Skip to content

उहाँको त सुर हरायो, हाम्रो नि !

  • by


फणिन्द्रराज खेताला यतिखेर मान्छे चिन्नु हुन्न, पहिले उहाँलाई धेरै मान्छेले चिनेनन्, अहिले उहाँ कोही पनि चिन्नुहुन्न, आफ्नै परिवार पनि । फरक यति हो सुर हराएपछि उहाँले अरूलाई चिन्न छाड्नुभयो, अरूले सुर नहराउँदा पनि उहाँलाई चिन्न सकेनन् । कुरो उही हो, हामी समयमै मान्छे चिन्न सक्दैनौँ, चिने पनि बूढो भएपछि, अस्पताल पुर्‍याएपछि, पशुपति लगेपछि मात्र मान्छे चिन्छौँ हामी । मान्छेका नाममा भीड जम्मा भएपछि सही मान्छे चिन्न नै कहाँ सकिन्छ र ?

१३ दिनको अस्पताल बसाइपछि फणिन्द्रराज खेतालालाई गएको शनिवार घर फर्काइयो कुमारी गालमा । उहाँ स्वस्थ भएर होइन, स्वास्थ्यमा सुधार नभएपछि घरमै रेखदेख गर्नुभनेर अस्पतालले फर्काएपछि फणिन्द्रराज खेतालाको ८९ वषर्ीय शरीर यतिखेर आफ्नै घरमा सीमित भएको छ । बिगि्रएको स्वास्थ्य, सुर नभएको अवस्था र आफ्नै परिवारका सदस्यलाई समेत नचिन्ने अवस्थामा पुग्नुभएको छ उहाँ । आफैँले जन्माएको सन्तानसमेत नचिन्ने, आफ्नै सन्तानले समेत नचिन्ने हुनु भनेको सकस नै हो । अहिले यस्तै सकस छ उहाँलाई । त्यसो त पीडाको, सकसको, कष्टको अनुभूति पनि गर्न नसक्ने अवस्थामा पुगेको मान्छेलाई यतिखेर पीडा दुःख, जीवन-मृत्यु, सुख-सुविधा सबै बराबर भएको छ ।

आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा शिक्षणमा अनवरतरूपमा साहित्य सेवामा लागि नेपाली भाषामा उल्लेख्य योगदान गरेबापत वि.सं. २०६२ सालको जगदम्बाश्री पाउने उहाँ । वि.सं. १९९४ देखि निरन्तर साहित्य साधनामा लाग्ने उहाँ । ४३ वर्षसम्म शिक्षण पेशामा आवद्ध उहाँको परिचय सिर्जना र सेवा नै हो । ८९ वर्षको उमेरमा आइसकेर साहित्य र शिक्षामा थुप्रै भोटो फटाइसक्नुभएका फणिन्द्रराज खेतालाको परिचय दिनु नै आवश्यक छैन । एउटै रटान र एउटै समूहमा केन्दि्रत ‘प्रचार’ अभियानले अचेल साहित्य क्षेत्रमा धेरै स्रष्टामाथि न्याय हुनसकेके छैन, कैयौँ स्रष्टामाथि अन्याय भएको छ । उहाँ पछिल्लोमा पर्नुहुन्छ, न्याय नपाएकोमा ।

विजय (नाटक) २०१९, छाँगो र छायाँ (कविता) २०२८, नागफनी र स्वास्नीमान्छे (एकाङ्की सङ्ग्रह) २०४३, सीता स्वयम्बर (नाटक) २०२५, आफैलाई टेकेर हिंड्दा (संस्मरण) २०६२, खेतालाका कविता २०६७, मौलिक कविता कृति, सांस्कृतिक एकाङ्की र फिलिङ्गो दैनिकको बालकथा पुस्तक सम्पादन गर्नुभएको छ उहाँले । मित्र मण्डल, मित्र वाचानालयका संस्थापक, फर्पिङ पुस्तकालय, अग्रगामी साहित्यिक मण्डल अध्यक्ष, भैरव पुरस्कार गुठीका उपाध्यक्ष, नेपाल लेखक सङ्घका सदस्य उहाँका थप परिचय हुन् ।

वि.सं. १९९४ सालमा गोरखापत्रमा ‘पैसा’ शीर्षकको कविता छपाएर साहित्यमा प्रवेश गर्ने फणिन्द्रराज खेतालाको जीवनमा साहित्य र शिक्षा जगत्का दुई व्यक्तित्व बने । वि.सं. २००४ को सुरूदेखि २०४६ को अन्त्यसम्म गरी ४३ वर्ष उहाँले शिक्षण अध्यापनमा लगाउनुभयो । पशुपति मित्र माध्यमिक विद्यालय, त्रिभुवन आदर्श विद्यालय (फर्पिङ), पशुपति क्याम्पस आदिमा शिक्षण, प्राध्यापन गर्नुभयो उहाँले । वि.सं. २००७ देखि २०१७ सम्म नेपाली काङ्गे्रसको सदस्य भएर राजनीतिमा पनि सक्रिय रहनुभयो उहाँ । वि.सं. १९७९ सालको असोज १३ गते काठमाडौँको ठमेलमा जन्मिनुभएको फणिन्द्रराज भट्टराई नेपाली साहित्य, शिक्षा, राजनीतिमा ‘खेताला’ कै रूपमा चिनिनुभयो । उहाँको योगदानलाई कसले कति सम्झिए त्यो बेग्लै पक्ष हो । उहाँले भाषा साहित्य सम्झिनु भयो यो चाहिँ उल्लेख्य पक्ष हो ।

रत्नश्री स्वर्ण पदक (२०४३), दीप स्मृति पुरस्कार (२०५२), वेदनिधि पुरस्कार (२०५६), सिपाही पत्रिका पुरस्कार (२०३७, २०३९), रूद्रराज पुरस्कार (२०६१), भवदेव पन्त पुरस्कार (२०६१), जगदम्बाश्री (२०६२) बाट सम्मानित उहाँ विभिन्न सम्मान र अभिनन्दनबाट अभिनन्दित हुनुभएको छ ।

“मेरो दिमाग अहिले पनि पहिले जस्तै चल्छ तर हात पहिलेजस्तो चल्दैन, तैपनि लेख्न छाडेको छैन । जो माग्न आउँछ उसलाई दिन्छु तर छापी देउ भन्ने मेरो बानी छैन । त्यसैले पनि म अलि पछि परेको छु । अनुरोध गर्नेलाई भने स्वास्थ्यले भ्याएसम्म इन्कार गर्दिन । ७६ पुगिसकें, साहित्य लेख्न थालेकै ६६ वर्ष भइसक्यो, अब पनि कसैसँग अनुरोध गर्न जाउँ ! मेरो नैतिकताले मान्दैन । मसँग अहिले संस्मरण र एकाङ्की गरेर सात/आठ वटा कृतिका सामग्रीहरू छन् । मैले छोरालाई अन्तिम समयमा भन्ने छु – तैँले छाप्न सक्ने भए छापिदिनु अन्यथा मेरो चितामाथि राखिदिनु ।” (२०५६।५।१०, दायित्व, २०५६)

पैसाको अभाव भएर लेख्न पे्ररित हुने फणिन्द्रराज ‘खेताला’ जीवनको उत्तरार्धमा पनि कृति प्रकाशनको समस्यामा पर्नुभएको छ । प्रज्ञा प्रतिष्ठानका चार ढोकामध्ये कुनबाट भित्र छिर्नेसम्म उहाँलाई थाहा छैन रे ! उहाँलाई थाहा नभएको कुरा अरूलाई कसरी थाहा होस् । त्यसैले वरिष्ठ साहित्यकार फणिन्द्रराज खेताला वाचल एकेडेमी, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठान कतै पर्नुभएन । अहिले त झन् बिरामी भएर ओछ्यान पर्दासमेत धेरै कमको मात्र ध्यान उहाँमा पुगेको छ । एउटा साधक निरन्तर साधना गरिरहन्छ भन्ने उदाहरण बनेर उहाँले त योगदान दिनुभयो । एउटा कृतघ्न समाज सही व्यक्तिको समयमै मूल्याङ्कन गर्न सक्दैन भन्ने आक्षेप लागेको बेला छ यतिखेर । सुर हराएको बखत यस्ता पीडा त उहाँ अनुभव गर्न सक्नुहुन्न । उहाँसँग भएका कुराकानी, उहाँका अभिव्यक्ति, अन्तर्वार्ता आदि हेर्दा पढ्दा थाहा पाइन्छ । पीडाको अनुभव उहाँले गर्दै आउनुभयो । यतिखेर फणिन्द्रराज खेताला अस्वस्थ शरीर र सुर हराएको जीवन बाँचिरहनुभएको छ । अबका दिन उहाँबाट हामीले पाउने कुरा शायदै पाइएला, अबको समय ढिलै भएपनि उहाँलाई सम्झिने हो, उहाँको मूल्याङ्कन गर्ने हो, उहाँको योगदानको कदर गर्ने हो ।

शनिबार, गोरखापत्र
माघ १, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *