Skip to content

नाइल किनारका असजिला जोडीहरू

  • by


हिजै मात्र मित्र सुरेन्द्र मैनाली र म खार्तुम आइपुगेका थियौँ, डारफरबाट। इजिप्ट र जोर्डन घुम्न जाने क्रममा बाटो परेको थियो खार्तुम। १८ मे अर्थात् आजै रातीको ११ बजेको पलाइटबाट इजिप्टका लागि उड्नु थियो खार्तुमबाट। मक्का आँखा अस्पतालको नजिकैको इन्डिया हाउसमा थियो बास। सुडानको खार्तुममा पनि व्यापारमा आपनो पकड बनाउन सफल रहेछन् भारतीयहरू। सस्तो र नेपाली खानाको स्वादले गर्दा खार्तुम यात्रामा लगभग सधैँ बास इन्डिया हाउसमै हुन्थ्यो हाम्रो। खार्तुम बारम्बार आइरहनुपर्ने र हरेकपटक बिदामा नेपाल आउँदा-जाँदा एकपटक वा दुई दिन खार्तुममै बास पर्ने बाध्यता भएकाले गर्दा खार्तुम डुल्ने त्यति साह्रो रहर थिएन, हामीमा। फेरि फोटो खिच्न पनि नपाइने र स्वतन्त्र ढंगले कहीँकतै डुल्न पनि नपाइने हुँदा खार्तुम बसाइँ सधैँ एउटा स्वघोषित जेलजस्तो लाग्थ्यो मलाई। तर, दिनभर कोठामा बसेर दिन काट्नु पनि उचित लागेन, त्यसैले आ जेहोस् एकपल्ट खार्तुमलाई हेरहिालौँ न त भन्ने सोचले बिहान १० बजे निस्यौँ होटलबाट।

खार्तुममा आफूखुसी भ्रमण गर्दा अनेकौँ संकटहरू आइलाग्न सक्ने सम्भावना भएकाले ट्राभल एजेन्सीमा सम्पर्क गर्ने निधो गरी ओलम्पिया ट्राभल्समा गई खार्तुम भ्रमणको प्याकेज प्रोग्रामबारे जानकारी माग्यौँ। खार्तुमका लागि त्यस्तो कुनै भ्रमण प्याकेज नभएको जवाफले हाम्रो खार्तुम भ्रमण गर्ने इच्छामाथि पानी बर्सियो। म आश्चर्यमा परेँ। नाइलको किनारमा रहेको यति सुन्दर र ठूलो सहरको पर्यटनको अवस्था देखेर मलाई कताकता नमज्जा पनि लाग्यो। लडाइँका कारण पर्यटकहरू नआउने भएकाले यसको सौन्दर्यपान गर्नेहरू नभएको सुन्दा मलाई खल्लो अनुभूति भयो।

गृहयुद्धले सिर्जना गरेको रहेछ यो अवस्था र अविश्वास। राष्ट्रपति वसीरको प्रशासकलाई विदेशीहरूले आपनो देशको स्थितिको फोटो खिचेर समाचार बनाउलान् भन्ने निकै ठूलो डर रहेछ। सेना, प्रहरी र सरयिा कानुनको मद्दतले वसीरले खडा गरेका रहेछन् सुडानमा त्रासको साम्राज्य।

खार्तुम भ्रमणको कुनै प्याकेज फेला नपरे पनि नाइलको भ्रमण गर्ने इच्छालाई भने मार्न सकिएन। एउटा सभ्यता नै बोकेको नाइलको परत्रिमा नगरी कसरी बाटो लाग्ने ! मनले मानेन तर संकट थियो प्रशासनको। त्यसैले नाइल घुम्ने इच्छा पूरा गर्ने एउटा मात्र बाटो रह्यो हाम्रा अगाडि, त्यो थियो खार्तुममा रहेका यूएनका साथीहरूको सहयोग। आपतका बेला जुक्ति पनि आइहाल्छ। हामीले अनमिस हेडक्वार्टरमा रहेका भाइ नवराज थापालाई फोन गर्यौँ। हाम्रो कुराले उनी पनि हौसिए। विदेशमा नेपाली भेटेर डुल्नुको आनन्द नै छुट्टै। त्यसमाथि पनि एउटै सेवाका व्यक्तिहरू। अफिस छुट्नासाथै नाइलतर्फ जाने कुराकानी भएपछि हामी नवराज भाइको प्रतीक्षामा समय कटाउन थाल्यौँ।

ठीक ४ बजे नवराज भई यूएनको सेतो प्राडो हुइँक्याउँदै आए हामीलाई लिन। भेटमा मीठो अभिवादन साटासाट भयो। गाडीभित्रै रहेछन् शेखर खनाल र राकेश सिंह भाइ पनि। त्यसमा हामी दुई पनि थपियौँ र पाँच भयौँ। त्यसपछि नाइलको किनारतर्फ हान्नियौँ हामी। साँझ पर्न अझ केही समय मात्र बाँकी थियो। साँझको नाइल किनारा कस्तो हुन्छ होला भन्ने कौतूहलले मलाई हिर्काइरहेको थियो। थेम्सको किनारमा जस्तो प्रेमालाप गरिरहेका जोडी भेटिएलान् कि नभेटिएलान्? ड्यानुवको किनारमा जस्तै छिल्लिएर मातिएका जोडीहरू होलान् कि नहोलान्? एउटा रोमाञ्च र एक किसिमको कौतूहल मनको कुनामा बसिरहेकै थियो।

गाडीभित्रै नाइलको माछा खान नाइलपारि जाने निर्णय भयो र नवराजले नाइलको पुलमाथिबाट दौडाए गाडीलाई। यस निर्णयमा सुरेन्द्र र म हावी भएका थियौँ। हामी दुईले नवराज, शेखर, राकेशभन्दा उमेरका दुइटा भोटा बढी फटाएका हुनाले हाम्रो निर्णयमा उनीहरूले हस्ताक्षर गरे। गाडीभित्र नेपाली कुरामा नेपाली हाँसो छुट्यो बारम्बार, प्रसंगहरू अनेकौँ थिए। जसले जसरी कुरा उठाए पनि निस्कियो संयुक्त हाँसो। केही बेरमा नै नाइलपारकिो सडक रेस्टुराँमा पुग्यौँ हामी।

सडकका किनारामा लहरै थिए माछा पसल, हाम्रो मलेखुमा जस्तै। सडक किनाराकै एउटा टेबुलमा बस्याँै र माछाका विभिन्न परकिारहरूको अर्डर दियौँ। तापक्रम ४५ डिग्री भए पनि नाइलको हावाले गर्दा आत्तिनुपर्ने अवस्था थिएन। कोक र स्प्राइटसँगै नाइलको माछाको स्वाद लियौँ नेपाली गफमा। ह्वीस्की र बियरको अस्तित्व नभएको देश भएकाले पाँचै जनाको त्यस विषयतर्फ ध्यान गएन। गर्मीका कारण बियरको छोटो चर्चासम्म चल्यो तर बियर प्रतिबन्धका कारण वसीरले गाली खायो हाम्रो। यथेष्ट माछा भोजनपछि बल्ल हामी लाग्यौँ नाइल किनारको यात्रामा।

सूर्यको अस्तित्व क्षितिजको डिलबाट ओर्लनुअघि नै नाइलको किनारको पार्किङ्मा पुगेर हाम्रो गाडी रोकियो। पाँचै जना गाडीबाट झर्यौं। नाइल नदीको किनारैको सडकमा रहेछ राष्ट्रपति वसीरको भव्य दरबार। हामी वसीरकै दरबारको बाटो किनारैकिनार केही तलसम्म आयौँ। दरबारको वरपर सुरक्षा व्यवस्था निकै कडा रहेछ। दरबारको ढोकादेखि दुवैतर्फको किनारमा ठूल्ठूला झ्याम्म परेका रूखहरू थिए। रूखको फैलावटले सडकको केही भाग छोपुँलाझैँ गरेको थियो। ढोकामा हाम्रो पुरानो राजदरबारमा पहरा बस्ने पालेजस्तै रातो छुट्टै खालको पोसाकमा उभिएका थिए दुई जना हतियारधारी राजकीय सैनिक। अरू ५/७ जना हतियारधारीहरू घुमिरहेका थिए, वरपर। हामीले ठाडो आँखाले सीधै दरबारतर्फ हेरेनौँ। हामीलाई त्यतातर्फ हेर्न नजानिँदो किसिमको डरले छेकेको थियो।

किनारका केही भागहरूमा चक्कर लगाएर ठाउँठाउँमा दुई जना बस्न मिल्ने गाडिएका काठका बेन्चीहरू थिए। ती बेन्चीहरूमा केही जोडीहरू छोयो भने जात जान्छझैँ गरी बसेका थिए र प्रेमका कुराहरूभन्दा पनि शालीन संवाद गरिरहेझैँ देखिन्थे। मलाई ती जोडीहरूको फोटो खिच्ने इच्छाले सताएको थियो तर भाइहरूको खबरदारीले ब्यागबाट क्यामेरा झिक्ने आँट भएन। वसीरको दरबारअगाडि आएर फोटो खिच्दा क्यामेरा खोसिएसम्म त सहन सकिएला तर अन्य ठूलै दशा लाग्यो भने त बचाउने कसले! मैले एकपटक घरपरविारलाई सम्भिएँ र क्यामेरामा हातसमेत लगिनँ।

ती सन्ध्याकालीन जोडीहरूको नजिकैबाट गुजि्रयौँ हामी पाँचै जना। कोही चौरमा दुईतिर हात टेकेर बसेका थिए त कोही बेन्चीको एक छेउ र अर्को छेउमा। हुन त उनीहरू एकअर्कामा प्रेम गरिरहेका थिए तर उनीहरूको बसाइको अवस्था हेर्दा मलाई एकदमै अप्राकृतिक लागिरहेको थियो। यद्यपि, वसीर महोदयलाई यति गफ गर्न दिँदा पनि ठूलै स्वतन्त्रता दिएको छु भन्ने लागिरहेको थियो होला। तर, मलाई भने तिनीहरूको प्रेमभन्दा पनि पीडाले पोलिरहेको थियो। प्रेम गर्दा अँगालै हालेर हिँड्नुपर्छ, छाडा भएर हिँड्नुपर्छ भन्ने मेरो मान्यता होइन तर महिलाले पाइन्ट लगायो भनेर ४० कोर्रा हान्न आदेश दिने वसीरको ती क्रूर न्यायाधीशहरूको न्याय देखेर भने मलाई रिस उठिरहेको थियो।

ती जोडीहरूमा खुसीभन्दा बढी डर पढिरहेको थिएँ म। तिनीहरूको संवाद नबुझे पनि उनीहरूको अप्ठ्यारो महसुस गरिरहेको थिएँ म। वसीरका ती सैनिकहरूको गाला पड्काएर उसकै दरबारअगाडिबाट महिलाहरूको पाइन्ट जुलुस गर्न मन लागेको थियो तर यो कुरा पनि मेरो मनभन्दा बाहिर निस्कन सकेन।

नाइलको किनारैकिनार हिँड्दै हामी फेरीमा पुग्यौँ। फेरीमा नाइल यात्रा गर्ने इच्छा सबैमा थियो तर फेरीमा चालकहरू थिएनन्, दुई जना कुरुवाहरू मात्र थिए। यतिखेर नाइलको पानीमाथि पुगिसकेका थियौँ हामी। त्यहाँबाट उत्तरमा देखिने नाइलको पुलको सुन्दरताले हामीलाई खिच्यो। जे परे नि पर्ला नाइलको फोटो लिउँ भन्ने निचोडमा पुगेर क्यामेरा झिकेँ। फोटो खिच्नुभन्दा पहिला फेरीको स्थानीय व्यक्तिलाई हातको भाउ लगाएर फोटो खिचौँ भनेर सोध्दा उसले हुन्छ भनेपछि केहीबेर जारी भयो हाम्रो फोटो सेसन। भटाभट सबैको क्यामेराले खिच्यौँ नाइलको किनारमा फोटाहरू। उसैले खिचिदियो हामी पाँच भाइको नाइल किनारमा फोटो। सायद ऊ पनि वसीरविरोधी पो थियो कि! हामीले वसीरको दरबारकै अगाडि वसीरको नियमको उल्लंघन गर्यौँ। वास्तवमा त्यो फोटो खिच्नु हाम्रो कुनै अपराध थिएन तर देखेको भए वसीरको नजरमा त्यो ठूलो अपराध ठहरन्िथ्यो। मलाई रिस उठिरहेको थियो वसीरको यस प्रतिबन्धसँग। रिसको झोँकमा वसीरलाई नै ढालिदिने जोक पनि भयो। विस्तारै अँध्यारोको साम्राज्य बढ्न थालेपछि हामी पाँचै भाइ लाग्यौँ नाइल किनारबाट इन्डियन हाउसतर्फ। बाटोभरि मलाई त्यो चौरमा र बेन्चीमा बसेका प्रेमीहरूको अप्ठ्यारो अवस्थाले च्वास्स च्वास्स घोचिरह्यो।

म सोचिरहेको छु कहिले मुक्त होलान् ती प्रेमीहरू वसीरको निरंकुश पञ्जाबाट? कहिले पूरा होलान् ती महिलाहरूको पाइन्ट लाउने रहरहरू वसीरको कानुनको दफाहरू च्यातेर? कहिले हाँस्लान् उन्मुक्त हाँसो ती निर्बोध सुडानीहरू वसीरको बन्दुक र बारुदको डर र त्रासबाट स्वतन्त्र भएर? मलाई प्रत्येक उत्पीडित सुडानी महिलाहरूको चिन्ता लागिरहेको छ, मलाई प्रत्येक सुडानी प्रेमीहरूको माया लागिरहेको छ, मलाई त्यो निरंकुश कानुन र वसीरको मृत्युदण्डको फर्मानहरू रोक्ने रहर जागिरहेको छ। सायद कतै न कतैबाट कुनै न कुनै अवतार ओर्लनैपर्छ सबै सुडानीहरूको अनुहारमा हाँसो छाउन। सबै सुडानीहरूले स्वतन्त्रता र स्वाभिमानको गीत गाउन ।

नेपाल साप्ताहिक ४२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *