Skip to content
DeepsShah


मान्छे
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन

क्षणभङ्गुर हुन्छ फूलको याम
भन्ने जाँदाजान्दै पनि
मान्छे फूलै ओढेर निदाउन चाहन्छ
यहाँ कोही छ काँढालाई सहर्ष चुम्बन गर्ने?
व्यबहारिक जीवनमा ओठ
तन्काउनसम्म नजान्ने/नसक्ने ‘हंसमुख’
दर्शनमा खित्का छोड्छ
कुरुपदर्शनको “अभाङ्गार्ड”
सुटुक्क लुकेर
सुरा-सुन्दरीको तस्बिरमा च्वाँक्क म्वाइ खान्छ
यहाँ कोही छ चपाइएका अनुहारमा सहृदय चुम्बन गर्ने?

मान्छेले नजानेको के होला!
थाहा छ, विश्वाशको अर्को किनारा हुँदैन
भरोसाको पुल बदली हुँदैन
जीवनको सिमसारमा हरदम संकित मान्छे
बारबार सत्य बिदुषको सपथ लिन्छ
यहाँ कोही छ आत्माको आवाज पच्छ्याउँदै
ढुक्ढुकीको निष्कपट चालमा नाच्ने?
सफलताको सिँढीबाट हरबार गुल्टिएपछि
जीतको दौडमा सय बाजी हारेपछी
पराजित आत्मा बिक्षिप्त भै चिच्याउँछ
चोकमा निस्केर घोषणा गर्छ
“मलाई जित्नु छैन!”
यहाँ कोही छ सत्य स्वीकारोक्तिमा
आत्माको इमान्दारिता ब्यक्तिँदै
पराजयको अनुभूति सबिस्तार बोल्ने?

हँसिलो तस्बिरमा बर्षिने चुम्बनले
ओइलाएको हृदय स्पर्श गर्ला ?
आँखाको दृष्‍य सबै वासन्ती हुन्नन्
तैपनि मान्छे
आधा डढेको कुरुप ‘कोइला जिन्दगीको’ दुहाइ दिँदै
लुकी-लुकी कोपिलाको रङ्ग
चोर्ने दुस्साहस गरिरहन्छ
मान्छे
कुरुप दर्शनको वकालतमा जिन्दगी लतार्दै
सुरुप अनुहारहरूको उपासना गरिरहन्छ
भुलभुलैयाको सागरमा यतै कतै
सत्य बोल्छ, झुट ओकल्छ
रहस्यको आकाशगंगामा रहस्यै भएर
टिल्पिल टिल्पिल गर्छ
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
जिन्दगीको रङमञ्चमा यस्तै यस्तै गरिरहन्छ
मान्छे ।

2 thoughts on “मान्छे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *