Skip to content

थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

  • by


साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने प्रेरणाका यसअघि नै ‘सुतेको समुद्र’, ‘अन्तराल’ र ‘यात्रा अनन्त’ शीर्षकमा ३ थान कथासङ्ग्रह प्रकाशमा आइसकेका छन् । अमेरिकामा बसाइँ सारेका प्रेरणा त्यहाँको तीब्र, जटिल र व्यस्ततम् जीवनशैलीको व्यवस्थापन गरेर साहित्य साधनामा नै रहेका छन् र प्रत्येक वर्ष कुनै न कुनै विधामा १-२ कृति प्रकाशन गरिरहेका छन् । नेपाली भाषा र साहित्यप्रतिको उनको यो विशेष अनुराग स्वागतयोग्य छ ।

गोविन्द गिरी प्रेरणाले आफ्नो कथा-लेखनको प्रेरणा स्रोत नेपाली समाज र नेपाली सामान्य-जनलाई बनाएका छन् । हाम्रो समाजको सङ्क्रमणकालीन चरित्रको चिरफार गर्नमा उनको विशेष अभिरुचि देखिन्छ । पुरानो र नयाँ मानसिकताका बीचको द्वन्द्व, उपभोक्ता संस्कृतिका कारण उत्पन्न भएको विचलन, सामाजिक र आर्थिक क्षेत्रमा व्याप्त विकृति एवं विसङ्गतिहरू, व्यक्ति-व्यक्तिका बीचका सम्बन्धमा थपिएको जटिलता र समाज उदार एवं लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि देखिएका अन्योल, अनुशासनहीनता र अबयवस्थाजस्ता विषयहरूमा टेकेर गिरीले आफ्ना कथाहरू बुन्ने प्रयत्न गरेका छन् । राजनीतिकक्षेत्रमा व्याप्त विसङ्गति उनको अर्को पि्रय विषय हो ।

‘घोराही शून्य किलोमिटर’ मा सङ्कलित कथाहरू विषयगत विविधताका दृष्टिले उल्लेखनीय छन् । सङ्ग्रहको शीर्षक-कथा ‘घोराही शून्य किलोमिटर’मा पश्चिम नेपालको सीमान्तीकृत, दलित वादी जातिको कहानी कहने प्रयास गरिएको छ भने ‘कलावती जिन्दावाद’, ‘दुःस्वप्न’, ‘माओवादी’, ‘भाते खकारप्रसाद’, र ‘प्रजातन्त्र’ जस्ता कथाहरूमा नेपाली राजनीतिको क्षेत्रमा उभारमा आएका असङ्गत परिस्थिति र चरित्र विशेषको चित्रण गर्ने जमर्को छ । ‘अन्तिम रात’, ‘दर्शनढुङ्गा’ र ‘टाढा, टाढा, धेरै टाढा’ शीर्षकका कथाहरूमा स्त्री-पुरुष सम्बन्धका बहु-आयामको पडताल गर्ने प्रयत्न गरिएको पाइन्छ । यी कथामा पति-पत्नी वा प्रेमी-प्रेमिकाबीचको सम्बन्धमा उत्तरआधुनिक जीवनशैलीका कारण पैदा भएका जटिलताहरूलाई नौलो ढङ्गले हेर्ने चेष्टा गरेका छन् कथाकार गिरीले । ‘समानान्तर’ नेपाल बन्द ‘दुई मोरीहरू’ शीर्षकका कथामा श्रम र यौन शोषणमा परेका निरीह नेपाली किशोर र युवतीहरूको पीडालाई वाणी दिइएको छ । यी दुबै कथा मार्मिक बनेका छन् ।

अभिव्यक्तिको सुसङ्गठित स्वरूप, भाषिक लालित्य, शब्दानुशासन र मीतव्ययी लेखनको दृष्टिले भने गोविन्द गिरी प्रेरणा कमजोर देखिन्छन् । कतिपय अवसरमा उनको लेखनमा हतपत्, उरेन्ठेलोपना र हलुकोपन मूलभूत विशेषता भएर उभारमा आएका पाइन्छन् भने धेरै कथाहरूमा अतिभावुकता र अति नाटकीय प्रमुख तत्वझैँ लाग्दछन् । कसिलो बुनावट भएको एउटा कथामा आवश्यक छरितोपना, कथावस्तु र चरित्रहरूको विश्वसनीय विकास-क्रम एवं सुविचारित उत्कर्षका कसीमा घोटेर हेर्ने हो भने ‘घोराही शून्य किलोमिटर’ का कथाहरू प्रभावहीन लाग्दछन् । चारवटा सङ्ग्रमार्फत् सय थान भन्दा बढी कथाहरू प्रकाशमा ल्याइसकेका कथाकार गिरीका कथा, यात्रा परिष्कार र सौन्दर्यका दृष्टिले प्रारम्भिक अवस्थातिरै अलमलिरहेको पाइनु निराशाजनक विषय हो । धेरै विधामा कलम चलाउने गिरीले कथा लेखनको कला पक्षप्रति ध्यान दिन नसकेकाले पनि यस्तो भएको हुन सक्दछ । गिरीले आगामी दिनमा आख्यान साहित्य लेख्ने क्रममा यी कमजोरीहरूलाई हटाउने प्रयत्न गर्ने छन् भन्ने आशा गर्नु अनुचित हुने छैन । यसबाहेक गिरीले सङ्ख्यात्मकरूपमा आफूलाई अब्बल सावित गर्ने चेष्टा गर्नुभन्दा सङ्ख्यामा कमै भए पनि गुणवत्ताको दृष्टिले उत्कृष्ट कृति धेरै समय लगाएरै भए पनि तयार गर्ने र साहित्यको श्रीवृद्धि गर्ने प्रयत्न गर्नु राम्रो हुनेछ ।

पुस्तक ः घोराही शून्य किलोमिटर (कथासङ्ग्रह)
कथाकार ः गोविन्द गिरी प्रेरणा
प्रकाशक ः रत्न पुस्तक भण्डार
संस्मरण ः २०६७ प्रथम
पृष्ठ ः १५+१३०
मूल्य ः रु. १५०।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *