Skip to content


म साधारण परिवारमा जन्मेँ-हुर्कें। अर्को शब्दमा भन्दा म सडकछाप मानिस हुँ। मेरो शिक्षादीक्षा पनि साधारण देहाती विद्यालय र गाउँले परिवेशमा भएको हो। म जन्मिँदा शिक्षाको प्रकाश मेरो गाउँसम्म पुगेको थिएन। मेरो जिल्ला सर्लाहीमा सम्भवतः एउटा पनि हाइस्कुल थिएन। मेरो छिमेकी गाउँमा एउटा ‘मिडल’ स्कुल थियो, जहाँ ७ कक्षासम्म पढाइ हुन्थ्यो। फलतः मलाई विदेशिनुपर्‍यो। मेरो गृहगाउँ सिसौटियामा कुनै प्रकारको व्यवस्थित प्राथमिक विद्यालय पनि थिएन। नेपाल-भारतको सीमाञ्चल गाउँ दसगजापारि सोनबरसामा अवस्थित नन्दीपत जीतु हाइस्कुलमा अध्ययन गर्नका लागि पुगेँ। म एकैचोटि ९ कक्षामा नामांकन गर्न पुगेँ। त्यसबखत म्याट्रिक शिक्षा ११ कक्षासम्म हुने गर्थ्यो। मेरा लागि त्यो अपरििचत एवं अन्जान क्षेत्र थियो।

सर्लाही जिल्लाको सदरमुकाम मलंगवा सीमावारि र सोनबरसा सीमापारि थियो र बीचमा दसगजा लम्पसार थियो। मलाई दसगजाको महत्त्व पनि थाहा थिएन। वारि र पारमिा राजनीतिक रंग र रेखामा अंकित भए पनि भाषा, संस्कृति, जीवनशैली, खानपिन र बोली-व्यवहारमा कुनै फरक थिएन। विदेशी भूमिमा अध्ययनरत छु भन्ने कुनै आभास र अनुभूति पनि नहुने। यो एउटा साधारण हाइस्कुल थियो र त्यस इलाकामा त्यसको आफ्नो छवि थियो। म्याट्रिक परीक्षा उत्तीर्ण गरेपछि कलेजमा पढ्ने चाख र चासो पनि बढेर गयो। किनभने, म प्रथम श्रेणीमा उत्तीर्ण हुन पुगेको थिएँ। परविार पनि प्रसन्न थियो। परिणाम प्रथम श्रेणी भएकाले दाजुहरू बढी उत्सुक र उत्साही हुनुहुन्थ्यो पढाउनका लागि। मेरो पिताज्यूको म बालक छँदै स्वर्गवास भइसकेको थियो। उहाँको मृत्यु कृष्णाष्टमीको शुभ दिनमा भएको थियो। घरमा श्रीमद्भागवत्गीताको महायज्ञको अन्तिम दिनमा कथा श्रवण गरेर प्रसाद ग्रहण गरेपछि उहाँको प्राणपखेरु उडेर गएको थियो। यसको अलिअलि सम्झना मात्र मलाई थियो। तसर्थ, दाजुहरू बढी माया गर्न थाल्नुभएको थियो।

मेरो विवाह पनि बाल्यकालमै भएको थियो। मेरा दाजुहरूले प्रण गर्नुभएको थियो कि तिमी विवाह गरहिाल, हामी तिमीलाई जहाँसम्म पढ्छौ, पढाइ खर्च दिन्छौँ। हामी दुई जना दाजुभाइको सँगै एउटै परविारमा विवाहको निर्णय उहाँहरूले गरसिक्नुभएको थियो। सामाजिक प्रतिष्ठा बचाउनका लागि म बलिको बोको भएको थिएँ। म कलेजमा पढ्नका लागि पहिलोचोटि काठमाडौँ आउन वीरगन्ज पुगेँ। तर, त्यसबखत वीरगन्जबाट काठमाडौँसम्म बससेवा सञ्चालित थिएन। वीरगन्जबाट अमलेखगन्जसम्म रेलको यात्रा गर्नुपर्ने र त्यहाँबाट पैदल हिँडेर काठमाडौँ पुग्नुपर्ने। मैले आँट गर्न सकिनँ, घर फर्कें। परविारको सरसल्लाहमा श्री राधाकृष्ण गोयनका कलेज सीतामढीमा नामांकन गर्न पुगेँ। दुई वर्षसम्म त्यही कलेजमा अध्ययन गरेर द्वितीय श्रेणीमा आईए पास गरँे। कुनै पनि विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन सकेनन्। तमलोपाका वर्तमान अध्यक्ष महन्थ ठाकुर सोही कलेजमा मेरो सहपाठी हुनुहुन्थ्यो। आईए पास गरेपछि बीए पढ्नका लागि पहिलोचोटि काठमाडौँमा आएँ, त्यो पनि हवाईमार्गबाट। यो मेरो जीवनको पहिलो हवाई यात्रा थियो। काठमाडौँमा आएपछि संयोजनको समस्या खेप्नुपर्‍यो र निराश भएर यहाँबाट फर्किनुपर्‍यो। फर्किने दिन मौसम अनुकूल थिएन। वर्षा ऋतु थियो र बाटो चारैतिर बन्द थियो। हवाईमार्ग पनि अवरुद्ध थियो। छिमेकी राष्ट्र भारतमा नामांकनको बेला थियो। त्यहाँ नामांकन र संयोजनको सम्भावना क्षीण हुन गएकाले उतैतिर जाने विचार गरेँ। बाटो बन्द भएकाले पैदलै जाने निश्चय गरेँ। थानकोटसम्म त कुनै समस्या भएन। त्यहाँबाट पैदल जाने कम्मर कसेँ र चितलांग, भैँसे र भीमफेदी भएर वीरगन्ज हुँदै रक्सौलमा रेल समातेर पुगेँ फेरि सीतामढी। सीतामढीसँग जगद्जननी सीताको नजिकको साइनो रहेछ। भारतीयहरूको त विचार के छ भने सीतामढीमा नै सीताको जन्म भएको हो र त्यहाँ पढ्ने नेपालीहरू पनि त्यस्तै धारणा राख्थे। त्यसबखत नेपाली र भारतीयहरूको कुनै विचार नै गरिन्नथ्यो। सबै एउटै भूगोलमा आबद्ध भएजस्तो अनुभूत हुन्थ्यो। बीए ‘अंग्रेजी प्रतिष्ठा’मा नामांकनका बेला बास खोज्न दरभंगासम्म पुगेको मैले कहिल्यै बिर्सन्नँ। तर, त्यहाँ होटलमा बास पाइएन। मुजफ्फरपुरमा एक जना गाउँले साथीसँग एउटा साधारण होटलमा बस्ने मौका जुर्‍यो। त्यसको नाउँचाहिँ विदेशी थियो, ‘होटल डी पेरिस’। तारे होटल त अहिलेसम्म छैन। त्यसबखतको कुरा के गर्ने ? तारे होटलको नामसम्म पनि सुनेको थिइनँ। एमए पास गरुन्जेलसम्म कुनै तारे होटलमा बस्ने मौका पाएको थिइनँ।

मैले एमए सक्दा काठमाडौँमा पाँचतारे होटल सोल्टी भर्खरै खुलेको थियो। एकदिन हामी चार-पाँच जना साथी सामूहिक रूपमा चिया खान सोल्टी होटलमा गएका थियौँ। प्रतिकप पाँच रुपियाँ तिर्नु परेको थियो। हो, पाँचतारे होटलमा प्रवेश गरेको र चिया पिएको पहिलोपटक त्यही थियो। हामीहरूमा गर्वको अनुभूति भएको थियो, त्यतिबेला। हामी दिवाभोज र रात्रिभोज खाने हैसियतमा नै थिएनाँै पाँचतारे होटलमा। तसर्थ, चिया पिएर नै सन्तोष गर्नुपरेको थियो। त्यसपछि पद्मकन्या कलेजमा प्राध्यापन पेसा अँगालेको समयमा एक्लै भएकाले राम्रो होटलमा गएर खाने र संगीत सुन्ने गर्थें। होटल थियो, रत्नपार्कनजिक अवस्थित ‘पार्क होटल’। स्थानीय पद्मकन्या कलेजमा पढाउँदा पढाउँदै ‘कोलम्बो प्लान’ अन्तर्गत विद्यावारििध उपाधिका लागि मेरो चयन भएको थियो। दिल्ली विश्वविद्यालयमा नामांकन हेतु म हवाईमार्गबाट इन्डियन एयरलाइन्सको ठूलो विमानबाट बनारस हुँदै दिल्ली पुगेँ। दिल्ली हवाई अड्डामा मलाई स्वागत गर्न भारतीय सांस्कृतिक सम्बन्धन परष्िाद्का एक जना पदाधिकारी आएका थिए। र, उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल गेस्टहाउसमा बासको व्यवस्था मिलाएका थिए। मलाई जहाँसम्म सम्झना छ, त्यो पनि तारेहोटल थिएन, पाँचतारे (फाइभ स्टार)को के कुरा गर्ने ?

दिल्ली विश्वविद्यालयमा दर्ता भएपछि एकचोटि रोयल नेपाल एयरलाइन्समा कार्यरत उच्च अधिकृत बीआर सिंह दिल्ली पुग्नुभयो र उहाँ बस्नुभएको होटलको नाम थियो, जनपथ होटल। मलाई अहिलेसम्म यकिनसाथ थाहा छैन, त्यो कति तारे होटल थियो। त्यसपछि सन् १९७५ को जुलाई महिनामा संयुक्त राज्य अमेरकिा जाने क्रममा थाइल्यान्डको राजधानी बैँककमा फाइभस्टार होटल फस्र्टमा बास बस्ने अवसर पाएको थिएँ। संयुक्त राज्य अमेरकिाको हवाई राज्यको राजधानी होनोलुलु अवस्थित कैमोनोबीच होटलमा हाम्रो बसोबासको व्यवस्था चार साताका लागि गरिएको थियो, जुन फाइभ स्टार होटल नै थियो। एक्लै बस्दा बढी खर्चिलो हुने भएकाले केही दिनपछि श्रीलंकाका सहभागी साथी फर्नेन्डोसँग बास बसेँ। होटल बाइकीकी समुद्री किनारमा अवस्थित थियो। होनोलुलु प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। त्यस्तो सुन्दर रमणीय ठाउँमा बसेको फाइभ स्टार होटलको सबैभन्दा लामो अनुभव थियो, मेरो। होनोलुलुमा अवस्थित त्यो होटलको बसाइ र रोजाइ ‘इस्ट वेस्ट सेन्टर’को सौजन्यमा सम्भव भएको थियो। होनोलुलुबाट फर्कने क्रममा जापानको प्राचीन राजधानी कियोटोमा अवस्थित रोयाल होटलको दुई रातको बसाइ पनि अविस्मरणीय नै भयो। यो व्यवस्था गरेको थियो जापान कम्युनिकेसन इन्स्िटच्युटले। अमेरकिाको होटलभन्दा पनि बढी सुविधासम्पन्न थियो कियोटोको होटल। बैँककको बाटो फर्कंदा एक रात फेरि पनि बास बस्नुपर्‍यो। त्यो होटलको नाउँ थियो, ‘एसिमा होटल’। फाइभ स्टार होटलको यो अनुभवमा म धेरै रमाएको थिएँ।

अमेरिकी फूलब्राइट छात्रवृत्ति अन्तर्गत मेरो चयन भएको थियो ‘पोस्ट डक्टरल रिसर्च’का लागि। त्यो अनुसन्धान आयोजन एक सेमेस्टर अर्थात् पाँच महिनाका लागि प्रायोजित हुन्छ तर मलाई एक महिनाका लागि अरू थप अवधि प्रदान गरिएको थियो। मेरो विश्वविद्यालयको नाम थियो, इन्डियाना युनिभर्सिटी ब्लुमिग्टन। अमेरकिाको राजधानी वासिङ्टनमा हामीलाई अमेरिकी जीवनशैलीसित परििचत गराउनका लागि पाँच दिवसीय कार्यक्रमको आयोजन गरिएको थियो। त्यस कार्यक्रमको नाम थियो, ‘डिस्कभर अमेरकिा’। हामी सहभागीहरूका लागि बास बस्ने व्यवस्था गरिएको थियो न्यु हामसायर एभेन्युस्थित ‘द कार्लाइल सुइट’, जुन फाइभ स्टारभन्दा पनि बढी सुविधासम्पन्न थियो। एक्लो मानिसका लागि सुविधाचाहिँ दुनियाँभरको थियो। टेलिभिजन, टेलिफोन र म्युजिक सिस्टमसहितको रेडियो तथा फिल्म। त्यो मात्र होइन, पाक्शाला पनि थियो त्यहाँ। यस सुइटबाट अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस प्रस्टै देखिन्थ्यो। फाइभ स्टारको कोठा व्यवस्थाभन्दा फरक किसिमको व्यवस्था थियो।

सार्कको जन्मस्थल बंगलादेशको राजधानीको सातचोटिको भ्रमण सिलसिलामा दुईचोटि ढाकास्थित फाइभ स्टार होटलहरू ‘सेराटन’ र ‘सोनार गाउँ’मा बास बस्ने अवसर प्राप्त भएको थियो। सोनार गाउँ होटलको एउटा सांस्कृतिक पक्ष स्मरणीय हुन गयो। हरेक साँझ बंगाली संगीतको सुमधुर कार्यक्रमको समुचित एवं नियमित व्यवस्था। छिमेकी मुलुक श्रीलंकाको राजधानी कोलम्बोस्थित होटल इन्टरकन्टिनेन्टलको एक महिना लामो बास अति आनन्ददायी लाग्यो तर लगातार एक महिनासम्म उक्त होटलमा खाँदाखाँदा हैरान पनि भइयो। एउटै किसिमको खानाबाट वाक्क पनि लाग्यो तर पनि समुद्रको किनारस्थित त्यो होटल अति आरामदायक थियो।

छिमेकी मुलुक पाकिस्तानको भुर्बनस्थित फाइभ स्टार होटलको सप्ताहव्यापी बास पनि स्मरणीय छ। शिक्षासम्बन्धी गोष्ठीमा सहभागी भएकामा अपार सन्तोषको अनुभूति भएको थियो। फर्किंदा इस्लामावादस्थित होली डेइनको सुमधुर भोजन एवं आवास अति नै आनन्ददायी सावित भयो। सन् २००४ फुकुओका एसियाली पुरस्कार ग्रहण गर्न जाँदा त्यहाँस्थित निको होटलको पाँचदिने बास, दिवाभोज र रात्रिभोज स्वर्गीय सुखभन्दा कम थिएन। त्यहाँको सुइटमा बस्दा साह्रै आनन्दानुभूति भएको थियो। सपत्नी सुइटमा बसेको त्यो पहिलो र अन्तिम अवसर थियो। ट्रिनिडाडको हिल्टन होटलको अनुभव पनि कम रोमाञ्चकारी थिएन। अवसर थियो पञ्चम् विश्व हिन्दी सम्मेलनमा सम्मानित हुने कार्यक्रममा सहभागी हुने। यस कार्यक्रममा विश्वभरकिा हिन्दी भाषा-साहित्यका प्रमुख सर्जकहरूलाई सम्मान प्रदान गरिएको थियो।

फाइभ स्टार होटलको आवासको अन्तिम अनुभव थियो, अस्ट्रेलियाको सिड्नीस्थित ‘होटल ग्य्रान्ड स्विस’को। म राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त थिएँ। यस होटलमा पनि मलाई सुइटको सुविधा प्रदान गरिएको थियो। त्यो होटलको सुइट र फुकुओकास्थित ‘निको होटल’को सुइटमा धेरै समानता थियो। सुइटमा सम्पन्न तीन कोठा म एक जनाका लागि आवश्यकताभन्दा बढी। सम्पन्न र सुविधासम्पन्न। यस प्रकार सडकछाप मानिसको जीवनमा पाँचतारे होटलको आवासलाई भगवान्को आशीर्वाद मानेर उपयोग एवं उपभोग गर्दा अपार र असीम आनन्दको अनुभूति प्राप्त भएको थियो। ईश्वरको वरदान नै सम्झेर म यी पाँचतारे होटलहरूमा बस्दा विशेष गरेर स्नान गरेपछि अर्चना र अभ्यर्थना गर्ने गर्दथेँ। शेष जीवनमा अब यस्तो फाइभ स्टार होटलमा बास बस्ने व्यवस्था मिल्छ कि मिल्दैन, भन्न सकिन्न। भविष्य अनिश्चित नै हुन्छ।

नेपाल साप्ताहिक ४२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *