Skip to content


पृष्ठभूमिः

सङ्गातीसित रङ्गिँदै ….म कहिले पुग्थें ‘ठूलाकोट’मा
कैले संथर फाँट टारहरूका चित्रे घना गोंठमा,
जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो
जसमा बाल्यविकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।

नेपाली साहित्यका कविशिरोमणिको यो कैशोरकालीन स्मृति हो, सामाजिक यथार्थ चित्रण हो । कविज्यूको जीवनयात्रा उत्तरार्द्ध (वि.सं. २०२०) तिरको प्रस्तुत स्मृति रचनाअन्तर्गत एकातिर उहाँको बाल्यकालीन जीवन आलोक प्रदान गर्ने आधार बुझिन्छ भने अर्कोतिर यो ऐतिहासिकस्थलको सङ्केत गर्ने साधन पनि बनेको छ । राणाकालीन नेपालताक कविशिरोमणि लेखनाथ (१९४१ (२०२२) को जन्मथलो अर्घौं (कास्की-पोखरा) संस्कृतविद्या-वेद, व्याकरण, ज्योतिष आदि शास्त्रको अध्ययन-अध्यापन र शास्त्रचर्चाको सुप्रसिद्ध थलो थियो । जसले गर्दा शास्त्रपरिचर्चाको सन्दर्भमा ‘काशी कि कास्की’ भन्ने लोकोक्ति नै प्रचलित पाइन्थ्यो । यसैले यिनी शिशुकालदेखि नै संस्कृत विद्यातर्फ प्रवेश गराइएका थिए । आफ्ना पाँच भाइहरूमा लेखनाथ जेठा थिए, जेठो-बाठो, बाउ-आमाको दाहिने हात ऊ घरधान्ने गर्दै छोरो सम्झिन्थ्यो । यसैले आफ्नो घर व्यवहारको सामान्य काममा यथाशक्य सघाउनु तत्कालीन परम्परा नै थियो । अतः सात-आठ वर्षको उमेरतिर कोश, व्याकरण आदि पढ्ने कामको साथै घरमाथिको डाँडामा लगी गाईवस्तु हेर्ने-चराउने घास काट्ने जिम्मा पनि अभिभावकबाट बालक लेखनाथलाई सुम्पिएको थियो । यसै क्रममा आउँछ उनको काका नाता पर्ने पण्डित पितृप्रसाद प्रसङ्ग र उनमा भएको कवित्वशक्तिको बीज उद्बोधनको स्वल्प घटना भनेर उत्तम कुँवरले साहित्यमा उल्लेख गरेका छन् ।

हो, आफ्नो जीवनको सात-आठ वर्षे उमेरका लेखनाथ साथी भाइहरूसँग मिली गाइवस्तु हेर्न जान्थे । यता-उता पहाड चहार्थे, घुम्थे र प्रकृतिको उद्दाम छटा निहार्थे, रमाइलोमा मग्न हुन्थे । यसैक्रममा कैले कता उनी ‘ठूलाकोट’ को समथरिलो भञ्ज्याङमा पनि पुग्दथें-यही सङ्केत नै बुझिन्छ यहाँ-‘…….म कहिले पुग्थें ठूलाकोटमा’ इत्यादि । यसरी जमानादेखि नै यो ठाउँ आकर्षणमय, रमाइलो, सुन्दर, उच्चस्थल भएको र लेखनाथको बाल्यकालताक नै पनि खेल्ने, बस्ने र आनन्द लिने सुप्रसिद्ध थलो भएको कुरा यहाँ स्मरणीय छ ।

कोट ः

संस्कृत शब्द ‘कोट’ का धेरै अर्थ बुझिन्छन् । तीमध्ये चुचुरोलाई बुझाउने ‘कूट’ शब्दबाट प्राकृत हुँदै ‘कोट’ शब्द आएको कुरा प्रा. बालकृष्ण पोखरेलबाट बताइएको छ । ‘कोट’ मूलतः राज्यको सीमा-सुरक्षानिमित्त बनाइएको किला वा दुर्ग हो । यसबाहेक उच्च चुचुरोमा रहेको स्थलविशेष पनि हो । जस्तो कि नेपालीमा कोटकी कालिका, कोटकी देवी-द्यौराली इत्यादि भन्ने चलन छदँैछ । त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण हो । जसलाई ‘दुर्ग’ पनि भनिन्छ । ‘दुर्ग’ का किसिम वा प्रकार धेरै बताइएका छन् । विविध दुर्गहरूको चर्चा कौटलीय अर्थशास्त्र तथा मनुस्मृति आदिमा पाइन्छ । यहाँ वनदुर्ग, गिरिदुर्ग, मट्टीदुर्ग आदि मजबुत बनाइ राष्ट्रको सुरक्षा गर्नु, सहर बसाउनु इत्यादि भनिएको छ । साथै यिनमा गिरिदुर्ग, वनदुर्गको विशेष महत्त्व मानिएको पनि बुझिन्छ । राष्ट्रको सवलता र व्यवस्थित सुरक्षाको निम्ति लिच्छविकालमा कोट्ट (कोट) को रूपमा विभिन्न दुर्गस्थलहरू बनाइएको बुझिन्छन् । जसको व्यवस्थापन एवं संरक्षणनिम्ति ‘कोट्टनायक’ पद निर्धारण गरिएको पनि बुझिन्छ । लिच्छविकालिक अभिलेख प्राप्त कोट्ट (कोट) को अध्ययनबाट थाहा हुन्छ-त्यतिखेरका कतिपय कोटहरूको सीमा ठूलो बुझिन्थ्यो र त्यसको परिपालन, नीतिनियम निश्चित थियो । विस्तृत एरिया (क्षेत्र) लिएका ती कोटभित्र निर्धारित बस्ती बसाइएको पाइनुका साथै त्यहाँ खेतीपातीसमेत गरिन्थ्यो । अनि स्थिति बन्देजको मर्यादा कायम गर्न, व्यवस्थित नियम अपनाउन र नियम-व्यवहारमा ल्याउन ‘कोट्टमर्यादा’ कायम गरिएको बुझिन्थ्यो भन्ने कुरा धनबज्र बज्राचार्यले ‘लिच्छविकालका अभिलेख’ पुस्तकमा उल्लेख गरेका छन् ।

यसरी नेपाली जनजीवनमा ‘कोट’ (कोट्ट) को ऐतिहासिकता पुरानो देखा परे पनि यहाँ ‘कोट’ को विशेष चलन वा व्यवहारिक विकास बाइसे-चौबीसे राज्यकाल (१५ औं शताब्दीतिर) बाट हुन पुगेको अनुभव हुन्छ । यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरीबाट संरक्षित हुन आफ्नो मूलथलो (राजधानी) का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ ‘कोट’ मा राजदरबार-गढी बनाउने परम्परा निकै चलेको, लोकपि्रय बनेको बुझिन्छ । फेरि कतैकतै मौसम अनुकूल वर्षे र हिउँदे अर्थात् गर्मी र जाडो समय मिलाई कोट र बेँसीमा राजदरबार पनि बन्न पुगे । यसप्रकार ‘कोट’ शब्दार्थको व्यवहारिकता विस्तारित हुँदै गयो र ‘कोट’ डाँडो वा पर्वतको चुचुरो भन्ने अर्थमा मात्र सीमित नभई नेपालका महत्त्वपूर्ण बस्तीहरूमा समेत जोडिन पुग्यो । (जस्तै ः गल्कोट, चरिकोट, भीरकोट इत्यादि) । यसरी हेर्दा ‘कोट’ शब्द नेपाली लोकजीवनमा निकै जनपि्रय बनी प्रचलित हुनपुगेको यथार्थ अनुभूत हुन्छ ।

ठूलाकोट ः

यस भेकको विशेष महत्त्वपूर्णस्थल मानिएको ‘ठूलाकोट’ प्राचीन दुर्ग वा किल्ला भन्ने बुझिन्छ । हाल यो कास्की जिल्लाअन्तर्गत उत्तरपूर्वी क्षेत्र कालिका गाविसअन्तर्गत पर्ने रमणीय स्थल हो । यसको निकटता कास्कीका ‘राखी गाविस’ र ‘भिजुरे गाविस’ सँग पाइन्छ । जसअन्र्तगत हाल ‘राखी भिजुरे ग्रामीण सडक तयार भएको छ र ‘ठूलाकोट’ यही सडक खण्डको बीचमा पर्छ तर प्रचार-प्रसार तथा महिमाबोध गौरवज्ञानका अभावले गर्दा र मानिसको लगाव नहुनुको कारणले पनि यसको ख्याति न्यून बन्नपुगेको बुझिन्छ ।

अर्को कुरा ः प्रकृति र सौन्दर्य दुबै किसिमले महत्त्व दिएको यो आदर्शमय स्थल हो । अतः पर्यटकीय स्थलका लागि प्रशस्त सम्भावना बोकेको यस ठाउँको समुचित विकास हुनसके यहाँको जीवनस्थरमा समेत राम्रो सुधार आउनसक्ने सम्भाव्यता बुझिन्छ । स्वयं कविशिरोमणिको बाल्यकालताक नै पनि यस भेकमा यो निकै नाम चलेको, चल्ती-फिर्तीको भएको कुरा कविबाट उल्लिखित यसको चर्चा प्रसङ्गबाट बुझिन्छ । जसको सङ्केत माथि नै भइसकेको छ । ‘लेखनाथ नगरपालिका, अर्घौंपौवा’ बजारबाट उत्तरतर्फ करिब तीन-चारघण्टाको दूरीमा यो ठाउँ रहेको छ । करिब दुई हजार मि. को उचाइमा रहेको यस ठाउँबाट दक्षिणभेकमा पोखरा बजार, सात तालहरू र विशाल उर्वर समतल भूमिलगायत देख्न सकिन्छ । अनि उत्तरतर्फ धौलागिरि, माछापुच्छे्र, अन्नपूर्णलगायत हिमशृङ्खलाको लहर देखापर्छ । वास्तवमा अन्नपूर्ण आधारशिविरको अतिरिक्त नजिकबाट हिमशृङ्खला हेर्न सकिने र देखिने उत्तम स्थल नै यो हुन सक्छ । यसबाहेक पूर्वी भेगमा तनहुँ, लमजुङ्ग, गोरखाका जिल्लाहरू र पश्चिमतर्फ स्याङ्जा जिल्लाका रमणीय पर्वतशृङ्खलाहरू देख्न सकिन्छन् । बिहान-बेलुकाको रमणीय दृश्यावलोकनमा सूर्योदय र सूर्यास्तको दृश्यले जो कोहीलाई पनि यसले निकै लोभ्याउने काम गरिरहेको अनुभूत हुन्छ ।

यहाँ भगवान् कालभैरवको प्राचीनतम् मन्दिर पनि छ । ‘कालभैरव’ भगवान् शिवका मुख्य गणमध्ये एक हुन् । यिनको सुप्रसिद्ध विशालमूर्ति काठमाडौँको हनुमानढोकामा रहेको छ र राजा प्रताप मल्लले स्थापित गरेको भनिएको छ । जे होस्, ठूलाकोटमा रहेको यो मन्दिर करिब हजार वर्ष अघिको हो भन्ने भनाइ पुरातत्त्वविद्हरूको पाइन्छ । उहिले कास्केली राजाको समयमा सीमा-सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा पनि निकै महिमाशाली थियो भन्ने कतिपय बूढापाकाहरूबाट सुन्न सकिन्छ । यसरी ऐतिहासिक, धार्मिक र प्राकृतिक हरेक दृष्टिले उल्लेख्य रहेको यो रमणीयस्थल हो । पर्यटकीय आकर्षण- साधन सम्पन्नता जुटाउन सके आजको अवस्थामा यो पर्यटकीयस्थलको रूपमा आउने कुरा निश्चित छ । पुरानो समय अर्थात् वि.सं. १९७८/७९ सालको आसपास यही पर्यटकीयस्थल ‘ठूलाकोट’ मा आफ्ना सङ्गातीहरूको साथ कविशिरोमणि लेखनाथ पौड्याल गाईवस्तु चराउँदै रमाइलो गर्दै घुमफिरमा पुगेका सङ्केत यहाँ छ ।

‘ठूलाकोट’ को विशेष महत्ता र गौरव हरसाल दसैँमा देखापर्छ । हिन्दूसांस्कृतिक परम्परामा दुइटा दसैँ पर्व वा उत्सव सम्मान्य छन्-आश्विनशुक्ल नवरात्र (बडादसैँ), चैत्रशुक्ल नवरात्र (चैतेदसैँ) । यी दुबै दसैँमा यस कोटमा दुर्गाभवानी र भैरवको पूजा हुन्छ । हरसाल बडादसैँको सुरुदेखि नै नवरात्रका नवै दिनहरूमा दुर्गा भवानीको आहृवानसाथ त्रिपाठी थरका बाहुनमार्फत् सप्तशक्ति पाठको साथै विधिवत् पूजाआजा चल्छ । यद्यपि दसैँ नवरात्रको पाठपूजा निम्ति भनेर यहाँ कुनै गुठी वा अलग व्यवस्था भएको आधिकारिक कोष भने छैन तर पनि ठूलाकोटको मूलगुठीबाट उनीहरूलाई स्थानीय गाविस र ठूलास्वाँरासमेतले दक्षिणाप्रदान गर्ने गरेको थाहा हुन्छ । नवरात्र समयमा हुने ठूलाकोटको यो पूजाव्यवस्था वि.सं. २०२१ साल अघि स्थानीय तालुकदारले चलाएको बुझिन्छ । ठूलाकोटमा राँगो काट्ने मौलो अद्यापि छँदैछ, यही मौलोको आधारमा हुनसक्छ- यस कोटको पूजाव्यवस्था चलाउने तालुकदारलाई उहिले ‘मौलोको मुखिया’ भन्ने चलन थियो । वि.सं. २०२९ सालपछि बिस्तारै नवरात्रमा हुने पूजापरम्पराको व्यवस्था गाविसहरू मिलेर चलाउने गरेको थाहा हुन्छ ।

यस पूजाको क्रममा सर्वप्रथम दसैँका फूलपातीको अघिल्लो दिन चोखो खाई शुद्ध बसेका युवाहरूमार्फत् छिमेकी गाउँ डुली फूलपाती ल्याई अर्घौं झाँजरमारे-चण्डीको थान आइपुग्छन् । अनि ठूलाकोट-नवरात्र पूजा गर्ने-गराउने टोलीद्वारा उनीहरूलाई लिन गई स्वागतसाथ फूलपाती भित्र्याइन्छ । अनि नवरात्रभर यहाँ विभिन्न पशुपछीको बलि चढाइ भैरव तथा कालिकाको पूजा हुन्छ । अर्को कुरा ः नवरात्रमा चोखो बसी यथाविधि हविष्य खाई पाठपूजा गरी शान्तभावले बस्ने पुजारीलाई यहाँ ‘उपासक’ भन्ने चलन छ । अनि नवरात्रभर पूजा चलाउने ‘उपासक’ यहीँ कोटमा नै बस्ने व्यवस्था पनि गरिएको छ । कालरात्रि -महाअष्टमी(बलिनवमी) को दुई दिन यहाँ अझ विशेष घचारो हुन्छ । बलि चढाउने त छँदैछन्, सोबाहेक भैरव तथा कालिकाको दर्शन र प्रसादग्रहण गर्ने भनी छिमेकी गाउँलेहरूको पनि यहाँ भीड लाग्छ । यसरी अर्घौं ठूलाकोटका भैरव र कालिका यहाँ सम्मान्य देवीको रूपमा युगौंदेखि विशेष समादरणीय छन् ।

उपसंहार ः

यसप्रकार यो थलो नेपालीहरूको पुनीत हिमालीभेक हो, कैलाश पर्वतको चरन तल भिजेको शिवक्षेत्र हो । यही पुनीतस्थल मानिएको ठूलाकोटको आसपासमा दुइटा प्रसिद्ध प्राकृतिक धारा पनि छन् । तिनलाई ‘छहरे’ र ‘पहरे धारा’ भनी समादर गरिन्छ । बालाचतुर्दशी (शतबीज छर्ने) को दिन यहाँ स्नान गरी शतबीज छर्ने परम्परा पनि छ । यसरी यो भेक पवित्रता र प्राकृतिकताको संवाहक आदर्श थलो बुझिन्छ । साथै यहाँ युगौँदेखि देवीदेवताको, ऋषिमुनिहरूको बास छ भन्ने लोकविश्वास पनि पाइन्छ । यही पवित्रभूमिको उपज भएकोले नै यसभेकले नेपालभर नै विद्वान् परम्परा र कविपरम्परा कायम गर्न सक्षम भएको हो भन्ने लोकधारणा पनि छ । जे होस्, अर्घौंको ‘ठूलाकोट’ पवित्रता र प्राकृतिक सुन्दरता, ऐतिहासिकता र धार्मिकता हरेक दृष्टिले अध्ययनीय छ, दर्शनीय छ । यसबाहेक आजको परिप्रेक्ष्यमा यो पर्यटकीयस्थलको रूपमा पनि मननीय छ, ग्राह्य छ । यसैले आजको अवस्थामा यसको विकास-विस्तार हुनु नेपालीका लागि अपेक्षित छ, लाभदायी छ । यसैक्रममा आफू हुर्केबढेको, खाएखेलेको आफ्नो बसोबास थलोअन्तर्गत हरियालीले सुशोभित ‘ठूलाकोट’ को याद गर्दै र कविजीको बालजीवनी सम्झदै कविज्यूकै वंशजा कवयित्री श्रीमती ओमकुमारी आचार्य यसरी श्रद्धाञ्जलि अर्पण गर्छिन्-

‘तिम्रो जन्मथलो पहाड खहरे-खोला, दिपाङताल त्यो
त्यो सानू मइदान् चहूर हरियो अर्घौं ‘ठूलाकोट’ त्यो
‘आऊलान् नि कवी’ भनेर मनले आशा गरेका थिए
सुन्दा बज्रसमानको खबर त्यो सम्पूर्ण मूच्र्छा भए ।’

कविशिरोमणि लेखनाथ पौड्यालको स्वर्गारोहण वि.सं. २०२२ साल फाल्गुणकृष्ण चतुर्दशीमा भएको थियो ।

सन्दर्भ ग्रन्थ ः

१) धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एसियाली अध्ययन संस्थान, त्रिवि कीर्तिपुर, २०३० ।
२) धर्मराज थापा (सम्पा.), लेखनाथ शतवाषिर्की स्मारिका (२०४०/४१)
३) प्रा.डा. वासुदेव त्रिपाठी, लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन, पाठ्यक्रम विकास केन्द्र त्रिवि कीर्तिपुर २०३४
४) भवानीप्रसाद घिमिरे (सम्पा.), भानु -किरण ८, वर्ष ३) कविशिरोमणि लेखनाथ विशेषाङ्क (२०२३ फागुन ।
५) स्थानीय सूचक व्यक्ति ः जगन्नाथ अधिकारी, कास्की पोखरा, अर्घौं-चिसेपानी ।

2 thoughts on “कविशिरोमणिको अर्घौं ‘ठूलाकोट’”

  1. डा. सुवेदीको लेखमा कबि
    डा. सुवेदीको लेखमा कबि शिरोमणिको कवितामा उल्लेख भएको ‘ठूलाकोट’ शव्दबाट सुरु गरेर समग्र कालिका वरपरको सेरोफेरो समेटने प्रयाश सरानीय छ तर कहि कहि पुराना तथ्य भन्दा फरक कुरालाई समेटन नसकिएको कि जस्तो छ…

  2. डा. सुवेदीको लेखमा कबि
    डा. सुवेदीको लेखमा कबि शिरोमणिको कवितामा उल्लेख भएको ‘ठूलाकोट’ शव्दबाट सुरु गरेर समग्र कालिका वरपरको सेरोफेरो समेटने प्रयाश सरानीय छ तर कहि कहि पुराना तथ्य भन्दा फरक कुरालाई समेटन नसकिएको कि जस्तो छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *