Skip to content

नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’को योगदान

  • by


१. आमुखः

नेपाली साहित्यिक पत्रकारिताको इतिहास त्यति लामो नभए पनि नेपाली साहित्यमा आधुनिकताको प्रवर्तन गर्ने ‘शारदा’ (वि.सं. १९९१) पूर्वको परिवेश नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमि हो भने ‘गोरखापत्र’ (१९५८) जस्ता समाचारप्रधान पत्रिका र आवधिकरूपमा प्रकाशित भएका ‘शारदा’ पूर्वका पत्रिकाहरूले साहित्यिक क्षेत्रमा पनि योगदान दिएकाले यसलाई पनि नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमिका रूपमा लिन सकिन्छ । त्यसपछि ‘शारदा’ को प्रकाशनसँगै व्यवस्थित साहित्यिक पत्रकारिताको थालनी भएको देखिन्छ । २००७ को राजनीतिक परिवर्तनपछि साहित्यिक पत्रकारिताले केही मौलाउने अवसर पाए पनि स्थिरता र निरन्तरता भने पाउन कठिन भएको देखिन्छ । यस्तो स्थितिमा पनि नेपाली साहित्यिक पत्रकारिताको आरम्भदेखि वर्तमानसम्म पचास पूर्णाङ्क पूरा गरेका साहित्यिक पत्रिकाहरू पनि केही देखिन्छन् र दुई/चार अङ्क प्रकाशित भएर अतीतको गर्भमा हराइ इतिहास बनेका साहित्यिक पत्रिकाको सङ्ख्या पनि अत्यधिक देखिन्छ ।

नेपाली साहित्यका पत्रिकाहरूको आफ्नै किसिमको युगीन साहित्यिक मूल्य हुन्छ तापनि आधुनिकताको प्रवर्तनका दृष्टिले ‘शारदा’ र प्रयोगवादी धाराको प्रवर्तनका दृष्टिले ‘रूपरेखा (२०१७) को ऐतिहासिक मूल्य केही भिन्न देखिन्छ । त्यसपछि प्रकाशित हुन थालेका ‘रचना’ (२०१८), ‘नेपाली’ (२०१८), ‘हिमानी'(२०१९), ‘रत्नश्री’ (२०२०), ‘भानु’ (२०२१), ‘कविता'(२०२२) आदि पत्रिकाहरू ‘मधुपर्क’ का पूर्ववर्ती पत्रिकाका रूपमा देखिन्छन् भने ‘अभिव्यक्ति’ (२०२७), ‘प्रज्ञा’ (२०२७), ‘मिर्मिरे’ (२०२८), ‘समष्टि’ (२०३७), ‘गरिमा’ (२०३९) लगायतका आजसम्मका पत्रिकाहरू ‘मधुपर्क’ का उत्तरवर्ती पत्रिकाका रूपमा देखिन्छन् ।

२. विषयप्रवेशः

मिति २०२५ जेठ ३० देखि तत्कालीन गोरखापत्र कर्पोरेसन (हालः गोरखापत्र संस्थान) को संस्थागत प्रयासमा र गोरखापत्र प्रकाशनकै सहप्रकाशन (पत्रिका तथा साहित्यिक पत्रिका) का रूपमा ‘मधुपर्क’ साहित्यिक पत्रिकाको मासिक प्रकाशन सुरू भएको हो । तत्कालीन गोरखापत्र कर्पोरेसन अर्थात् हालको गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौँबाट प्रकाशित ‘मधुपर्क’ साहित्यिक पत्रिकाका २०२५ देखि २०६७ सम्मको ४३ वर्षको अवधिमा ५०० अङ्क प्रकाशित भइसकेका छन् र यस पत्रिकाले विशिष्ट प्रौढताको इतिहास बोकेको छ । ‘मधुपर्क’ ‘गोरखापत्र’ कै सहप्रकाशन भएकाले यो ‘गोरखापत्र’ सँग औपचारिकरूपमा सापेक्ष देखिए पनि यसको स्वरूप र अस्तित्व स्वतन्त्र साहित्यिक पत्रिकाका रूपमा नै रहेको देखिन्छ । सम्पादक गोपालप्रसाद भट्टराई र सहायक (सम्पादक ?) नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल रहेको ‘मधुपर्क’ पहिलो अङ्कदेखि ५०० औँ अङ्कसम्मको निरवच्छिन्न यात्रा गरेको र यति लामो इतिहास बोकेको ‘मधुपर्क’ पत्रिकाको साहित्यिक योगदानका बारेमा अध्ययन/विश्लेषण गर्ने हो भने विधागतरूपमा नै पनि ठूला ग्रन्थ तयार हुनसक्छन् र अनुसन्धानका लागि धेरै विषयहरू हुनसक्छन् । यस सानो कार्यपत्रात्मक आलेखमा यस पत्रिकाको साहित्यिक योगदानको समग्ररूपमा विश्लेषण गर्नु सम्भव छैन तापनि ‘मधुपर्क’ को साहित्यिक योगदानलाई अत्यन्त सङ्क्षेपमा चर्चा गर्नु यस आलेखको अभीष्ट रहेको छ ।

३. ‘मधुपर्क’ को प्रकाशन सन्दर्भः

राजनीतिक दृष्टिले २०२५ तिरको समय भनेको पञ्चायती व्यवस्थाको शासनकाल हो र साहित्यिक दृष्टिले प्रायः सबै विधामा नवीन प्रयोगतिर अभिमुख हुन थालेको समय हो भने कवितामा प्रयोगवादीधारा र आख्यानमा पनि अस्तित्ववादी-विसङ्गतिवादी नवचेतनाको प्रयोगको समय हो । साहित्यिक पत्रकारितामा पनि संस्थागतरूपमा र वैयक्तिक प्रयासमा पत्रिका प्रकाशनको केही लहर चलेको समय पनि हो । ‘रूपरेखा’ लगायतका पत्रिकाहरूले प्रयोगपरक लेखनलाई प्रश्रय दिइरहेकै अवस्थामा ‘मधुपर्क’ पत्रिका गोरखापत्र कर्पोरेसन (हाल ः गोरखापत्र संस्थान) को संस्थागत प्रयासमा कलासाहित्य सेवाको उद्देश्यबाट अभिप्रेरित भएर प्रकाशित भएको पाइन्छ र तत्कालीन व्यवस्थासापेक्ष उद्देश्य पनि यसमा देखिन्छ । ‘मधुपर्क’ को प्रवेशाङ्क (पहिलो अङ्क) मा अभिव्यक्त तलको कुराले यसलाई स्पष्ट पार्छ ः

‘साहित्य, कला, संस्कृति, विज्ञान एवम् संविधान र व्यवस्थाका विभिन्न पक्षहरूका सारगर्भित र सरस सामग्रीहरूको सक्दो सम्मीलन यसमा गरिनेछ । पूर्वीय ज्ञानभण्डारका शाश्वत स्वरहरूका साथै आधुनिक विश्वका चिन्तन, मनन एवम् साहित्यकलाका भावगत र शैलीगत प्रयोगहरूमा बिना कुनै पूर्वाग्रह भ्याएसम्म धेरैलाई समावेश गरी यसलाई प्रतिमास नियमितरूपले पाठकसमक्ष पुर्‍याउने हाम्रो अठोट छ ।’ (हाम्रो पृष्ठ, पृ.१०६)

बालकृष्ण समको ‘मधुपर्क’ शीर्षकको पनि पहिलो अङ्कमा नै प्रकाशित छ र यसमा मधुपर्कको अर्थ निरूपणका साथ जीवनलाई मधुमय बनाउने खालको मधुपर्क चढाउने अभिप्राय छ । यसको शैली निबन्धात्मक छ । एक ठाउँमा पत्रिकाको ‘मधुपर्क’ नाम बालकृष्ण समले जुराइदिएको कुरा साहित्यिक पत्रिकाका अनुसन्धाता शिव रेग्मीले उल्लेख गरेका छन् । अर्को ठाउँमा शिव रेग्मीले नै ‘मधुपर्क’ नाम तुलसीनाथ ढुङ्गेलले जुराइदिएको कुरा पनि उल्लेख गरेका छन् । शिव रेग्मीका यी दुईमतबीच अन्तर्विरोध देखिए पनि तुलसीनाथ ढुङ्गेलले नै ‘मधुपर्क’ को नामकरण गरेको कुरा उनले प्रत्यक्ष बताएका छन् । २०२५ जेठ ३० को मिति राखेर प्रकाशित भएको ‘मधुपर्क’ को दोस्रो अङ्कदेखि भने गते उल्लेख नगरी साल र महिनामात्र उल्लेख गरिएको देखिन्छ ।

यसरी ‘मधुपर्क’ ले कला, साहित्य र संस्कृतिका पूर्वीय/पाश्चात्य सन्दर्भहरूलाई समावेश गर्ने र तत्कालीन संविधान तथा व्यवस्थाका सामग्रीहरूका साथै संस्कृति एवम् विज्ञान विषयक सामग्रीलाई पनि समुचित स्थान दिने उद्देश्य राखेकाले यसलाई मूलतः साहित्यिक र अंशत ः अन्य विविध विषयक पत्रिकाका रूपमा मान्न सकिन्छ । यसबाट ‘मधुपर्क’ पत्रिका प्रकाशनको सान्दर्भिकता पनि स्पष्ट हुन्छ ।

४. ‘मधुपर्क’ को रचना परिमाण, स्तम्भविन्यास र विधागत योगदानः

‘मधुपर्क’ पत्रिका प्रकाशनको चार दशकभन्दा पनि बढी समयको इतिहासमा यस पत्रिकाले ५००औँ अङ्कको यात्रा गर्दैछ र ४९९ औँ अङ्कसम्मका रचना परिमाण र तिनका स्रष्टाहरूलाई हेर्दा यस पत्रिकाले अत्यन्त धेरै स्रष्टा र तिनका सिर्जनालाई स्थान दिएर धेरै लेखकहरू जन्माएको छ । यस पत्रिकाको प्रवेशाङ्क अर्थात् पहिलो अङ्कमा मविवी शाह, बालकृष्ण सम, ऋषभदेव, मोहन कोइराला, कालीप्रसाद रिजाल र रमेश धितालका कविता, भवानी भिक्षु र ध्रुवचन्द्र गौतमका कथा, तीर्थराज तुलाधरको फ्रान्सेली भाषाबाट अनूदित कथा, यदुनाथ खनाल, ताराप्रसाद जोशी र अम्बिकाप्रसाद अधिकारीका समीक्षा, कमल दीक्षित, पारसमणि प्रधान र स.प्र. घिमिरेका लेख/निबन्ध गरी पन्ध्रवटा साहित्यिक रचना देखिन्छन् भने पि्रन्सेप शाह र पूर्णबहादुर मानवका दर्शनः व्यवस्था, रामानन्द जोशीको कला, जनार्दन समको गीतिनाट्य, प्रेमराज शर्माको संस्मरण, जी.सी.शास्त्रीको संस्कृति, विष्णुप्रसाद शर्मा र मनबज्रका औषधि विज्ञान र विशाखदत्तको चर्चित व्यक्तिसम्बन्धी लेखहरू देखिन्छन् र यी स्तम्भ पनि हुन् । जनार्दन सम र प्रेमराज शर्माका रचनालाई बेग्लै स्तम्भमा राखिए पनि ती साहित्यिक भएकाले र चर्चित व्यक्ति स्तम्भ पनि जीवनीपरक समालोचना भएकाले साहित्यिक रचनाहरूको जम्मा सङ्ख्या १८ हुन आउँछ र साहित्येतर रचनाको सङ्ख्या छ मात्र देखिन्छ । यसरी चौबीसवटा सामग्रीबाट सुरू भएको ‘मधुपर्क’ पत्रिकाले आजसम्मको त्रिचालीस वर्षको यात्रामा परिमाणात्मक दृष्टिले अत्यन्त धेरै रचना पाठकसमक्ष पुर्‍याएको देखिन्छ ।

‘मधुपर्क’ संस्थागत पत्रिका भएकाले नियमितता र निरन्तरता हुनाका साथै वितरण व्यवस्था पनि गोरखापत्रकै अधिकृत विक्रेताहरूबाट हुने भएकाले पाठकसमक्ष सहजै पुगेको देखिन्छ । ‘मधुपर्क’ निश्चित विधाप्रधान पत्रिका नभएर बहुविधा र बहुविषययुक्त साहित्यिक पत्रिका भएकाले यस पत्रिकामा साहित्यका सम्पूर्ण विधा (कविता, आख्यान, नाटक, निबन्ध, समालोचना) र ती विधाभित्रका विविध स्वरूपका रचनाहरू एवम् विभिन्न साहित्यिक स्तम्भअन्तर्गतका रचनाहरू यसमा प्रकाशित देखिन्छन् । साहित्यिक रचनाका अतिरिक्त साहित्येतर विषयका लेखहरू पनि यस पत्रिकाका गतिला सामग्री बनेका छन् । कुनै पनि पत्रिकाको विधागत योगदान त्यस विधाका रचनाहरूको सङ्ख्याका आधारमा मात्र नभई त्यसको गुणात्मकताका आधारमा हुन्छ र अझ बढी त ती विधाका रचनाका माध्यमबाट कुनै नयाँ चिन्तन, दृष्टिकोण र नवीन प्रवृत्तिगत परिवर्तन एवम् मोडहरूको निर्माण तथा नवीन मान्यताको प्रतिपादनमा हुन्छ, त्यसैले परिमाणात्मक तथा गुणात्मक दुवै मूल्यका दृष्टिले ‘मधुपर्क’ पत्रिकाले नेपाली साहित्यिक पत्रकारितामा र सिङ्गो नेपाली साहित्यमा पुर्‍याएको योगदान महत्त्वपूर्ण देखिन्छ ।

४.१ ‘मधुपर्क’ का स्तम्भहरू ः

कुनै पनि पत्रिकामा पाठकीय आकर्षणको केन्द्रबिन्दुका रूपमा स्तम्भहरू रहेका हुन्छन् र ती स्तम्भअन्तर्गत प्रकाशित हुने रचनाहरू विशेष पाठकका लागि रूचिअनुसार विशेष आकर्षणका सामग्री पनि हुनसक्छन् । पत्रिकालाई विविधतामय बनाउन विभिन्न स्तम्भहरूको संयोजन गरिन्छ । साहित्यिक पत्रिकाहरूमा यस्ता स्तम्भहरूले विशेष महत्त्व राख्दछन् । ‘मधुपर्क’ को सुरूदेखि हालसम्मका अङ्कहरूमा धेरैपटक स्तम्भहरू परिवर्तन भइरहेका र स्तम्भ मिश्रण पनि भइरहेको देखिन्छ । एक किसिमको रचनालाई एउटा अङ्कमा एउटा स्तम्भमा र पछिल्ला अङ्कहरूमा अर्कै स्तम्भमा राखी स्तम्भान्तरण पनि गरिएको पाइन्छ । साहित्यका विधागत स्तम्भ र अन्य केही स्तम्भहरू स्थायी स्तम्भका रूपमा देखिए पनि अन्य कतिपय स्तम्भहरू समयसमयमा परिवर्तित, परिमार्जित, परिवर्धित तथा संशोधित पनि हुँदै आएको पाइन्छ ।

४.१.१ विधागत साहित्यिक स्तम्भ ः

‘मधुपर्क’ पत्रिकामा विधागत साहित्यिक स्तम्भअन्तर्गत कविता/गीत/गजल, कथा/लघुकथा, निबन्ध/संस्मरण/हास्यव्यङ्ग्य/लेख, समालोचना आदिका साथै लोकसाहित्य, अन्तर्वार्ता, व्यक्तित्व/जीवनी आदिसँग सम्बद्ध स्तम्भहरूसमेत रहेको पाइन्छ । साहित्यका प्रमुख चार विधा कविता, आख्यान, नाटक र निबन्धका साथै अन्य उपविधात्मक स्तम्भहरू पनि यस पत्रिकामा रहेका छन् । ‘मधुपर्क’ मा प्रकाशित सामग्रीहरूलाई विधागत योगदानका आधारमा अतिसङ्क्षिप्त रूपमा यसप्रकार देखाइन्छ ः

४.१.१.१ कविता (गीत/गजल/मुक्तक/हाइकु आदिसमेत) ः

अधिकांश साहित्यिक पत्रपत्रिकाहरूमा कविता नै सबैभन्दा बढी प्रकाशित भएको पाइन्छ । ‘मधुपर्क’ पत्रिका पनि यसमा अपवाद छैन । पहिलो अङ्कमा पाँचवटा कविता छापेर प्रकाशित भएको यस पत्रिकाका हालसम्मका (५०० अङ्कसम्मका) अङ्कहरूमा करिब सात हजार जति कविता/गीत/गजल/मुक्तक/हाइकुहरूले स्थान पाएका छन् । ‘मधुपर्क’ का कवि र तिनका कवितालाई हेर्दा कतिपय कविहरूले ‘मधुपर्क’ का माध्यमबाट नै आफ्नो परिचय बनाएका छन् र स्थापितसमेत भएका छन् । कविताको स्वरूपका दृष्टिले यस पत्रिकामा अधिकांशतः प्रतिगात्मक संरचना वा लघुतम र लघुरूपका अर्थात् फुटकर कविता प्रकाशित भएको देखिन्छ भने अत्यन्त न्यूनमात्रामा सूक्ष्मआख्यान भएका फुटकरभन्दा अपेक्षाकृत लामा कविता पनि प्रकाशित भएको पाइन्छ । कविताका विविध स्वरूपभित्र पर्ने हाइकु, मुक्तक, गीत, गजललगायतका लघु र लुघतमरूपका रचना भने प्रशस्त देखिन्छन् । लयका दृष्टिले गद्यकविता सबैभन्दा बढी देखिन्छ भने त्यसपछि गीत, गजल र शास्त्रीय छन्दका कविता देखिन्छन् । शास्त्रीय छन्दका कतिपय कवितामा छन्दोभङ्ग पनि देखिन्छ । धेरै गजलहरू राम्रो भए पनि केहीमा गजलका शास्त्रीय अनुशासनको पालना भएको देखिँदैन । ‘मधुपर्क’ मा प्रकाशित गद्यकविताका सन्दर्भमा भने केही कविता सामान्य भए पनि अधिकांश गद्यकविताहरू स्तरीय देखिन्छन् ।

आधुनिक नेपाली कविताको धारागत अवधिका दृष्टिले ‘मधुपर्क’ का कविताले प्रयोगवादी धारा र समसामयिक धारा दुवैको प्रतिनिधित्व गरेका छन् । २०२५ देखि २०३५ सम्मका कविता समयका दृष्टिले प्रयोगवादी धाराको अवधिका र २०३६ यताका कविता समसामयिक धाराको अवधिका भएकाले तदनुरूप समयको परिवर्तनको प्रभाव ‘मधुपर्क’ का कवितामा पनि परेको हुनाले ती कवितामा प्रवृत्तिगत परिवर्तन देखिनु स्वभाविक हो । प्रयोगपरक, विचलनयुक्त र नवीन दृष्टिकोण भएका कविता पनि केही मात्रामा देखिन्छन् । गद्य कवितामा यथार्थको प्रकटीकरण बढी मुखरित हुनु, छन्दोबद्ध कवितामा वर्णनात्मकता बढी पाइनु, गीतगजलहरूमा प्रणयपरकता र संवेदनात्मकता बढी देखिनु र सबैखाले कवितामा प्रायः विसङ्गतिबोध अभिव्यक्त हुनु ‘मधुपर्क’ मा प्रकाशित कवितामा पाइने केही विशेषता हुन् । २०३५ सम्मका कवितामा प्रयोगवादी प्रवृत्ति बढी देखिने भएकाले त्यस अवधिका ‘मधुपर्क’ का कतिपय कविता केही दुरूह देखिन्छन् भने २०३६ को सडक कविता क्रान्तियताका कविता अपेक्षाकृत सरल देखिन्छन् । २०३६ पछिका ‘मधुपर्क’ का कवितामध्ये धेरैजसो कविता समकालीन नेपाली कविताको मूलप्रवाहका कविताका रूपमा देखिन्छन् । ‘मधुपर्क’ मा प्रकाशित कवितामा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई समग्रमा यसप्रकार देखाइन्छ ः

(१) प्रयोगवादी धाराको समयका गद्य कवितामा विम्ब बहुलताका कारण केही दुरूहता गीतगजल तथा छन्दोबद्ध कवितामा सरलता,

(२) जीवनका मूल्यहीनता, अनास्था, उदासीनता र विसङ्गतिबोधको अभिव्यक्तिका साथै मानव जीवनका भोगाइ र अनुभूतिको प्रकटीकरण,

(३) कतिपय कवितामा रागात्मक चेतना, मानवता, प्रकृति, संस्कृति, राष्ट्रबोध वैयक्तिक अनुभूति तथा विचारको समेत अभिव्यक्ति,

(४) युद्धको विरोध, शान्तिकामी चेतना, विश्वमानवता, भ्रातृत्व, प्रजातन्त्र र युगीन परिवर्तित राजनीतिक, सामाजिक सन्दर्भको प्रतिविम्बन,

(५) नारीवादी चेतना, यौनिकभाव, विद्रोही चेतना र विविध क्षेत्रमा देखिएका विकृति तथा विसङ्गतिको चित्रण आदि ।

४.१.१.२ कथा (लघुकथासमेत) ः

‘मधुपर्क’ मा प्रकाशित रचनाहरूमध्ये कवितापछि सबैभन्दा बढी सङ्ख्यामा छापिनेमा कथा/लघुकथा पर्दछन् । पहिलो अङ्कमा तीनवटा कथा प्रकाशित भएर थालिएको ‘मधुपर्क’ मा पछि कथा/लघुकथाको सङ्ख्या धेरै देखिन थालेको पाइन्छ । परिमाणात्मक मूल्यका दृष्टिले करिब दुई हजार पाँच सयभन्दा बढी कथा र छ सयभन्दा बढी लघुकथा तथा कथा/लघुकथाका विशेषाङ्कसमेतको प्रकाशनलाई प्राप्तिपूर्ण र विधागत योगदानका दृष्टिले महत्त्वपूर्ण मान्नुपर्छ । प्रवृत्तिगत दृष्टिले स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी, प्रगतिवादी, मनोविश्लेषणात्मक, आलोचनात्मक यथार्थवादी कथाहरूकै बाहुल्य भए पनि अस्तित्ववादी-विसङ्गतिवादी र अकथात्मक शैलीका कथाहीन कथा एवम् नवीन शैलीका प्रयोगपरक कथाका साथै केही रूपमा प्रणयपरक, यौनविषयक र रूमानीभावका कथा पनि प्रकाशित भएका पाइन्छन् । लघुकथा भने अधिकांश यथार्थपरक र व्यङ्ग्यपरक देखिन्छन् । २०५० पूर्वका ‘मधुपर्क’ मा लघुकथा कहिलेकाहीँ अत्यन्त न्यूनमात्रामा प्रकाशित भएको पाइन्छ भने २०५० यता लघुकथाहरू धेरै प्रकाशित हुनाका साथै विशेषाङ्कसमेत प्रकाशित भएको देखिन्छ । ‘मधुपर्क’ मा प्रकाशित कथाहरूलाई प्रवृत्तिगत भिन्नताका दृष्टिले २०४७ पूर्वका कथा र २०४७ यताका कथा गरी दुई किसिमले वर्गीकरण गर्न सकिन्छ । २०४७ यताका कथा धेरैजसो नवसञ्चेतनावादी प्रवृत्तिका पाइन्छन् भने २०५५ यताका कतिपय कथामा युगीन चेतना बढी मुखरित भएको पाइन्छ । ‘मधुपर्क’ मा प्रकाशित कतिपय कथाले आधुनिक नेपाली कथा साहित्यमा प्रतिनिधिमूलक कथा हुने क्षमतासमेत राख्दछन् । ‘मधुपर्क’ मा प्रकाशित कथा/लघुकथामा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाइन्छ ः

१) जीवनका व्यर्थता, विडम्बना र सामाजिक यथार्थको अभिव्यक्तिका साथै कतिपय कथामा वर्गीय चिन्तनको समेत प्रस्तुति,

२) अस्तित्ववादी विसङ्गतिवादी र आलोचनात्मक दृष्टिकोणका साथै नारी समस्याको अभिव्यक्ति र अंशतः प्रविधि संस्कृतिको प्रभाव,

३) कतिपय कथामा प्रणयपरक र यौनिक सन्दर्भको प्रस्तुतिका साथै समकालीन राजनीतिक परिवर्तनको समेत प्रभाव,

४) कतिपय कथामा स्वच्छन्दतावादी चेतना, परम्पराभन्दा भिन्न शैलीको अवलम्बन र कार्यव्यापारभन्दा विचारका माध्यमबाट कथ्यलाई प्रस्तुत गर्ने प्रवृत्ति,

५) लघुकथामा युगीन यथार्थ र वैयक्तिक कमजोरीको प्रस्तुतिका साथै राजनीतिक, सामाजिक असङ्गतिप्रति व्यङ्ग्य आदि ।

४.१.१.३ नैबन्धिक रचना (लेख/निबन्ध/संस्मरण/नियात्रा/ हास्यव्यङ्ग्य)

‘मधुपर्क’ का साहित्यिक विधागत स्तम्भलाई हेर्ने हो भने नैबन्धित रचनाको स्तम्भ बढी विभाजित देखिन्छ । सैद्धान्तिक रूपमा लेख, हास्यव्यङ्ग्य, संस्मरण, नियात्रा सबै निबन्धभित्र पर्दछन् तर ‘मधुपर्क’ का धेरैजसो अङ्कमा निबन्धका यी प्रभेदहरूलाई अलगअलग स्तम्भमा राखिएको पाइन्छ र कतिपय अङ्कमा समालोचनालाई पनि लेख/निबन्ध स्तम्भमा नै राखिएको छ । यहाँ समालोचनाबाहेकका नैबन्धिक रचनाका बारेमा चर्चा गरिन्छ । ‘मधुपर्क’ मा प्रकाशित नैबन्धिक रचनाहरू विविधतामय देखिन्छन् । करिब चार सय पचासभन्दा बढी नियात्रा, करिब दुई हजारभन्दा बढी आत्मपरक निबन्ध, करिब तीन सयभन्दा बढी हास्यव्यङ्ग्यात्मक निबन्ध र करिब त्यति नै सङ्ख्याका विविध किसिमका लेख गरी जम्मा नैबन्धिक रचनाहरूको सङ्ख्या करिब तीन हजारजति देखिन्छ । सबैखाले नैबन्धिक रचनाका भिन्नभिन्न प्रवृत्तिगत विशेषता देखिन्छन् तापनि समग्रमा यी नैबन्धिक रचनाहरू निजात्मक अनुभूति, स्मृतिविम्ब र वर्णन विवरण एवम् सामाजिक सङ्गतिहीनता जस्ता अन्तर्वस्तुमा आधारित देखिन्छन् । ‘मधुपर्क’ मा प्रकाशित प्रायः सबै नैबन्धिक रचनाहरू वैयक्तिक आत्मप्रकटीकरण र अनुभूतिको यथार्थ प्रस्तुतिका दृष्टिले प्रभावी देखिन्छन् । निबन्ध विधा/स्तम्भ दिइएका रचनाहरूमा आत्माभिव्यक्तिको प्रबलता र निजात्मकता संस्मरणहरूमा स्मृतिविम्बका माध्यमबाट अनुभूति र यथार्थको अभिव्यक्ति, नियात्राहरूमा निजात्मक अनुभूति र वर्णनात्मकता एवम् हास्यव्यङ्ग्यात्मक निबन्धहरूमा सामाजिक, राजनीतिक, आर्थिक आदि विसङ्गतिप्रति व्यङ्ग्यजस्ता विशेषता पाइनु ‘मधुपर्क’मा प्रकाशित नैबन्धिक रचनाको विशेषता हो । कतिपय अङ्कहरूमा लेख वा लेखनिबन्ध भनेर प्रकाशित भएका आलेखहरू पूरै वस्तुपरक शैलीका सामान्य लेखका रूपमा देखिन्छन् र ती प्रायः साहित्येतर विषयक लेखका रूपमा पनि देखिन्छन् । हास्यव्यङ्ग्यात्मक निबन्धमा मान्छेका वैयक्तिक कमजोरीप्रति व्यङ्ग्य पनि गरिएको पाइन्छ । कतिपय नैबन्धिक लेख भने कलात्मक दृष्टिले केही दुर्बल पनि देखिन्छन् । ‘मधुपर्क’ मा प्रकाशित नैबन्धिक रचनामा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाइन्छ ः

१) आत्मपरक निबन्धहरूमा विविध भाव, अनुभूति, विचार, भोगाइ आदि अन्तर्वस्तुको आत्माभिव्यक्तिका साथै वैयक्तिक आत्मप्रकटीकरण,

२) संस्मरणात्मक निबन्धहरूमा विविध अनुभूति, भोगाइ र घटनावलीहरूलाई स्मृतिविम्बका माध्यमबाट प्रस्तुत गर्ने प्रवृत्ति,

३) हास्यव्यङ्ग्यात्मक निबन्धहरूमा सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक आदि विविध क्षेत्रमा देखिएका विकृति तथा विसङ्गतिप्रति व्यङ्य र केही निबन्धमा प्रतीकात्मक रूपमा सुधारको सन्देश,

४) नियात्राहरूमा यात्रानुभूति र वैयक्तिक भोगाई तथा अनुभूतिको अभिव्यक्तिका साथै केही नियात्राहरूमा सोझो यात्रावर्णन र कलात्मक प्रस्तुतिको न्यूनता,

५) लेखका रूपमा रहेका वस्तुपरक निबन्धहरूमा प्रायः वर्णात्मकशैलीको प्रयोग र केही लेखहरूमा विषयवस्तुको उठान र बैठानमा असन्तुलन,

६) अनुभूतिपरक र भावपरक निबन्धको बाहुल्य र वैचारिक तथा भावको घनत्व भएका निबन्धहरूको न्यूनता आदि ।

४.१.१.४ नाटक/एकाङ्की ः

अन्य साहित्यिक पत्रिकाहरूमा जस्तै ‘मधुपर्क’ पत्रिकामा पनि नाटक/एकाङ्की न्यून मात्रामा प्रकाशित भएको पाइन्छ । यस पत्रिकामा एउटै नाटकलाई क्रमशः वा शृङ्खलित रूपमा प्रकाशित गरेको नपाइएकाले छोटा एकाङ्कीहरू नै प्रकाशित भएको पाइन्छ । कविता, कथा, निबन्ध र निबन्ध भित्रका पनि संस्मरण, नियात्रा, हास्यव्यङ्ग्यहरू विशेषाङ्कबाहेक प्रायः कुनै अङ्कमा पनि छुटेको देखिँदैनन् भने एकाङ्की धेरै अङ्कमा छुटेका छन् । त्यसैले पनि नाट्यविधाको परिमाणात्मक मूल्यको दृष्टिले ‘मधुपर्क’ दुर्बल देखिन्छ तर जति प्रकाशित छन्, तिनको गुणात्मक मूल्य भने त्यति दुर्बल देखिँदैन । पहिलो अङ्कमा जनार्दन समको ‘पृथ्वीको पुकार’ शीर्षकको चार पृष्ठको लघुगीतिनाटकबाट नाट्यविधा सुरू गरेको ‘मधुपर्क’ ले प्रारम्भमा नाटकलाई प्रायः निरन्तरता दिने प्रयास गरेको भए पनि पछिल्लो समयमा भने यसमा न्यूनता आएको पाइन्छ । कतिपय नाटकहरू प्रयोगशील पनि देखिन्छन् भने अधिकांश नाटकहरू परम्परित ढाँचाका देखिन्छन् । २०४६ पछिको ‘मधुपर्क’का केही अङ्क र नाटक विशेषाङ्कमा प्रकाशित नाटकहरू भने अपेक्षाकृत स्तरीय र नवीन किसिमका छन् । केही अङ्कहरूमा सडकनाटक शैलीका, हास्य वा प्रहसनात्मक शैलीका र एकल संवादात्मकरूपका तथा प्रयोगवादी शैलीका नाटकहरू पनि प्रकाशित भएका छन् । यसप्रकार परिमाणात्मक मूल्यका दृष्टिले त्रिचालीस वर्ष र पाँच सय अङ्कसम्म आइपुग्दा करिब एक सय तीस जति नाटक/एकाङ्की प्रकाशित हुनु केही न्यून मानिए पनि गुणात्मक मूल्यका दृष्टिले भने नाटक/एकाङ्कीको विधागत योगदानलाई कम मान्न सकिँदैन । समग्रमा ‘मधुपर्क’मा प्रकाशित नाटक/एकाङ्कीमा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाइन्छ ः

(१)युद्धको विरोध र शान्ति तथा सद्भावको चाहनाका साथै मानवतावादी दृष्टिकोणको प्रस्तुति,

(२)पौराणिक, ऐतिहासिक र समसामयिक घटनाको प्रस्तुतिका साथै कतिपय एकाङ्कीहरूमा युगीन यथार्थको अभिव्यक्ति,

(३)प्रयोगपरक शैलीका कतिपयनाटक/एकाङ्कीहरूमा जटिल रङ्गमञ्चीय शैलीको प्रयोग,

(४)अभिनय र परिवेश निर्माणभन्दा नवीन नाट्यशैलीद्वारा विचार र कथ्यलाई गम्भीर बनाउने प्रवृत्ति र नाटक विशेषाङ्कमा यस्ता नाटकको बाहुल्य,

(५)पात्र र संवादमा नवप्रयोग र विज्ञान नाटकहरूको समेत प्रस्तुति आदि ।

४.१.१.५ समालोचना/समालोचनात्मक लेख/समीक्षा ः

‘मधुपर्क’ का प्रायः सबै अङ्कमा समालोचनालाई पनि स्थान दिइएको छ र विभिन्न स्तम्भमा समालोचनाहरू प्रकाशित भएका छन् । कुनै अङ्कमा समीक्षा-समालोचना, कुनैमा समीक्षा, कुनैमा समालोचना, समालोचनात्मक लेख र निबन्ध-प्रबन्ध तथा लेख स्तम्भ अन्तर्गत पनि समालोचनाहरू प्रकाशित देखिन्छन् । पछिल्लो समयमा भने ‘लेख/निबन्ध/संंस्मरण/नियात्रा’ स्तम्भअन्तर्गत सबै किसिमका आख्यानेतर गद्यलाई एकै ठाउँमा राखेर प्रकाशित गरिएको पाइन्छ । कहीँ विशेषलेख वा आवरणलेख भनेर पनि समालोचनाहरू प्रकाशित देखिन्छन् । ‘मधुपर्क’ मा प्रकाशित सबै किसिमका समालोचनाहरूको अध्ययन गर्दा वस्तुवादी/वस्तुपरक समालोचनाभन्दा प्रभाववादी/प्रभावपरक समालोचना नै बढी प्रकाशित भएको पाइन्छ र सैद्धान्तिकभन्दा प्रायोगिक समालोचनाको सङ्ख्या बढी देखिन्छ । विशेषतः व्यक्तिपरक, कृतिपरक, साहित्येतिहासपरक, प्रवृत्तिपरक, तुलनात्मक आदि सबै किसिमका समालोचनाहरू प्रकाशित भएको पाइए पनि नवीन पद्धति, दृष्टिकोण, चिन्तन र मान्यतामा आधारित समालोचनाको भने न्यूनता देखिन्छ । ‘मधुपर्क’ मा अहिले पनि शैक्षणिक प्रयोजनका लागि मात्र लेखिएका सामान्य किसिमका र कतिपय पूर्ववर्ती सामग्रीहरूलाई आंशिक परिवर्तन गरेर तयार पारिएका समालोचना प्रकाशित भएको पाइन्छ र प्रायः नवप्रवेशीहरूबाट यस्ता समालोचना लेखिएको पाइन्छ । ‘मधुपर्क’ मा प्रकाशित कतिपय समालोचनाहरूको धेरै पटक पुनरावृत्ति पनि भएको देखिन्छ । भिन्नाभिन्नै समालोचकहरूद्वारा लेखिएर पनि उही एउटै विषय र पद्धतिमा पुराना कुराहरूकै पिष्ठपेषण गरिएका केही समालोचनाहरू पनि प्रकाशित देखिन्छन् । समालोचना विशेषाङ्क र अन्य अङ्कका आवरणलेख, मूललेख, विशेषलेख आदि भनेर प्रकाशित भएका वा यी स्तम्भअन्तर्गतका समालोचनाहरू भने अनुसन्धानमूलक, विशिष्ट र उच्चस्तरका भएको पाइन्छ ।

‘मधुपर्क’ पत्रिकामा लोकसाहित्यसँग गाँसिएर आएका आलेखहरू पनि समालोचनाका रूपमा रहेका छन् र व्यक्तित्व विशेषसँग सम्बद्ध अङ्कका आलेखहरू पनि समालोचनाका रूपमा देखिन्छन् । लोकसाहित्यिक, साहित्यिक पत्रकारिता, पुस्तक समीक्षा आदिका रूपमा पनि समीक्षात्मक लेखहरू रहेका छन् । यसरी हेर्दा ‘मधुपर्क’ मा लोकसाहित्य र अन्य (पुस्तक समीक्षाबाहेक) सबै किसिमका समालोचनाहरू (समालोचना/लेख/मूललेख/विशेषलेख आदिका रूपमा प्रकाशित) को सङ्ख्या हालसम्म करिब एक हजार पाँच सयभन्दा बढी देखिन्छ । यसरी पहिलो अङ्कमा यदुनाथ खनाल, ताराप्रसाद जोशी र अम्बिकाप्रसाद अधिकारीका एकएकवटा गरी तीनवटा समालोचनाबाट समालोचना प्रकाशनको यात्रा सुरू गरेर धेरै समालोचकहरूको समालोचकीय व्यक्तित्वको निर्माणमा समेत ‘मधुपर्क’ को योगदान रहेको देखिन्छ । ‘मधुपर्क’ मा प्रकाशित समालोचनात्मक लेखहरूका आधारमा देखिएका प्रमुख प्रवृत्तिगत विशेषताहरूलाई यसप्रकार देखाइन्छ ः

(१) मूलतः प्रभावपरकता र कृतिपरक समालोचनामा पनि अधिकांशतः विधातìवका समालोचना गर्ने प्रवृत्तिका साथै गुणपक्षमा आधारित समालोचना लेखनको बाहुल्य,

(२) कतिपय समालोचनामा वस्तुपरकभन्दा आत्मपरक शैलीको समेत अबलम्बन,

(३) सैद्धान्तिक तथा प्रायोगिक दुवै किसिमका समालोचना लेखनका साथै विश्लेषणात्मक समालोचनाको केही न्यूनता र परिचयात्मक समालोचनाको बाहुल्य,

(४) अन्तर्विषयक, रूपवादी र उत्तरआधुनिकतावादी प्रवृत्तिको केही न्यूनताका साथै पछिल्लो समयका अङ्कहरूमा भने यस्ता समालोचनालाई अपेक्षाकृत प्राथमिकता दिने प्रवृत्ति,

(५) कतिपय समालोचनामा व्यक्ति र कृतिलाई अधिमूल्यन र अवमूल्यन गर्ने प्रवृत्ति र पाठ्यविषयवस्तुसँग सम्बद्ध समालोचनाको केही आधिक्य आदि ।

यसरी हेर्दा विधागत योगदानका दृष्टिले ५०० पूर्णाङ्क पूरा गर्न लागेको ‘मधुपर्क’ पत्रिकाले प्रायः सबै विधा/उपविधाका रचनाका माध्यमबाट साहित्यमा केही नवआयाम थपेको छ, धेरै स्रष्टाहरूलाई समुचित स्थान दिएको छ र युगीन चेतनालाई पनि अभिव्यञ्जित गरेको छ भन्ने कुराको प्रमाणका रूपमा यस पत्रिकामा प्रकाशित रचनाहरू नै साक्ष्य बनेर आउँछन् । साहित्यिक विधागत योगदानको पूर्णता कहिल्यै नहुने र यो निरन्तर चलिरहने भएकाले वर्तमानसम्म नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’ को योगदान विशेष उल्लेखनीय रूपमा मूल्याङ्कित हुन्छ ।

४.१.२ अन्य साहित्यिक स्तम्भ ः

‘मधुपर्क’ मा साहित्यिक विधा/उपविधाका स्तम्भका अतिरिक्त अन्य धेरै स्तम्भहरू पनि रहेका छन् । यस्ता स्तम्भहरू समयसमयमा परिवर्तन भइरहेको पाइए पनि अन्य विविध साहित्यिक स्तम्भहरूले ‘मधुपर्क’ लाई नयाँ र विविधतामय बनाएका छन् । सधैँ सबै स्तम्भहरू नियमित र निरन्तर नभए पनि प्रायः निरन्तर रहेका अन्य साहित्यिक स्तम्भहरूमा आवरणलेख/मूललेख/विशेषलेख/पत्रपत्रांश, स्रष्टासृष्टि, समयसन्दर्भ, उक्तिसूक्ति, प्रसङ्गवश, पुस्तक/पत्रिका/पुस्तकसमीक्षा, नेपाल बाहिरका नेपाली साहित्यकार, विश्वसाहित्य, शून्यसर्ग, स्रष्टा सङ्घर्ष, अनौपचारिक, अनुवाद साहित्य, विचारमञ्च, रङ्गमञ्च, पाठकसभा, बिर्सन नसकिने, बिर्सन नसकिने क्षण, आँकुरा, देशविदेश, सिर्जना र विचार, यस अङ्कका कवि र कविता, सामयिकी, सन्दर्भ – सन्दर्भ – सन्दर्भ आदि स्तम्भहरू देखिन्छन् । ‘मधुपर्क’ को स्तम्भविन्यास करिब दस/पन्ध्रवर्षको अन्तरमा के कस्तो थियो भन्ने कुरालाई यसप्रकार देखाइन्छ ः

(१) ‘मधुपर्क’- पहिलो अङ्क २०२५-

१. कविता, २. कथा, ३. समीक्षा ः समालोचना, ४. निबन्ध, ५. दर्शनः व्यवस्था, ६. कला, ७. गीतिनाट्य, ८. संस्मरण, ९. संस्कृति, १०. औषधिविज्ञान, ११. स्थायीस्तम्भ (क) चर्चित व्यक्तित्व, (ख) आवरण शिल्पी । (५, ६, ९ र १० साहित्येतर)

(२) ‘मधुपर्क’ वर्ष ११, अङ्क ४ (२०३५

१. कविता, २. कथा, ३. लेख-निबन्ध, ४. समीक्षा-समालोचना, ५. हास्यव्यङ्ग्य, ६. हास्यएकाङ्की, ७. स्तम्भ-(क) पुस्तक-पत्रिका, (ख) बिर्सनै नसकिने, (ग) पाठकसभा, (घ) हाम्रो पृष्ठ ।

(३) ‘मधुपर्क’ वर्ष २१, अङ्क ३, पूर्णाङ्क २३०, २०४५

१. आवरणलेख, २. कविता, ३. लेख-निबन्ध, ४. कथा-लघुकथा, ५. व्यङ्ग्य, ६. स्तम्भ-(क) पत्रपत्रांश, (ख) समयसन्दर्भ, (ग) पुस्तकपत्रिका, (घ) खेलजगत्, (ङ) मेटिन नसकेका डोबहरू, (च) महिलासंसार, (छ) प्रतिभा, (ज) तपाईंको स्वास्थ्य, (झ) सन्दर्भ-सन्दर्भ-सन्दर्भ, (ञ) बाल बगैँचा । (६ को (घ), (च), (ज) र (ञ) साहित्येतर )

४) ‘मधुपर्क’ वर्ष ३५, अङ्क ४००, २०५९

१. मूललेख, २. लेख/रचना, ३. कथा/लघुकथा, ४. कविता/गीत/गजल, ५. व्यङ्ग्य, ६. स्तम्भ-(क) पत्रपत्रांश, (ख) समयसन्दर्भ, (ग) पुस्तकपत्रिका, (घ) विचारमञ्च, (ङ) आँकुरा, (च) प्रसङ्गवश, (छ) कला, (ज) सारांश, (झ) सन्दर्भ-सन्दर्भ-सन्दर्भ ।

(५) ‘मधुपर्क’ वर्ष ४३ अङ्क.५ पूर्णाङ्क ४९६, २०६७

१. मूललेख, २. लेख/निबन्ध/संस्मरण/नियात्रा, ३. कथा/लघुकथा ४. कविता/गीत/गजल, ५. समालोचना, ६. हास्यव्यङ्ग्य, ७. स्तम्भ, (क) पत्रपत्रांश, (ख) पुस्तकसमीक्षा, (ग) प्रसङ्गवश, (घ) उहाँ ।

(विविध समयका यी स्तम्भहरूले ‘मधुपर्क’ को तत्तत् समयको एउटा रूपरेखा प्रस्तुत गर्छन् ।)

समयसमयमा ‘मधुपर्क’ मा केकस्ता स्तम्भ रहेछन् भन्ने कुरा उपर्युक्त उदाहरणले स्पष्ट पार्छ । साहित्यिक स्तम्भहरूमध्ये ‘आवरणलेख/मूललेख/विशेषलेख’ भनेर साहित्य र साहित्येतर विषयसँग सम्बद्ध प्रायः अनुसन्धानमूलक लेख प्रकाशित गरिन्छ भने ‘पत्रपत्रांश’मा पाठकहरूका ‘मधुपर्क’ सम्बन्धी पाठक प्रतिक्रिया छापिन्छ । त्यस्तै ‘समयसन्दर्भ’मा सम्पादकीय सन्दर्भ र ‘सन्दर्भ-सन्दर्भ-सन्दर्भ’ मा एक महिनाभित्रका विभिन्न साहित्यिक समाचारहरू छापिने गरेको देखिन्छ । ‘प्रसङ्गवश’ मा विभिन्न साहित्यकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको पाइन्छ । ‘बिर्सन नसकिने क्षण’ र ‘नमेटिने डोबहरू’ छोटा संस्मरणसँग सम्बद्ध देखिन्छन् भने ‘आँकुरा’ मा नवप्रवेशी सिकारू स्रष्टाहरूलाई स्थान दिइन्छ । ‘पु्स्तकपत्रिका’ लगभग सुरूदेखि अहिलेसम्मको निरवच्छिन्न स्तम्भ हो । यसमा नयाँ प्रकाशित पुस्तक पत्रिकाहरूको परिचय प्रस्तुत गरिन्छ र केही अङ्कमा ‘प्राप्ति-स्वीकार’ भनेर ‘मधुपर्क’लाई समीक्षार्थ प्राप्त पुस्तक/पत्रिकाको विवरण दिइएको पाइन्छ भने अङ्क ६ बाट सुरू भएको यस स्तम्भमा हालसम्म करिब दुई हजारभन्दा बढी पुस्तक/पत्रिकाको समीक्षा भएको पाइन्छ । सुरूमा ‘पाठकसभा’ बाट सुरू भएको ‘पत्रपत्रांश’ स्तम्भ र ‘पुस्तक-पत्रिका/पुस्तक समीक्षा’ स्तम्भमा सर्वाधिक लेखक/पाठकहरूको सहभागिता रहेको देखिन्छ ।

‘मधुपर्क’ लाई विविधतामय बनाउन र साँच्चै मधुपर्कजस्तै बनाउन यी विविध साहित्यिक स्तम्भहरूको ठूलो महत्त्व छ । साहित्यिक पत्रिकालाई आस्वाद्य, सर्वाङ्गपूर्ण र विविधतामय बनाउन यस्ता स्तम्भहरू अत्यन्त आवश्यक हुन्छन् । ‘प्रसङ्गवश’ स्तम्भका कतिपय अन्तर्वार्ताका प्रश्नहरू भने विषयको गहिराईमा नपुगी सोधिएका देखिए पनि धेरै अन्तर्वार्ताले स्रष्टा स्वयम् र वर्तमान साहित्यका गति, धारा र प्रवृत्ति बुझ्न सहयोग पुर्‍याउँछन् । यसप्रकार नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ का साहित्यिक स्तम्भहरूको समायोजन, विन्यास र समयको परिवर्तित क्रमसँगै तदनुरूपका नयाँ स्तम्भहरूको सिर्जनाले यस पत्रिकालाई पठनीय, सुरूचिपूर्ण र आस्वाद्य बनाएको पाइन्छ ।

४.१.३ साहित्येतर स्तम्भ ः

‘मधुपर्क’ साहित्यिक पत्रिका भए पनि वाङ्मय र ज्ञानविज्ञानका विविध विषयसँग सम्बद्ध साहित्येतर सामग्रीलाई पनि यस पत्रिकाले स्थान दिएको छ । यस्ता साहित्येतर स्तम्भहरूमा संस्कृति, भाषा/व्याकरण, कला, मनोविनोद, एकछिनलाई रमाइलो, सूक्ति-उक्ति, गतिविधि, समाचार-सार, देशकाल, मन्थन, खेलजगत्, महिलासंसार, प्रतिभा, तपाईंको स्वास्थ्य, बालबगैँचा, विचित्रता-सतर्कता, धर्म-संस्कृति, विज्ञान, आत्मकथ्य, सङ्क्षेपमा, औषधिविज्ञान, दर्शन, यस मासको चर्चा, पुरातìव, उद्योगवाणिज्य आदि विविध स्तम्भहरू देखिन्छन् । विगत आठ दस वर्षयता भने साहित्येतर स्तम्भहरू न्यून हुँदै गई विशुद्ध साहित्यिक पत्रिकाका रूपमा ‘मधुपर्क’ को पहिचान बनेको छ तापनि यदाकदा भाषा, कलासंस्कृति र दर्शनसँग सम्बद्ध लेखहरू प्रकाशित भएको पाइन्छ । साहित्येतर स्तम्भमा प्रकाशित ऐतिहासिक विषयवस्तुमा आधारित खोजमूलक लेखहरू र संस्कृति तथा कलासम्बन्धी लेखहरूले नेपालको ऐतिहासिक परम्परा र कला-संस्कृति विविधताका पक्षहरूलाई देखाएका छन् भने अन्य सम्बद्ध विषयका विविध स्तम्भहरूमा प्रकाशित लेखहरूले सम्बन्धित विषयबारे राम्रो जानकारी दिएका छन् । यस्ता साहित्येतर स्तम्भका लेखहरू बढी सूचनामूलक देखिन्छन् ।

५. ‘मधुपर्क’ को पाठकीय चेतना र पाठकसभा/पत्रपत्रांश ः

पत्रिकाका लक्ष्यित वर्ग नै पाठक हुन् र पठकीय चेतनालाई उपेक्षा गरेर पत्रिका लोकपि्रय हुनसक्दैन, पाठकले आफ्ना चेतनाको स्तर र प्रभावका आधारमा पत्रिकाप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्दछ । यसैलाई पाठक प्रतिक्रिया भनिन्छ । यस ‘मधुपर्क’ पत्रिकाको दोस्रो अङ्कदेखि नै पाठक प्रतिक्रियाका रूपमा पाठकसभा रहने गरेकामा केही वर्षपछि त्यस स्तम्भलाई पत्रपत्रांश स्तम्भमा परिवर्तन गरेको देखिन्छ र करिब तीन दशकदेखि यही स्तम्भ नियमित छ । दोस्रो अङ्कमा श्रीधर खनालको ‘खाँचो टार्ने विश्वास’ शीर्षकको पाठक प्रतिक्रियादेखि सुरू भएको यस स्तम्भमा हाल एउटा अङ्कमा पाँचदेखि सातवटासम्म प्रतिक्रियाहरू छापिन्छन् ।

समालोचकीय भाषामा भन्नुपर्दा पाठक प्रतिक्रिया सिद्धान्तका ग्रहण सिद्धान्त र प्रतिक्रिया सिद्धान्तअनुसार इङ्गित पाठक र वास्तविक पाठक गरी दुई किसिमका पाठक हुन्छन् । यो रचना मेरा लागि नै लेखिएको हो भनेर रचना पढी सामान्य अनुभूतिका आधारमा प्रतिक्रिया व्यक्त गर्ने पाठक वास्तविक पाठक हो भने यो रचना मेरा लागि लेखिएको हो भन्ने कुरातिर त्यति ध्यान नदिई आफ्नै मान्यताद्वारा विशेष किसिमले प्रतिक्रिया व्यक्त गर्ने पाठक इङ्गित पाठक हो । यस आधारमा इङ्गित पाठक विशिष्ट पाठक हो भने वास्तविक पाठक सामान्य पाठक हो । ‘मधुपर्क’ मा प्रकाशित पाठक प्रतिक्रिया (पाठकसभा/कोणप्रतिकोण) का आधारमा विशिष्ट पाठकको भन्दा सामान्य पाठककै सङ्ख्या बढी देखिन्छ ।

पाठक प्रतिक्रियाले पत्रिकाको स्तरीयता अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ । पाठकले नाम छाप्ने/छपाउने र कसैका रचनालाई अधिमूल्यन/अवमूल्यन गर्ने अभिप्रायबाट मात्र व्यक्त गरिने प्रतिक्रियाहरूले पत्रिकालाई सही निर्देशन दिन सक्दैनन् । उपयुक्त, सुधारात्मक र सुझाउमूलक प्रतिक्रियाहरूलाई छाप्नका लागि मात्र नछापी पाठकीय सुझाउलाई पनि सम्मान गर्दै पत्रिकालाई स्तरीय बनाउनु आवश्यक हुन्छ । ‘मधुपर्क’ का कतिपय पाठक प्रतिक्रियाहरूले गम्भीर त्रुटिहरू पनि औँल्याएका छन् र लेखकका कमी/कमजोरी तथा सम्पादकका त्रुटिहरूलाई पनि देखाएका छन् । ‘मधुपर्क’ का कतिपय पत्रपत्रांश (पाठक प्रतिक्रिया) हरूमा पत्रिका/सम्पादकका त्रुटिहरू औँल्याएको समेत पाइन्छ । कतिपय पत्रिकाहरूले आफ्नो प्रशंसामात्र छाप्ने तर आलोचना नछाप्ने गरेका सन्दर्भमा आफ्नो आलोचना पनि प्रकाशित गर्नु ‘मधुपर्क’ को विशेषता हो ।

६. ‘मधुपर्क’ का विशेषाङ्कहरू ः

बहुविषय र बहुविधायुक्त साहित्यिक पत्रिका ‘मधुपर्क’ ले विभिन्न विषय, विधा, क्षेत्र, स्रष्टा आदि विशेषसँग सम्बद्ध साहित्यिक/वाङ्मयिक सामग्रीहरू पस्केर पाठकलाई विविधताको आस्वादन गराएको छ । ‘मधुपर्क’ले समयसमयमा विभिन्न विधा, विषय र स्रष्टाका विशेषाङ्क प्रकाशित गरी नेपाली साहित्यका विधागत/विषयगत/अन्तर्विषयगत/स्रष्टागत आदि क्षेत्रमा नवआयाम थपेको देखिन्छ । २०३० मा कथा विशेषाङ्कबाट विशेषाङ्क प्रकाशनको थालनी गरेको ‘मधुपर्क’ ले हालसम्म विभिन्न विधा, विषय र क्षेत्रका तेत्तीसवटा विशेषाङ्क र विभिन्न स्रष्टासँग सम्बद्ध दसवटा ‘स्रष्टाविशेष अङ्क’ गरी त्रिचालीसवटा विशेषाङ्कहरू प्रकाशित गरेको छ । यति धेरै विशेषाङ्कहरू प्रकाशित गरी सम्बद्ध विषय/विधा र क्षेत्रमा योगदान दिनु ‘मधुपर्क’ को विशेषता हो । कतिपय विशेषाङ्कमा भने सम्बद्ध विधा/विषय र क्षेत्रभन्दा इतर विषयका लेख/रचना पनि परेका देखिन्छन् ।

(‘मधुपर्क’ का विशेषाङ्कहरूका बारेमा भिन्नै कार्यपत्रको व्यवस्था भएकाले यहाँ तिनको विस्तृत चर्चा गरिएको छैन ।)

७. ‘मधुपर्क’ र समकालीन सन्दर्भ ः

‘मधुपर्क’ को प्रकाशनका पृष्ठभूमिमा कुनै राजनीतिक घटनावलीहरू कारक तत्व बनेका छैनन् । राजनीतिक दृष्टिले ‘मधुपर्क’ प्रकाशनको समय भनेको पञ्चायती शासनव्यवस्थाको वर्चस्वको समय हो र साहित्यिक दृष्टिले नेपाली कवितामा प्रयोगवादी धारा र नेपाली आख्यानमा अस्तित्ववादी/विसङ्गतिवादी तथा नवचेतनावादी धाराको समय हो । यस दृष्टिले ‘मधुपर्क’ मा युगीन राजनीतिक साहित्यिक परिवेशको सामान्य प्रभाव पर्नु स्वाभाविकै हो । यसैको परिणतिस्वरूप ‘मधुपर्क’ का सुरूतिरका अङ्कहरूमा तत्कालीन व्यवस्थासम्बन्धी साहित्येतर लेखहरू पनि प्रकाशित भएको पाइन्छ । ‘दर्शन ः व्यवस्था’, ‘दर्शन ः प्रशासन’ जस्ता स्तम्भहरूमा तत्कालीन व्यवस्थाका पक्षमा लेखिएका लेखहरू प्रकाशित हुन्थे । तत्कालीन समयका कतिपय अङ्कहरूमा राजपरिवारका प्रशस्तिमूलक लेखहरू र राजपरिवारका रचनाहरू पनि प्राथमिकताका साथ अग्रभागमा प्रकाशित हुन्थे । सरकारी संस्थाबाट प्रकाशित हुने पत्रिका भएकाले पनि केहीरूपमा ‘मधुपर्क’ यसबाट निरपेक्ष हुन नसक्नु स्वाभाविक देखिन्छ । रचना प्रकाशनका लागि माथिबाट आदेश र दबाव आए पनि सम्पादकले मूल्यहीन र असाहित्यिक रचना नछापेर ‘मधुपर्क’ को साहित्यिक अस्तित्व कायम राखेको कुरा पनि जानकारी पाइन्छ । (श्रीओम श्रेष्ठ रोदन, नि. सम्पादक-मधुपर्क)

समयको परिवर्तनसँगै २०३६ को सडककविता क्रान्ति र राजनीतिक परिवर्तनको प्रभाव पनि केही रूपमा ‘मधुपर्क’ मा परेको देखिन्छ र प्रतीकात्मक रूपमा पञ्चायती व्यवस्थाप्रति विमति जनाइएका लेख/रचनाहरू पनि आंशिकरूपमा प्रकाशित हुने गरेको पाइन्छ र २०४६ सम्म त्यो स्थिति रहन्छ । २०४६ को परिवर्तन, २०५२/०५३ देखिको सशस्त्र द्वन्द्व र २०६२/०६३ को लोकतान्त्रिक-गणतान्त्रिक कविता आन्दोलनको प्रभाव पनि ‘मधुपर्क’ का रचनामा परेको देखिन्छ । यसैको परिणतिस्वरूप ‘मधुपर्क’ का कतिपय लेख/रचनाहरू समयको परिवर्तनसँगै त्यसले अँगालेका प्रवृत्तिहरूलाई पनि आत्मसात् गरेर लेखिएका देखिन्छन् । ‘मधुपर्क’ प्रकाशनको एक दशकपछि जनआन्दोलन र सडक कविता क्रान्ति हुनु, त्यसको एक दशकमा पञ्चायती व्यवस्थाको अन्त्य हुनु, त्यसको आधा दशकपछि सशस्त्र द्वन्द्वको थालनी हुनु र त्यसको एक दशकमा लोकतान्त्रिक/गणतान्त्रिक आन्दोलन हुनुजस्ता घटनावलीको प्रभाव ‘मधुपर्क’ मा कुनै न कुनै रूपमा परेको कुरा यस पत्रिकाका तत्तत् समयका अङ्कहरूबाट स्पष्ट हुन्छ । यसबाट ‘मधुपर्क’ ले अर्थात् ‘मधुपर्क’ का रचनाले युगीनतालाई आत्मसात गरेको देखिन्छ । ‘मधुपर्क’ सरकारी संस्थाद्वारा प्रकाशित पत्रिका भएकाले सरकार परिवर्तनको केही प्रभाव देखिए पनि पछिल्लो समयमा पत्रिकालाई स्वतन्त्र राख्न प्रयास भएको पाइन्छ । ‘मधुपर्क’ को समकालीन युगीन सन्दर्भलाई यसप्रकार देखाइन्छ ः

१) ‘मधुपर्क’ ले युगीन परिवर्तनका लक्षणहरूलाई आत्मसात् गरेको छ ।

२) युगीन परिस्थिति, घटना, परिवर्तित परिवेश आदिले ‘मधुपर्क’ लाई केहीरूपमा प्रभावित पारेको देखिन्छ ।

३) परिवर्तित समयक्रमले ल्याएका प्रवृत्ति र युगीन प्रभावबाट ‘मधुपर्क’ असम्पृक्त छैन ।

४) चार दशकभन्दा बढीको समयका राजनीतिक, सामाजिक आरोह-अवरोहले ‘मधुपर्क’लाई पनि प्रभाव पारेको देखिन्छ ।

८. ‘मधुपर्क’ का रचनाहरूको गुणात्मक मूल्य र स्तरीयताको सन्दर्भ ः

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ को गुणात्मक मूल्यलाई समयका सापेक्षतामा पनि हेर्नुपर्ने हुन्छ । गुणात्मक मूल्यमा ‘मधुपर्क’ सधैँ स्थिर देखिँदैन । कुनै समयका कतिपय अङ्कहरू उत्कृष्ट र स्तरीय देखिन्छन् भने कुनै समयका कतिपय अङ्कहरूले त्यो उत्कृष्ट स्तरीयतालाई कायम गर्न नसकेको पनि देखिन्छ । अधिकांशतः विशेषाङ्कहरू भने अपेक्षाकृत स्तरीय नै देखिन्छन् । यस पत्रिकामा उच्चस्तरीय लेख/रचनाहरूदेखि लिएर सामान्यस्तरका र कुनै कुनै त कलात्मक पक्षका दृष्टिले कमजोर लेखरचनाहरू पनि प्रकाशित भएका देखिन्छन् । मूललेख/विशेषलेख/आवरणलेख आदि लेख/रचनाहरूले भने ‘मधुपर्क’ को स्तरीयता बढाउन मद्दत गरेका छन् । यस आधारमा ‘मधुपर्क’ पत्रिका र यसमा प्रकाशित सामग्रीहरूको गुणात्मक मूल्यलाई रौँ चिरा वर्गीकरण गरेर मापन गर्न सकिँदैन र सम्भव पनि छैन । यस पत्रिकामा प्रकाशित सबै विधाका लेख/रचनाहरूलाई नियमित पठन र सर्सर्ती अवलोकनका आधारमा निम्नलिखित चार स्तरका अनुमानित परिकल्पना बनाई हेर्न सकिन्छ ः

१) उच्चस्तरका लेख/रचना- (करिव ३५ प्रतिशत)

२) उच्च-मध्यमस्तरका लेख/रचना- (करिव ३० प्रतिशत)

३) मध्यमस्तरका लेख/रचना- (करिव २० प्रतिशत)

४) सामान्यस्तरका लेख/रचना- (करिव १५ प्रतिशत)

‘मधुपर्क’ पत्रिकाको गुणात्मक मूल्यको यो अनुकल्पना रौँ चिरा एवम् गणितीयमापन होइन र सामान्य सिंहावलोकनका आधारमा गरिएको एउटा प्रत्यक्ष अनुमानित परिकल्पना मात्र हो । यस्तो परिकल्पना पाठकको चेतनाको स्तरअनुसार फरक हुन पनि सक्छ । यति हुँदाहुँदै पनि समग्रमा ‘मधुपर्क’ का रचनाको परिमाणात्मक मूल्यका हाराहारीमा गुणात्मक मूल्य भने पुग्न नसकेको देखिन्छ । यति लामो यात्रा पार गरिसकेर धेरै स्रष्टाहरूको उत्प्रेरक, जन्मदाता, प्रोत्साहक र सम्मानित भूमिकाको रूपमा रहेको ‘मधुपर्क’ पत्रिका मात्र पनि सिङ्गो र विशिष्ट इतिहास बनिसकेको छ । यस पत्रिकालाई, यसमा प्रकाशित लेख-रचनालाई एकछिन छोपिदिने हो भने नेपाली साहित्यको इतिहास / नेपाली साहित्यिक पत्रकारिताको इतिहास अधुरो हुन्छ । यस आधारमा ‘मधुपर्क’ को ऐतिहासिक मूल्य पनि सबल देखिन्छ ।

‘मधुपर्क’ पत्रिकामा प्रकाशित रचना आहृवानका सूचना र कतिपय सम्पादकीयमा अभिव्यक्त दृष्टिकोणका आधारमा स्तरीयताप्रति चासो रहेको देखिन्छ । पाठकीय चेतनाको स्तरअनुरूप पत्रिकाको स्तर मापन हुन्छ । एउटा सामान्य पाठकका लागि स्तरीय पत्रिका सुपाच्य नहुनसक्छ र उसको ग्रहण क्षमतामा त्यस्ता सामग्रीहरूको सम्प्रेषणमा बाधा पुग्नसक्छ । एउटा बौद्धिक र विशिष्ट पाठकका लागि सामान्यस्तरको पत्रिकाले बौद्धिक भोक नमेटाउन सक्छ । यी दुवैस्तरको मध्यबिन्दुमा उभिएर ‘मधुपर्क’ ले एकातिर सामान्य पाठकहरूको सङ्ख्या बढाएर उनीहरूलाई साहित्यतिर आकषिर्त गर्ने भूमिका निर्वाह गर्नुपरेको छ भने अर्कातिर स्तरीय बौद्धिक/प्राज्ञिक लेख/रचनाहरूसमेत प्रकाशित गरेर विशिष्ट पाठकको चेतनाको स्तरअनुरूप बौद्धिक सामग्री प्रदान गर्नुपरेको छ । यस दृष्टिले ‘मधुपर्क’ मध्यविन्दुमा छ । स्तरीयताप्रति चासो राखेर पाठकहरू / लेखकहरूलाई तदनुरूपकै लेख/रचनाका लागि आहृवान गरिएका सन्दर्भहरू पनि छन् । यससम्बन्धी ‘मधुपर्क’ का केही अभिमत यसप्रकार छन् ः

१) ‘साहित्य, कला, संस्कृति, विज्ञान एवम् संविधान र व्यवस्थाका विभिन्न पक्षहरूका सारगर्भित र सरससामग्रीहरूको सक्दो सम्मीलन यसमा गरिनेछ ।’- अङ्क-१, २०२५, पृ. १०६ ।

२) ‘सामयिक आवश्यकता पूर्ति र क्षणिक प्रसिद्धिमा मात्र सन्तुष्ट नभई आफ्-आफ्नो क्षेत्रमा उत्तरोत्तर साधना गर्ने साधकहरूको आज हरेक क्षेत्रमा खाँचो छ ।’- अङ्क-३, २०२५, पृ. १०४ ।

३. ‘केही समययतादेखि भाषासाहित्यको अभ्यास, गतिविधि र सक्रियतामा शिथिलता आएको अनुभव सर्वत्र पाइन्छ । यसरी यस क्षेत्रमा शिथिलता आउनु भनेको राष्ट्रको परम्परा र संस्कृतिमा ह्रास आउनु हो ।’- पूर्णाङ्क- ३०६, २०५१, पृ.१

सिकारू, अपरिपक्व र अपरिष्कृत रचनाहरूको ओइरो लाग्ने र परिष्कारपूर्ण एवम् गम्भीर रचनाको न्यूनता हुने ‘मधुपर्क’ को स्थितिबाट सन्तुलन मिलाउन खोजिएको र स्तरीयताका लागि प्रयास गरेको देखिन्छ ।

९.’मधुपर्क’ र कला ः

‘मधुपर्क’ प्रकाशनको एक दशकसम्म पनि आवरणमा बाहेक भित्री रचनाहरूमा कलाको संयोजन गरिएको पाइँदैन । त्यसपछिका अङ्कहरूमा भने विशेषतः कविता र आख्यानमा रचनाको भावअनुरूपका अर्धमूर्त/अमूर्त कलाको पनि संयोजन गरिएको पाइन्छ । कविता र कथाको भावसम्प्रेषणका निमित्त कहीँकहीँ मूर्त, अर्धमूर्त र अमूर्त चित्रकलाहरूको संयोजनले पत्रिकालाई कलात्मक र आकर्षक बनाएको देखिन्छ । पहिलो अङ्कमा उत्तम नेपालीको अमूर्त आवरणकलाबाट सुरू भएको ‘मधुपर्क’ को आवरणमा कहिले सन्दर्भ-प्रसङ्गअनुरूपका खिचिएका फोटा र कहिले अमूर्त कला राखिएको देखिन्छ भने भित्री रचनाहरूमा प्रायः अर्धमूर्त कलाको संयोजन केही बढी देखिन्छ । पछिल्लो समयमा कम्प्युटरबाट तयार गरिएका कलाको संयोजन पनि गरिएको छ । कलाको गुणात्मकतामा भने ह्रास आएको देखिन्छ । अधिकांशतः रचना र कलाका बीच भाव सन्तुलन देखिन्छ तापनि पछिल्लो समयका कला बढी मूर्ततातिर ढल्किएका छन् । जे होस् कलाको संयोजनले ‘मधुपर्क’ लाई आकर्षक बनाएको छ ।

१०. ‘मधुपर्क’ को सम्पादन कक्ष र सम्पादकीय सन्दर्भ ः

साहित्यिक पत्रिकालाई कस्तो बनाउने र कुनरूपमा लैजाने भन्ने कुरा सम्पादक र सम्पादकमण्डलको कुशलतामा निर्भर गर्दछ । ‘मधुपर्क’ का प्रथम अङ्कमा सम्पादक गोपालप्रसाद भट्टराई र सहायक सम्पादक नारायणबहादुर सिंह, दाताराम शर्मा एवम् भैरव अर्याल रहेकामा पछि सम्पादन कक्षलाई विभिन्न समयमा परिवर्तन गरिएको पाइन्छ । गोपालप्रसाद भट्टराईदेखि वर्तमान सम्पादक श्रीओम श्रेष्ठसम्म आइपुग्दा सम्पादक, सह-सम्पादक, उपसम्पादक, सहायक सम्पादक, आवरण/कला, मुद्रण र वितरण व्यवस्था, बजारव्यवस्था आदिको व्यवस्था भएको पाइन्छ ।

गोरखापत्र संस्थान पुरानो इतिहास बोकेको र आफ्नै गौरव भएको सञ्चार संस्था भएकाले यसको साहित्यिक प्रकाशनका रूपमा रहेको ‘मधुपर्क’ लाई आजको अवस्थासम्म ल्याएर निरन्तरता कायम गरी यस पत्रिकाको विशिष्ट इतिहासको निर्माणमा गोरखापत्र संस्थान र ‘मधुपर्क’ विभागको अहम् भूमिका छ । सुरूमा ‘हाम्रो पृष्ठ’ स्तम्भका रूपमा रहेको यसको सम्पादकीय करिब एक दशकपछि ‘समय-सन्दर्भ’ का रूपमा रहेको देखिन्छ भने वर्तमानमा ‘सम्पादकीय’ का रूपमा रहेको छ । विगत केही वर्षदेखि र कतिपय अङ्कहरूमा सुरूदेखि नै समसामयिक साहित्यिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि सन्दर्भसँग सम्बद्ध सम्पादकीय रहने गरेको पाइन्छ । सम्पादकीयले तत्कालीन युगका सापेक्षतामा आफ्नो सन्दर्भ बोल्नुपर्छ, अनि मात्र यसले आफ्नो साहित्यिक इतिहासको निर्माणमा एउटा आधार बनाउँछ । कुनै पनि पत्रिकाको सम्पादकीय त्यस पत्रिकाको मूल प्रतिध्वनिका रूपमा रहेको हुन्छ र पत्रिकाका व्यथाकथा, आरोह-अवरोह एवम् आगतको दिशाबोधसमेत सम्पादकीयबाट स्पष्ट हुन्छ । ‘मधुपर्क’ को सम्पादकीयमा पनि यस्ता सान्दर्भिक-सामयिक कुराहरू प्रतिध्वनित भएका छन् । स्थानका दृष्टिले सम्पादकीयका रूपमा रहेको ‘हाम्रो पृष्ठ’ प्रारम्भिक अङ्कहरूमा पत्रिकाको अन्त्यमा रहने गरेकामा हालको ‘सम्पादकीय’ सुरूको पृष्ठमा रहेको छ । ‘मधुपर्क’ को सामयिक सन्दर्भका रूपमा रहेका सम्पादकीयका केही अंश यसप्रकार छन् ः

१) ‘अभिव्यक्ति र जिज्ञासापूर्ति दुबैको सुगम माध्यम साधारणतः पत्रिका नै हुनसक्ने हुँदा…….गोरखापत्र कर्पोरेसन पनि आफ्नो चौथो उपहारका रूपमा ‘मधुपर्क’ अघि सार्दैछ ।’- पहिलो अङ्क

२) ‘यसरी मोतीजयन्तीले अग्रजप्रति सम्मान गर्ने, ओझेलमा परेकाहरूप्रति अनुसन्धान गर्दै प्रकाशमा ल्याई कदर गर्ने र साधनामा लागेकाहरूप्रति सहयोग एवम् सद्भावना पुर्‍याउने प्रेरणा दिन्छ ।’- वर्ष-११, अङ्क-४,

३) ‘कुनै निर्दिष्ट उद्देश्यका लागि प्रयुक्त हुने लेख/रचना वा कृतिका लागि सम्बन्धित लेखकलाई यथोचित पारितोषिकसमेत दिने परिपाटी बसाल्नु नितान्त वाञ्छनीय देखिन्छ ।’-पूर्णाङ्क-२३०

४) ‘अन्ततोगत्वा अन्यौल र दोसाँधमा रहेको देशको राजनीतिक अवस्था आउँदो मङ्सिर ७ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन हुनेगरी समाप्त भएको छ ।’-पूर्णाङ्क-३१४

५) ‘आज क्रान्तिचेतका प्रतीक ठानिएका हाम्रा आदर्श पुरूषहरूमा देखिँदै गएको मूल्यविघटनले नेपाली मनका आस्था र विश्वासका सगरमाथाहरू विस्तारै धराशायी हुँदै गएका छन् ।’-पूर्णाङ्क-४७९

यसप्रकार ‘मधुपर्क’ का विभिन्न समयका सम्पादकीयहरूले तत्कालीन समसामयिक परिवेशका राजनीतिक, सामाजिक, आर्थिक, साहित्यिक आदि विविध सन्दर्भहरूलाई अभिव्यञ्जित गरेको पाइन्छ ।

११. ‘मधुपर्क’ का प्राप्ति र सीमा ः

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा निरन्तरतालाई कायम राख्दै पाँच सय पूर्णाङ्कसम्मको यात्रा पूरा गर्नु ‘मधुपर्क’ पत्रिकाको सर्वोच्च प्राप्ति हो र पाँच सय अङ्क पूरा गर्ने प्रथम साहित्यिक पत्रिकाका रूपमा यसले आफ्नो स्थान सुरक्षित राखेको छ । धेरै पाठकहरूको मन जित्न सफल ‘मधुपर्क’ को विस्तार र प्रायः सबै स्तरका पाठकहरूको साझा साहित्यिक पत्रिकाका रूपमा पनि यस पत्रिकाको अस्तित्व रहेको छ । विभिन्न विधा, विषय र क्षेत्रका हजारौँ लेख/रचनाहरूको प्रकाशन गरी पाठकसमक्ष प्रस्तुत गर्नु र पाठकमाझ ‘मधुपर्क’ मा रचना प्रकाशित हुनु गौरवको कुरा हो भन्ने स्थितिको सिर्जना गर्नु पनि यस पत्रिकाको विशेषता र प्राप्ति हो । विभिन्न विधा, विषय, क्षेत्र, अन्तर्विषय, स्रष्टा आदिमा केन्दि्रत विशेषाङ्कहरूको प्रकाशन गरेर ‘मधुपर्क’ ले आफूलाई उच्चतातिर लैजाने प्रयास गर्दैछ । समग्रमा ‘मधुपर्क’ का प्राप्तिहरूलाई यसप्रकार देखाइन्छ ः

१) नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा पाँच सय पूर्णाङ्क पूरा गर्ने पहिलो पत्रिका हुनु र निरन्तरता प्राप्त गर्नु,

२) सम्पूर्ण विधा, विषय र क्षेत्रका विविध भावभूमिका धेरै रचनाको प्रकाशन गरी सङ्ख्यात्मकरूपमा सर्वाधिक स्रष्टा र सिर्जनालाई स्थान दिने पत्रिकाका रूपमा स्थापित हुनु,

३) विभिन्न विधा, विषय र क्षेत्रका विशेषाङ्कहरू प्रकाशित गरी साहित्यिक विधा, विषय र क्षेत्रलाई विशिष्टीकृत बनाउनु र स्रष्टाविशेष अङ्कसमेतको प्रकाशन गर्नु,

४) विशेषाङ्क र स्रष्टाविशेष अङ्क गरी ४३ वर्षको इतिहासमा ४३ वटा विशेषाङ्क प्रकाशित गर्नु र सम्बद्ध विधा, विषय, क्षेत्र र स्रष्टासँग सम्बद्ध अनुसन्धानमूलक सामग्रीको समेत प्रकाशन गर्नु,

५) ‘शारदा’ र ‘रूपरेखा’ ले झैँ साहित्यमा युगविभाजक आधार नदिए पनि तत् समयका धारा र प्रवृत्तिलाई परिपुष्टता प्रदान गर्नु,

६) उच्चस्तरदेखि सामान्यस्तरसम्मका पाठकका लागि अनुकूलित सामग्री प्रकाशन गर्नु र कतिपय स्रष्टा, लेखकहरूको साहित्यिक व्यक्तित्वको जन्म र विकासका लागि आधार प्रदान गर्नु,

७) सम्भवतः सर्वाधिक बिक्री हुने साहित्यिक पत्रिकाका रूपमा स्थापित हुनु र इन्टरनेटमा समेत समावेश हुनु आदि ।

कुनै पनि साहित्यिक पत्रिका सर्वाङ्गपूर्ण, निर्दोष र दुर्बलता हुँदै नभएको हुँदैन । ‘मधुपर्क’ का पनि आफ्ना केही दुर्बलता र सीमाहरू छन् । गोरखापत्र संस्थान सरकारी संस्था भएको र ‘मधुपर्क’ पनि गोरखापत्र संस्थानबाटै प्रकाशित हुने ‘गोरखापत्र’ को सहप्रकाशन भएकाले सरकार परिवर्तनको केही प्रभाव ‘मधुपर्क’ मा पनि परेको देखिन्छ । पञ्चायती शासनकालमा पञ्चायती व्यवस्थाले, बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सरकारमा रहेका दलहरूले र लोकतान्त्रिक/गणतान्त्रिक व्यवस्थामा पनि सरकारमा रहेका दलहरूले गोरखापत्र संस्थानलाई आफ्नो अनुकूलको बनाउन खोज्ने हुनाले यसै संस्थाबाट प्रकाशित ‘मधुपर्क’ पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस प्रभावबाट मुक्त रहन नसकेको देखिन्छ । साहित्यिक रचनाहरूको स्तरीयताका दृष्टिले पनि अत्युच्चस्तरका पाठकका लागि आंशिकरूपमा उच्च-मध्यम, मध्यम तथा सामान्य पाठकका लागि अधिकांशत अनुकूलित हुने रचनाहरू प्रकाशित हुने भएकाले यस पत्रिकाले अपेक्षाकृत उच्चगुणात्मक मूल्य प्राप्त गर्न नसकेको देखिन्छ । यति ठूलो र विशिष्ट ऐतिहासिक मूल्य बोकेको पत्रिकाले पनि सिङ्गो नेपाली साहित्यमा कुनै नयाँ मोड, परिवर्तन र युगविभाजनको निर्धारक आधार दिन सकेको पाइँदैन । समग्रमा ‘मधुपर्क’ का सीमाहरूलाई यसप्रकार देखाइन्छ ः

१) राजनीतिक परिवर्तन र सरकार परिवर्तनका परिघटनाहरूबाट केही रूपमा निरपेक्ष रहे पनि पूर्णतया निरपेक्ष हुन नसक्नु,

२) धेरै पाठक/लेखकहरूलाई समावेश गर्ने लोभका कारण कतिपय हलुका रचनाले पनि स्थान पाउनु,

३) विशेषतः समालोचनामा एउटै वा धेरै लेखकका उही विषय र शीर्षकका समालोचना पुनरावृत्ति भई प्रकाशित हुनु र ‘क्लासनोट’ प्रवृत्तिका शैक्षणिक समालोचनासमेत प्रकाशित हुनु ः

४) समयसमयमा पत्रिकाको आकार र स्तम्भ विन्यासमा धेरै परिवर्तन हुनाका साथै न्युजपि्रन्ट स्तरको सामान्य कागजको प्रयोग हुनु,

५) वर्णविन्यासगत त्रुटिहरूमा त्यति ध्यान पुग्न नसक्नु आदि ।

समग्रमा भन्नुपर्दा नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा र सिङ्गो नेपाली साहित्यमा ‘मधुपर्क’ को योगदान उच्च देखिन्छ र अझ विशेषतः ऐतिहासिक र परिमाणात्मक मूल्यका दृष्टिले यो योगदान अब्बल छ भने गुणात्मक मूल्यका दृष्टिले पनि यस पत्रिकाका योगदान र प्राप्तिलाई कम आँक्न मिल्दैन । यस पत्रिकाका सम्पूर्ण सीमाहरू ‘मधुपर्क’ पत्रिकाको प्राप्तिले जन्माएका अप्राप्ति हुन्, तसर्थ यसका प्राप्तिलाई महत्त्वपूर्ण रूपमा लिनुपर्छ ।

१२. निष्कर्ष र सुझाउ ः

नेपाली साहित्यको माध्यमिक कालदेखि सुरू भएको साहित्यिक पत्रकारिताको इतिहासमा केही साहित्यिक पत्रिकाहरूले नेपाली साहित्यमा विशेष मोड र परिवर्तन ल्याएर नेपाली साहित्यको गति र दिशा परिवर्तन गरेका छन् । यस सन्दर्भमा ‘मधुपर्क’ पत्रिकाले पनि नेपाली कविताको प्रयोगवादी र समसामयिक धारा तथा नेपाली कथाको अस्तित्ववादी, विसङ्गतिवादी, नवचेतनावादी र समसामयिक धारालाई परिपुष्टता प्रदान गर्ने काम गरेको छ भने निबन्ध र समालोचनामा पनि केही नवप्रवृत्तिलाई अङ्गीकार गरेको छ । यस आधारमा यी धारा र प्रवृत्तिको फराकिलो पथ निर्माणमा ‘मधुपर्क’ को भूमिका उल्लेखनीय देखिन्छ र यस पत्रिकाले आफ्नो विशिष्ट छवि पनि बनाएको देखिन्छ । कुनै पनि साहित्यकारको साहित्यिक व्यक्तित्वको जन्म पत्रिकाबाट हुन्छ र उसको त्यस व्यक्तित्वको निर्माणमा पनि पत्रिकाहरूको अहम् भूमिका रहेको हुन्छ । ‘मधुपर्क’ले पनि धेरै साहित्यिक व्यक्तित्वहरू जन्माएको, धेरै साहित्यकारहरूको साहित्यिक व्यक्तित्वको निर्माण गरेको र धेरै साहित्यकारहरूलाई परिचित तथा स्थापित गराएको प्रमाणका रूपमा स्रष्टा र स्वयम् तिनका सिर्जना छन् ।

‘मधुपर्क’ गोरखापत्र संस्थानबाट प्रकाशित हुने संस्थागत पत्रिका भएको हुँदा निजीस्तरका साहित्यिक पत्रिकाले जस्तो आर्थिक जटिलता भोग्न नपर्ने भएकाले साहित्यका आम पाठकले ‘मधुपर्क’ लाई अझै स्तरीय र गुणात्मक रूपमा देख्ने, पढ्ने अपेक्षा गर्नु अत्यन्त स्वाभाविक हो र यसले आफ्नो गरिमा र अस्तित्वलाई अझ महिमामय र प्रभावी बनाउनका लागि परम्परित सोच, शैली र चिन्तनबाट माथि उठेर नवचेतनाका साथ अगाडि बढ्नु आवश्यक छ । ‘मधुपर्क’ लाई साँच्चै मधुपर्कजस्तै सुस्वादु, आस्वाद्य, मधुर, विशिष्ट र प्राज्ञिक पत्रिका बनाउनका लागि केही सुझाउहरू प्रस्ताव गर्नु सान्दर्भिक देखिन्छ ः

१) ‘मधुपर्क’ मा केही सामान्य रचनालाई पनि स्थान दिइएको देखिन्छ । ‘आँकुरा’ स्तम्भबाहेक अन्यमा सबल रचनालाई स्थान दिनुपर्छ ।

२) स्तम्भविन्यासका क्रममा विधासिद्धान्तलाई ध्यान दिई निर्धारित गर्नु उपयुक्त हुन्छ । जस्तो कि निबन्ध, नियात्रा, संस्मरण, हास्यव्यङ्ग्य भनी अलगअलग स्तम्भ राख्दा सामान्य पाठकलाई यी भिन्नभिन्न विधा हुन् कि भन्ने भ्रम हुने हुँदा निबन्ध मूलस्तम्भ अन्तर्गत अन्य उपस्तम्भका रूपमा नैबन्धिक रचनालाई राख्नु उपयुक्त हुन्छ ।

३) परम्परित र नितान्त शैक्षणिक समालोचनाभन्दा नवीन पद्धतिमा आधारित समालोचनालाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

४) आवरणलेख/ मूललेख/विशेषलेखका लागि केही बढी समय दिएर भए पनि सम्बन्धित विषयका विशिष्ट विद्वान्हरूलाई लेख्न लगाउनु उपयुक्त हुन्छ ।

५) एउटै कृतिको, एउटै पक्षमा आधारित, एउटै कुराको पृष्ठपोषण गरिएका धेरै समालोचनाहरू प्रकाशित नगर्नु उपयुक्त हुन्छ ।

६) विशिष्ट विद्वान्हरूका कतिपय लेख/रचना पनि सामान्य देखिएकाले व्यक्तित्वका आधारमा मात्र त्यस्ता रचनालाई स्थान नदिनु उपयुक्त हुन्छ ।

७) प्रसङ्गवश र विचारमञ्चजस्ता स्तम्भहरू अत्यन्त उपयुक्त भएकाले यस्ता स्तम्भमा हलुका र सतही प्रश्न नउठाई गम्भीर, समसामयिक र नवीनतम विषय उठाउनु उपयुक्त हुन्छ ।

८) कविता/गीत/गजलमा कतिपय व्यक्तिवादी, प्रशंसापरक र छन्दोभङ्ग भएका छन्देली कविता प्रकाशित भएकाले यस्ता सामान्य र विवरणात्मक कविता नराख्नु श्रेयस्कर हुन्छ ।

९) कतिपय विशेषाङ्कहरूमा इतर विधा/विषय/क्षेत्रका रचना वा लेखहरू नराखी सम्बद्ध विशेषाङ्कको क्षेत्रसँग मात्र सम्बद्ध लेख/रचना राख्नु समीचीन देखिन्छ ।

१०) ‘मधुपर्क’ सामान्यतया स्तरीय भए पनि न्युजपि्रन्टको कागजभन्दा गुणस्तरको कागज राख्नु राम्रो हुन्छ र भित्र रचनामा राखिने कला कम्प्युटरबाट नबनाई हातैले बनाएको अमूर्तकला राख्नु उपयुक्त हुन्छ ।

यसप्रकार नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा सबै दृष्टिले ‘मधुपर्क’ को योगदान उल्लेखनीय देखिन्छ र नेपाली साहित्यमा यसको परिमाणात्मक, ऐतिहासिक र गुणात्मक मूल्य छ । यस पत्रिकाको साहित्यिक योगदानको समग्र र समुचित एवम् विश्लेषणात्मक मूल्याङ्कन हुनु आवश्यक छ । नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा धेरै पत्रिकाहरूले आफ्नो अस्तित्व देखएका छन् तर ती दीर्घजीवी बन्न सकेका छैनन् । त्यस्तो परिस्थितिमा मधुपर्कले ४३ वर्षको जीवन्त इतिहास बनाएको छ र धेरै स्रष्टाहरूलाई जन्माएको छ । यो मधुपर्कको विशिष्टतम प्राप्ति हो ।

मधुपर्कको विधागत र स्रष्टागत योगदान ऐतिहासिक मूल्यका दृष्टिले महत्त्वपूर्ण देखिन्छ । यस प्राप्तिले साहित्यिक पत्रकारिताका क्षेत्रमा मात्र नभएर सिङ्गो नेपाली साहित्यमा मधुपर्कको योगदानलाई कम आँक्न मिल्दैन । अझ त्यसमा पनि ‘मधुपर्क’ को विधागत, स्तम्भगत योगदानका बारेमा पनि विस्तृत र व्यापक अध्ययन विश्लेषणको आवश्यकता छ । ”नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’ को योगदान” शीर्षकको यो कार्यपत्रात्मक आलेख यस दिशातिरको एउटा सानो प्रस्थान बिन्दु हो । यसबाट मधुपर्कमाथि थप अध्ययन अनुसन्धानका लागि मार्ग प्रशस्त भएको छ ।

प्रमुख सन्दर्भसूची ः

के.सी., शोभा खड्का, नेपाली साहित्यमा मधुपर्क पत्रिकाको योगदान,

अप्रकाशित स्नातकोत्तर शोधपत्र, पृ.ना.क्याम्पस, पोखरा, २०५८ ।

गौतम, लक्ष्मणप्रसाद, नेपाली साहित्यिक पत्रकारितामा ‘गरिमा’ को योगदान, साझा प्रकाशन, केन्द्रीय कार्यालयद्वारा २०६२ वैशाख ३ मा काठमाडौँमा आयोजित साहित्यिक समारोहमा प्रस्तुत कार्यपत्र ।

देवकोटा, ग्रीष्मबहादुर, नेपाली छापाखाना र पत्रपत्रिकाको इतिहास, दोस्रो संस्करण’ ललितपुर ः साझा प्रकाशन, २०५१ ।

नीरव, रोशन थापा, नेपाली वाङ्मयमा मधुपर्कको योगदान, मधुपर्क, (३४/१, २०५८) ।

रेग्मी, शिव, मधुपर्कसँग गाँसिएका केही सम्झना, मधुपर्क, (२८/५, २०५२) ।

………………………. नेपाली साहित्यमा मधुपर्कको योगदानको मूल्याङ्कन, मधुपर्क, (४२/१, २०६६) ।

सुवेदी, राजेन्द्र, चौथाइ शताब्दीभन्दा लामो इतिहासको संवाहक मधुपर्क, मधुपर्क, (२८/१, २०५२)

‘मधुपर्क’ का प्रारम्भदेखिका अधिकांश अङ्कहरू ।

१) शिव रेग्मी, काठमाडौँ ।

२) श्रीओम श्रेष्ठ ‘रोदन’ (नि. सम्पादक- मधुपर्क)

(२०६७ मङ्सिर १ मा प्रस्तुत गरिएको कार्यपत्र )

Leave a Reply

Your email address will not be published. Required fields are marked *