Skip to content

लण्डन शहर र नेपाली युवती


मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन शहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । मेरो यात्रा थेम्स नदीमाथि बनेको गोल्डेन जुब्ली ब्रिज हुँदै अगाडि बढ्छन्, आहा ! कति निर्मल, सुन्दर, कन्चन थेम्स नदी, ब्रिजबाट नियाल्छु म नदीलाई धित नमरून्जेलसम्म ।

अञ्जुलीमा उठाउन मन लाग्छ थेम्न नदीको हिउँ जस्तो सेतो पानी, लुकामारी खेल्न मन लाग्छ त्यही पानीभित्र । नदीमा डुङ्गा तैरिएको देख्दा यस्तो लाग्छ नदी एक सुन्दरीको मुहार र डुङ्गा उसले लगाएको सिंगारको सामान, चुम्न मन लाग्छ भित्रैबाट नदीलाई उसको सुन्दरताले मोहित बनाएर किन किन ।

गोल्डेन जुब्ली ब्रिज पार गरेर म जुब्ली गार्डेनमा पुग्छु । मात लगाउँछ त्यहाँको मनमोहक दृश्यले उसैउसै । झस्स मलाई काठमाडांै, रत्नपार्कको याद आउँछ तर कहाँको बदाम र सुन्तलाको बोक्राले बिफर आएको मान्छेको गाला जस्तो फोहोरो रत्नपार्क, कहाँ आफ्नै पैतालाको मैलो सर्लाझैँ चम्किलो सफा सुकसुकाउँदो जुब्ली गार्डेन ।

ब्रिटिस एअरवेंज लन्डनआइबाट सिङ्गो लन्डन शहरको दृश्यहरू अवलोकन गर्नु मेरो उदेश्य थियो, म टिकट किन्नलाई लाइनमा बस्छु । ब्रिटिस एअरवेंज लन्डनआई लन्डन शहरकै एक प्रमुख पर्यटकीय स्थल हो भन्दा अतियुक्ति नहुने प्रमाण त्यहाँको भिडभाडले गराउँछ मलाई । आफ्नो इच्छालाई परिपूर्ण पार्नको लागि जति सुकै अप्ठेरो, लामो प्रतीक्षा पनि गर्न सक्छ मान्छे भन्ने कुराको म आफै ज्वलन्त उदाहरण बनेँ ।

टिकट लिएँ, मन उसै चञ्चल भइरह्यो, जुन ठाउँको बारेमा म पत्रपत्रिकामा पढ्दा नै रोमाञ्चित हुन्थेँ भने आज उसैको काखमा बसेर खेलिरहेछु निर्धक्क । सुमसुम्याउँदै छु उसको अङ्गप्रत्यङ्ग, मन फुलेको छ इन्द्रकमल फुलेझैँ ढकमक्क, जब अवलोकन कक्षमा प्रवेश गर्ने पालो आयो म भित्र पसेर सिटमा बस्छु थचक्क । कता कता रोटेपिङ जस्तैजस्तै पनि लाग्यो मलाई ब्रिटिस एअरवेंज लन्डन आई तर मात्र त्यो मेरो एउटा हाँस्यासपद अनुमान हुन्छ किनकि कहाँको मामुली रोटेपिङ् र कहाँको लन्डनआई ।

राम्रो हेर्न, मीठो खान, सफा लगाउँन र आरामदायी ठाउँमा बस्न मनको सधैँ माग हुन्छ फरक यत्ति हो कि चाहेको सबै प्राप्त हुँदैनन् । हुनुपर्छ भन्ने पनि छैन, कारण मन एउटा प्यासी कुवा हो जहाँ परिपूर्तिको जति पानी ओइराए पनि भरिन्न र धीत पनि मर्दैन । यदि यसरी धीत मर्दो हो त संसारमा नयाँ नयाँ आविष्कार हुने नै थिएनन् मान्छे मात्र ढुङ्गेयुगमा अल्झन्थ्यो होला ।

एउटा केवलकारमा आठ जनाको सिट भए जस्तै एउटा अवलोकन कक्षमा पच्चीस जना बस्न मिल्ने रै‘छ । म बसेकै अवलोकन कक्षमा एउटा नेपाली चेहेरा झुल्कियो झल्याक झुलुक, मलाई उनको त्यो सुन्दर चेहेरा कहीँ कतै देखे जस्तो, कतै भेटे जस्तो परिचित लाग्यो । उनलाई पनि त्यस्तै लागेछ क्यारे र त चोरी चोरी नियाल्छन् एकजोडी आँखा ।

थेम्स नदीको किनारैमा निर्माण गरिएको लन्डन आइबाट थेम्स नदी झन सुन्दर देखिन्छ, अत्यन्त मनमोहक । अग्लो ब्रिटिस टेलिकम टावर पनि सुन्दर देखिन्छ लन्डन आइबाट । लन्डन शहरका मुख्य अग्ला भवन सेन्टर प्वाइन्ट, वाटरलु ब्रिज सबै आँखाका नानीमा रोटेपिङ खेल्न आइपुग्छन् ।

मैले काठमाडौंको धरहरा सम्झिएँ त्यो पल तर लन्डन आइबाट लन्डन शहर नियाल्न जति सहज छ धरहराबाट काठमाडौं नियाल्न त्यति सहज छैन । हुन त धुलो धुवाँको राजधानी काठमाडौ शहरलाई लन्डनसँग दाँज्न पटक्कै सुहाउन्न । काठमाडांैको घण्टाघर झैँ लन्डन शहरको बिगबेन नामक घण्टाघर पनि नजिकै हेर्न पाइयो लन्डन आइबाट । लन्डन आइको अवलोकन कक्षबाट फनक्क एक फन्को मार्दा सिङ्गो लन्डनको दृश्य एकैपटक झुम्मिन आयो आँखाभित्र परेलीमा टेकेर, थेम्स उपत्यकालाई नजिकबाट छामेको महसुस भयो मलाई ।

हामी पालैपालो अवलोकन कक्षबाट उत्रियौँ, त्यो अर्ध परिचित एकजोडी आँखाहरू पच्छ्याउँदै छ अझै पनि मलाई, उनी सामु नपुगी छुट्टिन पटक्कै मानेन मन, एक प्रकारको चुम्बकीय शक्तिले तान्यो मलाई उनीतिरै ।

उनी जुब्ली गार्डेनमा गएर बसिन्, मलाई यस्तो लाग्यो उनी मलाई पर्खिदैछिन् । उनका अमूक हेराइले डाकिरहेछ मलाई, ठूला ठूला नजर पर्लक्क मतिर पल्टाउँदै एउटा मीठो आनन्दको अनुभूति तरङ्गगित बन्छ नसा–नसामा । हेराइकै वाण लागेर घाइते म मुसुक्क हाँस्दा जहर पिएझैँ मद्होश नै बन्न पुग्छु ।

मन हो एउटा अमूर्त पंक्षी वशमा राख्न सकिन्छ र ? यदि मनलाई वशमा राख्न सक्ने हो भने संसारमा नराम्रा गतिविधि, गलत काम, कुकर्म एउटा पनि हुँदैन थियो । मनलाई वशमा राख्न नसक्दा पाइलाहरूमा भोटेताल्चा लगाउने अथक प्रयास विफल बनेर मोडियो पाउ उनीतिरै । छेउमा पुगेर न बस्न सकेँ न उनलाई बोलाउन नै, धार्नीको घन्टो झुन्डियो जिब्रोको टुप्पोमा, आवाज किलकिलोसम्म धकेलिए पनि जिब्रोमा झुन्डिएको घन्टोको रालो बज्न सकेन ।

मेरो अप्ठेरोपन, असहज परिवेश मौन नियालिरहेकी उनले छेवैमा बस्न आग्रह गरिन्– “अरे ! बस्नुस् न किन उभिनु भएको ?” म पुन करेन्ट लागेर झस्किएझैँँ भएँ, थर्थराएको शरीरले उनी नजिकै चाह्यो विश्राम लिन ।

एकमन त लाग्यो उनी अन्तरयामी पनि जस्तो, नत्र मेरो मनको कुरा कसरी बुझिन् कि म उनको नजिक बस्न चाहन्थेँ तर सकिरहेको थिइन । जे होस् अनुमति दिएकोमा धन्यवाद दिएँ, भगवानलाई मनमनै ।

अप्ठेरो मलाई मात्र कहाँ लागको हो र ? त्यो पीडाबाट अछुत थिइनन् उनी पनि भन्ने प्रमाण उनको हातमा रहेको नेपाली सन्देश साप्ताहिकलाई ओल्टाई पल्टाई बनाउनुले बताइरहेछ । कहिले सिरानमा त कहिले पुछारमा पत्रिकालाई खूव चलाउँछन् उनका हातहरू भने नजर थेम्स नदीमा, कहिले लन्डन आइ त कहिले हुत्तिन्छ मसम्म ।

वार्तालापको सुरूवात गर्ने विषय बनेको छैन हामीबीच, न उनी कुराको उठान गर्न सक्छिन् न मैले नै बोलाउन सकेको छु, वातावरण शून्य छ हामी छाँै बिनासंवाद, म उनको मुहारमा हेर्छु उनी लाजले शिर निहुँराउँछिन् । उनी हेर्छिन् म अन्यत्र आँखा मोड्छु, केही समय फुत्किन्छ त्यसरी नै हाम्रो हातबाट ।

“तपाईं कमलजी हैन ?”

वाक्य फुट्यो उनकै मुखबाट, म झन झस्किएँ पैतालामा सिस्नुले पोले जस्तो अप्ठेरो पर्दा झन ह्वात्तै खस्यो मतिर, ला कतै म चिनेकै मान्छेको सामुमा बुख्याँचा त बनिरहेको छैन ।

“तपाईंले मलाई चिन्नु भयो तर मैले त चिनिन नि, नेपालको कुन ठाउँमा हो तपाईंको घर ?”

डराई डराई वातावरण सहज बनाउने प्रयासमा प्रश्नको झटारो बजारे उनीतिरै झड्याम्म । तर उनी उल्टै क्वाप्प खाउँलाझैँ गरेर हेर्छिन् । हेराइले डर, त्रास र अप्ठ्यारोले कुम्लो पारेर ल्याउँछ मनमा र गिजोल्छ त्यसैले बेस्सरी । चिटचिट पसिना छुट्यो छातीको खोल्चोमा यस्तो लाग्यो त्यहीँ बगेर मिसिन्छु कि कसो थेम्स नदीमा एकपटक ।

नजरको तीर मुटु नै छेडौंला जस्तो गरी वर्सियो अङ्ग–अङ्गमा, अदृश्य पीडाले कोपरिरह्यो मुटु, उज्यालो मुहार, रातो घुम्रिएको कपाल, थेम्स नदीबाट बहेको हावाले उडाउँथ्यो फुर्र फुर्र उनको निधारमा । हावाको चुम्बन पनि घातक होलाझैँ कोमल छ उनको मुहार ।

पहेँलो कलरको टिसर्ट र ब्राउन पाइन्टमा चन्द्रमा झैँ खुलेको छ सौन्दर्य, सुन्दर बगैंचामा फुलेको मखमली फूल जस्तै सुन्दर अति सुन्दर । म हेरिरहन चाहन्छु त्यो सुन्दरता एकनास आँखा नझिम्काई । हुन त सुन्दरता कसलाई मन नपर्ला र ? पुतली पनि त फूलको सुन्दरतामा लोभिन्छ लठ्ठ परेर भने म उनको सुन्दरतामा त्यसै भावुक बन्छु ।

यौवनको मादकता घुलियो सिङ्गो वातावरणमा, उनी को हुन् ? चाहन्न म अनुमान लगाउन, सामुन्य छिन् नियाल्न पाएकोमा प्रफुल्ल छ मन । मुहार हेर्दा चिनजानको पिपिरो टुसाउन खोज्छ तर झाङ्गिने माहोल बनाउन सक्दिन म ।

ब्यागबाट चुरोटको बट्टा निकालिन् र बढाउँछिन् मतिर ।

“सरि म चुरोट खान्न नि ।”

चम्किलो आँखा झन आगो झैँ चम्किलो बनाउँदै बोल्छिन् उनी । “ओ ! त्यसो पो, अँ साँच्ची कमलजी कहिले आउनु भयो लन्डन कि यतै हुनुहुन्छ ?” चुरोट ओठले च्याप्प च्यापेर लाइटर बाल्छिन् उनी ।

“त्यस्तै एक हप्ता भयो, अफिसियल कामले आएको हुँ एक महिनाको लागि । आएको बेला लन्डन आइ किन नहेराँै भनेर यता पसेको, अनि तपाईंलाई हेर्दा त यतै बस्नु हुन्छ जस्तो छ हैन र ?” डराई डराई प्रश्नको एक झड्का हुत्याएँ मैले पनि उनी छेउ ।

“कमलजी ! तपाईंले मलाई अझै चिन्नु भएन, त्यत्रो दश दश वर्ष कुकुर बिरालो जस्तो झगडा गरेर बिताएको कसरी भुल्नु भो हँ, बिर्सनुभयो एक्ले पीपलमा बाटो छेकेको, कि भुल्नुभयो क्लासमा मलाई सधैँ पछाडि बेन्चमा मात्र खटाएको कुरा, सिन्धुरे खोलामा ब्याग बगाइदिएर सबै किताब भिजाएको झ–झल्को त होला नि हैन ?”

खितिति हाँस्दै चुरोटको धुवाँ बुङ्ग उडाउँछिन् उनी, म एकै पटक सेन्टर प्वाइन्ट नामक अग्लो भवनबाट सडकमा खसे जस्तो भएँ, विगत एकपटक परेड खेल्न आइपुग्छ स्मरणमा ।

“तिमी शिल्पा ! यम आइ राइट ?”

“मूर्ख त्यत्रो क्लिउ बताउनु पर्ने तपाईंलाई त मैले परैबाट चिनेको थिएँ त्यो छुच्चो अनुहार, घमन्डी चेहेरा अनि मलाई सताएको कहाँ भुल्न सक्छु र ?” उनी अलिकति भाबुक बनिन् ।

“सरि ! शिल्पा, तिमी पहिलाकी जस्ती छैनौ, कहाँको त्यो काली, छोटो कपाल बनाएकी रिसाहा, पिलन्धरे शिल्पा । कहाँ चन्द्रमा झैँ धपक्क बलेकी तिमी, आकाश जमिनको फरक छ त्यो शिल्पा र तिमीमा, नारीको जीवनमा त निकै ठूलो उथलपुथल पो आउँदो रै‘छ । त्यो कुरा भनेको मात्र सुनेको थिएँ तर आज तिमीमा आएको परिवर्तन देखेर पत्याउन बाध्य बनाएको छ ।

पहराबाट पानीको मूल फुटेजस्तो हाँसो छुट्दा, उनका चाँदीजस्ता टम्म मिलेका सेता दाँत देखाएर खुव हाँसिन् उनी । “तपाईं त अझै उस्तै हुनुहुँदो रहेछ ख्याउटे, दुब्लो, रोगी, पीपलपाते, खबटे, हुट्ट्यिाउँ, बाँस……………… ।”

सोलीबाट घट्टमा मकैको ओइरो छुटे झैँ छुट्छ गालीको पर्रा उनको मुखबाट । पहिला तिनै शब्द सुन्दा असह्य हुन्थ्यो, कानको जाली फुट्ला झैँ, रीसको ज्वाला पैतालाबाट उम्लिन्थ्यो रसेटोमा खुँदो पाकेसरी तर आज गाली पनि कति मीठो ।

मन परेको मान्छेले गाली गरे पनि ।
प्यारो कति प्यारो आँखा तरे पनि ।

“कमलजी ! कुन संसारमा हराउनु भएको ? कतै अतीतको कुटुरो फुकाउन त थाल्नु भएन, साँच्चै कति रमाइलो थियो त्यो समय, तपाईं खालि मेरो रिस गर्ने, गाली गर्ने मलाई त्यो दिनको विशेष सम्झना आउँछ । भुवन सरले सामाजिक शिक्षाको नम्बर सुनाउनुभयो । मेरो नम्बर तपाईंको भन्दा पाँच नम्बरले बढी आयो । बाफरे त्यो पल हाँडी घोप्टाएको जस्तो अनुहार लगाउँदै भुवन सरलाई मुख छाडेको कहिल्यै बिर्सन्न, बिचरा भुवन सर, कापी नै तपाईंको अगाडि ल्याएर पछार्नुभाथ्यो । यस्ता घटना त कति कति सञ्चय भएर बसेका छन् मेरा मानसपटलमा तपार्ईंंको यादसँग । शारीरिक शिक्षामा खेल खेल्न जाँदा मैले खेले तपाईं खेल्नु हुन्न थियो । यस अर्थमा कुनै पनि खेल नखेली पढेकै आधारमा परीक्षा दिएकी थिएँ मैले । यस्तो लाग्छ तपाईंसँग जोडिएका हरेक घटना र तपाईं जीवनकै एक प्रमुख अङ्ग बन्नु भएको छ मेरो लागि आज ।

“छाड सिल्पा ती बितेका दिनहरू, अतीत त अतीत भैगयो मुठ्ठीबाट फुत्केको, अब यहाँ फर्केर वर्तमानलाई किन धमिलो बनाउनु । म त वर्तमानमा जिउन चाहन्छु बरू भन न तिमी यहाँ के गर्दैछौ, कसरी आयौ लन्डन ?”

“किन र महाशय पछि लाग्न मन लाग्यो कि कसो ?”

मादक हाँसो फैलिन्छ चारैतिर, उनी हाँस्दा यस्तो लाग्छ सुनाखरी फक्रिएको, लन्डन शहरको त्यो सुन्दरता सिल्पाको अगाडि फिक्का छ एकदम फिक्का । हेर्दा हेर्दै उनका लालित्य सुन्दरता पैचो मागौँ कि जस्तो पनि लाग्छ मलाई ।

“कमलजी ! म लन्डन आएको त्यस्तै पाँच वर्षजस्तो भयो, म लन्डनको एक्टन स्थित क्विन्सल्यान्ड कलेजको लाइब्रेरीमा काम गर्छु । तपाईंलाई थाहा छ ?”

आँखा ठूलो बनाउँदै र परेली नचाउँदै आश्चर्य जनक भावमा भन्छिन् उनी– “त्यस कलेजमा नेपाली पन्ध्रजना विद्यार्र्थीहरू छन् । उनीहरूसँग भेट्दा मलाई आफू नेपालमै भएको प्रतीत हुन्छ । के गर्ने कमलजी तपाईंले जस्तो जिल्ला टप एस.एल.सी.मा गर्न सकिएन । अंग्रेजीमा बत्तीस ल्याएर बल्ल बल्ल पास गरेको मार्कसिटले राम्रो विषय लिएर पढन पनि पाइएन । पद्म कन्यामा पढदै गर्दा, बाइचान्स लन्डन आउन पाइयो, अनि बताउनुस् तपाईंको घर परिवार, पढाइ कहाँ पुग्यो ?”

लामो चुरोटको सर्कोसँग आफ्नो विगत अलिकति खोतलिन् उनले, कतै मलाई खोतलखातल पार्दै त कतै आफैंलाई चिरफार गरेर, उनको भनाइसँग लडिबुडी गर्दै विगतमा पुग्छु म पनि एकपल्ट । धमिलो छायाँ कुहिरो मडारिएझैँ मडारिएर आउँछ मानसपटलमा । सोचाइ त त्यसैमा डुबुल्की मार्न खोज्दै थियो तर त्यति रमणीय पल तीतो विगत केलाएर खेर पाल्न चाहिन मैले ।

“त्यही त शिल्पा ! एस.एल.सी.मा जिल्ला टप हुनु नै त दुर्भाग्य हो मेरो लागि, स्तरीय पढाइ, लक्का जवान, खानदानी घर परिवार हुनुको पीडा छुट्टै छ म भित्र, तिमीले जस्तो गोल्डेन चान्स भाग्यले कहिल्यै जुराइदिएन मेरो लागि । एउटा सरकारी बैंकमा जागिर, पारिवारिक रणभूमि, दिक्क लाग्यो जीवन । तिमीलाई यो शहरमा खुल्ला जीवन बिताएको देख्दा ईष्र्या पो लाग्यो गाँठे मलाई ।

लोठ लेप्राउँदै हाँसिन् मुख छोपेर उनी “हेर न शारीरिक बनावटमा परिवर्तन आएपनि बानी ब्यहोरामा र बोलीचालीमा भने लन्डनको हावाले छोएको रैनछ नानीलाई ।” यति मात्र के बोल्न भ्याएको थिएँ सिङ्गै निलौलाझैँ गरेर हेरिन् मतिर ।

“अँ साच्ची तपाईंले विवाह गर्नुभयो ?”

अप्रत्याशित सोधाइको झड्का लगाइन् दिमागमा, उनको यो सोधाइले म पुनः फेरि विगतमा गएर पछारिएँ नराम्रोसँग । बेजोडले पछारिदा पूरै शरीर थिलथिलो भएर दुखेको अनुभव भयो मलाई ।

कसरी भनौँ विवाह त भयो तर श्रीमतीसँगको सहबास कस्तो हुन्छ अनुभव छैन भनेर, जुन कुरा विवाह गरेको तीन वर्ष बिति सक्यो जन्म दिने बाबु आमालाईसम्म खोल्न सकिन । अझैं सम्झना छ विवाहको तेस्रो दिन नयाँ दुलहीसँग सुहागरात मनाउने क्रममा थाहा पाएँ कि उनी नपुंसक हुन् भनेर । यो कुरा उनले र उनको बाबु आमाले सोच्नुपर्ने कुरा हो कि विवाह केटाकेटीको खेल हैन जुन पटक पटक गर्न सम्भव होस् । तर सोच्नेले सोचेनन् र धोका दिए यसो भनौँ फसाए । हेर्दा उनी शत प्रतिशत नारी हुन् । मात्र एकचिज बाहेक सब भरिपूर्ण छ । अब म कसरी ओकल्न सक्छु वास्तविकता, के श्रीमान् र श्रीमतीको सम्बन्ध शारीरिक सम्बन्धमा मात्र गएर टुङ्गिन्छ र आत्मीय प्रेम पनि त सम्बन्धको अर्को रूप हो ।

तिमीलाई के थाहा सिल्पा कुन जिन्दगी गुजार्दै छु म । विवाहित भनाँै भने कुमार नै छु अविवाहित भनौँ त अग्निको सात फेरो लिएर नारी आकृतिलाई सिन्दुरलाइ सकेँ सबैको सामुन्ने । मलाई भोगाइले चिमोट्छ असैहे हुने गरी । म उनीसँग सहकार्यमा जिउँदै आएको छु मात्र मनको । मन अति नाजुक हुँदो रहेछ, नेपालमा छँदा आफ्नो मनलाई बशमा राखेको थिएँ तर जब लन्डनमा सिल्पालाई भेटे तब नाजुक मनले बनायो एउटा कल्पनाको धरोहर । त्यसैमा रम्न खोज्दा थाहै नपाई धकेलिएँ पुन यथार्थको गहिरो धरातलमा । वर्सन लागेको मेघले ढाकेको आकाश जस्तो हुन्छ मुहार, म आफैलाई थाहा छ कपडामा दल्न ठीक्क पारेको आइरनझैँ तातो भएको छ गाला । आफ्नो मुहार र शरीरको तापक्रमलाई सामान्य अवस्थामा ल्याउने जमर्को असफल हुन्छ मेरो ।

“किन र कमलजी ! विवाहको प्रसङ्ग उठाउने बित्तीकै कालो निलो बन्नु भो, सरि तपाईंमा चोट पुर्याउने उदेश्य थिएन मेरो, अनि तपाईंलाई कस्तो लाग्यो लन्डन ?”

कृत्रिम चमक ल्याउन प्रयास गर्दै बोलेँ म, “ब्युटिफुल, लन्डन शहर अति सुन्दर तर तिमी जति चै हैन है ।”

मेरो जवाफमा उनी गुलाव फक्रिएसरी हाँसिन् । उनको हाँसोमा जवरजस्ति हेलिएँ म । किन आज शिल्पाप्रति बढी आकर्षित छु म उनलाई देखेदेखि एक प्रकारका रौनक छाइरहेछ ममा । जब शिल्पा त्यही क्लासमेट हुन् भन्ने थाहा पाएँ उनीसँग बिताएका हरेक क्षण प्रिय छन्, मनभरी उमालिरहुँजस्तो, ती क्षण तेल र घ्यू बनेर दलियोस् स्मृति पटलमा जुन कहिल्यै नसुक्ने र नओभाउने ।

“कमलजी ! मेरो रूममा गएर एककप कफीसम्म पिएर त जानुस्, फेरि नेपाल फर्के पछि पनि सम्झना हुन्छ ।”

कहाँ सक्थेँ र नाइ भ्याउँदिन भन्न, यति बेला मन यति बेग्र भएको छ कि हाँसी हाँसी दिए कफी मात्र हैन विष पिउँछु उनको हातले दिएको, मन यसरी नै एकोहोरिएको छ उनीप्रति ।

“शिल्पा तिमी भन्छौ भने म नकार्न कहाँ सक्छु र ?” बसेको सिटबाट उठ्छु जुरूक्क ।

“ल यो मान्छेले जीवनमा पहिलोपल्ट मेरो प्रस्ताव स्विकार्यो थ्याङ्स् गड ।” उनी आकाश तर्फ फर्केर ढोग्छिन् आफ्नै आत्मालाई साथमा ब्यङ्ग्यको हाँसो हाँस्छिन् जुब्ली गार्डेन थर्कने गरी म पनि लोलि मिलाउँछु उनीसँगै ।

हामी त्यहाँबाट एउटा ट्याक्सी पक्रेर लाग्यौँ उनको रूमतर्फ, हाम्रो यात्रा एक्टनतिर हुत्तिन्छ । क्विन्सल्याण्ड कलेजकै क्वाटरमा शिल्पा बस्दी रहिछन् कति भाग्यमानी, त्यसो त उनलाई पाउने केटो पनि कम भाग्यमानी चै हुँदैन लौ ।

आरामदायी यर कन्डिसन ट्याक्सी, चिल्लो अति राम्रो बाटो, बाटोको दायाँबायाँ किनारको सुन्दर हरियाली चिटिक्क हिस्सी परेको चौर, प्रवेशद्वारदेखि नै दायाँबायाँ आकर्षण गमलाको ताँती, त्यसो त लन्डन शहरका प्रत्येक गल्ली निकै राम्रा, सुन्दर छन् नेपालको तुलनामा, त्यत्रो जनसंख्या, त्यति बाक्लो बस्ती तै पनि फोहोरको क्लेस भेटिन्न, साँच्चै मान्नुपर्छ बा लन्डनबासीलाई ।

अघिअघि लागेर एउटा भब्यमहलको सुन्दर कोठामा पुर्याउँछिन् उनले मलाई । कोठा यति आर्कषण छ कि म एकएक गरेर नजरले सुमसुम्याउनै ब्यस्त हुन्छु ।

“ल कमलजी ! तपाईं बस्दै गर्नुस् म कफी बनाएर ल्याउँछु ।”

यति भनेर शिल्पा सानो पर्दा पछाडि हराउँछिन् । निकै नै मेहनत गरेर सजाएको त्यो कोठामा म सर्लक्क भिज्न, एकडेढ घण्टा नै लाग्ला जस्तो लाग्छ सबै सामग्री एकसे एक चमकवाला, नयाँ प्रकारका अति नै लोभ्याउँछ तिनीहरूले मलाई ।

सजावटको सामग्री कम्ती राम्रा देखिन्नन्, गमलामा जुनार फलिरहेछ ढकमक्क, कृत्रिम हो कि भनेर नजिकबाट छोइ हेर्छु तर त्यो प्राकृतिक नै रहेछ । काठबाट निर्मित पानी घट्ट, जसको बारेमा म पहाडमा जन्मी हुर्केको भएपनि मात्र कथा सुनेको छु ।

देखेको छैन त्यसको बारेमा । तर आज लन्डनमा आएर उही पानी घट्टको नमुना देख्दा असाध्यै खुसी लागेको छ । कुलोबाट पानी बगिरहेको, त्यही पानीले मदानी जस्तो पाङ्ग्रो रिगेँको र त्यही पाङ्ग्रोले घट्ट घुमाएको, सोली ठीक ठाउँमा जस्ताको तस्तै, कति मेहनत लगाएर बनायो होला यो बनाउनेले पनि । त्यही पानी घट्टमा अल्मलिन्छु केही समय ।

“निकै मन छोयो कि कसो तपाईंको ?”

उनको आवाजले झसङ्ग हुन्छ मन, आत्तिएको भाव छताछुल्ल पोखिएछ क्यारे मुहारभरि, टेवलमा कफीको कप राखेर मरीमरी हाँस्छिन् शिल्पा । केही सर्तक हुन्छु म, लाजले अलिकति खुम्चदै ओठमा मुस्कानको पिपिरो रोपेर ।

“ल ! लिनुस् कमलजी कफी ।”

उनको हातबाट कफीको कप समाउँछु नजरले मुहारमा चुमिरहन्छ धितमरून्जेल, लाजले राती बन्छिन् उनी । मौनतामा हराउँदै कफी पिउँछौ हामी, मात्र चार आँखा खेल्छन् लुकामारी, कहिले चुच्चो नाक, कहिले बाटुलो आँखा त कहिले गुलाबी ओठमा गएर मच्चिन्छ मेरो नजर ।

“कुन कुन ठाउँ घुम्नुभयो त लन्डन शहरको ?”

“भनिहालेँ अफिसियल कामले आएको, हिजोसम्म त त्यसैमा अल्झिएँ । अब घुम्नुपर्ला, त्यहाँ माथि तिमीसँग भेट भयो घुमाइदिन्छौ होला नि कि कसो ?”

मेरो सवालमा उनी हाँसिन् मात्र केही बोलिनन् मलाई अलिक नरमाइलो लाग्यो ।

त्यसै बीच मेरो आँखा भित्तामा रहेको तस्बिरमा गएर ठोक्किन्छ, नियालेर हेर्छु, एउटा युवकको दाहिने अँगालोमा तीन चार वर्षको बच्चा बोकेर शिल्पा मुस्कुराएकी छिन् । को हो त्यो युवक ? मलाई थाहा छ सिल्पाको आफन्ती भने पक्कै हैन फेरि त्यो बच्चा, बरफझैँ चीसो बन्छ मुटु तापक्रम शुन्य डिग्रीमा झरेर ।

“खुव नियाल्नुभयो नि तस्बिर ? के छ त्यसमा त्यस्तो ?” उनको सोधाइले फेरि झस्कन्छु म ।

“तिमीसँगैको को को हुन् भनेर नियाल्दैछु ?”

“ए त्यो सोचाइमा पो अल्झनुभयो तपाईं, त्यो युवक मेरो श्रीमान् हुन् र बच्चा हाम्रो प्यारो छोरा सौरव ।”

उनको भनाइले थचक्क हुन्छु म, बाण लागेको हरिण झैँ असाध्यै पीडा हुन्छ कताकता ।

एकछिन अगाडि सम्म रमाइलो लागेको कोठा छिनभरमै निसासिदो लाग्यो एउटा अनकन्टारको गुफाझैँ, ती सजावटका सामानहरू सबै बुख्याँचा जुन मलाई तर्साउन बनाइएको, किनकिन एकाएक छटपटी बढ्यो मभित्र, कहिले चिसिने र कहिले तातिने होडमा मुटु उछिट्टिए जस्तो लाग्छ कफीकै प्लेटमा ।

उनी एकोहोरो हेरिरहन्छिन् मलाई । उनको हेराइमा देख्छु मेरो मुटु स्वाद मानी चपाएझैँ । म अतालिन्छु, लन्डन शहर मैमाथि कोल्टे परेर पल्टिए जस्तो कसो कसो भाग्न मन लाग्छ त्यहाँबाट । कफी पिलाएको धन्यवादसम्म नभनी बाहिरिन्छु म ।

ममा किन यति बेचैनी छायो आखिर शिल्पा मेरो गलफ्रेन्ड पनि त हैन नकि श्रीमती, जति बेला सँगै थियौँ त्यो पल पनि राम्रो मुखले बोलिचाली कहिल्यै भएन आज उनलाई एक्कासी भेट्दा उनीप्रति पलाएको एकहोरो चाह, फेरि श्रीमान्सँगको फोटो देख्दा लागेको चोट, म आफँै पहिल्याउन सक्दिन मनमा किन उथल पुथल भै भुइचालो गइरहेछ ।

सूर्यको उज्यालोले गति छाडेर बत्तीहरू राज गर्नमा मैमत्ते छन् लन्डन शहरमा ।

उज्यालोको विम्बहरूमा म अँध्यारो फ्याँक्दै छु, सिल्पासँगको अप्रत्याशित भेटले निकै चिमोट्यो मलाई साह्रै नराम्रसँग दुख्नेगरी । विद्यार्थी जीवनमा नबढेको चाह, रहर अनि उमङ्ग एकाएक भलबाढी भएर हेलियो मनको फाँटमा । भलबाढी आउनु के थियो र ? मनमा घाउ लाग्नु पो रै‘छ । कति नाजुक छ मन सानै कुरामा पनि चुक्किने, टुक्रिने र झर्याम् झुरूम फुट्ने ।

लन्डन शहरको आकर्षण बिषझैँ तीतो लाग्छ मलाई, दायाँबायाँ नजर डुलाउन पटक्कै इच्छा छैन मन नलाई नलाई एउटा ट्याक्सी समातेर लाग्छु एनिवर्गको सिटी सेन्टर स्थित आफू बसेको होटलमा ।

2 thoughts on “लण्डन शहर र नेपाली युवती”

  1. namaste!!!
    साच्चई मर्म स्पर्ष रहेछ यो घटना.. अतीतले मानिसलाइ सधै पिरोली रहन्छ.. भुल्न पनि कहा सकिन्छ र ?? तर अतीतलाई एउटा सामान्य घटना सम्झेर बिर्सने कोसिस गर्नुनै बेस होला ….

  2. मर्मस्पर्षी
    माथि अतिथिज्य़ूले भन्नुभा’ झैं मर्मस्पर्षी कथा प्रस्तुत गर्नुभो सुबिसुधाजीले । सामाजिक कथा लेखनमा वहाँको कलमको सशक्तताको अर्को प्रमाणको रुपमा लिन सकिन्छ यो कथालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *