Skip to content

रमेश विकलको जीवनयात्रा र योगदान

  • by


१. विषयप्रवेश

नेपाली आख्यान क्षेत्रका मूर्धन्य व्यक्तित्व रमेश विकल स्थानीय जमिन्दार वर्गको सम्पन्न ब्राहृमण परिवारमा जन्मेर, हुर्केर पनि अग्रगामी चेतना बोकेका अग्रणी प्रगतिशील साहित्यकार हुन् । २००६ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गरेका विकलले छ दशक लामो साहित्यिक यात्राका क्रममा कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, बालसाहित्य र संस्मरणहरू लेखेर सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । कहिलेकाहीँ कविता लेखे पनि विकलको साधनाको मूल विधा गद्य र त्यसमा पनि आख्यान नै हो । उनका कथासङ्ग्रह-७, उपन्यास-४, नाटक-एकाङ्की-५, यात्रासाहित्य-२, आत्मसंस्मरण-२, व्यङ्ग्य निबन्धसङ्ग्रह-१, बालसाहित्य सङ्ग्रह २३ र अनूदित-७, गरी जम्मा ५१ भन्दा बढी कृतिहरू रहेका छन् । उपर्युक्त कृतिबाहेक सङ्कलित हुन बाँकी उनका थुप्रै फुटकर रचनाहरू पत्रपत्रिकामा प्रकाशित छन् ।

शिक्षाशास्त्रमा स्नातक उपाधि हासिल गरी विविध क्षेत्रमा सक्रिय रहेका विकलले सरकारी सेवाका साथै सामाजिक र शैक्षिक क्षेत्रको सेवामा समेत आफूलाई अग्रसर गराएको पाइन्छ । उनी सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक, समाजसेवी एवम् प्राज्ञ व्यक्तित्वसमेत हुन् । नेपाली आख्यान साहित्यका विशिष्ट एवम् विराट व्यक्तित्वका रूपमा उनले राष्ट्रिय स्तरका विविध पुरस्कार र सम्मान पाएका छन् ।

रमेश विकलका कथाहरूको नेपाली पाठ्यक्रममा तलदेखि माथिसम्म नै पठनपाठन हुन्छ । उनका कृतिहरूको विदेशबाट अनुवाद हुने र त्यहाँका पाठ्यक्रममा राखिने क्रमको पनि सुरुआत भएको छ । नेपालमा विकलका पक्षमा विश्वविद्यालयीय र स्वतन्त्र किसिमका विविध अध्ययन-अनुसन्धान भई शोधग्रन्थ र कृतिहरू तयार भएका छन् र अध्ययनका निम्ति उनी एउटा पुस्तकालय नै बनेका छन् ।

रमेश विकल नेपाली साहित्यका दीर्घ साधक, आख्यान साहित्यका यशस्वी स्रष्टा र मूर्धन्य प्रगतिशील साहित्यकार हुन् । उनले नेपाली आख्यान क्षेत्रमा समाजवादी यथार्थवादलाई भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्नुका साथै प्रगतिशील-प्रगतिवादी धाराको नेतृत्व गरेका छन् । प्रस्तुत आलेखमा उनको जीवनयात्रा र योगदानलाई सङ्क्षिप्त रूपमा चिनाउने काम गरिएको छ ।

२. रमेश विकलको जीवनयात्रा

वि.सं. १९८५ साल कात्तिक महिनाको २९ गते भाइटीकाको दिन काठमाडौँको गोकर्ण आरुबारी हालको जोरपाटी गाविस वडा नं. ९ मा पिता चन्द्रशेखर उपाध्याय र माता छायादेवी चालिसेका ज्येष्ठ सुपुत्रका रूपमा रमेश विकलको जन्म भएको हो । विकलको परिवार भान्से बाहुनी, नोकर-चाकर र करिया समेत भएको जग्गाजमिन मोहीलाई कमाउन दिने उच्च खानदानीया वर्गको थियो । विकलका हजुरबा घननाथ उपाध्याय संस्कृतका विद्वान्, सनातनी, नैष्ठिक ब्राहृमण थिए भने बुबा चन्द्रशेखर आधुनिक शिक्षा प्राप्त गरी सरकारी कार्यालयमा काम गनर्ेे राणाहरूका जागिरे व्यक्ति थिए । यही पारिवारिक पृष्ठभूमिमा निरङ्कुश राणाशासकहरूको चरम दबदबा रहेका अवस्थामा रमेश विकलको जन्म भएको हो ।

रमेश विकलको न्वारनको नाम इन्दुशेखर, गाउँघरमा बोलाउने नाम ‘रामबाबु’ र प्रमाणपत्रको नाम रामेश्वर शर्मा चालिसे हो । उनले रवि चालिसेका नामबाट चित्रकला र इन्दुशेखरका नामबाट फाटफुट कविता सिर्जना गरेका पाइन्छ । नेपाली साहित्यका गद्य विधामा भने उनी रमेश विकलका नामले सुरपरिचित भए ।

रमेश विकलका बुबा चन्द्रशेखर उपाध्यायका तीनवटी पत्नी थिए । तीमध्ये माहिली छायादेवीबाट जन्मेका विकलले आफू दुई वर्षको नहुँदै मातृवियोग सहनुपर्‍यो । आमाको मृत्युपछि विकललाई हजुरआमा (देवकुमारी), जेठीआमा र हजुरबुबाले अत्यन्त लाडप्यार दिएर पालनपोषण गरेकाले आमाको अभाव उनले महसुस गर्नुपरेन तापनि उनका अन्तश्चेतनामा मातृवियोगको पीडा रहिरह्यो । यही अवस्थामा १९९० सालमा उनलाई अत्यन्त माया गर्ने हजुरआमाको पनि मृत्यु भयो । यसबाट उनमा ठूलो चोट पर्‍यो । यसपछि उनी हजुरबा, जेठीआमा र विमातृपट्टकिी दिदीका साथमा हुर्के । विकलका जेठी र कान्छी दुवै सौतेनी आमाले उनलाई असाध्यै माया गर्थें भने हजुरबा पनि एक्लो नातिलाई साह्रै नै माया गर्थे । पुगिसरी आएको परिवार, बाबु-बाजेको हैकम र एक्लो छोरो र नाति भएर विकल किशोर अवस्थासम्म पनि निकै नै मात्तिएका थिए । जागिरे बुबाको यायावरीय जीवन र व्यस्तता अनि हजुरबुबाको लाडप्यारका कारण बाल्यअनुशासन उनमा रहेन । बिस्तारै उनी हठी, दम्भी र बदमास हुँदै पनि गएका थिए । यसै क्रममा १९९४ सालमा उनी नौ वर्षको हुँदा विकलको परिवार आरुबारीबाट चाबहिल मैजुबहालमा घरजग्गा खरिद गरी सर्‍यो । यसपछि विकलको बाल्यकाल व्यवस्थित पढाइलेखाइ बेगर चाबहिल र आरुबारी गर्दै बित्यो । यस क्रममा बुबाको विराटनगर (१९९७) र दार्चुला (१९९८) सरुवा हुँदा उनले पनि सँगै जानुपरेकाले उनको यताको पढाइ छुट्यो । १९९७ सालमा १२ वर्षकै उमेरमा आफ्नो इच्छाविपरीत विवाह हुनपुग्दा उनी निकै दुःखी भए । यसै क्रममा २००० सालमा बुबाको जागिर पनि खोसियोे । चाबहिलमा आएपछि उनकी जेठी आमाको मृत्यु भयो भने चाबहिलमै २००४ सालमा राति घरबाट बाहिर निस्कँदा झ्यालबाट लडेर हजुरबाको मृत्यु भयो । यसको दुई वर्षपछि २००६ सालमा बुबाको पनि मृत्यु भयो । यसरी आफू सक्षम नहँुदै विकलमा घरपरिवारको जिम्मेवारी आइलाग्दा उनी निकै दुःखी भए ।

विकल सम्पन्न परिवारमा जन्मेका, हुर्केका भए पनि उनलाई ठूलाबडाहरूले घरमा राखेका नोकर-चाकर र करियाहरूमाथि गरेको सामन्ती व्यवहार मन पर्दैनथ्यो । हजुरबाको नोकरचाकर र गाउँलेहरूमाथिको हैकम र बुबाको राणाशासकप्रतिको चाकरीलाई उनले बुझ्ने भएदेखि नै मन पराएका थिएनन् । एकातिर बाबुबाजे र घरपरिबारले निम्न वर्गप्रति गरेको व्यवहार र अर्कातिर सानैमा आमाको मृत्यु, त्यसपछि हजुरआमा, जेठीआमा, हजुरबुबा र बुबाको मृत्यु भएपछि एक्ला भएका विकल यी घटनाबाट व्यथित (विकल) हुन पुगे । सामाजिक, पारिवारिक अवस्थाको बोध, आफन्तहरूको एकपछि अर्को गर्दै भएको मृत्यु, १९९० सालको भूकम्पको विनास, १९९७ सालको सहिद काण्ड आदि नजिकैबाट देखेका, भोगेका र बेहोरेका विकलको मन त्यसबेला ज्यादै दुःखी हुन पुग्यो र उनले ‘विकल’ उपनामले साहित्य सिर्जना गर्न थाले । त्यस बेला साहित्यकारहरूमा उपनाम राखेर साहित्य सिर्जना गर्ने एक प्रकारको लहड पनि थियो । यस लहडबाट विकल पनि प्रभावित थिए ।

रमेश विकलका हजुरबा पण्डित घननाथ उपाध्याय चालिसे नातिलाई संस्कृत पढाउन चाहन्थे भने आधुनिक शिक्षा पढी राणाहरूका जागिरे बनेका बुबा चन्द्रशेखर उपाध्याय छोरालाई अङ्ग्रेजी पढाउन चाहन्थे । विकलको पहिलो गुरु दिदी र हजुरबा हुन् । विकल छ वर्षको भएपछि विमातृपट्टकिी दिदी सीताले हजुरबाका आदेशमा विकललाई वसन्त पञ्चमीका दिन अक्षरारम्भ गराएकी थिइन् भने साउँ अक्षर पढ्न जान्ने भएपछि आठ वर्षमा ब्रतबन्ध गराई हजुरबाले विकललाई संस्कृतका स्तोत्र र चण्डी, रुद्री पढाएका थिए । आरुबारीबाट चाबहिल सरेपछि पशुपति नजिकैको देउपाटन भाषापाठशालमा उनलाई कौमुदी संस्कृत व्याकरण पढ्न भर्ना गरिएको थियो । अर्कातिर बुबाको इच्छाबमोजिम पहिले अत्तरखेलका केशवराज पौडेलसँग र पछि चाबहिलका बमभोला गुरुसँग यिनलाई अङ्ग्रेजी पनि पढ्न लगाइको थियो । त्यस बेला विकलले कठोर अनुशासन र नियन्त्रणमा बसेर पढ्नु परेकाले त्यहाँबाट फुक्का भएपछि यिनी अलि उद्दण्ड पनि भएका थिए । भाषापाठशालामा पढ्दा पढ्दै विकलका बुबा १९९७ मा जागिर सरुवा भई विराटनगर पुगेपछि उनी पनि सँगै गए । त्यसपछि यिनको संस्कृत र अङ्ग्रेजीको अध्ययन टुट्यो । विराटनगरमा विकलले प्राइमरी स्कुलमा भर्ना भई पढ्न त थाले तर चार महिना पढेपछि उनका बुबाको फेरि दार्चुला सरुवा भयो र विकल पनि त्यहीँ पुगे । दार्चुलामा पुगेपछि उनले त्यहाँ नि.मा.वि.मा भर्ना भई केही समय पढेपछि पुनः बुबाको काठमाडौँमा नै सरुवा भयो । काठमाडाँै आएपछि विकलका बुबाको जागिरे जीवनको व्यस्तता र रेखदेखको अभाव अनि खराब केटाहरूको सङ्गतका कारण यिनी पढाइ छाडेर कुलतमा लागे । खराब सङ्गतकै कारण २००३ सालमा घरबाट भागेर यिनी भारतको कोलकत्ता पुगेका थिए । पछि हण्डर खाएर फर्किएपछि एक दिन बुबाले चोरीको आरोप लगाई विकललाई नराम्रोसँग गाली गरेपछि यिनको चेत खुल्यो र यिनी त्यसपछि रचनात्मक कार्यमा प्रवृत्त भए । यसैको परिणामस्वरूप २००५ सालमा यिनले त्यस बेलाको निजामती स्रेस्ताको एघार परीक्षा पास गरे तर यो औपचारिक परीक्षा थिएन ।

युवावस्थामा प्रवेश गरेका विकलको सम्पर्क श्यामप्रसाद शर्मासँग भएपछि उनी प्रगतिशील विचारधारातर्फ आकषिर्त हुँदै साहित्य र राजनीतितिर लागेको देखिन्छ । विकलका राजनीति र साहित्य दुवैका गुरु श्यामप्रसाद शर्मा हुन् । उनी श्यामप्रसादलाई अति आदरसम्मान पनि गर्थे । २००५/२००६ सालतिर विकल श्यामप्रसादको नेतृत्वमा प्रकाशन सुरु भएको हस्तलिखित मासिक पत्रिका ‘सन्देश’को सम्पादन गर्दै ‘पाँचभाइ’ नामको गोप्य सङ्गठनमा पनि सामेल भए । यसै बेला यिनी केही समय पक्राउ पनि परे । यसपछि विकलको जीवनले अर्कै मोड लियो ।

बुबा, हजुरबुबा बितेपछि अभिभावकविहीन भई एक्लो भएका विकल २००८ सालमा चाबहिलको घर बेचेर फेरि आरुबारीमै सरे । यसखेर जग्गाजमिन प्रशस्त भए पनि यिनको आयस्रोत भने केही थिएन । यसबेला यिनी व्यावहारिक कामका साथै साहित्यिक-राजनीतिक काममा पनि लागिरहेका थिए । यही क्रममा २०११ सालमा विकलले प्राइभेट विद्यार्थीका रूपमा द्वितीय श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरे । यसपछि २०१३ सालमा भर्ना भई २०१६ सालमा विकलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको लाजिम्पाटस्थित कलेज अफ एजुकेसनबाट शिक्षा शास्त्रमा चार बर्षे स्नातक (बी.एड्.) उत्तीर्ण गरे । यो उनको औपचारिक अध्ययनको अन्तिम खुड्किलो थियो । पछि २०२५ सालमा जागिरे रहेका अवस्थामा सम्पादकको तालिमका लागि यिनलाई अमेरिकाको फ्लोरिडामा जाने अवसर मिल्यो र त्यहाँ उनले एक वर्ष अध्ययन गरे । यसरी विकलको अध्ययन अनौपचारिक-औपचारिक हुँदै अगाडि बढेको पाइन्छ ।

विकलले त्यस बेलाको घरपरिवारको वातावरण र श्यामप्रसाद शर्मासँगको सम्पर्कबाट साहित्यिक, वैचारिक प्रेरणा प्राप्त गरेका हुन् । ग्रामीण समाजमा रहेको धनी र गरिबका बीचको विभेद, घरमा राखिएका नोकर-चाकर, करिया र मोही किसानहरूमाथि बुबा, हजुरबुबाले गरेको कठोर व्यवहार आदि देखेर र मूलतः श्यामप्रसाद शर्मासँगको निकटता र गोविन्दप्रसाद लोहनीसँग मार्क्सवादी शिक्षा लिएर विकल प्रगतिशील विचारका पक्षपाती भएका हुन् ।

विकलमा सङ्गीतको निकै सोख थियो । यसतर्फ लाग्ने प्रेरणा भने विकलले बुबाबाटै पाएका हुन् । विकलका बुबा हार्मोनियम र तबला बजाई भजन गाउँथे । त्यस बेला विकलको घरको वातावरण नै साङ्गीतिक थियो । यही प्रभावले गर्दा विकलले सङ्गीत सिके तर रेडियो नेपालको स्वरपरीक्षा दिँदा फेल भएपछि उनले त्यो क्षेत्र छोडिदिए । विकल पछि पनि हार्मोनियम र बाँसुरी राम्ररी बजाउन सक्थे । सङ्गीतको प्रभाव उनका साहित्यमा पनि छ ।

विकलले थुप्रै चित्रकलाको पनि रचना गरेका छन् । उनले केही समय यससम्बन्धी प्रशिक्षण पनि लिएका थिए । आमाका, हजुरबुबाका मुखाकृति, कवि, कलाकार र वैज्ञानिकहरूका स्केचहरू खिचेर उनले कलाकारको तिर्खा मेटाएका छन् । कुनै सुन्दरी केटी देखेमा उनी त्यसको चित्र उतार्नमा लालायित भैहाल्थे । यो पनि उनको सोखकै विषय थियो । उनका घरमा स्केच खिचेर मासु भर्न बाँकी थुप्रै चित्रकलाहरू भेटिन्छन् । तीमध्ये केही त उनले मासु भरेरै पनि राखेका छन् । चित्रकारिताको प्रभाव उनका रचनामा स्पष्ट देख्न सकिन्छ ।

विकलले देवकोटा, सम, हृदयचन्द्र, मैनाली, रिमाल, गोठाले, विजय मल्ल, दौलतविक्रम विष्ट र पारिजात आदिबाट प्रेरणा लिएका छन् । उनका दोस्रो चरणका कथामा विश्वेश्वरप्रसाद कोइरालाको पनि प्रभाव परेको छ । विकलले जर्मनेली, फ्रान्सेली, युरोपेली, भारतीय, बङ्गाली, अङ्ग्रेजी आदि थुप्रै विदेशी साहित्यकारहरूलाई पढेका थिए र तिनबाट प्रेरणा पनि लिएका थिए । उनले गोर्की, अस्त्रोभस्की, चेखब, टल्स्टाय, वाल्जाक, हृयुगो, ज्याक लन्डन, हेमिङ्ग्वे, प्रेमचन्द, विमल मित्र, हरिशङ्कर प्रसाईं आदिका कृतिहरूको गहिरो अध्ययन गरेका थिए

विकलको विवाह १९९७ सालको फागुनमा बार वर्षको उमेरमा उनको इच्छा विपरीत सात वषर्ीया सुशीला नेपालसँग भएको थियो । दन्त्यकथाका राजकुमारी र सुनकेस्रा मैयाँहरूका कथा सुनेका र त्यस्तै श्रीमतीको कल्पना गर्ने विकलकी श्रीमती उनले सोचेजस्ती नभएकी हुँदा विकलमा मनोवैज्ञानिक असर परेकाले लामो समयसम्म उनीहरूको दाम्पत्य जीवन सुखी हुन सकेन । विकलकी श्रीमती सुशीला भने पति र छोराछोरीको हेरविचार गर्न र घरव्यवहार चलाउन कुशल नै थिइन् । एकपटक लोग्नेस्वास्नीका बीच मनोमालिन्य भई पारपाचुकेको अवस्थासम्म पुगेको विकल-सुशीलाको दाम्पत्य जीवन विकलका साथी शारदाविक्रम बस्नेतको प्रयासले दुर्घटित हुनबाट बचेको पाइन्छ । विकलमा एकातिर बाबु-बाजेको हैकमी संस्कार र अर्कातिर श्रीमतीप्रतिको वितृष्णा रहेकाले पछिसम्म पनि उनले श्रीमतीलाई मात्र होइन, छोराछोरीलाई पनि निकट राखेनन् । सुरुमा उनले श्रीमती र छोराछोरीप्रति गरेको अनुत्तरदायी व्यवहार निकै खड्कने र चित्त दुख्ने खालको नै देखिन्छ तापनि पछि आएर आफूले गरेको व्यवहारको अत्मबोध भएपछि र श्रीमतीले नै बिग्रन लागेको घरव्यवहार जोगाएकी हो भन्ने ठानेपछि त्यस व्यवहारलाई उनले सुधारेको पाइन्छ । जुन कुरा विकल स्वयम्ले पश्चाताप गरी आत्मसंस्मरणमा लेखेका छन् । श्रीमती बितिसकेपछिका पछिल्ला दिनमा उनकी श्रीमतीका बारेमा जिज्ञासा राख्दा ‘उसलाई मैले सारै दुःख दिएको छु’ भन्दै आँखाभरि आँसु पारेर विकल भक्कानिन्थे ।

विकल-सुशीलाबाट जम्मा १० सन्तान जन्मेका थिए । उनको पहिलो सन्तान छोरी दुर्गाको जन्म २००५ सालमा भएको थियो । यीसहित उनका तीन छोरा र सात छोरी जन्मेका थिए । यीमध्ये माहिलो छोरो शेखरको २०२५ सालमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भयो भने माहिली छोरीलगायत अन्य दुई छोरीको पनि मृत्यु भएकाले विकलका हाल छ जना छोराछोरी जीवित रहेका छन् । यिनमा क्रमशः दुर्गा अर्याल, विजय चालिसे, अम्बिका पोखरेल, महेन्द्र चालिसे, तारा पौडेल र शशी अधिकारी हुन् । विकलका जीवनमा २०१९ सालतिर अर्को एउटा अनपेक्षित घटना पनि घटेको पाइन्छ । त्यस बेला उनका जीवनमा भगवती बहालमा होटल गरेर बस्ने चन्द्रमाया नाम गरेकी एउटी नेवार कन्या दोस्री पत्नीका रूपमा आइलागेकी थिइन् तर तीन महिना विकलसँग बसेर उनी हिँडिन् । विकलकी श्रीमती सुशीलाको भने २०५७ साल असार १७ गतेका दिन देहावसान भयो ।

रमेश विकलको मूल रुचि साहित्य सिर्जना र समाजसेवा नै हो । यसका अतिरिक्त उनी मूर्ति बनाउन, पेन्टिङ गर्न र सङ्गीततर्फ भ्वाइलेन र बाँसुरी बजाउन रुचाउँथे ।

जमिन्दार एवम् परम्परागत सनातनी ब्राहृमण परिवारमा जन्मेर, हुर्केर पनि वर्गीय दृष्टि र वर्गीय पक्षधर भएका विकल न्यायप्रेमी स्वभावका व्यक्तित्व थिए । प्रकृतिमा रमाउने, आत्मप्रशंसा नगर्ने, पुरस्कार, पदक आदिका निम्ति लालच नगर्ने, कृत्रिमतालाई भन्दा स्वाभाविकतालाई मन पराउने, प्रचारमा नलाग्ने, एकान्तप्रेमी, स्वाभिमानी स्वभाव उनको थियो । कहिले काहीँ उनी अलि हठी र रिसाहा स्वभावलाई पनि प्रदर्शन गर्थे तर पछि कुरा बुझेर आफूले आफैँलाई सच्याउथे पनि ।

विकल प्रगतिशील साहित्यकार हुन् । उनको लेखन र सिर्जनामा वर्गीय दृष्टि र प्रतिबद्धता नै बढ्ता पाइन्छ तर उनी लेखक स्वतन्त्र हुनुपर्छ कुनै पनि वादमा बाँधिनु हुँदैन भन्ने गर्थे । “ं…म प्रगतिशील हुँ, मेरो प्रवृत्ति प्रगतिशीलता हो । कुनै पनि वादको अन्डरमा बसेर त्यो गर्न सक्तिनँ म । मेरो प्रगतिशीलता त्यही हो- चरैवेति । अगाडि बढ्दै जाऊ । मेरो सिद्धान्त यही भन्छ ।”… । “स्वतन्त्र हुनुपर्छ लेखक तर जनतालाई नोक्सान पार्ने गरी स्वतन्त्र चाहिँ होइन । अनुशासनविहीन स्वतन्त्रता चाहिँ राम्रो हुँदैन । त्यो त साँढे स्वतन्त्रता भइगयो नि, स्वच्छन्दता भइगयो नि त्यो । प्रकृति पनि स्वच्छन्द भो भने बाढी आउँछ, आँधिबेहरी आउँछ र विनाश ल्याउँछ । त्यसैले स्वतन्त्र चाहिँ जो कोही पनि हुनै पर्छ तर स्वच्छन्द होइन । ग्रह-नक्षत्र पनि कसैका वशमा छैनन् तर आ-आफ्नो बाटो हिँडेका छन् । त्यसैले वर्गसँग प्रतिबद्ध त हुनै पर्‍यो । जनतासँग प्रतिबद्ध चाहिँ हुनै पर्छ तर नाइकेसँग होइन । साहित्य र राजनीति सहयात्री हुनुपर्‍यो, नेता र कार्यकर्ता होइन ” (भृकुटी १/१ ः १५६) ।

यस भनाइबाट रमेश विकल विचारमा प्रतिबद्ध तर पार्टी निरपेक्ष लेखक हुन् भन्ने देखिन्छ । उनमा मार्क्सवादप्रति निष्ठा, विचारप्रति आस्था र जनताप्रतिको इमान्दारिता थियो तर नेताहरूको चरित्र र राजनीतिक कर्मबाट उनी सदा असन्तुष्ट थिए । त्यसैले उनको साहित्यिक मान्यता राजनीतिक स्वतन्त्रता, वैचारिक प्रतिबद्धता र जनताप्रतिको इमान्दारितामा आधारित छ ।

रमेश विकलले सरकारी र गैरसरकारी विभिन्न सङ्घ-संस्थामा संलग्न भएर सेवा गरेका छन् । २००५ सालमा निजामती सेवा परीक्षा उत्तीर्ण गरेपछि भन्सारमा महिनाको ११ रुपियाँ तलब पाउने नौसिन्दा जागिरबाट उनको जागिरे जीवनको सुरुआत भएको थियो । विकलका बुबा सरकारी न्यायालयमा लप्टनसम्म भएका र चालिसेहरूको सरकारी सेवामा जागिर खाने परम्परा नै रहेकाले यिनी पनि सुरुबाटै सरकारी जागिरतर्फ लागे तर २००६ सालमा ‘पाँचभाइ’ काण्डमा श्यामप्रसादसँगै पक्राउ परेपछि यो जागिर गयो । यसपछि उनले २००८/२००९ सालपछि चाबहिलको विनायक मिडिल स्कुल, अरूणोदय प्रावि आरुबारी, सहयोगी मावि गोकर्ण, चामुण्डा मावि जोरपाटी आदिमा पढाउने काम गरे । यसभन्दा अघि विकलले उनका साथी शारदाविक्रम बस्नेतसँग मिली घरमै अङ्ग्रेजी पढाउने कोठे कक्षा सञ्चालन गरेका थिए । यस बेला उनी चाबहिल क्षेत्रमा सक्रिय राजनीति पनि गर्दै थिए । २०११ सालमा एस.एल.सी. पास र २०१६ सालमा बी.एड. उत्तीर्ण गरेपछि २०१८ सालमा विकल प्रचार विभाग (हालको सूचना विभाग) मा सहायक सम्पादक भए भने २०२० सालमा उक्त जागिर छोडी नेपाल लेखक सङ्घको कार्यालयमा सचिव भए । यसपछि जागिरकै खोजीका क्रममा २०२१ सालमा उनले शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा सामग्री केन्द्र (हालको जनक शिक्षा सामग्री केन्द्र) मा अधिकृत स्तरको जागिर पाएपछि यस पदमा २०३४ सालसम्म सेवा गरे । यसपछि उनले २०३४ सालदेखि २०३६ सालसम्म शिक्षा मन्त्रालय अन्तर्गतकै परीक्षा नियन्त्रण कार्यालयमा सरुवा भई कार्य गरे । २०३६ सालमा शाखा अधिकृत पनि छोडी २०४१ सालदेखि २०४५ सालसम्म प्राथमिक शिक्षा परियोजनामा करार सेवामा रही सम्पादकको जिम्मेवारी सहृमाले । यसअघि २०३९ सालदेखि २०४० सालसम्म नेराप्रप्रबाट विद्वत्वृत्ति पाई ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास लेख्ने काम गरे भने २०४६ सालदेखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा उपप्राध्यापक पदमा करार सेवामा रही प्राध्यापन कार्य गरे । यसपछि २०५१ सालदेखि २०५६ सालसम्म उनी नेराप्रप्रको प्राज्ञ परिषद् सदस्य पनि भए । यसपछि भने विकलले स्वतन्त्र अध्ययन, लेखन र समाजसेवामै जीवन बिताएको पाइन्छ ।

रमेश विकलको संलग्नता सरकारी जागिरका अतिरिक्त विभिन्न सामाजिक-साहित्यिक एवम् शैक्षिक सङ्घ-संस्थामा पनि थियोे । उनले असहाय पुनस्र्थापना समाजको सल्लाहकार, नेपाल बालसाहित्य समाजको अध्यक्ष र आजीवन सदस्य, भैरव पुरस्कार गुठीको संस्थापक अध्यक्ष, साझा प्रकाशनको सञ्चालक सदस्य, प्रलेसको अध्यक्ष र सल्लाहकार, संयुक्त विद्यार्थी युनियनको सल्लाहकार (२०१४/२०१५) र साहित्य सदन नेपालको संस्थापक उपाध्यक्ष र अध्यक्ष भई कार्य गरेका छन् । त्यसबेला रमेश विकल अध्यक्ष र यो लेखक उपाध्यक्ष (२०६३ (२०६५) रहेको रामहिटी, बौद्धस्थित साहित्य सदन नेपाल हाल जनप्रज्ञा भवनका रूपमा सञ्चालित छ । यसको संस्थापन र विकासमा रमेश विकल र अमीर थापाको महत्त्वपूर्ण योगदान रहेको छ ।

यसरी नै २००५/२००६ सालमा चाबहिलको विनायक मिडिल स्कुलको स्थापना, चाबहिलमै मित्रमण्डलको स्थापना (यसबाटै मित्रपार्क, मित्रवाचनालय, मित्र सहशिक्षालय, मित्ररात्रि शिक्षा सञ्चालित भए ।), आरुबारीमा अरूणोदय प्राविको स्थापना, जोरपाटीमा चामुण्डा माविको स्थापना, आरुबारीमा बन्धुमण्डल क्लबको स्थापना गर्ने कार्यमा विकलको महत्त्वपूर्ण सक्रियता रहेको थियो । शिक्षा मन्त्रालय अन्तर्गतका विभिन्न संस्थामा रही कार्य गर्दा विकलले माध्यमिक विद्यालय तहको नेपाली विषयको पाठ्यक्रम निर्माण उपसमितिको सदस्य भएर पनि काम गरे ।

विकलले राजनीति र जेलजीवन पनि भोगेका छन् । बुबा राणाहरूका जागिरे रहेका र आफूमा राजनीतिक चेतना नभएका कारण विकल सुरुमा राणाहरूलाई आफ्ना मालिक र अन्नदाता मान्थे । यतिसम्म कि २००४ सालमा भएको ‘जयतु संस्कृतम्’ आन्दोलनका योद्धाहरूलाई राणाहरूले गरेको व्यवहार उचित मानी तिनलाई उनी राजद्रोही ठान्थे तर यस विचारमा केही समयपछि नै उनमा परिवर्तन आयो । त्यसबेला पद्म शमशेरले राजनीनामा दिएर मोहन शमशेर प्रधानमन्त्री भएपछि उनको सिन्दुर जात्रा हेर्न जाँदा इन्द्रचोकमा भएको भिडन्तमा रमेश विकल पनि परे र उनलाई १० दिनसम्म हनुमान ढोकामा लगेर थुनियो । यस बेला हनुमानढोकामा रामहरि शर्मा र टङ्कप्रसाद आचार्यहरू राजबन्दीका रूपमा थिए । तिनै राजबन्दीबाट विकलले धेरथोर राजनीतिक रूपमा प्र्रशिक्षित हुने मौका पाए । यो घटना विकलका जीवनमा महत्त्वपूर्ण मोडका रूपमा रहेको छ । यसपछि ‘जयतु संस्कृतम्’ आन्दोलनकै कार्यकर्ता बलराम श्रमजीवीसँगकै सम्पर्कबाट विकल आन्दोलनका पर्चा, पम्प्लेट बाँड्ने काममा सरिक भए ।

यसपछि २००५ सालमा वीरगन्जबाट राजनीतिक गतिविधि सञ्चालन गर्न काठमाडौँ आएका श्यामप्रसादसँग विकलको भेट भयो । त्यसपछि विकल र श्यामप्रसाद मिलेर चाबहिलबाट हस्तलिखित मासिक पत्रिका ‘सन्देश’ को सम्पादन प्रकाशन सुरु गरे । यो पत्रिका देशमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले प्रकाशित गरिएको थियो । यसैमा पहिलोपल्ट विकलको कविता पनि छापियो । यस बेला श्यामप्रसादको नेतृत्वमा ‘पाँचभाइ’ नामको गोप्य सङ्गठन पनि खोलिएको थियो । यस सङ्गठनले राजनीतिक, साहित्यिक गतिविधिका साथै जेलमा रहेका राजनीतिक व्यक्तिहरूलाई भेट्ने र खबर आदानप्रदान गर्ने काम गर्थ्यो ।

श्यामप्रसाद विकलका राजनीति र साहित्य दुवै क्षेत्रका गुरु हुन् । श्यामप्रसाद शर्मासँगको भेट विकलका जीवनमा ज्यादै महत्त्वको देखिन्छ । श्यामप्रसादकै माध्यमबाट गोविन्दबहादुर मल्लसँग चिनजान भई उनको ‘गरिब’ कथा २००६ साल, चैत्रको शारदा पत्रिकामा छापियो र विकलको सार्वजनिक साहित्यिक यात्राको थालनी भयो । यसबेला विकल सुरक्षा कानुन अन्तर्गत सात दिन जेल पनि परे ।

२००६ सालपछि विकल भूमिगत नेपाल कम्युनिस्ट पार्टीका विभिन्न मोर्चामा रहेर काम गर्न थाले । पार्टीका तर्फबाट खुलेका अध्ययन मण्डल, पुस्तकालय, वाचनालय आदिमा गई उनी मार्क्सवादी पुस्तकहरू पढ्ने र छलफलमा भाग लिने गर्न थाले । त्यस बेला पुतलीसडकमा मार्क्सवादका विशिष्ठ ज्ञाता गोविन्दप्रसाद लोहनी मार्क्सवादी कक्षा सञ्चालन गर्ने गर्थे । विकलले पनि त्यहाँ चन्द्रधर उप्रेती, रवीन्द्र रिमाल, बलराम आचार्य, मथुराप्रसाद श्रेष्ठहरूसँगै मार्क्सवादको अध्ययन गरे । यसबाट विकलमा मार्क्सवादी चेतनाको विकास भयो र त्यो लेखनमा पनि पर्न थाल्यो ।

२००७ सालमा राजनीतिक परिवर्तन भए पनि २००९ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको थियो । त्यसैले यसका गतिविधिहरू भूमिगत नै हुन्थे । विकलले यसपछि २०१५ सालसम्म पार्टी कार्यकर्ता भएर मुख्यतः चाबहिललाई केन्द्रबिन्दु बनाएर उत्तरपूर्वी भेगमा पार्टी गतिविधिलाई अगाडि बढाए । चाबहिलको एरियामा विकलको पार्टी सेलमा त्यसबेला शक्ति लम्साल, भक्तबहादुर श्रेष्ठ (चाबहिलका), शेरबहादुर मिश्र, अमीरबहादुर, रामबहादुर आदि थिए । चाबहिलमा मित्र वाचनालय खुलेपछि त्यसको सचिव भई विकलले मार्क्सवादी पुस्तकहरूको अध्ययन गर्ने, गराउने र साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, नाटक खेलाउने आदि वातावरण पनि मिलाएका थिए ।

यसै क्रममा २००९ साल जेठमा न्यून वैतनिक कर्मचारीको आन्दोलनको जुलुसमा सामेल हुँदा विकल नयाँ सडकबाट पक्राउ परे । उनले त्यस बेला निकै कुटाइ पनि खाए । दुई दिन हनुमान ढोकामा राखेर उनलाई सुरक्षा कानुनअन्तर्गत भद्रगोल जेल चलान गरियो । जेलबाट छुटेर आएपछि पनि विकल लेखन-प्रकाशन, सभा-सम्मेलन, नारा-जुलुस, राजनीति, सङ्गठन आदि कार्यमा व्यस्त रहन थाले । विकलको बास धेरैजसो चाबहिलमै हुने गरेकाले परिवारसँगको सम्बन्ध भने त्यस बेला बिहान बेलुकाको मात्र हुन्थ्यो ।

बलराम श्रमजीवीको सल्लाहमा काठमाडाँै जिल्ला कमिटीका सचिव आनन्ददेव भट्टबाट यिनले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पनि लिएका थिए । त्यसबेला सङ्गठनमा नखारिई, मार्क्सवादको सैद्धान्तिक र व्यावहारिक ज्ञान नगरी पार्टी सदस्यता पाइँदैनथ्यो । विकलले सबै आधार पूरा गरेर नै सदस्यता लिएका थिए ।

राजनीतिक र सामाजिक चेतनाकै कारण विकल त्यसबेला परम्परागत रुढि र संस्कारका विरोधमा खुलेर लागेका थिए । त्यसबेला उनले आफ्नो कट्टर, सनातनी ब्राहृमण परिवारको चलनलाई भत्काउन घरका चुलामा लगेर इतर जातका मानिससँगसँगै बसेर खाँदा समाज र घरपरिवारबाट उनले केही समय बहिष्कृत पनि हुनुपर्‍यो ।

२०११ सालतिर विकल राजनीतिक, सामाजिक कामलाई केही समय छोडेर एस.एल.सी.को तयारीमा लागेका थिए । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री रहेको त्यस बखत नेकपाले आन्दोलनका क्रममा काठमाडौँमा विशाल जुलुस प्रदर्शन गरेको थियो । त्यस जुलुसमा सामेल भएका विकल पनि इन्द्रचोकबाट पक्राउ परे । त्यसपछि त्यहाँ उनको नख्खु जेलमा रूपचन्द्र विष्ट, कमल कोइराला र मदन रेग्मीसँग भेट भयो । केही समय त्यहाँ बसेपछि बाबुहरूको सरकारविरुद्ध लागेका प्रधानमन्त्री मातृकाका छोरा कमल कोइराला र शिक्षामन्त्री डिल्लीरमणका छोरा मदन रेग्मीको आफूसँगै रहेका सबै बन्दीलाई छाड्नुपर्छ नत्र आफूहरू पनि नछुट्ने भन्ने सर्तका कारण विकलहरू पनि छुटे । यसरी विकलले राजनीतिक कामकै सिलसिलामा थोरैथोरै दिन भए पनि जेलजीवन बिताएको पाइन्छ र यसले उनलाई क्रान्तिकारी, विद्रोही बाटोमा लाग्न प्रेरित नै गरेको छ ।

२०१७ सालपछिका दिनमा भने पञ्चायती निरङ्कुशताको दबदबा र कम्युनिस्ट पार्टीमा आएको फुट, विभाजन र गलत कार्यदिशाका कारण विकल सक्रिय राजनीतिबाट अलग भए । सरकारी जागिरले पनि उनलाई सक्रिय राजनीतिबाट टाढा पुर्‍यायो । पर्टीगत रूपमा यसपछिका कुनै कार्यक्रममा पनि विकल सामेल भएका थिएनन् तर २०४७ सालको निर्वाचनमा उनले मदन भन्डारीलाई भने खुलेर सघाए । यसरी सुरुमा ज्यादै सक्रिय र बीचका अवधिमा निष्त्रिmय राजनीतिक जीवन बिताएका विकलको प्रभाव उनका लेखनमा पनि परेको छ । यसै कारण पहिलो चरणका उनका रचनामा सामाजिक यथार्थको तिख्खर अभिव्यक्ति पाइन्छ भने निस्त्रिmय रहेको बीचका अवधिमा त्यसबाट केही टाढा पुगेको पाइन्छ । समग्रमा भने उनी प्रगतिशील विचारधाराबाट विचलित भएका छैनन् ।

रमेश विकलले नेपाली साहित्यमा जुन स्तरको योगदान दिएका छन्, त्यसको पूर्ण मूल्याङ्कन नभए पनि दुई दर्जनभन्दा बढी संस्थाले उनका योगदानको कदर गर्दै विभिन्न मान-सम्मान र पुरस्कारले उनलाई विभूषित गरेका छन् । पद, प्रतिष्ठा र पुरस्कारप्रति लालायीत नहुने उनको स्वभाव रहे पनि समाजले उनलाई कदर गरेको देखिन्छ । उनी यसबाट सन्तुष्ट पनि थिए । सर्वप्रथम उनले आफ्नो दोस्रो कथासङ्ग्रह नयाँ सडकको गीत (२०१९) का लागि २०१८ सालको गद्य साहित्यतर्फको मदन पुरस्कार पाएका थिए । यो पुरस्कार उनलाई अप्रकाशित अवस्थामै पाण्डुलिपिलाई प्रदान गरिएको थियो । यसपछि उनले समग्र साहित्यिक योगदानका लागि २०३८ सालमा महेन्द्र प्रज्ञा पुरस्कार पाए भने २०४७ मा दोस्रो राष्ट्रिय फोटो प्रदर्शनी पुरस्कार तथा २०५० सालमा बालसाहित्य पुरस्कार, २०५७ सालमा नूरगङ्गा स्मृति पुरस्कार, २०५७ सालमा कृष्णमणि साहित्य पुरस्कार र २०५९ सालमा युद्धप्रसाद मिश्र स्मृति पुरस्कार पाएको देखिन्छ । यस क्रममा दर्जनौं सङ्घसंस्थाले उनलाई मानसम्मान र अभिनन्दन गरेर उनको कदर गरेका छन् । नेपाली साहित्यमा यतिका धेरै मानसम्मान र कदर प्राप्त गर्ने कमै मात्र अरू साहित्यकारहरू होलान् । यसबाट उनलाई पर्याप्त आर्थिक लाभ नभए पनि लेखन प्रेरणा प्राप्त भयो र उनी अन्तिम अवस्थासम्म पनि साहित्य साधनमा लागिरहे ।

३. साहित्यिक यात्रा र योगदान

आफ्नो छ दशक लामो साहित्यिक यात्राका क्रममा रमेश विकलले साहित्यका विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यमा आफ्नो दरो उपस्थिति जनाएका छन् । साहित्यका सबैजसो गद्य विधामा कलम चलाए पनि उनको सर्वाधिक योगदान भने आख्यानमा रहेको छ । आख्यान क्षेत्रका शीर्षस्थ व्यक्तित्व विकलको पनि साहित्यिक यात्राको प्रारम्भ भने कविताबाट नै भएको पाइन्छ । श्यामप्रसाद शर्माको नेतृत्वमा सम्पादन सुरु गरिएको हस्तलिखित साहित्यिक मासिक सन्देश पत्रिकामा २००५ सालमा उनको पहिलो कविता छापिएको थियो । रामेश्वरप्रसाद चालिसेका नामबाट प्रकाशित यस कविताको एउटा अंश यस्तो छ –

कुखुराहरूले अब शंख फुके
रजनीचर वृन्द समस्त उठे
नवजागृतिको छ बखत् सबको
उठ जाग युवा सुप्रभात भयो ।

तत्कालीन निरङ्कुशताका विरुद्ध जागृतिको स्वर सुसेल्दै युवाहरूलाई उठ्न आहृवान गर्ने यस कविताले रमेश विकलको प्रारम्भिक तर अग्रगामी चेतनालाई प्रस्तुत गर्दछ । यसले प्रायः सबै साहित्यकारको झैँ विकलजस्ता आख्यान पुरुषको साहित्यिक यात्रा पनि कविताबाटै प्रारम्भ भएको रहेछ भन्ने कुरालाई पनि जनाउँछ । यसपछि विकलले इन्दुशेखरका नामबाट केही फाटफुट कविता र विकलकै नामबाट केही बालगीतहरू लेख्नु बाहेक कवितामा त्यति ध्यान दिएनन् र सङ्ग्रह पनि प्रकाशित गरेनन् ।

यसपछि विकलको सार्वजनिक साहित्यिक यात्रा २००६ सालको चैत महिनाको शारदा पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट भयो र त्यसपछि कथाका साथै उपन्यास, नाटक-एकाङ्की, यात्रासाहित्य, बालसाहित्य आदि विविध गद्य विधामा झाङ्गिन पुग्यो । २००६ देखि हालसम्मको छ दशक लामो विकलको समग्र साहित्यिक यात्रालाई प्रवृत्तिगत दृष्टिले तिन चरणमा विभाजन गर्न सकिन्छ । २००६ सालदेखि २०१९ सम्म पहिलो चरण, २०२० देखि २०३५ सम्म दोस्रो चरण र २०३६ देखि मृत्युपर्यन्त तेस्रो चरण । विकलका पहिलो चरणका रचनामा आलोचनात्मक यथार्थवादी, प्रगतिशील प्रवृत्ति पाइन्छ भने दोस्रो चरणमा मानवीय वासना, आवेग, कुण्ठा, विकृति र रतिरागात्मकतायुक्त मनोवैज्ञानिक प्रवृत्ति पाइन्छ अनि तेस्रो चरणमा आएर पुनः पहिलो चरणकै प्रवृत्तिलाई अंगाल्दै त्यसभन्दा पनि अगाडि बढेर समाजवादी यथार्थमूलक प्रवृत्तिलाई पछ्याएको देखिन्छ । रमेश विकलको लेखनको मूल विधा आख्यान भएकाले कथा र उपन्यासलाई आधार बनाई उक्त प्रवृत्तिगत विकासको निरूपण गरिएको हो ।

पहिलो चरणमा बिरानो देशमा (२०१६) र नयाँ सडकको गीत (२०१९) कथा सङ्ग्रहका कथाहरू पर्दछन् भने दोस्रो चरणमा आज फेरि अर्को तन्ना फेरिन्छ । (२०२४) कथासङ्ग्रहका कथादेखि उर्मिला भाउजू (२०३५) कथासङ्ग्रह सम्मका कथा र सुनौली (२०३१) उपन्यास पर्दछन् अनि शव सालिक र र सहस्रबुद्ध (२०४३) कथासङ्ग्रहमा प्रकाशित कथादेखि अविरल बग्दछ इन्द्रावती (२०४०) लगायतका सबै रचनाहरू तेस्रो चरणमा पर्दछन् ।

रमेश विकलका हालसम्म ५० वटा प्रकाशित र एउटा प्रकाशोन्मुख गरी ५१ वटा कृतिहरू छन् । विकलको समग्र साहित्यिक यात्रा र प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने यी कृतिहरू नेपाली साहित्यका अमूल्य निधि हुन् । प्रकाशनका दृष्टिले यिनको विधागत कालक्रमिक विवरण तह दिइएको छ ।

(क) कथासङ्ग्रह ः
(१) बिरानो देशमा (२०१६), (२) नयाँ सडकको गीत (२०१९), (३) आजफेरि अर्को तन्ना फेरिन्छ (२०२४), (४) एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा (२०२५), (५) उर्मिला भाउजू (२०३५), (६) शव, सालिक र सहस्र बुद्ध (२०४३), (७) हराएका कथाहरू (२०५५)
(ख) उपन्यास ः
(१) सुनौली (२०३१), (२) विक्रम र नौलो ग्रह (२०३९), (३) अविरल बग्दछ इन्द्रावती (२०४०), (४) सागर उर्लन्छ सगरमाथा छुन (२०५२)
(ग) नाटक-एकाङ्की सङ्ग्रह ः (१) सात थुँगा (२०३७ बालएकाङ्की), (२), सरदार भक्ति थापा (२०३९ पूणर्ाङ्की), (३) सप्तरङ्ग (२०३९ बालएकाङ्की), (४) मिल्किएको मणि (२०४२ पूणर्ाङ्की), (५) मान्छे, वैभव र मृत्यु -२ ०५६ एकाङ्की)
(घ) यात्रासाहित्य ः
(१)सात सूर्य एक फन्को (२०३४), (२) नीलगिरिको छायामा (२०४०)
(ङ) आत्मसंस्मरण ः
(१) मेरो अविरल जीवनगीत (२०६० पूर्वार्द्ध), (२) मेरो अविरल जीवनगीत -उत्तरार्द्ध, प्रकाशोन्मुख)
(च) व्यङ्ग्य निबन्धसङ्ग्रह ः
(१) अब अगाडि बढ्नु छ, अझ अगाडि बढ्नु छ (२०५०)
(छ) बालसाहित्य ः
(१) तेह्र रमाइला कथाहरू (२०१९), (२) एक्काइस रमाइला कथा (२०२३), (३) पञ्चतन्त्रका कथाहरू (२०२३), (४) अगेनाको डिलमा (२०२३ कथासङ्ग्रह), (५) कथा कुसुम (२०२५ कथासङ्ग्रह), (६) म र मेरो घर (२०४२ चित्रकथा), (७) म र मेरो छिमेक (२०४३ चित्रकथा), (८) बाह्र महिनाको गीत (२०४३ चित्रकविता), (९) दिलमाया (२०४३ चित्रकथा), (१०) केही मूर्खहरूको कथा (२०४५), (११) हिउँदे छुट्टीमा (२०४९ कथासङ्ग्रह), (१२) गौंथलीको घर (२०५० कथासङ्ग्रह ), (१३) बुद्धुरामले कुरा बुझ्यो (२०५१ चित्रकथा), (१४) मान्छे, भैंसी र मुरी चामलको कथा (२०५७ चित्रकथा), (१५) सङ्गत गुनको बुद्धि (२०५७ कथासङ्ग्रह), (१६) दुष्ट भँगेरो र गौंथलीहरू (२०६०चित्रकथा) (१७) एउटा कथा भन्नु न हजुरआमा (२०६१ कथासङ्ग्रह), (१८) बुद्धिको घैटोमा घाम (२०६३ कथासङ्ग्रह), (१९) मलाई किताब मन पर्छ (२०६३ कथासङ्ग्रह) (२०) रमेश विकलका उत्कृष्ट बालकथाहरू (२०६३), (२१) हराएको चिठी (२०६४ बालनाटक सङ्ग्रह), (२२)हजुरआमाको कथा, (२३) गौतम बुद्ध र पानीको संस्कार (कथासङ्ग्रह) ।
माथि उल्लेखित ‘विक्रम र नौलो ग्रह’, ‘सातथुँगा’ र ‘सप्तरङ्ग’ पनि बालसाहित्य नै हुन् । विकलका बालकथाका कृतिलाई एउटालाई फोरेर दुईवटा, उत्कृष्टहरूलाई छानेर छुट्टै सङ्ग्रह पनि बनाइएको हुँदा सङ्ख्या धेरथोर उल्लेख भएको पाइन्छ ।
(ज) अनुवाद ः
(१) पिटर ब्वाँसो (२०५८ सचित्र कथा), (२) समुद्री हुँडार (२०६३ उपन्यास), (३) भस्मासुर – उपन्यास) (४) इन्दजाली रुख (२०५५ बालउपन्यास), (५) विश्वप्रसिद्ध बालकथाहरू (२०५९), (६) विश्वप्रसिद्ध बालकथाहरू (२०६०), (७) अनूदित कथाहरू (उर्दू, हिन्दी र अङ्ग्रेजीबाट)

उक्त पुस्तकाकार कृतिबाहेक विकलका सङ्कलन हुन बाँकी अरू पनि धेरै फुटकर रचनाहरू छन् ।

उपर्युक्त कृतिहरूका माध्यमबाट रमेश विकलले नेपाली समाजको रूपान्तरणका निम्ति महत्त्वपूर्ण भूमिका खेलेका छन् । ग्रामीण जनजीवनका सामाजिक, आर्थिक समस्यालाई चित्रण गर्दै तिनको प्रखर आलोचना गरिएका उनका कृतिमा प्रगतिशील विचारधाराको सशक्त अभिव्यक्ति पाइन्छ । उनका पहिलो र तेस्रो चरणका कथा र उपन्यास समाजवादी यथार्थवादी धाराका महत्त्वपूर्ण प्राप्ति हुन् । उच्च कलाचेतना भएका उनका रचनामा आर्थिक असमानता, राजनीतिक अकर्मण्यता, बालमनोविज्ञान, नारीसमस्या आदि अनेक पक्षहरू चित्रित छन् । उनको सिर्जनाको अर्को पाटो बालसाहित्यको सुन्दर सृजना पनि हो । विकलका बालसाहित्यले बालबालिकालाई असल बाटोमा लाग्न मार्गनिर्देशन गर्दछन् । अरू कथामा जस्तै यिनमा पनि वर्गीय दृष्टि र पक्षधरता रहेको छ । समग्रतामा रमेश विकल नेपाली आख्यान साहित्यका मूर्धन्य स्रष्टा हुन् । उनको योगदानलाई नेपाली आख्यान क्षेत्रबाट झिकिदियो भने अधुरो र अपुरो रहन्छ । त्यसैले उनको योगदान विशेषतः नेपाली आख्यान क्षेत्रमा सर्वाधिक महत्त्वको रहेको छ ।

४. समापन ः

‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ’ भन्ने विकल जीवनका अन्तिम अवस्थामा पनि साहित्यिक सिर्जनामा नै तल्लीन थिए । उनी मृत्युपर्यन्त पनि भैरव पुरस्कार गुठी, जोरपाटी र साहित्य सदन नेपाल, रामहिटी, बौद्ध दुबैको अध्यक्ष पदमा कार्यरत थिए । त्यसबेला यो लेखक विकलकै नेतृत्वमा साहित्य सदन नेपालको उपाध्यक्ष पदमा सहकार्य गरिरहेको थियो । साहित्य सदन नेपालको स्थापना र त्यसको प्रेक्ष्यालय निर्माणलगायतका कार्यमा विकलको सक्रिय सहभागिता र योगदान छ । विकलको साहित्य सदन परिसरमा साहित्यकारहरूका निम्ति साधनागृह निर्माण गर्ने सपना भने अधुरै रह्यो ।

यस लेखकले विकलसँग सहकार्य गर्दा धेरै कुराहरू सिक्ने, बुझ्ने र आत्मसात् गर्ने मौका पाएको छ । विकल निक्कै हक्की, निस्वार्थी र पारदर्शी व्यक्तित्व थिए । अन्तिम अवस्थासम्म पनि नेपालको राजनीतिक विकास र नेताहरूको आचरणप्रति भने विकल पटक्कै सन्तुष्ट थिएनन् । उनका विचारमा मुलुकमा राजनेता नजन्मेकाले नै जनताले दुःख पाएका हुन् भन्ने थियो । राजनीतिप्रतिको वितृष्णाले गर्दा कहिलेकाहीँ विकल अर्कै धारमा त उभिइरहेका छैनन् जस्तो पनि लाग्थ्यो तर उनको त्यो असन्तुष्टि मात्र थियो । उनी लोकतन्त्र, समानता, अग्रगमन र आमूल परिवर्तनकै पक्षमा थिए ।

साहित्य सदन, घर, लेखन, विभिन्न साहित्यिक क्रार्यक्रम आदिमा व्यस्त रहेकै बेला २०६५ साल मङ्सिरको अन्तिम हप्ता विकल बिरामी परे । विकललाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप र मुटुको रोगले सताइरहेकै थियो । उपचारार्थ उनलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा भर्ना गरियो तर उनी झन् गल्दै गए । उनलाई त्यस बेला अर्को थप रोग निमोनिया भएको रहेछ । आखिर त्यही निमोनियाका कारण डाक्टरहरूको अथक प्रयत्न हुँदाहुँदै पनि विकलको २०६५ पुस २ गते, ८१ वर्षको उमेरमा देहावसान भयो ।

विकल जीवित रहँदै उनका परिवार र केही साहित्यकारहरूको प्रयासमा रमेश विकल साहित्य प्रतिष्ठान गठन भएको थियो । विकलका अनन्य मित्र रोचक घिमिरेको अध्यक्षतामा गठित यस प्रतिष्ठानको संस्थापन कार्यमा यो लेखक पनि सक्रिय थियो । त्यस बेलै विकलका योगदानहरूलाई समेटेर रमेश विकल ः बिम्ब एक प्रतिबिम्ब अनेक नामक ग्रन्थ प्रकाशित गरी विकलको भव्य अभिनन्दन गर्ने योजना थियो तर त्यसभन्दा अघि नै विकलको मृत्यु भएकाले यस पुनीत कार्यबाट प्रतिष्ठान वञ्चित भयो र ग्रन्थ प्रकाशनको काम पनि निकै पछि पुग्यो ।

विकलले आफू जीवितै रहँदा प्रतिष्ठानलाई आफ्नो चार आना जग्गामा बनेको दुईतले पुख्यौर्ंली घर र आफ्ना सम्पूर्ण कृतिको लेखकस्व प्रतिष्ठानलाई लिखित गरिदिएर उदाहरणीय काम गरेका थिए । विकलको देहावसानपछि आरुबारी क्लब र प्रतिष्ठानको पहलमा आरुबारीमै विकलको अर्द्धकदको प्रतिमा स्थापना भएको छ भने नेपाल सरकारले विकलको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन (२०६६) गरेर उनलाई सम्मान गरेको छ । उनको योगदानको मूल्याङ्कन गर्दै उनलाई चिरस्मरणीय बनाउन शब्द संयोजन, रश्मि, अन्तर्दृष्टि, मधुपर्क, नारीस्वर आदि पत्रपत्रिकाले विषेशाङ्क प्रकाशित गरेर सम्मान गरेका छन् । विकल प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार र सुशीला-रमेश विकल समाजसेवा पुरस्कार स्थापना गरेर उनलाई जीवित राख्ने प्रयत्न गरेको छ । स्थापनाको पहिलो वर्ष २५ हजार रुपियाँ राशिको रमेश विकल वाङ्मय पुरस्कार कथाकार भागीरथी श्रेष्ठ र पाँच हजार राशिको समाजसेवा पुरस्कार समाजसेवी अमीर थापालाई प्रदान गरिएको छ । प्रतिष्ठानले विकल जीवित रहँदै प्रकाशन गर्ने सोच बनाएको रमेश विकल ः बिम्ब एक प्रतिबिम्ब अनेक नामक पुस्तक ग्रन्थको प्रकाशन गरेर विकलको समग्र योगदानलाई अङ्कित गर्ने प्रयत्न गरेको छ । रमेश विकलको भौतिक देहको मृत्यु भए पनि उनी आफ्ना असल कर्म र सिर्जनाका माध्यमबाट नेपाली समाजमा सदाका लागि जीवित रहेका छन् । उनी नेपाली समाजमा कहिल्यै मर्ने छैनन्, सधैं बाँचिरहनेछन् । नेपाली समाज र नेपाली साहित्य विकलबाट सधैँ गौरवान्वित भई रहनेछ ।

मूख्य सन्दर्भ सूची ः
कुँवर, उत्तम (२०२७), स्रष्टा र साहित्य काठमाडौं ः साझा प्रकाशन
तिमिल्सिना, मोहन (२०३७), कथाकार रमेश विकलको जीवनी,व्यक्तित्व र कृतित्वको अध्ययन, अप्र. स्नातकोत्तर शोधपत्र त्रि.वि.
पौडेल, हेमनाथ (२०६४), कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू, काठमाडौं टीकादेवी पौडेल
भट्टराई, घटराज, (२०३५), “रमेशविकल ः व्यक्ति र कृति” मधुपर्क, (वर्ष ११ अङ्क २/३) पृ.१०३-११०
भट्टराई, रमेश (२०६४), “रमेश विकलसँग जीवनवार्ता” भृकृटी (वर्ष १, अङ्क १) पृ.१४९-१६२
वाग्ले, ईश्वरचन्द्र (२०६०), रमेश विकलका कथामा यथार्थ, अप्रकाशित विद्यावारिधि शोधग्रन्थ त्रि.वि.
विकल, रमेश (२०६०), मेरो अविरल जीवनगीत, पूर्वार्द्ध, ललितपुर ः साझा प्रकाशन
विकल, रमेश (अप्रकाशित), मेरो अविरल जीवनगीत, उत्तरार्द्ध
श्रेष्ठ, दयाराम, (२०५७), नेपाली कथा भाग ४, तलितपुर ः साझा प्रकाशन
सिलवाल, हरिप्रसाद, (२०५९) रमेश विकलका कथामा वैचारिक पक्ष, अप्रकाशित स्नातकोत्तर शोधपत्र आर, त्रि.वि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *