दा आफूलाई एउटा पाठकको रुपमा पनि भेट्टाउँछु र ऐनामा आफूलाई हेरे झैं अनुभव गर्छु – म । आफ्नो अनुहार अलि मिलेको र राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ । तर समग्रमा मेरो सिर्जनाका छालहरू आदरणीय पाठकहरूको मनसमक्ष पुगेको छ भन्ने अनुभूति हुँदा खुशी लाग्छ । तर सिर्जनाका खास पात्रहरूले यसको मर्मलाई नबुझ्दासम्म एउटा स्रष्टाको हैसियतले म व्याकुल नै रहन्छु ।

तपाईंका रचनाहरूमा मातृभूमि प्रेम र प्रीतिका भावहरू बढी देखिन्छन् । किन यिनै विषय रोज्नुहुन्छ ?
यही कारणले गर्दा यी विषयहरू रोज्छु भन्न त गाह्रो छ तर सायद जीवन यात्राका भोगाइहरू, अन्तस्करणमा उर्लने मातृभूमिप्रतिको माया र देशको दुरावस्था, सामाजिक परिदृश्यको प्रभाव, प्रेममा समर्पित मनोदशा आदिले गर्दा मेरा रचनाहरूमा यी भावहरू देखिएका होलान् ।

कस्तो बेलामा लेख्नुहुन्छ ? लेख्न भनेरै बस्नुहुन्छ कि भावना जाग्यो भने लेख्न थाल्नुहुन्छ ?
हृदय विचलित हुँदा या रमाउँदा, हिमाल खुल्दा र प्राकृतिक सौन्दर्यले मन छुँदा, देशप्रतिको मायाँले पग्लँदा, सामाजिक आर्थिक विभेदका उदाहरणहरू देख्दा, बाल्यकाल र आमाको सम्झना हुँदा अनि प्रेम, पितृत्व र उच्छवासका भावनाहरू मनमा सल्बलाउँदा या मनमा अन्य संवेगहरूको आगत हुँदा जुनसुकै बेलामा पनि लेख्नु गर्छु । तर एकान्त वातावरण नभै लेख्न सक्तिन । कहिलेकाहीं लेख्न भनेरै पनि बस्छु र विभिन्न भावनाहरूको समिश्रण बनेर मेरा रचनाहरू जन्मिन्छन् ।

तपाईंका प्रेरणाका स्रोत बनेका पुस्तक/लेखक आदि छन् भने भनिदिनुस् न ।
सानैदेखि उपन्यास, कथा र कविताहरू पढ्ने गर्थे । साहित्य लेखनमा म ‘मन’, ‘घामका पाइलाहरू’, ‘चपाइएका अनुहार’, ‘सिरीशको फूल’ आदि उपन्यास ‘आमाको सपना’, ‘गौरी’, ‘मुनामदन’, ‘घुम्ने मेच माथि अन्धो मान्छे’ जस्ता काव्य कृतिहरू तथा धेरै साहित्यिक रचनाहरूबाट अभिप्रेरित रहेको छु । पछिल्ला समयमा पढिएका पुस्तकहरूमा सरुभक्तको ‘चुली’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ आदि कृतिहरू मलाई मन पर्छ । बाल्यावस्थामा पिताजीको प्रेरणाले कविता लेख्न शुरु गरें । पछि विस्तारै सृजनामा रम्न थालें र अहिले सृर्जना एउटा बानीमा रुपान्तरण भएको छ ।

विज्ञान शिक्षण पेशा अँगाल्नुभा’ छ । त्यसमाथि पनि रसायनशास्त्र जस्तो खरो विज्ञान र मानवीय संवेदना एकै दिमागले कसरी सन्तुलन गर्न सक्छ ?
रसायनशास्त्रका प्रतिकृयाहरूमा पनि साहित्यको रस भेटिन्छ । विज्ञानले साहित्यका अन्तरवस्तुहरूलाई आकार दिन मद्दत गर्दछ र संवेदनाको लेप लगाएपछि निर्जीव वस्तु पनि बोले झैं लाग्छ । त्यसैले रसायनशास्त्र पनि रसिलै हुन्छ र शिक्षण पेशाको क्रममा भोगिएका सुख दुःखहरू घोलेर लेख्दा पनि साहित्य बन्छ । विज्ञानले मानव जीवन र सभ्यतालाई उचाल्दै र पछार्दै गर्दा पनि हृदयभित्र सृजनाको ताल जम्छ तथा समय र सन्दर्भ नमिल्दा मानवीय संवेदना पोख्ने मसी नै सुक्ने हो भन्ने डर पनि रहन्छ । तर समग्रमा भन्नुपर्दा रसायनशास्त्र मेरो साहित्य सृजनाको पृष्ठभूमिमा र मस्तिष्कको कोलाजमा पोतिएको सुन्दर रङ्ग हो ।

पोखरामा बस्नुहुन्छ । त्यहाँको प्रकृतिले के साँच्चै सबैलाई कवि बनाउँछ ?
हो, पोखराले सबै साहित्य अनुरागीहरूलाई कवि बनाउँछ जस्तो मलाई लाग्छ । यहाँको प्रकृति र पानीमा कविता छ । मान्छेहरूको बोली र आनीबानीमा पनि कवितै कविता छ ।

पोखरामा के–कस्ता साहित्यिक गतिविधिमा संलग्न हुनुहुन्छ ? अनि सँगै लागि परेका व्यक्तिहरूको बारेमा हामीलाई पनि बताइदिनुहुन्छ कि?
साहित्यकार दाजु सरुभक्त नेपाली कविता यात्राको पृथक प्रयोग “संरक्षण कविता आन्दोलन” का प्रणेता हुनुहुन्छ । म पनि आन्दोलन कविको रुपमा विभिन्न शृङ्खलाका कार्यक्रमहरूमा संलग्न रहँदै आएको छु । यस बाहेक गजल सन्ध्या र मुक्तक मञ्चका कार्यक्रमहरू र साहित्यिक कृतिहरूको लोकार्पण जस्ता कार्यक्रमहरूमा कहिलेकाहीं उपस्थित हुने गर्छु तर धेरै स्रष्टाहरूसित म अपरिचित नै छु । पोखराका अग्रज स्रष्टा दाजु सरुभक्त र तीर्थ श्रेष्ठको सामीप्यमा धेरै स्रष्टाहरूसित सँगसँगै साहित्यिक यात्रामा सहभागी भएको छु । संरक्षण कविता आन्दोलनको ५० औ शृङ्खलाको कार्यक्रम रिपोर्ट पनि मझेरीमा प्रकाशित गरेको छु (कृपया यता हेर्नुहोला) । तथापि धेरै स्रष्टाहरूको बीचमा मेरो व्यक्तिगत परिचय नभए पनि साहित्यिक परिचय चाहिँ रहेको अनुभव गरेको छु ।



संरक्षण कविता आन्दोलनमा साहित्यकार सरूभक्त तथा अन्य आन्दोलन कविहरूसँग ।
अगाडि बस्नेहरूको लहर, वायाँबाट तेस्रोमा शरण आँसु ।


काठमाडौं र विदेशमा भैरहने नेपाली साहित्य सम्बन्धी गतिविधि बारे कत्तिको जानकार हुनुहन्छ ?
यस्ता साहित्यिक गतिविधि बारे मलाई त्यति धेरै जानकारी छैन । मझेरी तथा पल्लव जस्ता साहित्यिक ई-पत्रिकाहरूमार्फत केही जानकारीहरू बटुल्न थालेको छु । केही समय अघि पल्लवमा गोर्खे साईलोज्यू लगायत नेपाली स्रष्टा समाजका स्रष्टाहरूको बङ्गलादेश भ्रमणको रिपोर्ट तथा मझेरीमा प्रकाश पौडेल ‘माइला’ एवं नन्दलाल आचार्य ज्यू आदिले प्रेसित गर्नुभएको साहित्यिक गतिविधि सम्बन्धी रिपोर्टहरू पनि पढ्ने अवसर पाउँदा खुशी लागेको छ ।

नेपाली साहित्यमा विशेष आश गर्न सकिने स्रष्टाको नाम लिनुपर्दा कसकसको नाम लिनुहुन्छ ?
मैले नचिनेका र नपढेका कैयौं होनहार स्रष्टाहरू हुनुहोला । वहाँहरू सबैलाई यथोचित नमन गर्न म अयोग्य छु । तर उमेरको हिसाबले पछिल्लो पिंढीका प्रिय स्रष्टाहरूमा म झमक घिमिरे र सशक्त नारी प्रतिभा सरस्वती प्रतिक्षाको नाम लिन चाहन्छु ।

मझेरीको बारेमा कसरी थाहा पाउनुभयो ? यहाँ राखिने लेख रचना कत्तिको स्तरीय लाग्छ ?
नेपाली साहित्यका वेब पत्रिकाहरूको खोजी गर्दै जाँदा मझेरीलाई भेटेको हुँ । सबै साहित्यिक मनहरूको साझा सुन्दर बिसौनीको रुपमा सञ्चालित मझेरीका धेरैजसो लेख रचनाहरू स्तरीय हुन्छन् । कुनै रचनाहरू चाहिं विचारोत्तेजक भएर पनि सृजना शक्तिका दृष्टिले कमजोर देखिन्छन् ।

मझेरीलाई अझ प्रभावकारी बनाउन के सल्लाह दिनुहुन्छ ?
‘मझेरी’ नेपाली साहित्यिक रचनाहरूको सर्वाधिक ठूलो र स्तरीय वेब भण्डार हो । यसलाई प्रभावकारी बनाइराख्न भाषागत र विधागत त्रुटीहरू घटाउने र स्तरीय लेख रचनालाई मात्र गृह पृष्ठमा राख्ने, लेख रचना प्रकाशनका नियमहरू पालन गर्ने, धेरै पाठक तथा स्रष्टाहरूसमक्ष पुर्याउन फेसबुक र ब्लगहरूमा राख्ने आदि प्रकृयाहरूलाई निरन्तरता दिनुपर्छ । हालका दिनहरूमा मझेरी नयाँ रुप र सजावटमा आउने गरेको छ । यो धेरै राम्रो पक्ष हो ।

मझेरीको लेखकको हैसियतले पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
श्रद्धेय पाठकहरूको प्रतिकृयाको अपेक्षा राख्छु । रचनाले पस्केको भावना यहाँहरूको मनमा पोखियोस्, यदि पाठक स्वयं रचनाको पात्र हुनुहुन्छ भने यसको विम्ब प्रतिबिम्बहरूको मर्म बुझ्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु । हाम्रो पहिचान, हाम्रो साहित्य र संस्कृति संसारमै उत्कृष्ट छ । सबै पाठक र स्रष्टाहरू मिलेर यसलाई प्रज्वलित पारौं भन्न चाहन्छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ?
श्रद्धेय पाठकहरू समक्ष प्रस्तुत गरिदिनुभएकोमा पुनः आभार प्रकट गर्दै मझेरीको सफलताको कामना गर्दछु । मझेरीले समय जस्तै निरन्तर प्रवाहित भएर खुशीहरू साट््दै, दुःखका घाउहरूमा मलम लगाउँदै जान सकोस् । साहित्य, कला र संस्कृतिको संरक्षण अनि सम्बर्द्धन होस् । भावनाहरू पोखिएर रानी पोखरीमा रारा मिसियोस्, राष्ट्रिय एकताले बाँधिएका नेपालीहरूको मन सारा मिसियोस् र नेपालको जय होस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

शरण आँसुका रचनाहरू



संरक्षण कविता आन्दोलनमा तनहुँको दगामका स्थानीयहरूद्वारा स्वागत गरिंदै ।

7 thoughts on “मझेरी भलाकुसारी, अंक ०७ (शरण आँसु)”

  1. शरणज्यूलाई मझेरीमा पढ्न
    शरणज्यूलाई मझेरीमा पढ्न पाइयो, हेर्न भेटियो! रोइरहेकाहरूलाई हँसाउन आँसु बनेको कुरा, साहित्यलाई प्रेयसी ठानेको र नेपाल र नेपालीको समुन्नतिलाई अन्तिम गन्तव्य मानेको कुरा पढ्न पाउँदा विचारमेल भएको महसुस भयो!

  2. लेखन शैली र शब्द चयन उत्कृस्ट
    हरिशरण अधिकारी जी अर्थात शरण आशु जी का रचना हरु मैले मझेरी डट कममा धेरै नै पढ्ने अवसर पायको छु।व्यक्तिगत रुपमा वहासंग चिनजान नभय पनि साहित्यिक सामिप्यता निकै बढेको आभास पायको छु। फोटो हेर्दा नै निकै लोभ लाग्दो देखिनु हुने र आकर्षक व्यक्तित्त्वका धनि शरण आशु जी का साहित्यिक रचनाहरु बास्तव मै डाह गर्न लायकका छन् । मझेरी भलाकुसारी मार्फत वहाको बारेमा इति वृतान्त थाहा पाउदा निकै खुशी लागेको छ.साहित्य इतरको बिसयका उप-प्राध्यापक रहे पनि वहाका लेखन शैली र शब्द चयन उत्कृस्ट रहेको पायको छु। जादा जादै फेरी पनि वहा को साहित्यिक सफलता को कामना गर्दै आगामी दिन मा पनि हाल को जस्तै गरि मझेरीमा साहित्यिक खुराकका साथ आउनु हुनेछ भन्ने आशा राख्दछु।

    प्रकाश पौडेल माइला
    योकोहामा, जापान

  3. शरण सर
    सुरुमा त हरिशरण सरलाई मझेरी भलाकुसारीमा सामेल भइदिनुभएकोमा धन्यवाद छ। तपाईंका केही कविता त स्कूले जीवनमा पनि सुनेको हुँ, तर गजल चाहिं मझेरीमै पढ्न पाएको हुँ ।

    सरका रचनाहरूमा अधिक रुपमा देशप्रेम र ममता झल्किएका पाइन्छन् । अनि, सरल र सरस शब्दहरूले शक्तिशाली सन्देशहरू दिएका हुन्छन् । त्यो वहाँको विशेषता हो । आशा छ आगामी दिनहरूमा पनि लेखन कार्यलाई निरन्तरता दिनुहुनेछ । आगामी दिनमा पनि मझेरीमा सकृय सहभागिताको अपेक्षा गर्दछु ।

    आशा छ, पाठकहरूले पनि शरण आँसु सरलाई अरू नजिकबाट नियाल्ने मौका पाउनुभयो ।

  4. मझेरीमा बास दिनु भो, आभारी छु
    मझेरीमा बास दिनु भो, भलाकुसारी गर्न पाइयो/ आभारी छु / उत्प्रेरणाका शब्दहरु पोखी दिनु हुने सर्जकहरु नन्दलालजी, प्रकाश पौडेल’माइला’,ठिसजी, कुमारजी एवं सबै आदरणीय पाठक तथा श्रस्टाहरुप्रति ऋणी छु र यही हृदयको अन्तरगहिराइमा यहाँहरुको मायाँ राख्या’छु / सृजनाको बिसौनीमा सर्जकहरुसित भेट हुनुको अपार आनन्दले मन पुलकित हुन्छ / गोर्खे साइलो दाजु ,प्रभा आचार्य, देश सुब्बा, रामकुमार पाँडे, मनोज काफ्ले, कृष्ण के श्रेष्ठ काल्स, सुशील सुब्बा, केशु बिरहीज्यू आदिले प्रेषित गर्नु भएका नेपाली साहित्यका खोजमुलक औ जानकारीमुलक लेख,रचना एवं समाचारहरु, पूर्व अङ्कका श्रस्टाहरुसितको भलाकुसारी तथा रसिला गजलहरु र देशभक्तिका उत्कट शब्दहरु अनि मझेरीमा कैयौं प्रसिद्ध र सशक्त साहित्यकारहरुद्वारा पोखिएका साहित्य सुधाका रस माधुर्य पिउँदा रमाउँछु / श्रस्टाहरुले सोचे जस्तो मन भै दिए, मन भित्र हरियाली वन भै दिए, देश कति हाँस्थ्यो होला- नीति थिति कन्चन भै दिए!!

    1. धन्यवाद । सर्जक शरण आँसुलाई
      शरण सर यहालाई मझेरी मार्फत पाउदा ज्यादै खुसी लागिरहेको छ । आखिरमा वसाईले टाढा भए पनि सिर्जनाका माध्यमबाट नजिक हुन पाईको छ । आसा छ यसरी नै हाम्रो भेटघाट भैरहोस । धन्यवाद । -केशु बिरही [तेह्रथुम] ।

  5. हार्दिक हार्दिक वधाई छ, स्रष्टा शरण आसुलाई ।
    लामो समय देखि साहित्य साँधनामा लागिरहनहुने शरण आसुलाई भलाकरासारीमा समेट्नु भएकोमा हार्दिक हार्दिक वधाई छ ।
    नेपाली साहित्यमा अनवरत रुपमा लाग्ने यस्तै स्रष्टाको वारेमा जानाकारी गराउदै जाननु होला। धन्यवाद ।

    -केशु बिरही, [तेह्रथुम]

  6. नमस्कार शरण आँशु सर!
    शरण सरका सारगर्भित भलाकुसारिबाट धेरै प्रभाबित र लाभान्वित पनि भएँ। साहित्यलाई मायागर्ने मनहरुको अभिब्यक्ती नै यस्तो शालिन र म्रिदु हुन्छ कि शायद यही नै हो साहित्यमा निहित एक अचुक शक्ती । श्रीजनात्मक यात्रामा अझै सफलताको घुम्तिहरु आफलताफल आउन्!! यही कामना गरेँ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *