Skip to content
20110219_LaxmiPrasadDevkota_Moon


‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
‘आफू मिटाई अरुलाई दिनु जहाँ छ ।’

‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’

‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढ्नु के ? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’

‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उँडी छुनु चन्द्र एक ।’

2 thoughts on “प्रश्नोत्तर”

  1. ठिस बुढा

    kbs सर धन्यवाद
    लक्ष्मीप्रसाद देवकोटा सरको प्रश्नोत्तर पढ्ने मौका दिनु भएकोमा।

    हजुरलाई मुरि मुरि धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *