Skip to content


हत्या, लुटपाट एवं अपहरणका घटनाहरू नेपाली समाजको लागि कुनै नौलो विषय रहेन । मर्नु, मार्नु वा हराउनु जस्ता घटनाहरू दिनहुँ कहिँ कतै घटित भइरहेकै हुन्छ । तर घटनाबारे जान्न सर्वसाधारणलाई घटनास्थलमै पुग्नुपर्ने आवश्यकता भने अब रहेन । समाजलाई आकषिर्त गर्ने धेरै कार्यक्रमहरू मध्ये रहस्य र रोमाञ्चले भरिएका चलचित्र, टेलिचलचित्रहरू पनि एक हुन् । ठूलो, सानो पर्दामा देखिने यस्ता रहस्यमयी शृ्ङ्खलाहरूले लोकप्रियता पाइरहेको समयमा पनि कागजी संस्करणमा प्रकाशित हुने जासुसी उपन्यासले भने खासै सफलता पाउन सकेनन् ।

एक समय यस्तो थियो जुनबेला केही चर्चित लेखकहरूको जासुसी उपन्यास हाताहात बिक्री हुन्थ्यो । अङ्ग्रेजीमा इयान फ्लामहु, जोसहेडली चेइज, लिसा गार्डनरका उपन्यासहरू चर्चित थियो भने हिन्दीमा वेदप्रकाश शर्मा, सुरेन्द्रमोहन पाठक, कर्नल रञ्जित, इब्ने सफीका उपन्यासहरू धेरैले पढ्ने गर्दथे । यसैगरी नेपालीमा दीर्घबाहु, भोगेन्द्र बस्ने, शरद निरौला, प्रेम कैदी, त्रिनामा, एस.के.दीन आदिको नाम अगाडि थियो भने नेपाल भाषामा राज सायमिले यस विधालाई भित्र्याएको पाइन्छ ।

जासुसी उपन्यास लेखनको थालनी नेपालमा कहिलेदेखि भयो भन्ने सन्दर्भमा धेरै विद्वानहरू मौन छन् । किटान गरेर भन्न सकिने तिथिमिति पनि छैन । गोरखापत्रमा धारावाहिक रूपमा छापिएको ‘विचित्र जासुसी’ नै नेपालको पहिलो जासुसी उपन्यास हो भनिन्छ । तत्पश्चात पद्मनाथ सापकोटाको ‘डा. सूर्यप्रसाद’ उपन्यासले पहिलो पुस्तकको रूपमा लिएको मानिन्छ । सं. १९७७ सालमा पहलमान सिंह स्वाँरको एक लाख रूपियाँको चोरी उपन्यास प्रकाशित भएको थियो भने प्रतिमान लामा लिखित ‘महाकाल जासुस’ नामक नेपाली उपन्यास सं. १९७५ मा दार्जिलिङबाट प्रकाशन भएको पाइन्छ ।

लगभग एक शताब्दी लामो नेपाली जासुसी उपन्यासको इतिहास रहेता पनि विकासको क्रम भने खस्किँदो छ । सय वर्ष अगाडि जस्तै आजपनि यो विधाको अवस्था निराशाजनक छ । राम्रा कृतिहरूले पनि खासै स्थान पाउन सकेन । यो विधाले न मोल पायो न त माननै पाउन सक्यो । साझा प्रकाशत, प्रज्ञा प्रतिष्ठानको पनि जासुसी उपन्यास प्रकाशनमा खासै रूचि देखिँदैन ।

प्रायशः हत्या, हिंसा, चोरी, डकैती, बलात्कार एवं अपहरणजस्ता घटनाहरू समेटिएर लेखिएका हुन्छन् यी जासुसी उपन्यासहरू । धरहराबाट स्वयम्भुसम्मको निगरानी हुने, रूखचढी घण्टाघर माथि उक्लिने, काठमाडौँबाट आधा घण्टामै भैरहवा पुगिने, बागमतीमा डुङ्गा चढी अपराधीलाई पछ्याउने जस्ता कपोलकल्पित नेपाली पृष्ठभूमि बोकेर तयार गरिएका छन् कोही हिन्दी उपन्यासहरू । अण्डरवल्र्ड, माफिया, गैङ्गस्टरबाट हुने लुटपाटका कुरादेखि लोभ, लालच, एवं बदलाका भावना यस विधाका कच्चा पदार्थ हु्न् । हत्या, हिंसाबाट शुरू भएर आतङ्क, मृत्यु एवं जेलनेलमा सकिने यी उपन्यासहरूमा प्रेम, यौन एवं उत्तेजनाका बोल्ड सिनहरू पनि समावेश भएका हुन्छन् कतिपय पृष्ठहरूमा ।

स्तरहीन कोही प्रकाशनहरूले गर्दा नै जासुसी उपन्यासले कडा आलोचना खेप्नु परेको छ । अन्यथा रोचक, पठनीय जासुसी पुस्तकहरू पनि नभएका होइनन । त्रिनामा (प्रा.डा. त्रिरत्ननारायण मानन्धर), दीर्घवाहु (श्रीधर खनाल) आधाबाटे कान्छा (शंकर कोइराला) जस्ता प्रबुद्ध वर्गद्वारा लिखित उपन्यास कुनै पनि विदेशी पुस्तकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका थिए । प्रकाशनको सुनिश्चितता मात्र भए आयात गरिने पुस्तकहरूभन्दा रोचक उपन्यास दिन सक्ने विचार राख्दछन् राज सायमि लगायतका युवा लेखकहरू । यस्तै धारणा रहेको छ स्थापित लेखक दीर्घबाहुको । उहाँकै शब्दमा प्रकाशन मात्र हुने भए आज पनि हप्ताको एउटा उपन्यास लेख्न सक्षम छु ।

साधारणतया रेलवे प्लेटर्फम, बसबिसौनी आदि स्थानहरूमा सवारी साधन पर्खिंदाको समय व्यतीत गर्न यात्रुहरू उपन्यास पल्टाउने गर्दछन् । यसकारण पनि यस किसिमको उपन्यासलाई ‘प्लेटर्फम नोभेल’ भन्ने गरिन्छ । रहस्य, रोमाञ्च र कौतुहलताले पाठकवर्गलाई समय व्यतीत भएको पत्तो नै हुँदैन । कोहि त गाडीमै अध्ययन गर्दै गन्तव्य पुग्दछन् ।

नेपालमा किशोरदेखि युवापिँढीका पाठकवर्ग बढी आकषिर्त छन् यस विधातिर । यिनीहरू स्वभावैले काटमार, हत्या, हिंसा, यौनजस्ता क्रियाकलापमा बढी रूचि राख्दछन् । विशेषगरी काठमाडौँ, भैरहवा, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, हेटौंडा आदि शहरी क्षेत्रमा उपन्यास पढ्नेहरूको सङ्ख्या बढी छ । दक्षिणी नेपालकाप्रमुख नाकाहरू जोगबनी, रक्सौल, सुनौली, रूपैडिया एवं वेलवासाबाट हिन्दी उपन्यासहरू बढी भित्रिने गर्दछन् ।

यसरी भित्रिने उपन्यास बेरोजगार युवाहरू समय व्यतित गर्न मात्र नभई कतिलाई त यस्तो रचना पढ्ने लतनै लागेको हुन्छ । सान्दर्भिक, असान्दर्भिक घटनाहरू चित्रण गरेर तयार पारिएका कतिपय हिन्दी उपन्यासहरूमा थापा, खत्री, क्षेत्री जस्ता पात्रहरू खडा गरी नेपाली बजार आकषिर्त गर्दछन् र वर्षेनि करोडांैँको रकम नाकाबाहिर पुगेको हुन्छ । भारतीय उपन्यासले नेपालमा बजार पाउनुका केही कारणहरूमा नेपाली जासुसी उपन्यास लेखन तथा प्रकाशनमा कमी एवं अङ्ग्रेजी, विदेशी पुस्तक महङ्गो हुनु पनि हो ।

यसर्थ अरू विधाका पुस्तकहरूको प्रकाशन सरह स्वच्छ, स्वस्थ प्रकृतिका पारिवारिक जासुसी उपन्यासलाई पनि सरकार संरक्षित संस्थाहरूबाट प्रकाशन गर्ने कार्य हुनुपर्दछ । स्तरीय जासुसी रचना निश्चितवर्गको पाठ्यक्रममा पनि समावेश हुनुपर्छ । किनकि कुनैपनि अपराध धेरै समय लुकाउन, छिपाउन सकिँंदैन । ढिलो चाँडो अपराधीले कानुनको कठघरामा उभिनुपर्दछ । प्रायशः सबै जासुसी पुस्तकको अन्तमा अपराधीले दण्ड, सजायँ भोगेकै हुन्छ । समाजलाई, यस अर्थमा पनि सजग, सचेत हुन योगदान दिने खालका धेरैभन्दा धेरै जासुसी उपन्यास प्रकाशन हुन आवश्यक छ ।

शनिबार, गोरखापत्र
माघ २२, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *