मिनिबस्मा झकाएछौं, सुस्तसुस्त जाग्न थाल्यौं
केबुलकार चढेपछि माथिमाथि भाग्न थाल्यौं
त्रिशूलीलाई तलै छोडी हावासँग कावा खाँदै
देवीसँग दयादृष्टि विनम्र भै माग्न थाल्यौं
सिसौघारी, खोला, बगर एकैचोटी देख्न थाल्यौं
भावनामा पग्लिएछौं कविता पो लेख्न थाल्यौं
सुँइयँ उड्दा केबुलकार लाग्न थाल्यो झन अपार
निर्माताको पौरखलाई पाखैभरी भेट्न थाल्यौं
पहेँलपुर फाँट हेर्दै टावरहरु गन्न थाल्यौं
भीरमाथि झस्किएछौं अलि नजिक बन्न थाल्यौं
सुन्तलाका घारीमाझ टपटप सेता घर
स्वर्गतिर लागियो कि तल हेर्दै भन्न थाल्यौं
बोडिमस्याङ कान्लाभरि जेलिएको हेर्न थाल्यौं
गामबेसी भीरखोल्सी सम्झनामा बेर्न थाल्यौं
मनको इच्छा पुर्याइदिने माईसामु पुगेपछि
प्रार्थनाका स्वर फिँजाई आरतीले घेर्न थाल्यौं ।