आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ
मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो
किन चोरेर लग्यौ एकाएक
मेरो मनको एक जोडी परेवा
पर्काइदेऊ
उडून् माथि कतै आकाशको गहिराइमा
चाहान्छन् यदि भने
आकाशदेखि पनि पर कतै अनन्तको आकाशमा
आज यो मनलाई लामो थकान मेट्न
कुनै चौतारीको ढुँगा चाहिएको छ
एक जोडी बर-पीपलको छाँया
र निर्मल, सुकिलो, चिसो बतास चाहिएको छ
कंकाल जस्तै यो मन
गहिराइ छामेर तल ओर्ले जस्तो
मध्यरात मन पनि मीठो निद्रा निदाउन नसकेर
छटपट-छटपट
यो मेरो मनको तलाउमा
एकाएक आज तरङ्ग उठिरहेछ
एक झरी निद्रा फर्काइदेऊ
एक जोडी परेवा फर्काइदेऊ मनको
किन चोर्यौ सुटुक्क यो मनको अज्ञात देशबाट
उड्न देऊ चुपचाप गहिराइमा
आकाशदेखि पर कतै अर्को आकाशमा ।
samikshya
samikshya —(pokhara)
सरस्वती शर्मा ‘जिज्ञासू’ र उनको लेखन
– तुलसी प्रवास
निराश बनेर जिन्दगी नचुँडाऊ तिमी
तिमीले पनि हिंसाको आगो बालेर
दागबत्ती ताप्नुहुन्न
तिमीले पनि बन्दुक छ भनेर आवेशमा मात्नु हुन्न
हो साँच्चै सबै ‘तिमीहरू’ ले अब फेरि सोच्नै पर्छ ।
तिमीले त्याग गर्नुपर्छ, पुनः बुद्ध जन्माउनुपर्छ
घुम्ने कुर्सी ताक्ने होइन, खाडल सम्याउनुपर्छ ।
धाँजा फाटेको धर्तीको आघातलाई चोटको घाउ निको पार्न
हो, तिमी मलम बन्न सक्छौ, हिरामोती फल्न सक्छौ
गोलीको प्रयोगले होइन अब
बोलीको प्रयोगले तितरबितर विरुवालाई
एक ठाउँमा सार्न सक्छौ
सत्य लेख्ने कलमको आविष्कार गर्न सक्छौ
सद्भाव, शान्ति र सहिष्णुता लेख्न सक्छौ
हाँसो, खुसी र उमङ्ग देख्न सक्छौ
साँच्चै तिमीले ओठमा लाली छर्न सक्छौ ।
अब तिमी राष्ट्रघातका कुरा नगर
छुराका कुरा पनि नगर, तरबार र दरबारका कुरा पनि नगर
अब मान्छे पुर्ने खाडलका कुरा पनि नगर
त्रास, सन्त्रास र भयका कुरा पनि नगर
दुःख, यातना र पीडाका कुरा पनि नगर
खुसी निमोठ्ने कुरा पनि नगर ।
तिम्र हाम्रा स–साना नानी र बूढा बाबुआमा
भर्खर सुतेका छन्
त्यसैले त्रासका कुरा नगर
बम, बन्दुक र सन्त्रास एवम् आतङ्कका कुरा पनि नगर
किनकि अब पुनः बुद्ध जन्माउनुपर्छ
अब शान्तिदीप बाल्नुपर्छ ।
(पुनः बुद्ध जन्माउनुपर्छ कविताबाट)
नेपाली साहित्यमा मोफसलबाट कलम चलाउने अति कम नारी स्रष्टाहरूमध्ये सरस्वती शर्मा ‘जिज्ञासू’ एक आशालाग्दी स्रष्टा हुन् । वास्तविक नाम सरस्वती शर्मा पौडेल भए पनि उनी सरस्वती शर्मा ‘जिज्ञासू’ का नामबाट परिचित छन् । साहित्य सिर्जना र पत्रकारिता उनको मुख्य पेशा हो । त्यसका साथै समाजसेवा पनि उनको रुचिको विषय हो । वि.सं. २०२५ साल श्रावण, १३ गतेका दिन कटुवाचौपारी –२, ज्ञादी, पर्वतमा पिता प्रजापति अधिकारी र माता गौरी अधिकारीका आठ सन्तानमध्येकी कान्छी सुपुत्रीको रूपमा उनको जन्म भएको हो । शिवालय गाविस वडा नं.–५, कुश्मा, पर्वतमा स्थायी बसोबास गर्दै आएकी ‘जिज्ञासू’ पारिवारिक रूपमा विमल शर्मा पौडेलकी धर्मपत्नी र डा. सबिना पौडेल र सम्झना पौडेल गरी २ छोरीकी आमा पनि हुन् ।
एउटा असल पत्रकार र पाठकहरुकी प्रिय साहित्यकारको रुपमा उनले आफ्नो व्यक्तित्वको परिचय दिलाइरहेकी छन् । विगत १० वर्षदेखि रेडियो नेपालको पर्वत सम्वाददाता र हाल रेडियो दिदीबहिनी एफ.एम.(९५.२), पर्वतको व्यवस्थापक एवम् कार्यक्रम प्रस्तोता समेत रहेर उनले आफ्नो पत्रकारिता पेशालाई इमान्दारीका साथ निर्वाह गरिरहेकी छन् । त्यसैगरी साहित्यको क्षेत्रमा उनी कवि, कथाकार, गीतकार, गजलकारको रूपमा स्थापित भएकी छन् । त्यसका साथै साहित्यिक पत्रकारितामा पनि उनको त्यत्तिकै योगदान रहेको छ । देशप्रेम, शान्तिको चाहना, मानवीय संवेदनाको सफल प्रस्तुति, नारीवादी दृष्टिकोण, सरल, सहज एवम् संवेद्य भाषाशैली आदि ‘जिज्ञासू’का साहित्यिक रचनामा पाइने प्रमुख विशेषता हुन् ।
सरस्वती शर्मा ‘जिज्ञासू’को विभिन्न साहित्यिक एवम् सामाजिक संघ संस्थाहरूमा आवद्धता रहेको छ । उनी गजल मञ्च नेपाल, धौलागिरीको संयोजक, माधुरी साहित्य प्रतिष्ठान, कुश्मा, पर्वतको अध्यक्ष, धौलागिरी महिला विकास समिति, पर्वतको अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय सदस्य, नेपाली लेखक संघ, केन्द्रीय सदस्य, बालकल्याण समिति पर्वत र पर्वत साहित्य संगम, नेपालको कार्यसमिति सदस्य, हाम्रो मझेरी (भरतपुर), पोखरा एक्सप्रेस (पोखरा) र पल्लव साहित्य प्रतिष्ठानकी आजीवन सदस्य का साथै उद्योग वाणिज्य संघ, पर्वतमा सल्लाहकार, जनमत मासिककी संरक्षक र धौलागिरी वाङ्मय समाज, बागलुङको कोषाध्यक्ष लगायत अन्य प्रशस्तै संघ संस्थाहरूमा विभिन्न रूपले आवद्ध छन् ।
सरस्वती शर्मा ‘जिज्ञास’ूका प्रकाशित कृतिहरूमा नारीको आह्वान गीति संग्रह (२०६१), हुस्सुभित्रको घाम गजल संग्रह(२०६२) का साथै १० वटा जति कृतिमा संयुक्त लेखनको रूपमा पनि प्रस्तुत भएकी छन् । हाल पर्वतबाट प्रकाशित हुने ‘नवमाधुरी’ नामक साहित्यिक विविधताको राष्ट्रिय पत्रिकाको सम्पादक समेत उनी रहेकी छन् ।
‘जिज्ञासू’ को पत्रकार, साहित्यिक तथा सामाजिक व्यक्तित्वको उचित कदर गर्दै विभिन्न संघ संस्थाहरूले दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा उनलाई विभूषित पनि गरेका छन् जसमध्ये केही प्रमुख सम्मान तथा पुरस्कारहरूमा – नारी दिवस कविता पुरस्कार (२०६१), जेसिज कविता पुरस्कार(सन् २००५), मित्ज्यू साहित्य प्रतिष्ठान भरतपुरबाट स्रष्टा सम्मान (२०६३), दिपशिखा समूह म्याग्दीबाट साहित्यिक यात्रा सम्मान (२०६३), यूनिभर्सल पिस फेडेरेसन द्वारा ‘पिस एम्वेष्डर शान्तिदुत’ सम्मान(२०६३), लक्ष्मी साहित्य प्रतिष्ठान कावासोती नवलपरासीबाट लक्ष्मी स्मृति सम्मान(२०६५), पल्लव साहित्य प्रतिष्ठानबाट सम्मान (२०६६), स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाबाट–पुरस्कृत(२०६७), धनवाणी यूवा साहित्यिक पुरस्कार (२०६७), नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोटबाट सम्मानित (२०६७), ऋिषिराम रानाभाट प्रतिभा सम्मान तथा प्रोत्साहन पुरस्कार(२०६८) आदि रहेका छन् ।
एउटी असल छोरी, असल पत्नी, जिम्मेवार आमा र कुशल गृहिणी रहँदारहँदै पनि उनले पत्रकारिता, साहित्य र समाजसेवाको क्षेत्रमा निर्माण गरेको व्यक्तित्व कमैमात्र नारीहरूमा पाउन सकिन्छ । सफलतापूर्वक यी सबै क्षेत्रमा आफूलाई दह्रोसँग उभ्याएकी जिज्ञासूका पाइलाहरू यसरी नै अगाडि बढिरहून् । उनको सिर्जनशील कलम अझै तिखारिँदै जाओस् । यही शुभकामना छ ।
अन्त्यमा उनै ‘जिज्ञासू’द्वारा रचित गजलका केही शेरहरू ः
सर्वे सर्वा जनता ठान्दै आएका छौँ ऐले,
लोकतान्त्रिक दिगो शान्ति चाहेका छौँ ऐले ।
अन्याय र अत्याचारको विरोध गर्दा गर्दै
अन्धकारको ज्योति बन्न लाएका छौँ ऐले ।
अझै पनि एकोहोरो रोयो सगरमाथा,
आँसु पुछ्न नेपालीको धाएका छौँ ऐले ।
रगतको खोला बग्यो जंजीरलाई तोड्न,
भाइको मतो जोड्न हण्डर खाएका छौँ ऐले ।
विचारको लडाइँ लडे हतियार छोडे,
देशमा शान्ति हुने आभाष पाएका छौँँ ऐले ।
जनता र राष्ट्रियता मान्दै प्राण प्यारो,
अधिकार सबै फिर्ता मागेका छौँ ऐले ।
सर्वे सर्वा जनता ठान्दै आएका छौँ ऐले,
लोकतान्त्रिक दिगो शान्ति चाहेका छौँ ऐले ।
धन्यवाद ।
– शुक्रबार, 30 चैत्र, 2069
Like · · Share
Kedar Thapa, Krishna Aacharya, Avist Avi and अरु 12 जना like this.