Skip to content

अप्ठेरो शीर्षकमा रोचक नियात्रा

  • by


निबन्धकार सुनिल पौडेलको पछिल्लो कृति ‘काएगोको देशमा केही दिन’ हालै बजारमा आएको छ । नियात्रा मानव जातिले यायावरी युगसँगै हुर्काएको सम्झनामूलक वृतान्तको यात्रासाहित्य बनेर आएको छ । घुमन्तेका पदचापसँगै मनस्ताप, प्रवृत्ति र परिवेश, परिकल्पना र पीडा, आनन्द र अनुभूति वर्णन गर्दै भाषाको चित्रात्मक प्रस्तुति अथवा चित्रको भाषागत प्रस्तुतिमा व्यक्त हुने यात्रा साहित्यलाई विवरणात्मक, वर्णनात्मक अनुभूतिपरक साहित्यको रूपमा पनि हेर्ने गरिएको छ । नेपाली साहित्यमा पनि गद्य र पद्यमा यात्रा वृतान्तहरू लेखिएका छन् । स्वयं सुनिल पौडेलले नै यस अघि ‘बेलायत यात्रा ः कल्पना र यथार्थ (२०४९)’ नामक सङ्ग्रह ल्याइसकेका थिए । कुनै ठाउँको भ्रमण गर्दा भोगिने यथार्थ र भावनाको एक अभिव्यञ्जना नियात्रा हो । साहित्यिक मूल्यवाहक नभएका यात्रा वृतान्तहरू पनि यात्रा साहित्यको भण्डारमा पाइन्छ, परन्तु सौन्दर्यानन्द र सन्देशबिनाको नियात्रा लेखनलाई यात्रा साहित्यको हारीमा राख्न नमिल्ने विचार पनि हाम्रा माझमा छ ।

नेपाली साहित्यमा नियात्राको लामो परम्परा छ पद्यमयरूपमा होस् वा गद्यमय अभिव्यक्तिमा, यसको लिखित आधार ‘जङ्गबहादुरको बेलायत यात्रा (१९१०)’ अघि नै सोह्रौँ शताब्दीमा लेखिएको ‘गगनीराजको यात्रा (१५५०)’ बाट प्रारम्भ भएको मानिन्छ । ‘तीर्थ जाँदाको वृतान्त’ होस् वा ‘मेरो पैदल काशीयात्रा’ शारदा पूर्वका रचनामा ‘लण्डन यात्रा’ र ‘कश्मिर यात्रा’ विशेष रहेका छन् । यात्रा-साहित्यको परिस्कारस्वरूप नियात्रा विधा स्थापित भएको छ । यसलाई यात्रा निबन्धको औपन्यासिक रूप मान्ने, वस्तुगत परिवेशमाथि आत्मगत अनुभूति आरोहण गराउँदै अभिव्यक्त गद्य रचना मान्ने र अभिव्यक्ति पद्यात्मक भए पनि वृतान्तमा तथ्यपरकता, प्रवाहमय भावना र स्थान विशेषको गुणगान मान्ने धारणा हाम्रो साहित्यमा रहिआएको छ ।

‘काएगोको देशमा ः केही दिन भित्र चौध वटा सम्झना समेटिएका छन्-शीर्षकका आधारमा भन्दा । परन्तु कृतिभित्र प्रवेश गर्दा त्यहाँ अनेकौं स्मृति-गुच्छाहरू थुपि्रएको पाइन्छ । परिवेश र परिस्थिति वाहृय तथा आन्तरिक यथार्थ र भावनाको सङ्गममा पुस्तकभित्रका रचनाहरू खडा छन् । ‘काठमाडौँदेखि ब्रसेल्ससम्म’ यात्राको प्रारम्भिक पाइलो बनेको छ र त्यसले हवाइजहाजभित्र रहँदाको परिवेश र परिस्थिति चित्रण गरेको छ । आकाशको बादलभित्र घुस्दै निस्कँदै गर्दाको अनुभूतिसँगै धर्तीको बहुल प्रकृति र देशहरूका भिन्नतामा रहेको भाषासंस्कृतिको अन्तर्विरोधलाई समाधानमा आइपर्ने कठिनाइलाई पनि दर्शाएको छ । पोर्चुगिजसँगको कुरा होस् वा पारसका छोरा र विनोद भेट्दाको खु्सीमा होस् त्यो प्रस्टै अनुभूत हुन्छ । ‘ब्रसेल्समा दशघण्टा’ बसेपछि उनी जर्मनी छिर्छन् तर रेलमा उनले केवल ‘गेल्सेनकिर्सेन’ जप्दै हिँड्छन् र अन्त्यमा निर्धारित स्थानमा पुग्दछन् । जर्मनीको माक्र्सवादी-लेनिनवादी पार्टीका संस्थापक विल्ली डिकहुटको दसौँ जयन्ती मनाउनेक्रममा आयोजना गरिएको सेमिनारमा नेकपा (एमाले) बाट सहभागी हुन गएका सुनिल पौडेलले पुस्तकमा सबभन्दा प्रभावकारी ढङ्गले त्यही कार्यक्रमको वर्णन गरेका छन् । विवरणात्मक रोचकतासाथ प्रस्तुत सम्मेलनको क्षण, विल्ली डिकहुटको स्मृति कार्यक्रम, सेमिनारमा प्रस्तुत मन्तव्य लेख र ‘गाउँगाउँबाट उठ’ गीत गाउँदाको रोमाञ्चक क्षणमा नेकपा मशालका प्रतिनिधि सन्तबहादुर पनि सामेल भएको सम्झना निकै मीठो छ । ‘जर्मनीमा हड्तालको अनुभव’ अनौठो छ भने ‘एङ्गेल्सको प्रान्तमा अन्तिम दिन’ प्रकृति, समाज र राजनीतिक सोच मिश्रति रचना बनेको छ ।

गोएटेको जन्मथलो ‘फ्रैङ्कर्फटमा पहिलो रात’ रचनामा फ्रिडबेर्गको पहिलो दिन उपशीर्षक छ भने ‘फ्रैङ्कर्फटमा एक दिन’ छुट्टै सम्झना छ । यी तीनवटैको सन्दर्भ फ्रैङ्कर्फट रहेको हुँदा एउटामा संयोजित गर्न सकिने देखिन्छ । प्रसङ्ग प्रकरणमा विभाजन गरी मिलाउनु बेशै हुन्थ्यो तर अब त्यो सम्पादन सम्भावना सिद्धिएको छ । गोएटे हाउस र म्युजियममा केही घण्टा ज्ञानवर्द्धक छ । गोएटे र गेटे अथवा गोथेको भेद कतै खुलाएको भए नेपाली पाठकका लागि सहज हुन्थ्यो । ‘माक्र्सको जन्मथलोमा चार घण्टा’ जिज्ञासा निवारक, ज्ञानवर्द्धक र रोचक छ । ‘हेर्नैपर्ने वादनायम’ को फोटो भए बेश हुने थियो । त्यसो त सबैमा केही तस्बिर समय सुहाउँदो हुने थियो । त्यसतर्फ ध्यान किन पुगेन ?

सङ्क्षेपमा भन्दा शीर्षक अनाकर्षक भए पनि पुस्तक-सूचनात्मक सन्देशात्मक, पठनीय र ज्ञानात्मक छ ।

कृति ः काएगोको देशमा केही दिन (यात्रा संस्मरण)
लेखक ः सुनील पौड्याल
प्रकाशक ः साझा प्रकाशन
प्रकाशन ः २०६६
पृष्ठ ः ८०+८
मूल्य ः रु. १४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *