Skip to content


भगवान् कहलाएका मर्यादापुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षी जनककी छोरी सीता नेपालभूमिकी गरिमामयी पुत्री हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्शभाउजू, आदर्शबुहारी, आदर्शमहारानी र समग्रमा भन्नुपर्दा आदर्शनारीका रूपमा बहुचर्चित सीता नेपालपुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ । प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन् ।

आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन् । साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन् । हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ । विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमिनमा परेकोे हलाको डोब, जोतिएको जमिन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन् । सीताको जन्मसन्दर्भमा यस्तै कथा पनि छ । यज्ञभूमि तयार पार्न राजर्षी जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ ।

सीताको जन्मसम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण (तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन् । देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान(कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो । मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो । अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो । ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्यो । गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए । उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नै घैँटामा भरेको थियो । रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहनगयो । यस गर्भलाई उनले जमिनमुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन् ।

आनन्द रामायण अनुसार मिथिलाभूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई सौँपेका थिए । त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो । मिथिलाभूमिमा सन्दुक गाड्ने कामचाहिँ रावणले गरेको थियो । गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-‘म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’

आनन्दरामायणकै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी ‘पद्मा’ राजा पद्माक्षरकी छोरी हुन् । पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाडमँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन् । केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन् । रावणले अग्निकुण्डसमेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो । सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन् । यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमिनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा(सीता)ले श्राप दिएकी हुन् ।

कम्बरामायणका अनुसार शीरध्वज(जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् । यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन् ।

सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो । राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो । यज्ञका लागि जमिन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा ‘मिथि’ जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ । मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ । रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ । राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन ।

जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनयना माता हुन् । सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन् । यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउनसक्नेलाई छोरी दिने वाचा गरेका हुन् । स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर शिवधनु हल्लाउनसमेत सकेन । अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो । यो बिहेको सम्झना अद्यापि गरिँदैछ । मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ । यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ । यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ ।

उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन् । यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् । रानी कैकेयीको वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वन जाँदा जिद्दी गरेर सीता पनि सँगै गइन् । साथमा लक्ष्मण पनि गएका थिए । अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयासँग पातिव्रत्यधर्मको उपदेश लिएकी थिइन् । लक्ष्मणले नाक काटिदिएपछि रावणकी पत्नी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याई तर रामका प्रतापका अगाडि ती टिक्नसकेनन् । शूर्पणखाले दाजु रावणलाई उचाल्नपुगी । एकदिन राम वनमा गएका बखत ‘मारिच’ले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकार्दा सीता विहृवलित भई लक्ष्मणलाई कर गरी त्यतै पठाउँछिन् । मौका ढुकिरहेको रावण जोगीको भेष गरी आएर लक्ष्मणले बनाएको रेखा पार गरेमात्र भिक्षा लिने बताउँछ । सीताले त्यसै गर्दा रावणको फन्दामा पर्छिन् । आकाशमार्ग हुँदै रावणले सीताहरण गर्दा अगाडि आएका जटायुलाई घाइते बनाई अशोकवाटिकामा पुर्‍याउँछ र अर्धाङ्गिनी बनाउन अनेक तिगडम चाल्नथाल्छ । सीताको सतीत्व डगमगाउन ऊ सफल हुँदैन । मन्दोदरी र त्रिजटाको कोमल वाणीले सीतालाई केही राहत पुग्छ ।सीताको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वानर सेना तयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान्लाई देख्दा उनी दङ्ग पर्छिन् । सीता सतीसाध्वी भएकीले हनुमान्को पीठमा बसेर पतिछेउ पुग्न अस्वीकार गर्छिन् । राक्षसद्वारा पुच्छरमा आगो लगाइएपछि हनुमान्लाई लङ्कादहन गर्ने अवसर प्राप्त हुन्छ । रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन् । सन्तस्वभावका विभीषणलाई लङ्काको राजा बनाइन्छ ।

सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । अग्निपरीक्षामा सीता निष्कलङ्क ठहरिएपछि आफ्ना पतिका साथ पुष्पकविमानद्वारा अयोध्या पुग्छिन् । लोकापवादले त्यहाँ पनि उनलाई छाड्दैन । रामले सीतालाई पुनः वनबास पठाउँछन् । गर्भवती सीतालाई महर्षी वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले लव र कुश सन्तान जन्माउँछिन् । रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन् । सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम विहृवल हुनपुग्छन् । आफ्ना छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन् । वाल्मीकिको आश्रममा पुगेर सीतालाई अयोध्या र्फकन भन्छन् तर त्यसपूर्व सतीत्वको किरिया खान आग्रह गरिएपछि सीता ज्यादै द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार्छिन्, धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन् । यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीमा कथा समाप्त हुन्छ ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्शनारी कोही देखिँदैन । सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ-उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नुमात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपालभूमिकी पुत्री हुनु हामी सबैका लागि महागौरवको कुरो हो । सीतासँग सम्बन्धित जति पनि पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक धरोहर छन्, तिनको अवस्था राम्रो नदेखिनु दुःखद पक्ष हो । अतः यस दिशामा संरक्षण, सम्बर्द्धन गर्नेतर्फ सम्बन्धित निकाय जुर्मुराउनु अत्यन्त आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *