Skip to content


पञ्चायतको उत्सर्गकालमा नेपाली पत्रकारितामा सबैभन्दा बढी पढिने तीन स्तम्भहरू थिए। साप्ताहिक मञ्च र पछि साप्ताहिक विमर्शमा जनार्दन आचार्यको ‘समय-समय’, जुन अहिले पनि नेपाल साप्ताहिकमा निरन्तर छ। त्यसपछि पढिने स्तम्भ थियो, यिनै पत्रिकामा विजयकुमार पाण्डेको ‘आदि-इत्यादि’। त्यसबेला निर्दलीय पञ्चायतलाई नै पक्षपोषण गर्ने तर मरीचमान, शरच्चन्द्र शाह प्रवृत्तिका अन्धसमर्थकहरूविरुद्ध सूर्यबहादुर थापा समूहमा रहेका अलिक ‘लिवरल’ भनिनेको समर्थनमा प्रकाशित थियो, साप्ताहिक मञ्च या साप्ताहिक विमर्श। अनि, बहुदलीय प्रजातन्त्रको स्थापनार्थ ठाडै पञ्चायतको उछित्तो काड्ने देशान्तर साप्ताहिक त्यस समयको अर्को चर्चित पत्रिका थियो। यसको उल्लेख तत्कालीन देशान्तरका सम्पादक किशोर नेपालको यसै पुस्तक अर्थात्मा प्रकाशित ‘अर्थात् जीवनका बारेमा’ले पनि प्रस्ट पार्छ। नेपाल लेख्छन्, “कांग्रेसको आह्वानमा भएको २०४२ सालको सत्याग्रहपछि ‘मिसन’ भनिने पत्रकारिताको दुनियाँबाट व्यावसायिक पत्रकारितामा प्रवेश गरेको देशान्तर साप्ताहिकलाई हामीले निर्दलीय व्यवस्थाविरोधी धारमा उभ्याएका थियौँ।” र, त्यस साप्ताहिकमा छापिने जीवन आचार्यको स्तम्भ ‘अर्थात्…’ यी माथिका स्तम्भहरूजस्तै पाठकको प्रिय स्तम्भ थियो। हुन त राष्ट्रपुकारमा सीके प्रसाईंको पनि लोकप्रिय स्तम्भ नै थियो तर त्यो आमपाठकहरूमा भन्दा बौद्धिक जमातमा बढी पढिन्थ्यो।

‘समय-समय’ या ‘आदि-इत्यादि’ पनि बढी राजनीतिक वृत्तमा मात्र लोकप्रिय थियो तर जीवनको ‘अर्थात्…’ आमपाठकको रुचिको खुराक थियो, त्यसबेला। जीवनका यही स्तम्भ अन्तर्गत छापिएका लेखहरूको संग्रह हालै प्रकाशित भएको छ, अर्थात्…कै नाममा ।

यो पुस्तक पढ्दा यस्तो अनुभूति हुन्छ, उनले आफ्नो व्यंग्य लेखनमा राजनीतिसँगै समसामयिक रूपमा कुख्यात व्यक्ति र तिनको कुप्रवृत्तिविरुद्धमा निर्भीक कलम चलाएका थिए। यसमा उनका ५५ वटा लेखले त्यस पञ्चायती निरंकुश कालमा हुने प्रधानमन्धी, मन्त्री र अन्य ओहदावालाहरूको अन्धा कानुनलाई राम्रोसँग अर्थ्याएका छन्।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकमा भूपी शेरचनले लेखेको कविताले नेपाली साहित्यमै तीक्ष्ण व्यंग्यात्मक कविताको एउटा परम्परा सुरु भयो। कुनै समय कट्टर कम्युनिस्ट मानिने भूपी पञ्चायतकै संरक्षण प्राप्त तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ हुन पुगे। जीवनले भूपीको यही कविता शीर्षकमा उनको ‘अर्थात्’मा लेखेका छन्, “एउटा कवि जो घुम्ने मेचमाथि बस्नेहरूविरुद्ध व्यंग्य कसेर लेख्छ, अत्यन्तै लोकप्रिय हुन्छ र एकदिन आफैँ त्यही मेचमा बस्छ र लेख्न छाड्छ भने त्यो रमाइलो विषय हो- भूपी शेरचन।” यस पुस्तकमा ‘अर्थात्…’ कति लोकप्रिय थियो भन्ने कुराको उदाहरण ‘देसेमरु झ्या’ले पनि दिएको छ। अर्थात्मा जीवनले नेवार समुदायमाथि हल्का व्यंग्य गरेका थिए र यसका विरुद्धमा दिनेश श्रेष्ठ, सविन तुलाधर र राजेश शाक्यले खुलेर विरोध गरे र लेखे, “यस लेखले साम्प्रदायिक भावना फैलाउने कोसिस गरेको छ।” फेर िदेशान्तर साप्ताहिकको अर्को अंकमा मनु ब्राजाकीले प्रतिविरोध छापे, “राष्ट्रको उत्थान र हितका लागि पेसागत चेतना र संगठनले प्रश्रय र प्रोत्साहन पाउनुपर्छ भने जातीय चेतना र संगठनले उपेक्षित, आलोचित र अवहेलित हुनैपर्छ।” जीवन आचार्यको कलमशक्तिको यो सानो उदाहरण मात्र हो। उनका हरेक लेखले त्यस समयखण्डलाई अभिव्यक्त गरेको छ र जुनसुकै निरंकुश प्रवृत्तिको विरोधमा उनका अक्षरहरू जुर्मराएका छन्।

पञ्चायतले सन् २००० मा नेपाललाई आर्थिक रूपमा एसियाली मापदण्डमा पुर्‍याउने हुँइया जारी गरेको थियो। राजनीतिक जमातमा यसलाई कमिलाको प्वाँख पलाएको अर्थमा लिइन्थ्यो। ०४५ सालको कुरा हो, यो समय आउन १३ वर्ष बाँकी थियो। ‘१३ वर्ष बाँकी’मा जीवनले यस्तो हुँइयाविरुद्ध लेखे, “देश छ। देश भएपछि व्यवस्था पनि छ। संसारमा कहीँ पनि नभएको तर आठौँ आश्चर्यमा पनि दर्ता हुन नसकेको सबै पार्टी अटाउने निर्दलीय छ। गधे पच्चीसी पार गरेको छ, त्यसैले यसका सबै निकाय मन्त्रालय, विभाग, अड्डा, कार्यालय, शाखा र केन्द्रहरूमा गधालाई नुहाउने प्रतिस्पर्धामा धोबीहरू लागेका छन्, जसको तस्िबर टेलिभिजनले खिच्छ, गोरखापत्र छाप्छ, रेडियो नेपाल बखान्छ। चन्द्रशमशेरले तीन सय तरुनी राख्ने सिंहदरबारका प्रत्येक कोठाहरूमा यी धोबीहरू छ्यापछाप्ती भेटिन्छन् र गधाहरूको प्रत्येक एक ढिचूँ बराबर दस दर्ता-चलानी र एक सय टिप्पणीका फाइल तयार पार्छन्। के १३ वर्षमा यी गधाहरूलाई गाई बनाउन सकिन्छ?”

जीवन समकालीन कविता र चित्रकलाका पनि प्रतिनिधि स्रष्टा थिए। अर्थात्…भित्रै समाहित ‘सिद्धिचरण’ कविता यसको उदारहण हुनसक्छ। अझ उनको लेखनप्रतिको प्रतिबद्ध निडरता र निर्भीकताको सानो उदाहरण हुनसक्छ, ‘तपाईं पनि गाउँ जाने?’ जीवन लेख्छन्, “सबै मण्डले बिग्रेर खेलाडी भएका रहेछन्, जिल्लामा र खेलाडी हुन नसकेकाहरू सुलसुले अर्थात् सीडीओका प्यादाहरू।” तत्कालीन पञ्चायतको उग्र शासनकालमा खेलकुदका सदस्य-सचिव शरच्चन्द्र शाहले वैकल्पिक सरकार चलाएको कुरालाई जीवनले यी पंक्तिहरूमा स्पष्टसँग उठाएका छन्।

लेखहरू सारै छोटा छन्। किनभने, त्यसबेलाको ‘कम्पोज’ प्रविधिमा दुई कोलममा अंकित ‘अर्थात्…’ले आजको कम्युटर प्रविधिमा जस्तो थोरै ठाउँमा धेरै शब्दहरू समेट्न सक्तैनथ्यो। तर, जीवनले छोटा लेखमै पनि त्यसबेलाको समय र परििस्थतिलाई व्यंग्यात्मक शैलीमा उल्लेख गरेका छन्, जीवन्त रूपमा।

अर्थात्मा जीवनका यी समग्र लेखहरूका अतिरिक्त जीवनको निधनपछि देशान्तरमा किशोर नेपालले लेखेको आलेख पनि त्यत्तिकै समयचेतनायुक्त र समवेदनापूर्ण छ। जीवनको हृदयाघात भई अस्पताल लैजाँदालैजाँदै बाटैमा मृत्यु भएको थियो। र, त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले पोस्टमार्टम नगरी शव नदिने भनेर २४ घन्टाभन्दा लामो समयसम्म उनका आफन्त र मित्रजनलाई रुवाएर त्यहीँ रातभर िकुर्न बाध्य पारेको थियो। यसैमाथि किशोर नेपालले देशान्तरमा लेखेका हुन्, “यो देशमा बाँच्नका लागि जति पीडा र कष्ट उठाउनुपर्छ, त्यति नै अर्थात् त्यसभन्दा बढी पीडा, कष्ट मरेपछि उठाउनुपर्छ। यो थाहा पाउँदा पाउँदै पनि कि, जीवन अब जीवन नभएर एउटा अजीवन हो, लास हो। तर, त्यसले के भयो र? उसले अर्थात्- अर्थात्, अर्थात् त्यो लासले यो देशको नियम कानुन अनुसार चिरिनुपर्छ। …अर्थात् मर्‍यो। जीवन मर्‍यो। अर्थात् मर्‍यो। … यो मुलुक जीवनहरूका लागि र जीवनका लागि होइन।”

यो कुरा जीवनका अनन्य मित्रद्वय विधान आचार्य र राजेन्द्र शलभले यसै पुस्तकमा लेखेका यी हरफहरूले पनि पुष्टि गर्छन् । आचार्य र शलभ लेख्छन्, “जीवन आचार्यको तीखो कलमका आँखा धेरैलाई बिझाउँथे ।”

अन्त्यमा, जीवनको यस अर्थात्मा प्रकाशित कतिपय लेखहरू अमूर्त पनि छन्, जसलाई कवितात्मक शैलीका भने हुन्छ। यसले गर्दा त्यो काल र पात्रहरूलाई नजिकबाट नबुझेका आजका पुस्ताका लागि अर्थ कोट्याउन या उनको आशयमा त्यस अवस्थालाई पछ्याएर परिभाषित गर्न अलि कठिनै पर्छ ।

नेपाल साप्ताहिक ४३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *