Skip to content


म प्रेमको कुरा गर्छु
तिमी युद्धको
विपरीत ध्रुवमा उभिएका हामी
कसरी एउटै विन्दुमा उभिन सक्छौँ ?
मसँग प्रेम गर्ने मुटु छ
तिमी भन्छौ, मसँग युद्ध गर्ने हतियार छ
अब भन
मुटु र हतियारलाई
कसरी मूल्यांकन गर्छौ ?

म प्रेम ठूलो भन्छु, तिमी युद्ध
त्यसैले आऊ एकपटक वैचारिक युद्ध लडौँ
जित-हार कसको भागमा पर्छ
स्वीकार्न तयार हौँ ।

तिमीसँग युद्ध गर्नलाई
मसँग प्रेमले भरिएको मुटु छ
तिमी भन्छौ- बम, बारुदबिनाको युद्ध
कसरी युद्ध हुनसक्छ ?
मैदानमा रगत नबगे
जित-हारको कसरी टुंगो लाग्छ ?
त्यही पनि एउटा सम्झौता गरौँ
वैचारिक युद्ध लडौँ ।

म पनि मान्छे, तिमी पनि
हाम्रो रगत र मुटु त एउटै हुनुपर्ने होइन र ?
मलाई चोट लागे
तिमीलाई नि दुख्नुपर्ने होइन र ?

सुन, म तिम्रो प्रेमिका
कसरी ममाथि बारुद फ्याक्न सक्छौ ?
त्यही पनि भन्नैपर्दा तिम्रो बम-बारुदभन्दा
कैयौँ शक्तिशाली
प्रेमले भरिएको मुटु मसित छ
भन, यो मायालु मुटुलाई तिमी बम-बारुदले
कसरी क्षतविक्षत बनाउन सक्छौ ?

त्यसैले प्रिय,
एकपटक वैचारिक युद्ध लडौँ
प्रेमको युद्ध लडौँ
प्रेम-प्रेमको युद्ध लडे
एउटा बुद्ध जन्मन सक्छ
बम-बारुदको युद्ध लडे
बुद्धको अस्तित्व मेटिन सक्छ
म तिमीमा समर्पित हुन तयार छु
गर्भाधानका लागि
यदि फेरि बुद्ध
यही माटोमा जन्मन्छ भने ।

नेपाल साप्ताहिक ४२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *