Skip to content


मलाई सहरले पूरै निल्यो। म चाहन्थेँ, म सहरको मुखमा नपरुँ अथवा सहरको भोकको सिकार नबनूँ। तर, भएन त्यस्तो, मैले सोचेजस्तो। मलाई सहरले नमज्जाले निल्यो। मेरो कुनै अस्तित्व बाँकी नराखी, मेरो अनुनय-विनयको कुनै पर्वाह नगरी निल्यो मलाई सहरले। सहर मेरा निम्ति ह्वेलभन्दा कुनै पनि अर्थमा फरक रहेन। ह्वेल र सहरमा पृथकता पनि रहेन त्यति, जति म सोच्थेँ। सहर मेरो अगाडि एउटा विशाल ह्वेलका रूपमा हाजिर भयो र निलिएँ म सहरका निम्ति।

सहर कसले बसायो? को हो सहरको परकिल्पनाकार? सहरको आवश्यकता सुरुमा कसले ठान्यो? सहरलाई अरूभन्दा फरक र बेग्लै बनाउने दिमागी कसरत कसले उमार्यो? सहरको शैलीलाई कसले बेग्लै रूपमा उभ्यायो? मलाई यस्ता प्रश्नहरूले घेर्न थालेको धेरै भइसक्यो। दिनहुँ घेरिरहन्छन् मलाई यस्ता प्रश्नहरूले। कतिबेला म प्रश्नहरूको घेराभित्र कैद हुन्छु, आफैँलाई थाहा हुँदैन। कहिले मानिसहरूको भीडमा हराउँदा, कहिले ट्राफिकजामको दिक्दारीमा फस्दा, कहिले फुटपाथमा हतार-हतार पाइला नाप्दा, कहिले चक्काजाममा फस्दा, कहिले केमा डुब्दा, कहिले केमा उत्रिँदा, मलाई सहर बसाउनेहरूप्रति औडाहा छुट्छ, सहरका कल्पनाकारप्रति विद्वेष उमार्न मन लाग्छ। सोध्न मन लाग्छ- ‘आखिर, कसको दिमागको उपज हो यो सहर?’

सहरका हरेक कुरा संदिग्ध छन्, लाग्छन्। सहरका हरेक चरणलाई शङ्कालु नजरले हेर्न मन लाग्छ। अहँ, भरोसा, विश्वास गर्न सकिने आधारभूमि त्यति दरलिा छैनन्। पलपलमा, क्षण-क्षणमा सहरप्रति अविश्वास जन्माउन रुचि लाग्छ, सहरलाई आफ्नै हिसाबले बुझ्न कर लाग्छ। र, बाध्यतावश चित्त बुझाउन मन लाग्छ- ‘यो सहर हो, यहाँ यस्तै हुन्छ।’

सहरको हावाले छुन थालेपछि त मलाई सहर झनै वितृष्णाको गन्तव्यस्थल लाग्न थालेको छ। धेरै नै भयावह छ सहरको हावा। यो कतिबेला विषालु हुन्छ, कतिबेला प्रदूषितमय हुन्छ र कतिबेला अलिअलि सन्जीवनी वितरण गरेको अभिनय गर्छ, केही थाहा हुँदैन सहरको हावाप्रति। हावाको बहने एउटा निश्चित दिशा हुन्छ, गन्तव्य हुन्छ। तर, सहरको हावा कताबाट कता बहन्छ, यसको कुनै अत्तोपत्तो हुँदैन। कहिले उत्तरबाट पूर्वतिर बहिरहेको हुन्छ, कहिले दक्षिणबाट उत्तरतिर बहिरहेको हुन्छ। अहँ, केही टुंगो हुँदैन सहरको हावाको ! झन् यसले बहने दिशाको त कुनै ख्याल नै गर्दैन। आफूखुसी, मनलाग्दी बहन्छ, बहिरहन्छ। प्रकृतिको नियम, कानुनसित कुनै सरोकार राख्दैन सहरको हावाले। मलाई लाग्छ, सहरको हावा अराजक हुन्छ, असान्दर्भिक हुन्छ, अशोभनीय हुन्छ, अपवित्र हुन्छ, अभ्याक्रमी हुन्छ, अभेदनीय हुन्छ, अभ्यर्दन हुन्छ, अभिशप्त हुन्छ। खोतल्दै जाने हो भने सहरको हावा थुपै्र अभिवृत्तिले भरएिको हुन्छ। एकपटक सहर पसेको वर्ष दिनपछि म गाउँ फर्किएको थिएँ। गाउँ फकिर्ंदा मेरो व्यवहार त्यति अशोभनीय त थिएन तर शुभेच्छुकले चिन्ताको जहर घोलिहाले, ‘तिमीलाई पनि सहरको हावाले छोएजस्तो छ।’

मलाई थाहा थिएन त्यतिबेला। सहरको हावा कस्तो हुन्छ भन्ने कुराप्रति म साँच्चै नै अनभिज्ञ थिएँ त्यतिबेला। ती शुभेच्छुकले मप्रति लगाएको आरोपको तत्काल खण्डन गर्न चाहन्थेँ म। तर, मसित खण्डनका लागि तयारी शब्दहरू थिएनन् कुनै पनि। बरु मैले सोचेँ, सहरको हावा कस्तो हुन्छ होला? त्यो गाउँमा बहने पवित्र, शीतल, मनै हरर पार्ने हावाजस्तो हुन्छ कि, अरू नै प्रकारका हुन्छन्? साँच्चै, कस्तो हुन्छ होला सहरको हावा? म पूर्णतः अनभिज्ञ थिएँ र त्यस अनभिज्ञताबाट आफूलाई दूर राख्न चाहन्थेँ।

तर, सहरको हावा चाख्न, चाट्न र स्पर्श गर्न मात्र होइन, आज सहरको हावा पूरै फोक्सोभित्र भित्र्याएर सहरमै विलिन भएको छु म। सहरको हावासित अपनत्व गाँस्दै, ती हावाका छिद्र-छिद्र केलाउँदै, ती हावासित आत्मीयताको भाका साट्दै हिँडिरहेको छु। म आज जुन सास फेर्छु, त्यसमा सहरको हावाले ट्याक्स लिइरहेको हुन्छ। अथवा सहरको हावालाई ट्याक्स तिरेर म आफ्नो श्वास प्रणालीलाई चलायमान बनाइरहेको छु, फोक्सो फुलाइरहेको छु, सुकाइरहेको छु। यो मेरा निम्ति नित्य प्रक्रिया बनिसकेको छ। सहरमा बाँच्नलाई अब मलाई सहरको हावाको सहारा चाहिन्छ। नभए अखबारका पृष्ठहरूमा एउटा शोक समाचार छापिन्छ, ‘फलानो व्यक्ति श्वास-प्रश्वासको रोगले हिजो यो संसारबाट बिदा भयो !’ कति भयावह समाचार ! यस्तो समाचारसम्म मेरा आफन्त, शुभचिन्तक, शुभेच्छुक, शत्रुहरू, भूतपूर्व प्रेमिकाहरू, मैले उत्तेजनावश अँगालोमा बेरेका यो सहरका सम्भ्रान्तदेखि दुःखी गणिकाहरू, अखबारका पाठकहरूको पहुँच नपुगोस् भन्ने मलाई लाग्छ।

सहरलाई कहिल्यै निद्रा लाग्दैन। तथापि सहर अनिद्राको रोगी पनि होइन। दिउँसो त यो जाग्राम हुन्छ नै। रातमा पनि जाग्राम रहन्छ सहर। चन्द्रागिरि वा नागार्जुनको परविृत्तमा घाम डुब्नेबित्तिकै अर्को सहर ब्यूँझिन्छ। कति मादकतापूर्ण हुन्छ त्यो सहर। जसलाई छाम्नेहरूले मात्रै मादकताको मापन अनुभूत गर्न सक्छ। सप्तरङहरूमा सजिएको हुन्छ त्यो सहर। स्पर्श, गन्ध, मादकता, उत्तेजनाको सहर मान्छु म त्यसलाई। सहरलाई भित्रैदेखि भोग्नेहरूको भीड लाग्छ त्यो अर्को सहरमा। र, निद्राको छायाँबाट तर्किएर त्यस्तै व्यक्तिहरूले भोग्छ त्यस सहरलाई। यो एउटा सहरलाई बुझ्ने, चिन्ने र छाम्ने अर्को सहर हो सायद। सहरको बहुरूपी दृश्य-विम्बहरू देखेर मलाई भित्रभित्रै ताज्जुब लाग्छ।

आलोक धन्वा र मैले बुझेको सहरमा त्यति पाइला फरक छैन। ती भारतीय कविले सहरलाई ‘एउटा विशाल शरणार्थी शिविर’सँग दाँजेका थिए र मलाई पनि सहरको हावा चाख्दै बाँच्न अभ्यस्त हुन मन लागेपछि ती कविले परकिल्पना गरेको सहरभन्दा फरक भन्न मन लागेन। म उनका कविताका ती हरफहरू टिप्ने जाँगर किन नदेखाऊँ:

सहर मे इस तरह बसे
कि परविार का टुटना ही इसकी बुनियाद हो जैसे
न पुरखे साथ आये, न गावं, न जंगल, न जानवर
सहर मे बसने का क्या मतलब है
सहर मे ही खत्म हो जाना?
एक विशाल शरणार्थी शिविर के दृश्य
हर कहीं उनके भविष्यहीन तम्बू।

सहरसँगै सभ्यता पनि जोडिएर आउँछ सधैँ। उहिल्यै जुन-जुन ठाउँमा सहर स्थापित भयो, त्यसलाई सभ्यताको चिनारी ठानियो। नभए सिन्धु-सभ्यता, मोहेन्जोदाडो-सभ्यता, गि्रक-सभ्यता, यस्ता शब्दहरूको चाङ लाग्ने थिएनन्। सहरको निर्माणसँगै सभ्यता पनि विकसित हुन्छ भन्ने तर्क कुनै पनि आधारमा सुपाच्य छैन। सहर एउटा विम्ब हो, सभ्यता अर्को विम्ब। सहरमा सभ्यता नपाइन पनि सक्छ तर सभ्यतामा भने सहरका प्रतिविम्बनहरू देखिन सक्छन्। सभ्यता मानिसको संस्कृति, संस्कारसित आबद्ध विषय हो, सहर मानिसको सुविधाभोग र समृद्धिसित जोडिएको कुरा हो। कति अन्तर छ यी दुई बीचमा? सभ्यता र सहरलाई एउटै घानमा हालेर पेल्दा त्यसबाट निस्िकने कुरा के हुनसक्ला? अहँ, मैले केही अनुमान गर्न सकिरहेको छैन।

धेरैजसो सहर समुद्री द्वीपमा बसालिएका छन्। संसारका शक्तिशालीदेखि शक्तिहीन राष्ट्रहरूको राजधानी हेर्ने हो भने ती सबैजसो समुद्री तटमा राखिएका छन्। अमेरकिाको वासिङ्टन डीसी, जापानको टोक्यो, अस्ट्रेलियाको सिड्नी, इन्डोनेसियाको जकार्ता, थाइल्यान्डको बैँकक, ओमानको मस्कट, कम्बोडियाको नोमपेन्ह, क्युबाको हवाना, गुयानाको जर्ज टाउन, गिनीको कोनक्री, गिनी बिसाउको बिसाउ, गैवनको लिवरविल, ग्याम्बियाको बान्जुल, घानाको अकरा, ट्युनिसियाको ट्युनिस, टोगोको लोमे, डेनमार्कको कोपेनहेगन, ताइवानको ताइपे, न्युजिल्यान्डको बेलिङ्टन, निकारागुवाको मानागुवा, नेदरल्यान्ड्सको एमस्टर्डम, पनामाको पनामा सिटी, पपुआ न्युगिनीको पोर्ट मोरेस्बी, पोर्चुगलको लिस्बन, पेरुको लिमा, फिनल्यान्डको हेलसिन्की, फिलिपिन्सको मनिला, बेनिनको पोर्टो नोवो, ब्रुनाईको बन्दर सेरी बेगावान, बेलिजको बेलमापान, मलेसियाको क्वालालम्पुर, माल्दिभ्सको माले, मौरसिसको पोर्ट लुई, मेडागास्करको एन्टातनानाराइव, मोजाम्बिकको मबुतो, मोरक्कोको रवात, मौरसिानियाको न्वाकचोऐट, युगान्डाको कम्पाला, युनाइटेड अरब इमिरेट्सको अबुधावी, लाइबेरयिाको गिनीको खाडी, लिबियाको त्रिपोली, लेबनानको बेरुत, भेनेजुएलाको केरकस, श्रीलंकाको कोलम्बो, स्वीडेनको स्ट्ाकहोम, सिंगापुरको सिंगापुर, सियरालिओनको प्रिटाउन, सुरनिामको परमारबिो, सेनेगलको डकार, सोमालियाको मोगाडिसु, यी सबै देशका राजधानी समुद्री तटमा नै रहेका छन्। केही अपवादलाई छोड्ने हो भने केही देशका राजधानी समुद्री तटभन्दा केही किलोमिटरको दूरीमा मात्रै रहेका छन्। मलाई प्रश्न गर्न मन लागेको छ- सहर र सभ्यताबीच जति प्रसंग उठ्छ, सहर र समुद्रबीच किन त्यति कुरा उठ्दैन? सहरलाई समुद्र नभई हुँदैन र समुद्री तटमा जति व्यापार फस्टाउँछ, त्यसले सहरलाई नपोसी छोड्दैन।

हरेक मानिसभित्र एउटा सहर उमि्रएको हुन्छ, हुर्केको हुन्छ, सपि्रएको हुन्छ। उसलाई सहरले त्यसरी बेरेको हुन्छ, जसरी ऐँजेरुले सग्लो र सद्दे रूखलाई बेरेको हुन्छ। ऊभित्र सहर यसरी लपेटिएको हुन्छ, जसरी चिप्लेकीराहरू लेकका चिसा ढुङ्गाहरूमा गजबले लपेटिएका हुन्छन्। सहरप्रतिको अद्भुत मोह र लिप्तपन नै त्यसको एक मात्र कारण हो भन्ने लाग्छ मलाई। बरु, शरीरमा टाँसिएको जुकालाई टिपेर पन्छाउन सकिन्छ तर मानिसभित्र पलाएको सहर-मोहलाई टिपेर फ्याँक्न सकिँदैन। कति विडम्बनापूर्ण छ यो विषय।

हो, म नढाँटी भन्छु- मलाई सहरले दिनप्रतिदिन निल्दै लगिरहेको छ। सहरको हावाले मलाई दिनदिनै मुटु कँपाउने स्पर्श प्रदान गर्दै गइरहेको छ। सहरले निल्न थालेपछि मैले गाउँको चिसो र उदात्त चेहराबाट आफूलाई पूर्णतः विमुख तुल्याउन पुगेको छु। गाउँमा चिसा हावापानी, खोलानालाको सर्सराहट, उकाली-ओरालीको रमणीयता, देउरालीको मीठो मुस्कान, फेदीको गुन्जन, आदमाराको आनन्द, भञ्ज्याङको भुनभुन, बेसीको बिलौना, लेकको लोभलाग्दो पर्यावरण, शिखरको सुन्दरता, नागबेली गोरेटोको गहनता, दोबाटोको दिव्य रूप, डगरको सौन्दर्य, खहरेको सन्नाटा, खोल्सीको मधुर मुस्कान, कन्दराको चकमन्नता, पखेरुको दिव्यता- हो, सहरको हावाले गहन स्पर्श गर्न थालेपछि, सहरले मनभित्र, तनभित्र बस्ती बसाल्न थालेपछि मैले यी कुराहरू क्रमशः गुमाउँदै गइरहेको छु, यी कुराहरूको अभाव झेल्दै गइरहेको छु।

कसरी टाढा रहूँ म सहरदेखि? सहरलाई शतप्रतिशत पिउँदै म यिनै कुराहरूमा घोत्लिरहेको छु। थाहा छैन, कहिलेसम्म घोत्लिनुपर्ने हो मैले ?

नेपाल साप्ताहिक ४२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *