Skip to content


बिन्दु शर्मा (२०३३) सीमित नेपाली नारी समालोचकहरूका बीच देखापरेकी उदीयमान समालोचक हुन् । कविता, गीत र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएकी बिन्दुको प्रस्तुत आधारभूत नेपाली समालोचना दोस्रो समालोचनात्मक कृति हो । यसअघि उनको गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे (२०६२) प्रकाशित भइसकेको छ र यसले विश्वविद्यालयका पाठ्यक्रममा समेत सन्दर्भ सामग्रीका रूपमास्थान पाएको छ । स्नातकोत्तर तह पार गर्दा नगर्दै एउटा सम्भावित समालोचकका रूपमा उदाएकी र हाल प्राध्यापन पेसामा संलग्न बिन्दुले पाश्चात्य सिद्धान्तका उपकरणलाई प्रयोग गरेर जुन किसिमले कृतिभित्रका गुणदोषलाई पारख गर्दै मूल्य पहिचान गर्ने पद्धतिलाई अंगालेकी छन् यसबाट उनका समालोचना आधिकारिक बन्न गएका छन् ।

प्रस्तुत आधारभूत नेपाली समालोचना योजनाबद्ध लेखन नभएर विभिन्न विधा र विषयमा केन्द्रित विभिन्न समयमा लेखिएका फुटकर समालोचनाहरूको सङ्कलन हो । यसमा उपन्यासमा केन्द्रित चार, कथा, कविता र नाटक केन्द्रित दुईदुई र निबन्धसँग सम्बन्धित एउटा गरी एघारवटा समालोचना समेटिएका छन् । यीमध्ये उपन्यास केन्द्रित समालोचनामा कृष्ण धराबासीको ‘राधा’ को नारीवादी दृष्टिले अध्ययन गर्दै त्यसमा रहेका कमी, कमजोरीलाई आंँल्याइएको छ भने नयनराज पाण्डेको ‘उलार’ कोे समाजपरक अध्ययन गरिएको छ । त्यस्तै नारायण वाग्लेको ‘पल्पसा क्याफे’ को भाषाशैलीगत र बी.पी. कोइरालाको ‘नरेन्द्रदाइ’ को नारीपात्रगत अध्ययन रहेको छ । कथा केन्द्रित समालोचनामा जलेश्वरी श्रेष्ठको ‘लाभाका बाफहरू’ कथासङ्ग्रहको वैचारिक अध्ययन गरिएको छ भने बी.पी. कोइरालाको ‘कथा’ कथाका विशिष्ट पक्षहरू केके हुन् भन्ने कुराको उद्घाटन गरिएको छ । कवितासँग सम्बन्धित समालोचनामा ‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहेको राष्ट्रवादी चिन्तनको विश्लेषण गर्नुका साथै आधुनिक नेपाली कविताका धारागत प्रवृत्तिहरूको निरूपण गरिएको छ । यसक्रममा बिन्दुले प्रगतिवादी धारालाई छुट्टै धाराका रूपमा राखेर जुन किसिमको अध्ययन प्रस्तुत गरेकी छन्, त्योस्वागतयोग्य छ । नाटकमा गोठालेको ‘च्यातिएको पर्दा’ को चारित्रिक विशिष्टतालाई उद्घाटन गरिएको छ भने समको ‘भक्तभानुभक्त’ को कृतिगत अध्ययन गरिएको छ । निबन्धमा भने शारदा शर्माको ‘अग्निस्पर्श’ मा रहेको पुस्तान्तर चेतनालाई केलाइएको छ ।

बिन्दुका उपर्युक्त समालोचनाहरूको अध्ययन गर्दा यिनमा विधागत एवं विषयगत विविधता रहनुका साथै पर्याप्त समीक्षण क्षमता र अनुसन्धानात्मक चेतना पनि प्रकट भएको पाइन्छ । यसमा सङ्कलित सबै समालोचनाहरू अनुसन्धान पद्धतिमा आधारित मूलतः पाश्चात्य सिद्धान्तका आलोकमा नयाँपनको खोजी गरिएका व्यावहारिक समालोचना हुन् । तर्कपूर्ण विश्लेषण र सत्यापन क्षमताका दृष्टिले यी समालोचना उल्लेख्य रहेका छन् । यसभित्रका हरेक समालोचनाका शीर्षक समस्यामूलक छन् र तिनको समाधान पनि समस्यामै केन्द्रित भएर तर्कपूर्ण ढङ्गले नै गरिएको छ । कहीँ विचार, प्रवृत्ति र सामाजिक पक्षको उद्घाटन गरिएको छ भने कहीँ कृतिभित्रका विशिष्टतालाई पहिल्याउले कोसिस भएको छ । यसबाट अध्ययनका क्रममा अन्तर अनुशासनात्मक पद्धतिको पनि प्रयोग हुनपुगेको छ ।

बिन्दुका अधिकांश समालोचना प्राध्यापकीय ढाँचामा आएका छन् । प्राध्यापकीय समालोचना बढी अनुसन्धानमूलक एवम् वस्तुपरक र आधिकारिक पनि हुन्छन् । यद्यपि स्वतन्त्र समालोचनातर्फ र नारीवादी चिन्तनतर्फ पनि उनको रुचि देखिन्छ । यसरी उनका समालोचनाले वरण गरेको क्षेत्र एउटै छैन, विविधतायुक्त छ । त्यसैले उनी यस क्षेत्रकी आशा लाग्दी किरण बनेकी छन् ।स्वतन्त्र अध्ययनका दृष्टिले होस् वा पठनपाठनका दृष्टिले प्रस्तुत आधारभूत नेपाली समालोचना सङ्ग्रहणीय र पठनीय कृति बनेको छ ।
कृति ः आधारभूत नेपाली समालोचना
समालोचक ः बिन्दु शर्मा
प्रकाशक ः तन्नेरी प्रकाशन, काठमाडौँ
प्रकाशन ः २०६६
पृष्ठ ः १४२
मूल्य ः उल्लेख छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *