Skip to content

‘घर’ -कथात्मक निबन्ध

  • by


मलाई सम्झना हुँदा हामी मुलघरको बाहिरपट्टि छेउमा जोडिएको सानो पखेटे पालीमा बस्थ्यौँ । त्यसलाई सबैले ग्वागल भन्थे । तराइको लामो समयको गृहस्थी बोकेर बाबाआमा हामी दुई बच्चा च्यापेर मुलघर पहाड फर्केदेखि त्यही ग्वागलमा बस्न थालेको रे । भित्ताको काउलेलेक माथिबाट दिउसो मध्यान्हमा एकैछिन एक झुल्को घाम पोखिएपछि तुरुन्तै देउरालीको डाँडाँले छेको पारिहाल्थ्यो । त्यै एकछिनको न्यानो घाम अनि बाँकीको सेपिलो त्यही पखेटे ग्वागललाई मैले जीवनमा प्रथमपटक घर भनेर चिनेँ ।

खोइ किन हो कुन्नि ! मलाई बुझ्ने भएदेखि नै ‘घर’ शब्द सँग निकै आकर्षण थियो, आत्मीयता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला ? तर मलाई अलिक बेसी नै आत्मीय लाग्थ्यो शायद । अँ म ग्वागलको कुरा गर्दै थिएँ, त्यो सानो पखेटे ग्वागल, सांघुरो ग्वागल तर मेरो प्रिय ग्वागल । त्यो मेरो थियो । हाम्रो थियो ।

अंशको मामिलामा के खट्पट परेछ भाइ-भाइमा कुन्नि ! एक दिन बाबाले हामी सबैलाई घिच्याउँदै बेसी फाँटमा झार्नुभयो । म निक्कै रोएँ त्यसबेला । “बाबा ! ग्वागल पनि बोकेर लैजाउँ न ! बेसीमा !” भन्दै रुन्थेँ भनेर आमा अझै पुराना दिन सम्झाउनुहुन्छ कहिलेकाहीँ । बेसी झरियो, सँगै हाम्रो घर पनि झर्यो । उस बेला अभावले उन्मत्त पखेटा हालेको थियो शायद, मकैको ढोडले बारेको झुपडीमा लगभग दुई साल हामीले टाउको लुकायौँ । त्यही झुपडी फेरि मेरो अर्को घर बन्यो । घर त के थियो, गतिला चार ओटा बाख्राका पाठा सजिलै हलचल गर्न नसक्दा हुन् । तर हामी चार मानव प्राणी भएभरका झिटी गुन्टा सहित त्यही झुपडीमा अट्यौँ । बाबा भन्ने गर्नुहुन्थ्यो, “मजबुरीका नाम महात्मा गान्धी” । हिन्दी सिनेमा उहालाई मन पर्थ्यो, उखान पनि उतैको थियो । सुरुमा म निक्कै रिसाएँ झुपडी देखेर जसले मलाई बार-बार प्यारो ग्वागल सम्झाउँथ्यो । तर बानी निरन्तरताको उपज हो शायद । मलाई बनी पर्दै गयो । भनुँ पार्दै गएँ । अन्तत: मलाई त्यै ढोडे झुपडी प्रिय लाग्न थाल्यो । त्यो त हाम्रो घर थियो नि ! कहिलेकाहीँ बाबालाई सोध्थेँ, ” ग्वागल पनि घर हुने, झुपडी पनि घर हुने, बिल्डिङ्ग पनि घर हुने, कसरी यस्तो हुन्छ बाबा ?” बाबा भनु हुन्थ्यो, “मान्छे जहाँ आड लागेर बस्छ त्यही घर हो । घर ढुङ्गा माटो या ढोडले बन्ने हो, तर महत्त्व मायाले दिने हो । जस्तो कि हामी सबै एकर्कालाई माया गर्छौँ । ” म बाबाको सबै कुरा बुझ्दिन थेँ तर ‘घर’ शब्दलाई बिशेष जोड दिन्थेँ, जुन मेरो अति प्रिय आत्मीय थियो ।

अलि पछि ढुङ्गामाटा र काठको जोडजाममा अलि पक्की घर बनाउनुभयो बाबाले । मलाई अझै सम्झना छ, त्यो घर बनाउदा राति अबेरसम्म पनि म स-साना काठका टुक्रा ढुङ्गा बटुल्दै यताउती गरिरहन्थेँ निक्कै काम गरे जस्तो । सबै खुशी थिए नयाँ घर बन्दै गरेकोमा । म अलिक बेसी उछालिएकी थिएँ खुशीले । घर सबैलाई चाहिन्छ बस्नको लागि नत्र रात पर्दा, पानी पर्दा हुरी आउँदा कहाँ जानु ? म यस्तै बुझ्थेँ । तर कहिलेकाहीँ बाबाले अरु सँग भनेको सुन्थेँ, ” आफू गैयो भने पनि केटाकेटीका लागि ओतलाग्ने ठाउँ हुन्छ नि ! ” ‘गैयो भने पनि’ यो शब्द सुल खैं गड्थ्यो मनमा । बाबा नहुँदा हामी यही घरमा बस्नुपर्छ, यस्तै सोचेर मैले बाबा र घरलाई एकार्काको पर्याय मान्थेँ शायद । अनि उतिकै प्यारो पनि ।

छोरीले जात जनाउँछे भन्ने भनाइ थियो, छ अँझै पनि । म पनि घर लिप-पोत गर्न खुब मन गर्थेँ सानोमा । दसैं तिहारमा टोलका काकी, दिदीहरूसँग पारी खाँडीको खोल्चीसम्म पुग्थेँ, रातो र सेतो माटो लिन त्यै प्यारो घर रंगाउन भनेर । सक्नेभन्दा बेसी माटोको पोको बोकेर कन्दै कन्दै हात पाउ टेकेर घर फर्किन्थेँ । तर किन्चित दु:ख लाग्थेन । किनकि त्यो सब मेरो प्यारो घरको लागि हुन्थ्यो ।

समयको पैया घुम्दै गयो, हामी ठुला भयौँ, घर पुरानो र झन प्यारो हुँदै गयो । सबै आ-आफ्ना काम, अध्ययनतिर लागियो तर घर सदा झैँ सबैको केन्द्रबिन्दु थियो । आस्थाको, आश्रयको र आफ्नोपनको मियो थियो । मेरो उमेरले उकाली लागेको हेर्दै बस्यो घरले । त्यो बिचमा मैले घर परिवार बाहेक अर्को कोहीलाई माया गरेँ । मेरो बिहे भयो त्यही मायालुसँग । त्यसपछि म पुन बेघर बनेँ । बिहेको कार्यक्रम समाप्ती सँगै त्यो घर, जुन मेरो अति प्रिय थियो, मेरो रहेन । मेरो अधिकार रहेन । त्यो त मेरो घर बाट बदलिएर ‘माइती’ पो बन्यो । यता म साँच्चैको बेघर बनेँ । मेरा श्रीमानको पुर्ख्याउली घर बेचिएको रहेछ र उसैकारण हामी डेरामा बस्नु पर्ने थियो । निकै समय म जिन्दगीको नयाँ सुरुवात, नया जिम्मेवारी र मायालुको साथको खुशी र ‘घर’ आफ्नो नरहनुको पिडामा उचालिँदै पछारिँदै रहेँ । डेरा पनि त घर हो ! बाबाको कुरा याद आउँथ्यो, ” मान्छे जहाँ बस्यो त्यैं घर हुन्छ माया र आफ्नोपनले बाँध्न सके” मैले निकै कोशीस गरेँ त्यो डेरालाई ‘घर’ स्वीकार्न तर सकिन ।

समयसमयमा आत्तिँदै ‘घर’ पुग्थेँ आमा-बाबालाई भेट्न । वरपरकाले भन्ने गर्थे, ‘ पल्लो घरमा पाहुना आएकाछन्” । म किन पाहुना ? कसैले सोध्थे, ” कति दिनलाई आयौ माइत ?” किन माइत ? मलाई कहिल्यै पाहुना र माइती शब्द मन परेन जुन शब्दले मलाई मेरो घरसँगको सम्बन्धबाट बिरानो महसुस गराउँथ्यो । आक्कलझुक्कल ‘घर’ जाँदा हेर्थेँ आफूले कति रहर गरी लिप-पोत गरेको भित्ता, फलैँचा, बाहिरको अम्बाको बोट, चोटामा मेरो सुत्ने बिस्तारा, मेरो पुरानो सन्दुक, खाना खाँदा मैले बस्ने पिरा, मलाई मन पर्ने अम्खोरा सबै सबै त्यस्तै हुन्थ्यो, मायाले मुसार्थें । त्यो घरसँग एक खालको अव्यक्त अवर्णणीय आत्मीयता थियो अझै । न्यानो तातो मिठो खोइ के के असाध्य आफ्नो लाग्थ्यो । फेरि झलक्क ‘माइती’ र ‘पाहुना’ शब्दले मन कटक्क खान्थ्यो । तर म दुखेर के हुन्छ ? सत्य त त्यही थियो कि त्यो घर अब मेरो रहेन । मैले त अब आँफैले मेरो घर बनाउनुपर्छ ।

समयसँगै जिन्दगीको मान्यता बदलिँदो रहेछ । आदर्श बदलिँदो रहेछ । रहर र चाहना पनि पो उलटपालट हुँदो रहेछ ! समयले खोइ कस्तो कस्तो लुकामारी खेल्दै रह्यो जीवनमा, अभाव र अप्ठ्याराको झाङमा अल्मलिँदै अल्मलिंदै बाँच्दै त छु तर मेरो “घर” अहिले सम्म बनेन । मैले नचाहेको कहाँ हो र ! तर खोइ के मिलेन, घर अहिलेसम्म बनेन ।

सत्य त यो पनि हो कि मलाई उहिलेको झैँ ‘घर’ प्रति मोह पनि छैन । घर हुनै पर्छ भन्ने केही छैन । मैले देखेँ यो बिचमा उति मेहनतले नङ्ग्रा खियाउँदै घर बनाउने बाबा जाँदा खाली हात जानुभयो । त घर किन यति बिघ्न मोहको कुरा ? कहिलेकाहीँ लाग्छ, ‘आ ! होस् म कहिले घर बनाउदिन ।’ तर फेरि आत्मा छाम्छु, भेट्छु घर बनाउने तृष्णा कतै मनको नेपथ्यमा अझै पो जीवितै छ ! तर किन ? अहिले त म उहिलेको झैँ केटाकेटी रहिन, जस्तो कुनैबेला थिएँ र घरलाई बाबाको पर्याय मान्थेँ । आँखा चिम्म गरेर सोच्छु । बाबा आउनुहुन्छ मनको आँखामा र भन्नुहुन्छ, “आफू गैयो भने पनि केटाकेटिकालागी ओत त रहन्छ नि ! ” हो त ! घर मान्छेको लागि अति मोहको कुरा रहेछ । आकाँक्षा रहेछ अनि तीव्र आवश्यकता रहेछ तर आफ्ना लागि कम र ‘केटाकेटी’ का लागि बेसी रहेछ ! कहिलेकाहीँ मेरो चुल्बुले केटो लाडिँदै भन्छ, ” आमा ! म मेरो घर आँफैँ बनाउछु नि मेरो लागि त ! ” त्यसबेला उसका बाबा मक्ख हाँस्नुहुन्छ । तर मलाई भन्न मन लाग्छ, ” छोरा ! घर आफ्नो लागि कम केटाकेटीका लागि बेसी बनाइन्छ ! तिमी पनि आफ्नै लागि बनाउँदैनौ । त्यो घरको हकदार तिम्रा केटाकेटी हुन्छन् ।” तर म भन्दिन उसले सुन्ने गरी । मनमनै भन्छु “आफू गैयो भने पनि केटाकेटीका लागि ओत रहन्छ नि ! “

Leave a Reply

Your email address will not be published. Required fields are marked *