Skip to content


नेपाली साहित्यमा विभिन्न विधामा एकसाथ कलम चलाएर पनि सफल बनेका स्रष्टा हुन् कृष्ण धरावासी । कथा, उपन्यास, कविता, समालोचना, निबन्ध विधामा उनको उपस्थिति बलियो रहेको छ । वि.सं. २०४८ मा ‘बालक हराएको सूचना’ निबन्धसङ्ग्रहबाट कृतिकारका रूपमा परिचित भएका थिए उनी । ‘नारीभित्र त्यस्तो के छ हजुर’ र ‘उत्तमजङ सिजापतिको आलु’ पनि उनका चर्चित निबन्धसङ्ग्रह हुन् । हालै अठारौँ कृतिको रूपमा ‘आँधी नआउने घर’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ ।

पैरवी बुक्स हाउसद्वारा प्रकाशित यस सङ्ग्रहमा २७ वटा निबन्ध छन् । पहिलो निबन्धको शीर्षकबाट नै पुस्तकको नामाकरण भएको छ । यस निबन्धले गरिबीको सिमान्त पीडालाई प्रष्ट्याएको छ । निबन्धकारले प्रत्येक वर्खामा पानी र आँधी आउँदाको आफ्नो घरको पीडालाई चित्रात्मकरूपमा उतारेका छन् । उनले लेखेका छन् -”जब आँधी आउँथ्यो हामी छानाको दुई छेउतिर उभिएर झुण्डिन्थ्यौ । एकातिर आमा झुण्डिनु हुन्थ्यो अर्कोतिर म र बहिनीहरू । बुबा अपाङ्ग भएकोले यो लडाइँ उहाँ लड्नु हुन्नथ्यो ।”

यसरी दुःखसँग सामना गर्दै एघार पटकसम्म बनाएको घर आगो लागेर नष्ट भएको थियो । यस्तो दुःखबाट गुज्रेका निबन्धकार अहिले आँधी नआउने घरमा बसेर विगतको भोक, रोग, उपचार गर्न नसकेर ४८ वर्षमै मृत्यु भएका बाबु र रगत छाद्दै मरेकी आमालाई बिर्सने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । यस निबन्धमा निबन्धकारले आफ्नो दुःखदेखि अहिलेसम्मको यात्रालाई इमान्दारीपूर्वक प्रस्तुत गरेर समाजमा गतिलो उदाहरण छोडेका छन् ।

अँध्यारो त्याग्न चाहनेहरूका लागि उज्यालोतिर बढ्ने धेरै बाटाहरू भएको ‘अलाउद्दिनको बत्ती, निबन्धमा प्रस्तुत गरेका छन् । देशमा गणेश प्रवृत्तिका कारण अयोग्यहरू योग्य प्रमाणित भइरहेका प्रति असन्तोष व्यक्त गरेका छन्, ‘भित्ते गणेश’ मा । देशमा भएको हिंसा, हत्याको घटनाले मानवीय संवेदना घटाएर नदुख्ने मन बनाएको तथ्य ‘प्लास्टिकको मन’ मा प्रकट छ । ‘ढाडे’ले नारीमाथि हुने असमानता, पसिना बेचेर पेट पाल्नेको ठेला चोेरी भएको हनुमानेको ठेलामा रहेका छन् । स्रष्टाहरू मोहन कोइराला, ईश्वर वल्लभ र तीर्थ श्रेष्ठसँगका सन्दर्भ र खर्साङ यात्रामा दुर्घटनामा परी दिवङ्गत भएका कवि विनय रावलसँगका सन्दर्भहरू मार्मिक छन् । निबन्धकारले आफ्ना वा अरूका कुरालाई निबन्धमार्फत् सामाजिक विकृति र विसङ्गतिहरूमाथि प्रहार गरेका छन् ।

समग्रमा निबन्धसङ्ग्रह दुःख र गरिबीको मार्मिक कथा बनेको छ । निबन्धकारले आफ्ना विगतका कमजोरीलाई सहजरूपमा प्रस्तुत गरेका छन् । केटाकेटीमा गरिबीको कारण जुत्ता किन्न नसकेर चोरी गरेको र विवाहमा मात्र छालाको जुत्ता लगाएका जस्ता थुप्रै प्रसङ्गहरू मन छुने छन् । यसबाट आफ्नो विगतलाई कृत्रिमरूपमा प्रस्तुत गर्नेहरूका लागि इमान्दारिताको उदाहरण पनि बनेका छन् निबन्धकार ।

समाजका कतिपय आँखामा नपर्ने सामान्य घटनाहरूमा कत्तिको गहन चिन्तन रहेको हुन्छ भन्ने कुरालाई स्पष्ट पार्न लेखक सक्षम छन् । सामान्य र सूक्ष्म विषयमा भारी चिन्तन मिसाएर सुन्दर निबन्ध बुन्न कृष्ण धरावासी ‘आँधी नआउने घर’मा पूर्ण सफल भएका छन् ।

पुस्तक ः आँधी नआउने घर (निबन्धसङ्ग्रह)
निबन्धकार ः कृष्ण धरावासी
प्रकाशन ः पैरवी बुक्स हाउस
सम्पादक ः हेम भण्डारी
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः १०+१३२
मूल्य ः रु. १५०।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *