Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, फेब्रुअरी) तथा सरस्वती पूजा

  • by


प्रभा, डेन्भर कोलोराडो ।
फेब्रुवरी १२, २०११

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा फेब्रुवरी १२ तारिख शनिबारको दिन सरस्वती पूजा सम्पन्न भयो । कोलोराडोको ब्राइटन स्थित सनातन मन्दिरमा कोलोराडोबासीहरूले बडो श्रद्धा भक्तिका साथ सरस्वती माताको पूजा अर्चना गरी कार्यक्रम सम्पन्न गरे । उक्त कार्यक्रममा कविता गोष्टी लगायत बालक बालिकाहरूलाई शिशा-कलम र खाता पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा सभापति तथा अतिथिहरूको आसन ग्रहण गरिएको थियो । आसन ग्रहण गर्नुहुने महानुभावहरूमा सभापति पदम विश्वकर्मा, कथाकार तथा गजलकार मनु ब्राजाकी, अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, समाजसेवी तथा साहित्यानुरागी रमाकान्त अधिकारी हुनुहुन्थ्यो । आसन ग्रहण पश्चात सबै भक्तजनहरूबाट सरस्वती माताको पूजा गरियो । त्यसै क्रममा गायिका सीमा पोख्रेलबाट सरस्वती बन्दना प्रस्तुत गरियो । उक्त कार्यक्रमको संचालन तारा अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रम संचालिका तारा अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रमाकान्त अधिकारी र मनु ब्राजाकीज्यूले बाल बालिकाहरूलाई शिशा कलम र खाता प्रदान गर्नु भएकोथियो । त्यसै क्रममा मन्दिरका पूजारी जीवन बरालले सरस्वती पूजाको महत्व बारे प्रकाश पार्नु भएको थियो भने पुरानी गायिका निर्मला श्रेष्ठले तानपुराको साथमा मीठो भजन पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आ-आफ्ना रचना बाचन गर्नेहरूमा हरि उप्रेती, गंगा उप्रेती, डा.बिजयराज शर्मा, केशब आचार्य, निर्मल प्याकुरेल, बिजयदेव शर्मा, आचार्य प्रभा, साबु गदाल, नम्रता अधिकारी (आगन्तुक रचना विश्वेश्वर के.सी), ज्ञानेन्द्र गदाल, तारा अधिकारी, पदम विश्वकर्मा हुनुहुन्थ्यो। कार्यक्रममा “प्रकाश श्रेष्ठ साँझ” मा सहयोग गर्नु हुनेहरू र आ-आफ्ना नृत्य प्रस्तुत गर्नु हुने सबैलाई केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । सोही क्रममा कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाले सोही च्याप्टरको वेबसाइटबारे जानकारी दिलाउनु भएको थियो भने समाजसेवी रमाकान्त अधिकारीले मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष पदम विश्वकर्माले सबै आगन्तुक महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रसाद ग्रहण गर्न आग्रह गर्नु भएको थियो । सदा झैं यस कार्यक्रममा पनि बि.आर.टि. नेपालका संस्थापक तथा क्यामरा-मेन शैलेश पोख्रेलज्यू र शास्वतज्यूले आ -आफ्ना अमुल्य समय खर्चेर कार्यक्रमका सारा हिस्सालाई आ-आफ्ना क्यामेरामा जतनगरी बिभिन्न मिडियाहरूमा प्रचार प्रसार गर्न सहयोग गर्नु भएको थियो ।

पछिल्लो जानकारी अनुसार अनेसास कोलोराडो च्याप्टरले आफ्नो कार्य समिति बिस्तार गर्नको लागि कार्य समितिको उपाध्यक्ष पदमा कवि तथा गजलकार केशब आचार्य र सदस्य पदमा हरि उप्रेतीलाई राख्ने निर्णय गरेको छ । यसका अतिरिक्त सल्लाहाकारहरूमा अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, बरिष्ठ साहित्यकार तथा गजलकार मनु ब्राजाकी तथा समाजसेवी रमाकान्त अधिकारीज्यूलाई राख्ने निर्णय सर्वसम्मतबाट गरिएको प्रेस बिज्ञप्ति मार्फत जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *