Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, जनवरी) तथा प्रकाश श्रेष्ठ सांगीतिक साँझ

  • by
20110110_AcharyaPrabha_News-01


आचार्य प्रभा
जनवरी ९, २०११
डेन्वर कोलोराडो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा प्रस्तुत “प्रकाश श्रेष्ठ सांगीतिक साँझ” यही जनवरी ८ तारिख शनिबारका दिन सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रमको उद्घोषण साबु गदाल कार्कीले गर्नु भएको थियो । उक्त कार्यक्रमको थालनी स्वदेश गान “यो नेपाली शिर उचाली” भन्ने गीतमा अनिषा गुरुङ र अनिता खत्रीले नृत्य प्रस्तुत गरेर गर्नुभएको थियो । कार्यक्रममा पहिलो साँगीतिक/गायन प्रस्तुति एकताका नेपालमा निकै चर्चित भएर युवाहरूको मन जित्न सफल गायक सरोज दत्तले आफ्ना गीतहरू “जूनी जूनीलाई”, “चिसो पानीमा”जस्ता गीतहरू कोशेली स्वरूप प्रस्तुत गर्नु भएर दर्शकहरूलाई निकै रोमान्चित बनाउनु भएको थियो भने गायक सरोज दत्तको गीतियात्राको बारेमा उद्घोषिका साबु गदालले चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न कलाकारहरूले नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्नुहुनेहरूमा “आज हाम्रो भेट भको दिन” मा सन्दिप धानुक, पवन विश्वाकर्मा, प्रज्वलिता शर्मा, प्रीतिना श्रेष्ठ, “गोली शिशाको” बोलको गीतमा प्रज्वलिता शर्मा र सन्दिप धानुक हुनुहुन्थ्यो भने एकल नृत्यमा “आज बाह्र हाते पटुकी” बोलको गीतमा सहारा कार्की, “आहा बनमा फुल्यो फूलै फूल”मा सलोना सिग्देल र “त्रिशुली बगेर नारायणीमा झरेछ” बोलको गीतमा पवन विश्वकर्मा र रश्मी थापा हुनुहुन्थ्यो । स्थानीय कलाकारहरूद्वारा प्रस्तुत नृत्यहरूले दर्शकहरूलाई निकै मनोरन्जन दिएको थियो ।

कार्यक्रमकै शिलशिलामा गायक प्रकाश श्रेष्ठलाई अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले स्वागत तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने अनेसास कोलोराडो च्याप्टरकी सचिव तारा अधीकारीले फूल अर्पण गर्नु भएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा अनेसास कोलोराडो च्यापटरका अध्यक्ष पदम विश्वकर्माले सहयोग गर्नु हुने सबै संघ-संस्था, कलाकारहरू र स्थानीयबासी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो प्रस्तुतिमा सदाबहार गायक प्रकाश श्रेष्ठले आफ्ना पुराना सदाबहार गीतहरू “सफल तिम्रो त्यो जिन्दगीलाई”देखि लिएर फिल्मका चर्चित गीतहरू गाएर दर्शकहरूलाई मुग्ध बनाउनु भएको थियो । वहाँको प्रस्तुतिमा युवाहरू नाँचिरहेका थिए भने वहाँका समकालीन श्रोता र दर्शकहरू पुराना सम्झनामा झुमिरहेका थिए । त्यस्तै चार/पाँच बर्षका बच्चाहरू पनि वहाँसँगै स्टेजमा नाँचिरहेका थिए । यो दृश्य बडो रमाइलो थियो । कार्यक्रमका प्रायोजक कान्तिपुर टेलिभिजन अमेरिकामा प्रसारण बारे टिप्पणी गर्दै उद्घोषिका साबु गदालले अन्य प्रायोजकहरूलाई पनि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा अध्यक्ष पदम विश्वकर्माले सम्पूर्ण प्रायोजकहरू र सहयोगकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम टुँगिएको अवगत गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *