Skip to content

क्योतोः जहाँ म नेपाल देख्छु

  • by


बुलेट प्रुफ ट्रेनभित्र हामी पनि बेगिँदै थियौँ । त्यो वायुपङ्खी ट्रेन सुलुत्त सुरुङभित्र पसेर खरायोजस्तै बाहिर उज्यालोमा फुत्त निस्कन्थ्यो । घरि गगनचुम्बी महलहरूको नजिकै सडकको छाती कुल्चिएर दगुर्थ्यो, त कहिले जङ्गलको बीचबाट चेपिएर अघि बढ्थ्यो । म झ्यालनेरबाट एकटकले आँखा गाडेर बाहिरका दृश्य/परिदृश्यहरू नियालिरहेँछु । ट्रेन चढ्दा मात्र होइन, बस, हवाईजहाजमा पनि म अक्सर निदाउदिनँ, चाहे त्यो जतिसुकै लामो यात्रा नै किन नहोस् । ती स-साना आँखीझ्यालहरूबाट देखिने दृश्यका लहरहरूसँग वहकिनुको आनन्द अर्कै लाग्छ । यिनै आनन्दको लहरमा लहरिँदै जापानको नागोया सहरबाट क्योतो सहर आइपुगेको पत्तै भएन, समय कति चाँडो चिप्लिसकेछ !

क्योतोको विशाल स्टेसनमा आइपुगेपछि हामी लामो बिजुली भर्‍याङबाट तल ओर्लिएर त्यस पावन भूमिमा पाइला हाल्यौँ । जापानका अन्य सहरहरूभन्दा अलि नौलोपन महसुस भइरहेको थियो । क्योतोको अग्लो धरहरा (टावर) बाट मैले जापानको यस प्राचीन राजधानीलाई चियाउँदा मेरो अगाडि नेपाल झलझली नाचिरहेको थियो । वरिपरि हरियाली, डाँडाहरूको काखमा सुतिरहेको सुन्दर सहरभित्र देखिने मन्दिरका धुरीहरूलाई आत्मसात् गर्दा यस्तो लागिरहेथ्यो कि, म हनुमानढोकाको नौतले दरबारको बुईंगलबाट काठमाडौँलाई चियाइरहेको छु । जापानी मन्दिरहरूतिर हेरेर आमाबुबाले दुई हात जोडी मनमनै भगवान्को प्रार्थना गर्दै हुनुहुन्थ्यो । न्यातपोलजस्ता लाग्ने प्यागोडा शैलीका मन्दिरहरूले हामीलाई घरि पाटन, घरि भक्तपुर, पुर्‍याइरहेका हुन्थे । त्यसैले होला कतिपय विद्वान्हरूले क्योतोलाई काठमाडौँ र बनारससँग पनि तुलना गरेका छन् ।

क्योतो टावरबाट हामी तीन जना सर्लक्क भुइँमा ओर्लिएर ट्याक्सी चढ्यौँ र ‘सानज्यू साङदेम्पो’ मन्दिरतर्फ लाग्यौँ, जहाँ एक हजार एक बुद्धका मूर्तिहरू हामीलाई पर्खिरहेका थिए । आधुनिकता र प्राचीनताको सङ्गम क्योतो सहर, जहाँ अग्ला गगनचुम्बी महलहरूको घुइँचोभित्र पनि प्राचीन मन्दिर र दरबारहरू शालीनताका साथ उभिइरहेका छन् । मेरो मन खुशीले अति पुलकित हुन्छ, जब म जापानका कुनाकाप्चाहरूमा हाम्रो बुद्धलाई देख्छु । बौद्ध मन्दिरहरूमा पुगेपछि मेरो मन त्यसै रमाउँछ । भौतिकरूपमा ‘बुद्ध’ जापान आएनन् तर हजारौँ वर्ष अघिदेखि स्थापित हाम्रो बुद्धलाई जापानी धर्तीमा जीवित पाउँदा मेरो नेपाली छाती गर्वले ढक्क फुल्छ । आँखाहरू रसाउँछन् र श्रद्धाले शिर नतमस्तक बन्छ । यही पावन भूमिबाट बुद्धधर्म मौलाएर पछि जापानकै मुख्य धर्मसम्म बन्न पुगेको थियो । क्योतोका मन्दिरहरू चाहरिरहँदा मैले नेपाल चाहरिरहेको हुन्थेँ, लुम्बिनी चाहरिरहेको हुन्थेँ ।

काठका विशाल खम्बाहरूबाट निर्माण गरिएको भवनभित्र एक हजार एक बुद्धलाई सैनिकहरूले परेड खेलेजस्तै उभ्याएर राखिएका छन् । कस्तो मेहनत, कस्तो आस्था अनि संरक्षण । सयौँ वर्ष अगाडि प्राचीन कालिगढहरूबाट जन्माइएका ती मूर्तिहरू तयार पार्न कति वर्ष लाग्यो होला ? म तिनै मूर्तिहरूभित्र हराइरहेको थिएँ । हामीले धर्मशास्त्रमा पढेँजस्तो तेत्तीस कोटि देवताजस्ता लाग्ने ती मूर्तिहरू हस्तकलाका अद्वितीय नमूना थिए । त्यहाँ ब्रहृमा, इन्द्र्रका मूर्तिहरू अनि संस्कृतका श्लोकहरू पनि कोरिएका थिए । आमाबुबा र म तीनै जनाले सुस्वास्थ्यको कामना गर्दै निश्चित शुल्क तिरेर बुद्धका प्रतिमूर्ति सामुन्ने दीप प्रज्ज्वलन गर्‍यौँ । त्यतिखेर मेरो सम्पूर्ण आनन्द र खुसीयाली त्यही दीपशिखासँग मिसिएर अझ प्रज्ज्वलित हुँदै भगवान् बुद्धको सामुन्ने फर्फराइरहेको थियो ।

हामी तेत्तीस कोटि भगवान्लाई कोटिकोटि प्रणाम गर्दै त्यहाँबाट बिदा भयौँ । त्यसपछि हामी चढेको जापानको महँगो ट्याक्सी सहरको छातीमाथि गुड्किँदै स्वर्णमन्दिर अर्थात् गोल्डेन टेम्पलतर्फ हुँइकियो । क्योतोको प्रतीकको रूपमा उभिएको स्वर्ण मन्दिरलाई जापानीहरू ‘किङ्काकुजी’ भन्दा रहेछन् । यसैले चालकलाई गोल्डेन टेम्पल लैजाउ भन्दा एकछिन अलमलिएका थिए ।

‘तपाईंहरू कुन भाषामा कुरा गर्दै हुनुहुन्छ ?’ हामीहरू आफ्नै सुरमा कुरा गरिरहेको सुनेर चालकले जिज्ञासा प्रकट गर्‍यो । “तपाईंलाई ‘हिमाराय’ (हिमालय) को बारेमा थाहा छ ?” मैले उसलाई सीधै हामी नेपाली हौं नभनेर घुमाउरो पाराले बुझ्न सक्छ कि भनेर उल्टै प्रश्न राखेँ । ‘ए…हिमाराया’ उसले निकै बुझक्कडजस्तो गर्विलो मुद्रामा मतिर हेर्दै भन्यो । मलाई खुसी लागेर आयो । कम्तीमा उसलाई हिमाली मुलुक नेपालको बारेमा जानकारी त रहेछ । गाडीको स्टेरिङ चलाउँदै ऊ मलाई अझ गौरवका साथ सुनाइरहेको थियो- ‘मैले टी.भी. मा तपाईंहरूको तिब्बत र चोमोलोङमाको बारेमा हेरेको थिएँ’ । अब मेरो नेपाली मुटु चिसो भएर आयो र त्यही सडकमा गएर पछारियो, जसमाथि उसले अज्ञानताको बाहन गुडाइरहेको थियो । मलाई सह्य भएन । मेरो मुटुलाई घाइते पार्नेको गाडी चढ्नु नै बेकार भइरहेको थियो । ऊफ…….मैले यो महँगो मुलुकको महँगो ट्याक्सी आज ब्यर्थै चढेँछु । ‘हामी तिब्बती होइनौ । नेपाली हौँ । चोमालोङमा नेपालमा पर्छ । तिमीलाई त्यति पनि थाहा छैन । ‘मैले अलिकति उसलाई दवाउने हिसाबले कुरा गरेँ ।

‘माफ गर्नुहोला, म त्यति विदेश घुमेको छुइनँ र विदेशको बारेमा उति जानकारै छैन ।’ उसले स्वाभाविक अनभिज्ञता प्रकट गर्‍यो । मैले अझ आगोमाथि घिउँ थपिदिएँ ‘सायद तपाईंलाई थाहा छैन होला बुद्ध पनि नेपालमै जन्मिएका हुन् भनेर ।’ ‘ए, हो र….. मैले त इन्डिया भन्ने पो सुनेको थिएँ’ उसले बडो आश्चर्य प्रकट गर्‍यो ! ‘जिन्दगीमा मैले पहिलो पटक नेपालीलाई भेटिरहेको छु । आज मैले दुई कुराको ज्ञान प्राप्त गरेँ । एभरेस्ट नेपालको र बुद्ध नेपालमा जन्मिएको भन्दै गाडीमा ब्रेक लगायो र स्वर्ण मन्दिर आइपुगेको जनाउ दियो । जाने बेलामा हामीलाई अरिगात्तो (धन्यवाद) दिँदै ऊ भनिरहेको थियो मौका पाउने बित्तिकै म अवश्य पनि नेपाल पुग्नेछु ।

स्वर्ण मन्दिरको हाताभित्र प्रवेश गर्दा पर्यटकहरू खचाखच थिए । हामी पनि त्यहीँ घुइँचोभित्र एकाकार भएर अघि बढ्यौँ । ठाउँठाउँमा शिवलिङ्गजस्ता स-साना ढुङ्गाका बुद्ध मूर्तिहरू प्रतिस्थापित गरिएको देख्दा पशुपतिनाथको यात्रा गरिरहेको भान हुन्थ्यो । स्वर्गको टुक्राजस्तो लाग्ने यस पावन भूमिमा म बुबाआमालाई तीर्थ गराइरहेको थिएँ । जसको सुन्दरताको बारेमा धेरै कविताहरू कोरिएका छन्, तस्बिरहरू कुँदिएका छन्, जसको आधारमा उभिएर अनगिन्ती कथा, उपन्यासहरू लेखिएका छन् ।

वरिपरिको हरियाली वातावरणबीच मेरा नयनहरू एक्कासि नजिकैको सुन्दर तलाउमा गएर ठोक्किए, जसभित्र स्वर्ण मन्दिरको छायाँ धपक्क बलिरहेको थियो । म चुम्बकीय शैलीमा नजिकिँदै गएँ । अनि स्वयं आफैँ पूर्णरुपले स्वर्णमयी भएँ । मेरा सारा खुसीहरू स्वर्ण मन्दिरको सुनौलो रङजस्तै घामका किरणहरूमा टल्किरहेका थिए । मेरो आनन्द त्यहीँ तलाउको पानीमा गएर समाहित भइरहेको थियो, जहाँ स्वर्ण मन्दिरको सुन्दर तस्बिर प्रतिविम्बित भइरहेको थियो ।

मन्दिरभित्र प्रवेश निषेध रहेछ, बाहिरबाटै अवलोकन गर्नुपर्ने । पर्यटकहरू तस्बिर खिच्न तँछाडमँछाड गर्दै थिए । तलाउमा सर्वाङ्ग नुहाइरहेकी परीलाई देख्दाको पुरुष मनजस्तै मसँग अनगिन्ती पर्यटकहरू पनि लोभिएका थिए- स्वच्छ तलाउमा देखिने स्वर्ण मन्दिरको प्रतिविम्ब हेर्न । सुनै सुनको पाताले बेरिएको उक्त तीन तले मन्दिरलाई सन् १३९७ मा तत्कालीन शासकले निर्माण गर्न लगाएका थिए । जसको लागि धेरै धार्नी सुनको खपत भएको देखिन्छ । भवनको पहिलो तला दरवारीया शैलीमा दोस्रो तला तत्कालीन सैनिकहरूको आवास शैलीमा र तेस्रो तला बौद्ध मन्दिरको शैलीमा निर्मित छ ।

दर्पण पोखरीमा देखिने लोभलाग्दो स्वर्ण मन्दिरको छायाँसँग लुकामारी खेल्ने रहर अझै पुगिसकेको थिएन । मन रमाएको बेला समय पनि कति चाँडो चिप्लिदोरहेछ । यथार्थमा मेरो मन त्यहाँबाट अन्यत्र भाग्न मानिरहेको थिएन तर समयको पावन्दी छ । हाम्रो यात्रा अन्यत्र अझै बाँकी थियो । गह्रौ मन बोकेर त्यहाँबाट र्फकनुअघि सिङ्गो मन्दिर र तलाउलाई आँखाभरि राखेर नियालेँ । मन्दिरमाथिको सुनौलो फोनिक्स चरा मतिर फर्किएर बिदाइ गरिरहेको जस्तो लाग्यो । मैले मनमनै अर्को पटक पुनः आउने वाचा गर्दै बिदाइका हात हल्लाएँ ।

त्यहाँबाट हामी पुनः ट्याक्सी चढेर अर्को रमणीय स्थल ‘कियोमिजुदेरा’ तर्फ लम्कियौं । त्यहाँ पुग्न स्वयम्भूको जस्तो ठाडो बाटो उकालिनुपर्छ । आमाहरू बिस्तारै पाइला चालिरहनु भएको थियो । म भने गोर्खाली पाराले अघि बढिरहेको थिएँ । बाटोमा जापानी हस्तकलाका पसलहरू पर्यटकहरूलाई स्वागत गरिरहेका थिए । जति जति माथि चढ्थ्यौँ, उति उति आनन्दको अनुभूति चुलिन्थ्यो । म केही पाइला लम्किएर घरिघरि टक्क अडिन्थेँ र वरपरको घमाइलो वातावरण नियाल्थेँ । त्यो पवित्रस्थल, जहाँ प्रत्येक यात्रुहरू आफ्ना दुःखहरू बिर्सेर क्षणिक भए पनि आत्मिक शान्ति पाउन सक्छन् । सम्पदा, संस्कृति अनि प्राकृतिक छटाको अनुपम भण्डार छ । जसभित्र अपनत्व लुकेको थियो । त्यहाँ पोतिएको पूर्वीय संस्कृतिभित्र हामै्र गौतम बुद्ध विराजमान थिए ।

‘जब तपाईं यो पहाड चढ्नु हुन्छ, तपाईंलाई बुद्धको नजिकै पुगिरहेको अनुभूति हुन जान्छ ।’ पुरानो यो भनाइ जस्तै म पनि यो पहाड चढिरहँदा झल्झल्ती बुद्धलाई सम्झिएर लुम्बिनी पुगिरहेको थिएँ । त्यस मन्दिरक्षेत्रमा केही प्राचीन भवन र मन्दिरहरू लामो इतिहास बोकेर सगर्व उभिइरहेका छन् । मुख्य मन्दिरको बाहिर विशाल काठे वरण्डा ठडिएको छ, जसलाई तल फेदबाट माथिसम्म आकर्षक ढङ्गले काठका दलिनहरूबाट अड्याइएका छन् । त्यहाँबाट सिङ्गो क्योतो सहरको दृश्यावलोकन गर्न सकिन्छ । मलाई त स्वयम्भूनाथबाट काठमाडौँ सहर हेरेजस्तो लाग्यो । बुबाले क्योतो सहरलाई एक नजर लगाउँदै आमालाई सुनाउँदै हुनुहुन्थ्यो । आमाले पनि हो मा हो मिलाउनु भयो । आखिर नहोस् पनि कसरी ! ‘फूल को आँखामा फूलै संसार’ भनेजस्तै चाहे ‘कियोमिजुं- देश होस् या स्वयम्भू! पवित्रस्थलबाट देखिने दृश्यहरू पनि समान हुने नै भए ?’

हामी अघाउञ्जेल त्यहाँ रमायौँ । अनि अर्को बाटो भएर डिलैडिल मुनिबाट सुस्तरी ओर्लन थाल्यौँ । भोकले पेटमा मुसा दौडन लागेका थिए । ‘इरास्याइमासे’ रेस्टुरेन्ट बाहिर हामीलाई स्वागत गर्दै एउटा पोथी स्वर बास्यो । बाँस र प्लास्टिकबाट बनाइएको छाप्रोभित्र पस्यौं । दायाँपट्ट िडिलैमुनि बगिरहेको खोल्साको आवाज सुन्दै हामी आफ्नो थकानलाई मेटिरहेका थियौँ । खोल्साको सङ्गीत हाम्रैं गाउँघरको जस्तो थियो । त्यहाँ जापानी ग्रिन टी र खानेकुरा खाएर फेरि ओरालो लाग्यौँ । मैले माथि फर्किएर एकफेर मन्दिरतर्फ हेरेँ । बडेमानको काठे बरण्डालाई काँधमा बोकिरहेका खम्बाका जञ्जालहरू निकै चित्ताकर्षक देखिए ।

जापानी ग्रिन टीले प्यास मेटिरहेको थिएन । चिसो पानी खान पाए नि हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । ढुङ्गा खोज्दा देउता मिल्यो भनेजस्तो निकै तल डिलमुनि आइपुगिसकेपछि लस्करै रहेका तीनवटा ढुङ्गेधाराहरूले हाम्रो मन खिच्यो । जसबाट झरेको पानी खान जापानीहरू ताँती लागेर पर्खिरहेका थिए । हामी पनि त्यही झुण्डमा मिसियौँ ।

जापानीहरू काठको लामो डाडुले थापेर पानी पिइरहेका थिए । यो पानीले रोगहरू निको हुन्छ भन्ने जापानी मान्यता रहेछ ।

‘कियोमिजु’ अर्थात् जापानी भाषामा कञ्चन पानी जसको आधारमा मन्दिरको नामाकरण गरिएको रहेछ । मैले पनि अञ्जुलीभरि पानी थापेँ र सासै नफेरी सिनित्त पारेँ । माथि पहाडको मूलबाट बहेको त्यो पानीमा शीतलता थियो, पहाडी सुगन्ध थियो । जसले मेरो शरीरका हरेक मांसपेसीहरूलाई स्फूर्ति दिइरहेको थियो । अनि मेरो मन चङ्गा भएर बुद्ध भगवान्को वरिपरि उडिरहेको थियो ।

यस पवित्र जलपानको बेला मलाई बाल्यकालको सम्झना आइरहेको थियो । यातायातको सुविधा नभएको बेला हामी हिँडेरै सयौं डाँडा र थुम्काहरू काट्थ्यौं । चैत सुकेर सिद्राजस्तो भएको बेला हिँड्दाहिँड्दै लखतरान भएर पसिनाले जीउ नुहाइन्थ्यो । त्यतिबेला हामी खोल्साखोल्सीमा भेटिने यस्तै कञ्चन पहाडी पानी पिएको भरमा अघि बढ्थ्यौँ । यात्रामा प्यास मात्र मेटिने होइन, शरीरमा पनि कस्तो आड दिन्थ्यो त्यो पानीले ।

हामी मूल सडकमा आइपुग्दा पारि क्षितिजमा सूर्यास्तको लालिमाले रङ्गिसकेको थियो । व्यस्त जापानीहरू आ-आफ्नो गुँडतिर जान हतारिँदै थिए । हजारौँ वर्षसम्म जापानी राजधानी रहेको यो पावन भूमि, अनगिन्ती राजा महाराजाहरूले राज्य गरेको प्राचीन नगरी अनि जापानी संस्कृति र सभ्यताको उद्गमस्थल क्योतोको यात्राभरि मेरा आँखा सामुन्ने धेरैपटक नेपाल नाचिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *