Skip to content


गीत पढ्नेभन्दा सुन्ने सिर्जना भए पनि अहिले दृश्य माध्यमहरूका कारण गीत सुन्नेभन्दा हेर्ने सिर्जनाझैँ बन्न थालेको छ । जे भए पनि गीत आफैँमा पूर्ण विधाभने होइन । गीतमा सङ्गीत र स्वरको सङ्गम भएपछि मात्रै गीतले जीवन्तता र पूर्णता प्राप्त गर्न सक्दछ । यद्यपि गीतहरूको सङ्ग्रह प्रकाशन गर्ने होड भने बढ्दो छ । यही क्रममा चूडामणि देवकोटाको गीतसङ्ग्रह ‘मनका हरफ’ प्रकाशित भएको छ ।

चूडामणि देवकोटाका वि.सं. २०२७ मा नै कविता प्रकशित भइसकेका स्रष्टा हुन् तर निरन्तरताको अभावले उनको कवि व्यक्तित्व त्यति प्रकाशमा आएको पाइँदैन तर गीतसङ्गीतको क्षेत्रमा भने उनले आफूलाई गीतकारको रूपमा स्थापित गर्न सफल भएका छन् । वि.सं. २०५५ देखि गीतिलेखनमा आवद्ध देवकोटाका प्रस्तुत सङ्ग्रहमा ९७ वटा गीत सङ्गृहीत छन् जसमध्ये ५२ वटा गीतहरूले स्वरबद्ध भएर पूर्णता पाइसकेका छन् । तीनवटा गीति एल्बमसमेत प्रकाशित देवकोटा मूलतः माया, प्रेम र राष्ट्रिय भावनाका गीतकार हुन् ।

आँधीबेरी चल्न लाग्यो, मेरो डुङ्गा नछाडी देउ
भाग्य मेरो थाहा छैन, किनारासम्म तारीदेउ ।

प्रस्तुत गीति हरफ सरल र सम्प्रेषणीय भएर पनि अभिव्यक्त विम्ब बलियो देखिन्छ । मायाप्रीतिका गीतहरूमा मिलन, बिछोड, वाचा, प्रतीक्षा, कल्पना, खुसी र पीडाका स्वरहरू रहेका छन् । गीतसङ्गीतमा मायाप्रेमको अधिकता हुने भए पनि चूडामणिका गीतसङ्ग्रहमा राष्ट्रिय भावनाका गीतहरूले पनि त्यतिकै स्थान पाएका छन् ।

हिमाल पनि हाम्रो, तराई पनि हाम्रो
संसारमा कहीँ छैन, नेपालजस्तो राम्रो ।

हिमाल, पहाड, तराई जहाँ बसे पनि भौगोलिक र जातिगत भेद हटाएर एकता र सद्भाव कायम हुनुपर्ने गीतहरू सङ्ग्रहमा छन् । समानता, एकता र समर्पणको ढुकढुकी हृदयमा गुञ्जिनसक्यो भने देश सोचेजस्तै सुन्दर बन्ने विश्वास गीतकारले गीतहरूमार्फत् गरेका छन् ।

यसैगरी सङ्ग्रहमा गरिबी र बेरोजगारीले बाध्यतापूर्वक वैदेशिक रोजगारीमा जाने नेपालीले भोग्नुपरेका दुःख पीडालाई पनि समेटेका छन् । उनका गीतमा श्रमजीवीहरूको पसिनाको मूल्य र साहूहरूले गर्ने शोषणलाई स्थान दिइएको छ । समग्रमा गीतकार चूडामणि देवकोटाको ‘मनका हरफ’ गीतसङ्ग्रहका गीतहरू जति पठनीय छन्, त्यति नै लयात्मकताको आभास दिलाउने खालका छन् ।

पुस्तक ः मनका हरफ (गीतसङ्ग्रह)
गीतकार ः चूडामणि देवकोटा
प्रकाशक ः रवि के.सी.
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः १४+९८
मूल्य ः रु. २००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *