Skip to content

गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]

गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन

-केशु बिरही

पृष्टभूमिः

अरबिक माटोमा जन्मिएर हिन्दी उर्दु भाषा हुँदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो कालखण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकी [अबु अब्द अल्लाह सफर इब्न मुहम्बत]ले जन्माएको विस्वास गरिएको यो विधा अरबी, फारसी, टर्केली, अंग्रेजी तथा अन्य भाषामा पनि प्रयोग हुँदै आएको छ । झन यसले हिन्दी साहित्यमा त ठूलो स्थान ओगट्न सफल देखिन्छ । अन्य विधाको तुलनामा अग्रणी देखिन्छ । गायन तथा वाँचन दुवै दृष्टिकोणमा यो एक शसक्त विधाको रुपमा देखा परेको छ । पछिल्लो समयमा आएर यो विधाले नेपाली माटोमा पनि आफ्नो दरिलो उपस्थिती जनाइसकेको छ । अर्थात आफ्नो गतिलो प्रभाव जमाइसकेको छ । यो झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।

जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाई्र कोमल हार्दिक र कलात्मक रुपमा प्रस्तुत गर्न सफल यो काव्यिक विधाले नेपाली साहित्यमा गायन र वाचन दुवै आधारमा आफ्नो प्रभाव छाड्दै एउटा छुट्टै छितिज निर्माणको यात्रामा पाइलाहरु अनवरत रुपमा अगाडि वढाइरहेको देखिन्छ ।

गजल विधालाई नेपाली माटोमा भिायाउने श्रेय भने मोतीराम भट्ट -वि.स. १९२३ -१९५३_लाई जान्छ । मोतीराम आफ्नो अध्ययनको सिलसिलामा भारतको वनारस गएको र त्यहाँ रहँदा बस्दा उनको भारतीय गजलकारहरु संग गतिलो उठबस भएको बताइन्छ । यसै क्रममा गजलमा प्रभावित भएर उनले त्यहिबाट यो विधालाई नेपाली माटोमा भिायाएको मानिन्छ । हुन त गजललाई मोतीराम भन्दा अघि नै अरु कसैले नेपाली माटोमा भिायाइसकेका थिए पनि भन्ने गरेको पनि पाइन्छ । ती व्यक्ती मगर थरका थिए भनेर कही कतै उल्लेख गरिए पनि त्यसको गतिलो प्रमाण भने भटिएको छैन । उनी को थिए कहाँका थिए भनेर किटानीका साथ पनि लेखिएको पाइदैन । त्यसैले मोतीरामलाई नै गजलको प्रवर्तक मानिसकिएको अवस्था छ । यसरी मोतीरामलाई नै नेपाली गजलका प्रवर्तक मान्दा पनि नेपाली मोटोमा गजलले पाइला टेकेको सवा सयको भन्दा लामो समय भै सकेको छ । एउटा लामो कालखण्ड नै वितिसकेको छ भन्न सकिन्छ ।
लामो समय सम्म सुशुप्त अवस्थामा वसेको गजल विधाले तीसको दशक पछि मात्र मौलाउँने अवसर पायो । झाँगिने अवसर पायो । वि. स. २०३६ [गजलको आधुनिक \ पुनर्जागरण काल] साल पछि भने यसले व्यापक रुप नै लिन पुग्यो । वि. स.२०४६ साल पछि गजल लेखनमा एउटा वहार नै आएको छ । झन वि. स. २०६० पछि त के बुढा के तन्नेरी सवै गजल लेख्नमा त्तम्सएका देखिन्छन । गजलमा होमिएका देखिन्छन । गजलमा आफ्नो पनि छाप छोड्न होस वा आफ्नो प्रभावलाई कायमै राख्न होस सवै दौडधुप गरिरहेका देखिन्छन । हत्तारिरहेका देखिन्छन ।

गजल शव्दको स्रोत व्यत्पति र अर्थ

गजल शव्दको स्रोतका वारेमा विद्वानहरुमा एकमत पाइदैन । एकथरीले यसलाई अरबी भाषाबाट आएको वताएका छन भने अर्काथरीले फारसीबाट । सवैले आ- आफ्नो धारणा अघिसारेका छन । तर अधिक विद्वाहरुको मत भने यो अरबी भाषाबाटै आएको ठहर छ । त्यही ठहरका साथ गजल पछिल्लो समयमा अघि वढेको पाइन्छ । त्यसैले अव गजल शब्दको स्रोतलाई अरबी नै मान्नु पर्ने कुरामा सवैजसोको सहमति देखिन्छ ।

फारसी स्रोत मान्नेहरुले गजल शव्दको व्युत्पति गजलाबाट भएको बताएका छन । फारसीमा यस्को अर्थ हुन्छ – मृगनयनी वा सुन्दरी । त्यसैको आधरमा गजललाई प्रेम र नारीको वयान गर्ने एक गतिलो माध्यमका रुपमा पनि लिएको पाइन्छ ।
केहीले गजल मूलतः फारसी शब्द हो । लोक सङ्गीतबाट जन्मिएको यस विधाले प्रेमप्रधान भावसंग सरोकार राख्ने कुरा बताएका छन ।
अरबी स्रोत मान्नेहरु यो अरबी साहित्यको कसिदाबाट आएको विस्वाश राख्छन । अरबीमा साहित्यमा प्रचलनमा आएको कसिदा र मर्सिया नामका दुई काव्य विधा थिए । कसिदाले जिवित व्यक्तीको वर्णन वा प्रशंसा गर्दथ्यो भने मर्सियाले दिवंगत व्यक्तीकॊ । कसिदाको आरम्भको दुई वा चार हरफको पद्यांशलाई तश्बीब भनिन्छ । कसिदाको यही अंशले नै पछि आएर गजलको रुप लियो । यही तश्बीबले कालन्तरमा आएर गजलको रुप लियो । र पछि आफ्नो अलग्गै अस्तित्व स्थापित गरेको वताइन्छ । तश्बीबले प्रायः प्रेमालापलाई नै वर्णन गर्ने भएकोले यसले गजलको स्वरुप प्राप्त गर्दा प्रेमीका सँग वार्तालाप गरिने विधाको रुपमा चिनिएको हो भन्ने धेरैको मत रहेको छ ।

यही आधारमा अडिएर गजलकार मनु ब्राजाकीले गजल ग+ज+अल्कॊ व्युत्पतिलभ्य अर्थ लगाएका छन । गजल शव्द अरबिक भाषाबाट आएको हो । अरबी भाषामा ग= बाणी, ज= स्त्री र अल्= वार्तालाप भन्ने अर्थ हुन्छ । अरबी भाषाको यो अर्थलाई हेरेर नै गजललाई नारीसंग गरिने प्रेममय वार्तालाप भनिएको हुन सक्छ । त्यसैले गजलको संवन्ध प्रेमसंग जोडिएको र त्यही आधारमा गजलको सिर्जना गर्ने गरिएको पाइन्छ । आज यही मान्यतामा अडिएर गजल सिर्जना गर्नेको संख्या पनि कम छैन । अझ यसलाई केहीले त मात्र गाजल अर्थात सौन्दर्य रुपमा पनि हेर्ने गरेका छन ।

यसैगरी गजल शव्दको व्युत्पतिको वारेमा एउटा छुट्टैखाले किम्बदन्ति पनि रहेको छ । पहिला अरवमा गजल नामका व्यक्ती थिए रे । उनले आफ्नो पुरै जीवन प्रेम र मस्तीमा डुवेरै विताउँथे रे । उनी प्रेमकै विषयमा कविता पनि लेख्थे रे । प्रारम्भमा उनले लेख्ले गरेको प्रेमपरक कविताको स्मरणमा पछि लेखिएका यस्तै खाले कवितालाई पछि आएर गजल भन्न थालिएको हुन सक्छ भन्ने प्रसङ्ग पनि गजलकार डा. कृष्णहरि बरालले आफ्नो पुस्तक गजल सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।

अंग्रेजी भाषामा Gazelle शब्द छ । Oxford Dictonary ले Gazelle को अर्थ small antilope वताएको छ । small antilope को अर्थ an animal resemling a deer हुन्छ । अर्थात हरिणको सानो वच्चा वा शावक ।

अंग्रेजी भाषाको Gazelle शव्द र यही शव्दको अर्थलाई हेरेर नै समालोचक देबी पन्थीले हरिणको वच्चा, शावकले शिकारीको तीरबाट घायल वनेर एक्कासी निकालेको आवाज नै गजलको रुप हो र पछि त्यही गजला शव्द अपभ्रंश भएर गजल भएको हुन सक्छ भन्ने आफ्नो धारणा गजल सिद्धान्त र समालोचना नामक पुस्तकमा अघि सारेका हुन सक्छन ।

त्यस्तै पछिल्लो समयमा आएर गजलको शाब्दिक अर्थलाई फरक फरक ढङ्गले पनि परिभाषित गर्ने गरेको पाईन्छ । त्यसै क्रममा समालोचक देवी नेपालले गजलुको व्युत्पतिबाट यस्तो व्याजनात्मक अर्थ प्रस्तुत गरेका छन ।

ग- गम्भीरता गेयत्मकता वा गतिशीलता

ज- जीवन्तता जनपि्रय वा जादूपूर्ण

ल- लयात्मकता लाक्षणिकता वा ललितता

तर जे जस्ता भारणा वा परिभाषा आए पनि यो विधाको सुरुवात भने सृङ्गार वा प्रेम बाटै भएको हो भन्ने ठाउँहरु यथेष्ठ मात्रामा पाउन सकिन्छ । यो ध्रुवसत्यलाई छिपाउन सकिदैन । र छिपाउन मिल्दैन पनि तर अर्को सत्य पनि के हो भने पछिल्लो समयमा आएर गजलले आफ्नो क्षेत्रलाई फराकिलो वनाइसकेको छ । आजको गजलले सि्रङ्गार वा प्रेमभावलाई मात्र वोकेको छैन । यसले तमाम जनसरोकार विषयलाई उठाउदै आएको छ । यो मामलामा सफल पनि देखिएको छ । आज गजलले आफ्नो क्षेत्रलाई व्यापक वनाउँदै नेपाली माटोमा आफ्नो दरिलो उपस्थिती जनाउन सफल भइसकेको छ । अर्थात गतिलो प्रभाव जमाइसकेको छ । यो आझ झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।

गजल संवन्धी धारणा वा परिभाषाहरु

गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा हो । यसमा सुक्ष्म र तिख्खर अभिव्यक्ती रहेको छ । – ज्ञानुवाकर पौडेल

गजल भनेको प्रणय कामना र आन्तरिक पीडाका हार्दिक भावहरुको सुललित अभिव्यक्ती हो । – मनु ब्रजाकी

प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता । – नेपाली बृहत शव्द कोष

गीत र कविता आ- आफ्नै विशेषता भएका दुई नदी हुन् भने गजल तिनीहरुको संगम हो भन्न सकिन्छ । तर गजललाई गीत वा कविता मात्रै बनाउनु वा भन्नु अनविज्ञता सिवाय अरु केही पनि होइन । – डा. घनश्याम न्यौपाने परिश्रमी

गजल कोमल र हार्दिक भावको सशक्त र सङ्क्षिप्त अभिव्यक्ति हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आभुनिकताका नाममा यी दुई तत्वलाई बिगार्न मिल्दैन । -ललिजन रावल
भाव कल्पना बिम्ब तथा प्रतिक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ । जसमा एउटै छन्दका तीन वा तीन भन्दा बढी स्वतन्त्र शेरहरु हुन्छन । –डा. कृष्णहरि बराल

गजल गेयात्मक र संगीतात्मक विधा हो । – अमर त्यागी

गजल नेपाली साहित्यमा स्थापित उपविधा हो । – परशु प्रधान

गजल फारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ । -उर्दू हिन्दी कोश

गजलका वारेमा धेरै खाले धारणा वा परिभाषाहरु आएका छन । कसैले गजललाई गाजल मात्र ठानेका छन भने कसैले गजल गाजल मात्र नभएर गाजल धारण गर्ने आँखा हो भन्न पनि पछि परेका छैनन । कसैले गजललाई छुट्टै काव्यिक विधाको रुपमा त कसैले गजललाई कविताको उप – विधाको रुपमा हेरेका छन । त्यस्तै गीतसंग तुलना गर्ने पनि देखिन्छन

गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा आन्तरिक पीडाको हार्दिक भावहरुको सन्तुलन अभिव्यक्ती मोन्ने गजलकार द्वय ज्ञानुवाकर पौडेल र मनु ब्राजाकीको परिभाषाले गजलको वैशिष्ठतालाई प्रष्ठ पार्न खोजेको देखिन्छ भने परशु प्रधानको परिभाषाबाट गजललाई एउटा छुट्टै विधाको रुपमा स्वीकार गरेको आसय पाइन्छ । उनले गजललाई नेपाली साहित्यमा एउटा स्थापित उपविधा हो भनेका छन ।

गजललाई गीत र कविताको संगम मान्न सकिने तर गजललाई गीत वा कविता भन्नु चाँही अज्ञानता हो भन्ने अभिव्यक्ती दिएर गजलको महत्वलाई अझ प्रष्ट पार्ने काम भएको छ डा. घनश्याम न्यौपाने परिश्रमीको परिभाषाबाट । यसले गाउँन सकिने भएकोले गजल गीत हो भन्ने वुझाइलाई गलत भएको वताएको छ । गजल र गीतमा केही समानता हुँदा हुँदै पनि धेरै भिन्नता भएको वताएका छन ।

ललिजन रावलले गजलमा लयको कुरालाई बढावा दिएका छन । उनले कफिया र लयलाई अनिवार्य तत्वका रुपमा लिएका छन । वीचारको पछि मात्र लागेर लयअनुशासालाई ध्यान नदिनेहरुको लागि भने यो गतिलो जवाफ सावित भएको छ । अमर त्यागीको परिभाषा पनि ललिजन संग सन्निकटता देखिन्छ । उनको विचारमा गजल गेय विधा हो । यसलाई वाचनमा मात्र सिमित नगरेर गायन तर्फ अग्रसर गराइनु पर्नेमा जोड दिएका छन । त्यस्तै डा. कृष्णहरि बरालले भाव कल्पना बिम्ब र प्रतिकलाई महत्व दिदै गजललाई एउटा काव्यिक विधाका रुपमा लिएका छन । अर्थात उनले गजललाई कवितासंगै दाजेर हेरेका छन ।

त्यस्तै नेपाली बृहत शव्दकोषको र उर्दू हिन्दी कोशको गजल संवन्धी धारणा भने पुराना देखिन्छन । यी दुवैले गजलको छुट्टै अस्तीत्वलाई स्वीकारेका छैनन । नेपाली बृहत शव्दकोषले गजललाई प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो भनेको छ । त्यस्तै उर्दू हिन्दी कोशले गजल पारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ । भनेको छ ।

यी दुवै धारणा वा परिभाषाहरु समय सान्दर्भिक देखिदैनन । धेरै पुराना र त्यतिकै अव्यवहारिक पनि देखिन्छन । यी परिभाषालाई भने परिवर्तन गर्नु पर्ने दखिन्छ । नेपाली बृहत शव्द कोषले भने झैं अव गजल प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कवितामा मात्र सिमित रहेन । त्यो मान्यता त अव पुरानो भैसकेको छ । गजलले आज आफ्नो क्षेत्रलाई फराकिलो पारिसकेको छ । पुरानो मान्यतालाई भत्काउदै आज गजलले मानव जीवनका अन्य सरोकार राख्ने सवै खाले विषय वस्तुलाई उठाउँदै आएको छ र त्यसमा सफलता पनि हाता पारेको छ ।

जस्ले जे जस्तो धारणा वा परिभाषा अघि सारे पनि गजल एउटा कोमल तथा हार्दिक विधा हो । गजल सरल तथा सरस विधा हो । यसले सरलता र सरसता भित्रै सशक्तताको खोजि गर्छ भन्ने कुरामा कसैको पनि दुई मत छैन । सवैले यो कुरालाई स्वीकारेका छन र स्वीकार्नु पर्छ नै । गजल र गीतमा केही समानता हुँदा हुँदै पनि यी दुई अलग अलग विधा हुन । गीत गजल र कविता एउटै हुनै सक्दैनन । अझ गजल एउटा छुट्टै विधा हो । यसको आफ्नै परिधी वा संरचना छ त्यसलाई भत्काएर गजल नै बन्न सक्दैन ।

गजललाई मैले भने यसरी परिभाषित गर्ने गरेको छु । शव्द र विम्बको ओजपूर्ण सुललित अभिव्यक्ती नै गजल हो । जस्को छुट्टै परिधी वा संरचना छ । त्यही परिधी वा संरचन भित्र रहेर गजलमा भाव लय र वीचारलॆ खेल्न पाउनु पर्छ ।

नेपाली गजलको काल विभाजन
प्राथमिक काल वि.स. १९४० – वि.स. २०००
पुनर्जागरण कालः वि.स. २०४० – वि.स. २०५०
विकास कालः वि.स. २०५० साल यता
-ललिजन रावल

प्राथमिक कालः वि.स. १९४० वि.स. – १९९२
माध्यमिक कालः वि.स. – वि.स. -२०३५
आधुनिक कालः वि.स. -२०३६ यता
-दुबसु क्षेत्री

प्राथमिक कालः वि.स. -१९४० वि.स. -१९९२
आधुनिक कालः वि.स. -२०३६ यता
-डा. घनश्याम न्यौपाने परिश्रमी

प्राथमिक कालः वि.स. -१९४० वि.स. -१९९२
आधुनिक कालः वि. स. -१९९३ वि.स. -२०३५
पुनर्जागरण तथा आधुनिककालः वि.स. -२०३६ यता
-देवी पन्थी

पूर्वाद्र्ध वि.स. १९४०-२०३५
[प्रथम चरण वि.स. १९४०-२००२ ]
[द्वितीय चरण वि.स. २००३ -२०३५]
उत्तराद्र्ध वि.स. २०३६ देखि यता
-कृष्णहरि बराल

काल विभाजनमा पनि सवैका आ-आफ्नै वीचारहरु रहेका छन । केहीले प्राथमिक र पुनर्जागरण काल । प्राथमिक माध्यमिक र आधुनिक काल । प्राथमिक र आधुनिक काल । प्राथमिक पुनर्जागरण तथा आधुनिक काल । पूर्वाद्व र उत्तराद्र्व गरी दुई र तीन काल खण्डमा विभाजन गरेको पाइन्छ ।

यसरी काल विभाजन गर्ने क्रममा प्राथमिक कालको सुरुवातलाई सवैले एउटै समय वि.स. – १९४० लाई माने पनि त्यस्तो अन्त्यलाई भने फरक फरक रुपमा उल्लेख गरेको देखिन्छ । कसैले वि.स. १९९२ लाई प्राथमिकालको अन्त्य मानेका छन भने केहीले वि.स. १९९६ लाई । वि.स. -२००० लाई मान्नेपनि छन । त्यस्तै पुनर्जागरणकाल र आधुनिककाललाई पनि केहीले एउटै समयावधीमा रोखेका भए पनि त्यसको समय तोक्ने कुरामा मत वाझिएको पाइन्छ । धेरैले वि.स. २०३६ साल पछिको समयावधीलाई गजलको आधुनिककाल मानेका छन ।

गजल विधाको कालक्रम तोक्ने भनेको समय मात्र होइन । यसको शैली तथा प्रवृति पनि हो । शैली तथा प्रवृतिगत आधारमा छुट्याइनु उपयुक्त हुन्छ । यसरी शैली तथा प्रवृतिगत दुष्टिले हेर्दा वि.स. १९४०- वि.स. १९९६ प्राथमिक काल मान्नु उपयुक्त देखिन्छ । जसमा धेरै सहमत देखिन्छन । किनभने मोतीराम भट्ट देखि उपेन्द्रबआदुर जिगरको एक रुप एक गजल संग्रहु [१९९६] प्रकाशन सम्मको समय शैली तथा प्रवृतिगत रुपमा समानता पाउन सकिन्छ । त्यति भिन्नता पाउन सकिदैन । त्यस पछि वि.स. २०३५ साल सम्म गजल पूर्ण रुपमा सेलाएको अवस्था छ । त्यो सवैले स्वीकारेकै छन । तसर्थ वि.स. १९९६ – वि.स. २०३५ को समयावधीलाई माध्यमिक काल मान्न सकिन्छ ।

त्यस्तै वि.स. २०३६ साल देखि यताको समयलाई आधुनिक तथा पुनर्जागरण काल मान्नु उपयुक्त देखिदा देखिदै पनि यस अवधीलाई दुई भागमा वाढेर हेर्नु मुनासिव ठहरिन्छ ।

समयले आज ठूलो फड्को मारिसकेको छ । अर्थात आजको अवस्थामा आइपुग्दा गजलले पनि ठूलो फड्को मारिसकेको छ । २०३६ साल देखि पछिको समय अवधीको गजलक्रम पनि एकैनासले विकाश भएको पाइदैन । २०३६ साल देखि २०४६ साल पछिको परिवर्तनको केही साल सम्मको गजलको विकाश क्रम एक तरिकाले भएको छ भने त्यस पछिको गजलको विकाशक्रम अर्कै तरिकाले भएको पाइन्छ । तसर्थ यो वीचको समयलाई पनि अव अलग्गै रुपमा छुट्याएर हेर्नु मुनासिव हुने मैले ठानेको हुँ । त्यही आधारमा गजलकार ललिजन रावलले वि.स. २०४० देखि वि.स. २०५० सम्मको समयलाई आधुनिक वा पुनर्जागरण काल र वि.स. २०५० साल पछि पछिको समयलाई भने नेपाली गजलको विकास काल मान्नेका छन ।

उनको पछिल्लो काल विभाजन केही सान्दर्भिक जस्तो लागे पनि उनले वि। स। २००० देखि वि.स. २०४० सम्मको ४० बर्षको अवधीलाई काल विभाजनमा उल्लेख नगर्दा अलि अपुरो जस्तो लाग्न जान्छ । किन भने यो अवधीमा गजल सुन्य भए पनि मृत चाँही थिएन भन्न सकिन्छ ।

तसर्थ समय सान्दर्भिक हुने हेतुले मैले गजलको काल विभाजनलाई यसरी गरेको छु ।

प्राथमिक कालः वि.स. – १९४० वि.स. – १९९६
माध्यमिक कालः वि.स. १९९६ वि.स. – २०३५
पुनर्जागरण / आधुनिककालः वि.स. – २०३६ – वि.स. – २०५०
विकास कालः वि.स. – २०५० साल यता
-केशु बिरही

गजलको क्षेत्र

गजलको कुनै छुट्टै वा अलग्गै विशेष क्षेत्र भने देखिदैन । यसले साहित्यका अन्य विधाले उठाउने गरेका यावत विषय वस्तुहरु नै गजलका विषयवस्तु वन्ने गरेका छन । त्यसैले गजलको छुट्टै क्षेत्र वा विषय छ भन्नु अज्ञानता वाहेक केही पनि होइन । गजलले हिजो प्रेमी र प्रेमीकाका कुराहरु अर्थात प्रणयभाव मात्र वोक्न सक्छ भन्ने मान्यतामा पनि परिवर्तन भैसकेको छ । र यसले त्यो पुरानो मान्यतालाई भत्काएर नयाँ मान्यतालाई स्थापित पनि गरि सेको छ । यसले पछिल्लो समयमा मानव जीवनका सरोकारका सवै विषय वस्तुहरुको उठान गरिसकेको छ । यस्तो अवस्थामा आएर गजलको यो नै क्षेत्र हो भनेर कित्ता लगाउने काम ठीक होइन भन्ने मेरो वीचार हो ।

हुन त गजलको जन्म प्रणयभावबाटै भएकोले गजललाई श्रृगारिक धारामा मात्र सिमित गर्नु पर्छ भन्ने वीचार पनि यदाकदा आउने गरेका छन । कहिलेकही केही सर्जक मित्रहरुबाट यस्तो आवाज उठ्ने गरेको छ । तर पछिल्लो समयमा गजलले पाएको व्यापकता र लोकपि्रयताले त्यस्ता वीचारहरुलाई स्वत अप्रमाणित गरिदिएका छन ।

गजलको भाषा

गजलको भाषा सरल र सरस हुनु पर्छ । सुवोध्य खाल्को हुनु पर्छ । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै गजलको विशेषता हो । गजललाई कोमल तथा हार्दिक वनाउनलाई भाषाको महत्वपूर्ण भूमिका रहन्छ । अर्थात शव्द र विम्बसंग खेल्न जान्नु पर्छ । शब्द र बिम्ब संग खेल्न जान्ने शब्दको लाक्षणिक अर्थ दिन सक्ने सर्जक नै वास्तवमा सफल गजलकार कहलिन्छ ।
संरचाका दृष्टिले कसकास गरेर मात्र सफल सिर्जना वन्न सक्दैन । समालोचकहरुले गजलमा रदिफ काफिया र लयको अनिवार्यतालाई मात्र पूरा गरेर मात्र सुन्दर गजल सिर्जना वन्न सक्दैन त्यसको लागि त गजलभित्रको जीवन्त भाव चिन्तन र विचारले पनि उत्तिकै भूमिका खेलेको हुन्छ भन्ने विचरलाई अघि सार्दै आएका छन । गजलको भाषालाई महत्व दिदै आएका छन ।

गजलका किसिम वा प्रकारः

गजललाई मुख्यतया दुई किसिममा वर्गीकरण गरिएको छ ।
१ विषयवस्तुको आधारमा
२ रदिफको आधारमा

१. विषयवस्तुको आधारमा गजललाई दुई किसिम विभाजन गरिएको छ । ती हुन –
[क] मुसलसल गजलः यसमा गजलका सवै शेरहरु एउटै विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन
[ख] गैरमुसलसल गजलः यसमा गजलका शेरहरु फरक-फरक विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन ।

२. रदिफको आधारमा पनि गजललाई दुई भागमा विभाजन गरिएको छ ।

[क] मुरद्दफ गजलः – यसमा रदिफ र काफिया दुवैको प्रयोग भएको हुन्छ ।
[ख] गैरमुरद्दफ गजलः – यसमा रदिफको प्रयोग गरिएको हुदैन ।

नोटः- उदाहरणहरु तल प्रस्तुत गरिएका छन ।

गजलका तत्वहरु

गजलका तत्वहरुको निर्धारण गर्ने कुरामा पनि फरक फरक मत रहेका छन । कसैले रदिफ काफिया मतला मकता बहर छन्द आदिलाई वताएका छन भने केहीले गजलका तत्वका रुपमा भाव तथा विषय वस्तु कल्पना सङ्गीत बिम्ब तथा प्रतिकका साथै भाषालाई समेत गजलका तत्वका रुपमा लिएका छन । संरचनाद्वारा कुनै रचनाले गजलको रुप धारण गरे पनि काव्यको लागि आवस्यक मानिने तत्वहरुका अभावमा केनै पनि रचना गजल बन्नै नसक्ने कुरा डा. कृष्ण्हरि बरालले गजलः सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।

गजलका तत्वका वोरेमा जे जस्ता कुरा आए पनि शेर, रदिफ, काफिया, मतला, मकता, बहर, तखल्लुस आदि नै मुख्य हुन । भाव बिम्ब प्रतिक अलङ्कार आदिलाई गजलका मुख्य तत्वका रुपमा परिभाषित गर्नु सान्दर्भिक ठहरिदैन । किनभने बिम्ब र प्रतिक भनेका गजलका भाषा र लय भित्रै समायित हुने गर्छन । एउटा सुन्दर सिर्जना भित्र कतै न कतै यी तत्वहरु अटाएकै हुन्छन । तसर्थ गजलका तत्वहरुमा शेर, रदिफ, काफिया, मतला, मकता, तखल्लुस, बहर, भाषा र लयविधानलाई नै मुख्य तत्व मान्नु उपयुक्त देखिन्छ ।

यहाँ गजलको आधारभूत संरचनाको वारेमा संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ । हुन त आजभोलि गजलका निम्न लिखित सिद्धान्तको वारेमा सामान्यरुपमा ज्ञान भैसकेको छ । तै पनि नयाँ तथा सिकारु गजलकारका लागि यी तत्वको वारेमा जानाकारी दिनु आवस्यक ठानेको छु । त्यसैले गजलमा प्रयोग हुने केही तत्वहरुको वारेमा केही चर्चा गरौं ।

शेर

एउटै लय वा छन्द बहरमा बाँधिएका दुई पङ्ति मिलेर शेरको निर्माण हुन्छ । जसरी एउटा कवितामा श्लोक [Stanza] वा अनुच्छेद हुन्छ त्यसैगरी गजलमा शेर हुन्छ । गजलका अनुच्छेद वा श्लोकलाई शेर भनिन्छ । अंग्रेजीमा यसलाई [Couplet] वा दुई पङ्तिको श्लोक भनिएको छ ।
अर्थात समग्रमा भन्दा गजल शेरमा अनुवन्धित हुने साहित्यिक रचना हो । शेर अरबी भाषाबाट आएको शव्द हो । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको शाव्दिक अर्थ केश हुन्छ । केशलाई सौन्दर्य वा प्रेमको प्रतिक पनि मानिन्छ । शेरु दुईओटा हरफ वा लाईनबाट निर्माण भएको हुन्छ । केही उदाहरण हेरौः –

कति दियौ पीडाहरु मैले गन्न वाँकी थियो ।
तिमी भने हिडी हाल्यौ केही भन्न वाँकी थियो ॥ -ललिजन रावल

ढाँटी छली आफूलाई कति बाँच्न सकिएला
हृदयमा पीर बोकी कति हाँस्न सकिएला – मनु ब्राजाकी

उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो ।
माल्सिरी भाखा सँगै गाए राम्रो हुन्थ्यो ॥ – बूँद राना

मिसरा

गजलका प्रत्येक दुई पङ्क्तिलाई मिसरा भनिन्छ । अर्थात दुई मिसरा मिलॆर एउटा शेरको निर्माण भएको हुन्छ । शेरको पहिलो पङ्क्तिलाई मिसरा ए उला र दोश्रोलाई मिसरा ए सानी भनिन्छ । मिसरा ए उला र मिसरा ए सानीको सम्वन्ध एक आपसमा अन्योन्याश्रित हुन्छ । यी एक आपसमा असंवन्धित भएमा असंवन्धता दोश हुने कुरा डा. घनश्याम न्यौपाने परिश्रमीले आफनो पछिल्लो कृति गजल मिमांसा र सौन्दर्यमा उल्लेख गरेका छन । मिसरा ए उला ले उठाएको जिज्ञासा वा कौतुहलतालाई मिसरा ए सानी टुङ्ग्याउने नै गजलको विषेशता हो । कहिलेकही मिसरा ए सानी ले उठाएको जिज्ञासा वा कौतुहलतालाई मिसरा ए उला ले पनि समाधान गर्न सक्छ । यी दुवै एक आपसका अन्योन्याश्रित पङ्क्तिबाटै शेरको पूर्ण भाव अभिव्यक्त भएको हुन्छ । केही उदाहरण हेरौः –

एक थोपा आँसु पनि तर्न गाह्रो भयो । [मिसरा -ए उला]
भङ्गालोमा तरुँ भन्छु पर्न गाह्रो भयो । [मिसरा ए सानी] -बिजय सुब्बा

खाली छन् है प्रतगिका पाना यता गाउँतिर । [मिसरा ए उला]
चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर ॥[मिसरा ए सानी]-चंकी श्रेष्ठ

जानी जानी राती पार्यौ नजाऊ यती राती भन्यौ । [मिसरा -ए उला]
कोही छैनन् घरमा आज हिड जाऊँ माथी भन्यौ । [मिसरा ए सानी] -निश्प्रभ सज्जी

मतला

मतला वा मत्ला भन्नाले गजलको प्रथम शेर हो । यसलाई गजलको शीर मानिन्छ । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । अरबी भाषामा यसलाई मतलअ भनिन्छ । मतलाको शाव्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने हो । त्यसैले यसलाई गजलको टाउको पनि मानिएको हो । गजलमा मतलालाई गजलको प्रतिनिधि शेर पनि भनिन्छ । त्यसैले गजलमा मतलालाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ । केहीले यसलाई गजलको परिचय शेरको संज्ञा दिएर अपुरो अर्थ लगाउन पनि खोजेका छन तर यो आफैमा पूर्ण शेर हो । गजलका शेरहरु कहिल्यै पनि अपुरा हुनै सक्दैन । सर्धैं पूर्ण हुन्छन । एउटा गजल मतलाबाट सुरु भएर मकतामा गएर टुिगंन्छ । मतलाका केही उदाहरण हेरौः –

खण्डहरमा परिणत घर भएछ ।
हताहत यहाँ धेरैको रहर भएछ ॥ -ज्ञानुवाकर पौडेल

थाहै नपाई अनायसै रिसाउँछु राजेश्वरी ।
तिम्रै यादले सिरानीलाई भिजाउँछु राजेश्वरी ॥ -कृशु क्षेत्री

एक पल्ट बाँधिहेर जजिार त्यो खोली हेर ।
मुस्काएको नजरले लुम्बिनी त्यो भोलि हेर । – रामगोपाल आशुतोष

काफिया

गजलको मतला र त्यस पछिका हरेक शेरका मिसरा ए सानीमा आउने शब्द वा स्वर शब्द समूह नै नै काफिया हुन । काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको अर्थ बावम्बार आउँनेु भन्ने हुन्छ । त्यसरी काफियामा भएका शव्दहरु भने परिवर्तन गर्न सकिए पनि स्वरहरु भने अपरिवर्तित हुन्छन । काफियालाई गजलको मुख्य तत्वको रुपमा लिइन्छ ।
काफियाको अभावमा गजलको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले यसलाई गजलको मुटु मानिएको हो । गजल सिर्जनामा गजलकारले यसको प्रयोगमा धेरै ध्यान पुर् याउन जरुरी छ । अन्यथा गजल भनेर सिर्जना गरिएको रचना गजल नभएर पजल पनि हुन जान्छ ।

प्राथमिक कालका गजलहरुमा त्यो कमजारी देखिएको ललिजन रावलले प्रतिनिधि नेपाली गजलहरु भाग- ५ मा उल्लेख गरेका छन । ती गजलहरु सारमा मात्र नभएर रुपगत हिसावले पनि अति नै कमजोर भएको पनि उनको दावी छ । त्यसो भनेर आजभोलिका गजलहरुमा त्यो दोश छदै छैन भन्ने तर्फ भने उनको आसय होइन र लिनु पनि हुँदैन । आजभोली गजलमा पनि त्यो दोश प्रसस्त मात्रमा देख्न सकिन्छ । गजलका नाममा फजलको सिर्जना भैरहेका छन । ती सवै कुरा काफियाको मर्मलाई नवुझ्दा भएका हुन । काफियाका केही उदाहरण हेरौः

पाखा र पखेरा नाँचेको मान्छे म ।
सिन्की र िढंडोमा बाँचेको मान्छे म ॥ -गोर्खे साइँलो

आयौ र बास माग्दै छाती चरेर भाग्यौ ।
माया दिएर राखेँ गाली गरेर भाग्यौ ॥ -घनेन्द्र ओझा

आश्वासनका मीठा कुरा सुनिदैछन् अझै पनि
हृदयका आवाजहरु थुनिदैछन् अझै पनि ॥ -खगेन्द्र गिरी कोपिला

पल- पल आँखाबाट झरेको छु आज ।
थाहा छैन आफैलाई मरेको छु आज ॥ -पुष्प अधिकारी अन्जली

काफियालाई पूर्ण, आंशिक र एकाक्षरी गरेर मुख्यतया तीन भागमा विभाजन गरिए पनि पछिल्लो समयमा आएर पूर्ण आंशिक, मिलित र एकाक्षरी गरी चार भागमा विभाजन गरिएको पनि पाइन्छ । धेरैले भने पूर्ण काफियालाई वढावा दिएका छन । काफियाको यो प्रयोगलाई मात्र दोश रहित मानेका छन । तर गजलमा आंशिक मिलित र एकाक्षरी काफियाले पनि उतिकै मान्यता पाएका छन । पूर्ण आंशिक मिलित वा एकाक्षरी काफिया जे हुन गजलकारले गजल सिर्जनामा काफियाको स्वरलाई भने चिन्न सक्नु पर्छ ।

[क] पूर्ण काफियाः पूर्ण शब्दको प्रयोग भएका अर्थात स्वर र व्याजनका आधारमा श्रुतिसमान शब्दलाई पूर्ण काफिया हुन । जस्तै गर्न तर्न मर्न झर्न भर्न छर्न । त्यस्तै पिएकी जिएकी लिएकी सिएकी आदि । पराई तराई मराई आदि । पूर्ण काफिया प्रयोग भएका केही शेरहरु हेरौं –

घरको छत् नि तराई हुन्छ तिम्रो सहरमा ।
छिमेकी नि पराई हुन्छ तिम्रो सहरमा ॥ -प्रकाश आङदम्बे

घातीसँग मनको बह फुकाउनु हुन्न सानु ।
बिनाकसुर उँचो शीर झुकाउनु हुन्न सानु ॥ -प्रकट पगेनी शिव

जसै गजल लेख्न वसेँ बहर बोकी आयौ तिमी ।
अनायसै सम्झनाका लहर बोकी आयौ तिमी ॥ – अन्जु अन्जली

[ख] आंशिक काफियाः पूर्ण रुपमा नभै त्यस शब्दमा केही वर्ण मात्रै काफियाको रुपमा प्रयोग भएका हुन्छन । जस्तै कहानी सिरानी निशानी दिवानी जिन्दगानी रानी आदि । आंशिक काफिया प्रयोग भएका केही शेरहरु हेरौं –

म जसलाई भन्ने गर्छु सिकारी हो त्यो ।
तिमी उसैलाई भन्छौ पुजारी हो त्यो । डा. घनश्याम न्यौपाने परिश्रमी

नबोल बोल सुस्तरी लुकाइ बैँस षोडसी ।
नखोल खोल अङ्गका उमङ्ग रङ्ग घसी ॥ -नवराज लम्साल

तिमी साथ भए पछि भगवान पनि चाँहिदैन ।
मेरो रात जग्मगाऊ विहान पनि चाँहिदैन ॥ -सुरेश वाग्ले

तिमी हाँस्नलाई मलाई रुवायौ ।
बडो साच मान्दै चिमोठी दुखायौ ॥ -रमेश शुभेच्छु

[ग] मिलित काफियाः यसमा स्वर र व्याजनको ध्वनी समान भएका पद वा बाक्यको काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै गर्छ यो भयो गयो छन त भन त आदि । मिलित काफिया प्रयोग भएका केही शेरहरु हेरौं –

घामको लाली घोलेर रातो छ त नि छन त ।
रातमा छाया परेर हो कि अँधेरो जगत ॥ -बूँद राना

[घ] एकाक्षरी काफियाः शब्दको अन्त्यमा एउटा अक्षर मात्र काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै यो त्यो को हो भो आदि । एकाक्षरी काफियामा निर्मित गललको शेरको उदाहरण तल प्रस्तुत गरिएको छ ।

छुट्टाछुट्टै बल्न खोज्दा प्रकाश टुकि्रन्छ दियाहरुको ।
टुकि्रएरै बल्न खोज्दा सधैंभरि हार होला जिन्दगीको ॥ -ललिजन रावल

रदिफ

मतलाको दुवै पङ्क्तिका मिसरा ए उला र मिसरा ए सानी को अन्त्यमा दोहोरिएर आउने शव्द वा शव्द समूह नै रदिफ हुन । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ पछिपछि आउनेु भन्ने लाग्छ । रदिफ काफियाको पछि प्रयोग हुने हुनालॆ यो पछिपछि आउने अर्थ सान्दर्भिक नै देखिन्छ । कापियालाई पुर्वानुप्रासु र रदिफलाई अन्त्यानुप्रासु पनि भन्न सकिन्छ भन्ने पनि छन । यो मतलाका दुवै शेरमा र वाँकी मिसराका सवै दोश्रो पङ्ति मिसरा ए सानीमा आउछ ।

प्रयोगको आधारमा गजललाई प्रयोगको आधारमा गजललाई मुरद्दफ र गैरमुरद्दफ गरी दुई भागमा बाँडिएको पाइन्छ । मुद्दरफ भन्नाले रदिफ प्रयोग गरिएको र गैरमुद्दरफ भन्नाले रदिफ प्रयोग नभएको गजल भन्ने अर्थ जनाउँछ । हुन त रदिफ विना पनि गजलको सिर्जना गर्न सकिन्छ । विना रदिफ लेखिएका गजलहरु पनि नेपाली गजलमा प्रशस्तै भेटिन्छन । केहीले यसलाई अनिवार्य तत्वको रुपमा नलिइ ऐक्षिक तत्वका रुपमा पनि उल्लेख गेरेका छन । रदिफ शब्दले घोडसवारको पछि वस्ने मानिसु भन्ने अर्थ जनाउछ । घोडा चलाउन पछाडिको मानिसको आवस्यक्ता पर्दैन । अर्थात उसको अभावमा पनि घोडा चल्न सक्छ भन्ने मान्यतालाई लिएरै रदिफको प्रयोगलाई ऐक्षिक मानेका हुन सक्छन । तर यस्को प्रयोगले गजललाई झनै सुन्दर वनाउँछ । अझ यसरी पनि भनौ न घोडासवार पछि अर्को मानिस पनि छ भने संभावित खतराबाट जोगाउँछ । लड्न दिदैन । त्यसैले यसको प्रयोगलाई महत्व दिइएको हो । केहीले यसलाई अनिवार्य तत्वको रुपमा पनि लिने गरेका छन । रदिफ प्रयोग भएका र रदिफप्रयोग नभएका केही शेरहरु हेरौः –

मुरद्दफ गजलका शेरहरु उदाहरण
खालि आँसु बगाउनु- तिम्रो भाग्य हैन ।
एकान्तमा रमाउनु- तिम्रो भाग्य हैन ॥ – रासा

जति जल्यौ अव नजल साथी ।
क्षणिक झिल्का भै नवल साथी ॥ -केशु बिरही

नबोले नि झिम्झिम् गर्ने परेलीकी बातै मजाको ।
तिमी हुँदा पो त हुन्छ पूर्णिमाको रातै मजाको ॥ विवश बलिभद्र कोइराला

गैरमुरद्दफु गजलका शेरहरु उदाहरणः-
अझै पनि यो मुटुमा तिम्रै माया साँचिराछु ।
तिमी आउने दिन गन्दै औँलाहरु भाँचिराछु ॥ -सुन्दर कुरुप

तिम्रो भव्य दरवारमा व्यर्थै पीर पोखिएछ ।
न्याय गर्न तिमीबाट ब्वाँसोलाई तोकिएछ । – श्रेष्ठ पि्रया पथ्थर

फूलमा हैन हैन म कतै झारमा छु ।
यस्तै छ जिन्दगी सधैँ हतारमा छु । -सुरेश वाग्ले

रदिफलाई मूख्यतया स्वतन्त्रु र मिश्रित गरि दुई भागमा विभाजन गरिएको छ ।

[क] स्वतन्त्र रदिफः गजलका शेरमा स्वतन्त्र एकाइको रुपमा दोहोरिएर आउने शव्द नै स्वतन्त्र रदिफ हुन । जुन काफियाको पछि विना परिवर्तन आउने गर्छन ।

[ख] मिश्रित रदिफः काफियाको पछि वा काफिया संगै एकाकार भएर आउने रदिफ नै मिश्रित रदिफ हुन ।

त्यस्तै देवी नेपाल सुरेश सुवेदी र घनेन्द्र ओझा लेखक त्रयद्वारा लिखित गजल कसरी लेख्ने भन्ने ? कृतिमा रदिफलाई पदमूलक पदावली मूलक र वाक्यात्मक गरी तीन भागमा विभाजन गरिएको पाइन्छ । सोही कृतिबाट केही उदाहरण पनि लिऔ –

[क] पदमूलक रदिफः काफिया पछि एउटा पद मात्र रदिफको रुपमा आएको हुन्छ ।

बरमा खुड्किलो चढ्छ जो चढ्न द्यौ ॥
बढ्छ राँको अझै युद्धको बढ्न द्यौ ॥ -बलराम दाहाल

तिमी फूल गुराँस भन्छ्यौ म खसेको पात परेँ ।
बाहिरै देऊ पिउने पानी म झरेको जात परेँ ॥ -विवश बलिभद्र कोइराला

[ख] पदावलीमूलक रदिफः दुई वा दुई भन्दा वढी शब्द काफियाको रुपमा प्रयोग भएका हुन्छन –

दुःखमा नै जिएकी छ मेरी धरा ।
आँसु झारी पिएकी छ मेरी धरा ॥ -सुसैन खाँ

झरी पर्दा तिमी एक्ली थियौ ।
जून झर्दा तिमी एक्ली थियौ ॥ -रासा

मलाई चरी बात लगायौ तिमीले ।
हजारौ थरी बात लगायौ तिमीले ॥ -सुरेश सुबेदी

[ग] बाक्यात्मक रदिफः एउटा पुरै वाक्य नै रदिफको रुपमा प्रयो भएका हुन्छन ।

जुन मोडमा बिदा लियौ म छु आज सम्म त्यहीँ पि्रया ।
अँ, हिजो तिमी पनि त्यैँ थियौ म छु आज सम्म त्यहीँ पि्रया ॥ -शारदा सजल

कमै मिल्ने प्यारजस्ती मायाको के कुरा गरौँ ।
बहुमूल्य हारजस्ती मायाको के कुरा गरौँ ॥ -रुपक बनबासी

मकता

अरबी भाषाको मक्तूअबाट विकसित हुँदै मकता वा मक्ता भएको हो । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । यसलाई गजलको टुङ्ग्याउनी पनि भनिन्छ । केहीले तखल्लुसु प्रयोग भएको छ भने मात्र मकता हुने नत्र मिसरा नै मान्नु पर्ने मत पनि अघि सारेका छन । तर मतलालाई गजलको आरम्भ वा थालनी मानिसके पछि अव मकतालाई गजलको अन्त्य भाग मान्नु उपयुक्त देखिन्छ । चाहे त्यहाँ तखल्लुस प्रयोग गरिएको होस् या नहोस । किन भने तखल्लुसलाई अनिवार्य तत्व मानिएको छैन । तखल्लुस राख्ने वा नराख्ने त्यो लेखकमै भर पर्ने कुरो हो । तखल्लुस प्रयोग नभएको शेरलाई मकता नमाने मिसरा मात्रै मान्ने हो भने त्यो गजलको अन्त्य कहिल्यै हुने के तखल्लुस प्रयोग नभएको गजलको अन्त्य नै हुँदैन त तसर्थ विना संकोच गजलको अन्तिम शेरलाई मकता भन्नु नै उपयुक्त हुन जान्छ । मकताका केही शेरहरु हेरौः

नजातले रोक्यो उसलाई नस्वार्थले रोक्छ ।
प्रगतिबादी वोल्न ऊ भक्भकाएर आउने छ ॥ – पुरानाघरे सिवाकोटी

स्वभीमान जिन्दावाद नारा जिन्दगीको ।
बितेको रात हुँ मेरो कहानी के सुनाउँ ॥ -गोपाल अश्क

दिनमा तर्किएर हिँड्नुको मजा ।
भेट्न आउँछु भनेको राति रहेछ ॥ -वियोगी बुढाथोकी

तखल्लुस

तखल्लुसु अरबी भाषाको पुलिङ्गी शब्द हो । गजल वा सायरीमा लेखकले आफ्नो नाम वा उप नाम राख्ने चलन रहेको छ । लेखकको त्यही नाम वा उप नामको रुपमा प्रयोग भएर आउने शब्दलाई तखल्लुसु भनिन्छ । हुन त यसलाई अनिवार्य तत्वका रुपमा भने लिइएको पाइदैन । यसलाई ऐक्षिक तत्वको रुपमा हेरिएको छ । यस्ले गजललाई सुन्दर वनाउछ । अझ अर्थपूर्ण वनाउछ । सुन्दर वा अर्थपूर्ण वनाउने हुनाले यस्को प्रयोगलाई पनि अर्थपूर्ण रुपमा लिनु जरुरी देखिन्छ । तर असान्दर्भिक रुपमा गरिएको तखल्लुसको प्रयोगको भने कुनै अर्थ रहदैन । सही तखल्लुसको प्रयोगले मात्र गजलकारको परिपक्कताको वोध गराउछ । तखल्लुस प्रयोग भएका केही शेरहरु हेरौं ।

सायद कुनै पविर्तन हुँदैछ ।
विभोर बिनाकारण क्रुद्ध हुँदैन ॥ -विभोर बराल

छर्नेहरु छरिरैछन जनताका नाम ।
विजयलाई अक्षर समेत छर्न गाह्रो भयो । -विजय सुब्बा

साथीहरु घर घरै न्यानो गरी सुते होलान् ।
आफू भने मनुजीको पछि पछि लाग्दो रहेछु ॥ -मनु ब्राजाकी

कहाँ पुग्थे ल गोर्खेका सवाल,
घरै हुल्ने भएपो माधुरीको ॥ -गोर्खे साइँलो

बहर

नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ । संस्कृत काव्य परम्परामा छन्दु भने झैं फारसी गजल परम्परामा बहर भनिन्छ । यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ ।

उर्दु तथा फारसीमा थुप्रै बहरहरु छन । पचास जति बहरहरु र त्यसमा पनि भेद तथा उपभेद भएको कुरा विभिन्न समाचोलकहरुले उल्लेख गरिसकेका छन । गजलकार गोर्खे साइँलोले पल्ब साहित्यिक पत्रिका – गजल विशेषाङ्कमा भाग – १३ मा नेजाली बहरका ११ मात्रिक बहरका ४ र शास्त्रीय बहरका १९९ गरी जम्म २१४ ओटा बहरको वारेमा परिचय सहित उल्लेख गरेका छन । नेपाली गजलमा ती सवै बहरहरुको प्रयोग हुन सकेको देखिदैन । नेपाली गजलमा सिमित बहरहरुको मात्र प्रयोग भएको पाइन्छ । हुन त बहरमा गजल लेख्नेको संख्या नै त्यति वढी नै कहाँ छ र । यस्ता मानिसहरुको संख्या अरुको तुलनामा न्युन रहेको भएपनि पछिल्लो समयमा आएर यस्तो संख्या बढ्दो छ । बहर तर्फको आकर्षण वढ्दो देखिन्छ । फुटकर रुपमा मात्र होइन । आजभोलि बहरमा मात्र लेखिएका गजलहरुको सङ्ग्रह पनि प्रकाशित हुन लागेका छन ।

केही पिङ्गला छन्दहरु शास्त्रीय बहर संग मिल्न जान्छन । त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ । पछिल्लो समयमा आएर त्यस्ता बहर छन्दका साथसाथै अन्य स्व निर्मित अन्य बहरमा गजल लेख्नेको संख्या पनि कम छैन ।

रुक्नहरुको संयोजनबाट बहरहरुको निर्माण गरिन्छ । रुक्न भनेका बहरका गण हुन । रुक्नहरुको समूहलाई अर्कान भनिन्छ । हुन त पिङ्गला छन्दमा [यमाताराजभानसलगा] आठ गण भए झैँ इस्लामिक आठ रुक्नहरुको पनि चर्चा गरिएको पाइन्छ । तर उर्दू तथा फारसीमा प्रयोग हुने रुक्न त्यति मात्र होइनन । उर्दू तथा फारसीमा रुक्नहरु यति नै छन भनेर किटानी गरिएको पनि पाइदैन ।

गजलका बहरहरुलाई मूलरुपमा मुफरद, [मूल] मुरक्कब [मिश्रित] तथा मुजाहिफ [परिबर्तित] गरि तीन भागमा विभाजन गरिएको छ । मुफरद बहर एउटै रुक्नको दुई तीन र चार आवृत्तिबाट बन्छ भने मुरक्कब बहर दुई वा दुई भन्दा बढी फरक फरक रुक्नको मेलबाट बन्दछ र मुजहिफ बहर भने टुकि्रएका रुक्नको मेलबाट बन्छ ।

काब्य विधामा संस्कृत छन्दका गणमा i लघु र s गुरु भए झैँ गजलका बहरमा भने रुक्नका लघुलाई १ र गुरुलाई २ ले जनाइन्छ ।

यहाँ बहरको वारेमा सङ्क्षिप्त जानाकारी मात्र दिन खोजिएको हो । बहरको वारेमा पूर्ण जानाकारी भने नेपाली गजलमा शास्त्रीय बहरकॊ आवस्यक्ता र सान्दर्भिकता नामको लेखमा उल्लेख गरिएको छ ।

निस्कर्षः

गजल मूलतः शास्त्रीय विधा हो । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै यस विधाको विशेषता हो । यो सर्वमान्य सत्य पनि हो । गजल सरल भएर पनि सशक्त छ । कोमल तथा हार्दिक भएकै कारणले आज यो विधा नेपाली माटोमा सवैको पि्रय भएको छ । पुराना तथा नयाँ सवै स्रष्टाहरुको यो विधा तर्फ अधिक आकर्षण रहेको पाइन्छ ।
नेपाली गजलले छोटो समयमै लोकपि्रयता कमाएको छ । यो लोकपि्रयतालाई वचाइराख्नु नितान्त जरुरी छ । यस तर्फ तमाम गजलप्रेमीले सोच्नु पर्ने वेला आएको छ । गजलमा परिस्कारको आवस्यक्ता महसुस हुन थालेको छ र यही आवस्यक्तालाई मध्यनजर राख्दै पछिल्लो समयमा गजलमा परिस्कार आन्दोलनको कार्य पनि सुरु भएको छ । परिस्कार गरेर गजललाई शसक्त एवम् मर्यादित पार्ने काम आफैमा स्वागत योग्य छ । त्यस्तै केही मानिसहरु गजलमा नयाँ प्रयोग भित्र्याउन पनि लागिपरेका छन । नविनतम प्रयोगले गजललाई सुन्दर तथा व्यापक वनाउछ । तर प्रयोगको नाममा गजललाई यसको मर्मबार्ट अलग्याउने । सरलताबाट क्लिष्टता तर्फ डोहोर्याउने काम भने हुनु हुँदैन । अर्थात यसले गजललाई मजवुत नभएर अझ कमजोर वनाउछ भन्ने कुरालाई सवैले वुझ्नु र वुझाउनु आवस्यक छ ।

॥ इति ॥

सन्दर्भ सामाग्रीहरुः-
१ बराल, कृष्णहरि [२०६४] गजलः सिद्धान्तर परम्परा / साझा प्रकाशन
२ रावल, ललिजन [२०६५] प्रतिनिधि नेपाली गजलहरु / विवेक सिर्जशील प्रकाशन समूह
३ परिश्रमी, घनश्याम न्यौपाने [२०६४] गजल ः सौन्दर्य र मिमांसा / वुटवल सनसाइन आवासीय मावि
४ बिरही, केशु [२०६३] दन्किएको आगो गजल सङ्ग्रह / नेपाल गजल प्रतिष्ठान
५ विवश, वलिभद्र कोइराला [२०६] काँचको मुटु गजल सङ्ग्रह / पूवााचल गज माच
६ बिरही, केशु – [२०६४] नेपाली गजल र यसमा प्रयोग भएका केही बहरहरु / पल्लव गजल विशेषाङ्क
७ साँइलो, गोर्खे [२०६४] हुसैन खाँको डायरीभित्र लहरिदा / पल्लव गजल विशेषाङ्क
८ पन्थी, देबी [२०५९] गजल सिद्धान्त र समालोचना विविध वाङ्मय प्रतिष्ठान
९ नेपाल, देवी / सुवेदी सुरेश / ओझा घनेन्द्र [२०६६] गजल कसरी लेख्ने ? ऐरावती प्रकाशन
१० अर्चना, सप्रेम २०६६ सपना कहाँ छुन सक्छु र गजल सङ्ग्रह/ तन्नेरी डट कम
११ वराल, विभोर [२०६६] उड्दै गए सपनाहरु गजल सङ्ग्रह / तन्नेरी डट कम

1 thought on “गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]”

Leave a Reply

Your email address will not be published. Required fields are marked *