Skip to content

उनीलाई सम्झी बिताएँ रात सिरानी भिजाई

  • by


उनीलाई सम्झी बिताएँ रात सिरानी भिजाई
मनको पर्दा उघारी पारी क्षितिज चिहाई
कसरी छुन सक्छु र मेरो शितल जूनलाई
गाँउमा छोडी प्रदेशमा सम्झी रुदैछु उनलाई ।

नपाई उनको रापिलो स्पर्श यो तन तातेन
नदेखी उनको रुपको लाली भावना जागेन
सम्झन्छु उनको मधुर बोली लाजै बोलेको
एकान्त पारी सँगैमा बसी मन पेट खोलेको ।

सँगैमा रम्ने लजालु बानी मधुर मुस्कान
उनकै तस्बिर आँखामा नाच्छ सकिन बिर्सन
सम्झन्छु उनले कोमल हात तनमा चालेको
कोमल मन दिएर मलाई पिरती गालेको ।

डराई मन सुस्तरी बोलिन् छोडेर नजाऊ
मनको बारी गोडेर यहीं पिरती फुलाऊ
मानिन उनको अमृत बचन छोडेर आएँ म
यामको बन्धन प्रीतको डोरी तोडेर आएँ म ।

पराई भूमि उनका बचन सम्झन्छु झल्झली
देख्दैछु उनलाई जून झै राम्री फूल झै मखमली
नरोई बस फर्केर आउँछु सँगमा रमाउन
बिदेशमा पनि सकिन मैले चाहेको कमाउन ।

फलाउनु पर्छ देशमै मोती पसिना पोखेर
खेलाउनु पर्छ काखमा रहर पिरती रोपेर
आउछु परदेश छाडी देशमै केही गर्नलाई
जुन देशमा पहिलो पाइला टेके त्यही देशमा मर्नलाई ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/१०/५

Leave a Reply

Your email address will not be published. Required fields are marked *